विकासन्युज

सुर्य नेपाल सेन्ट्रल ओपन सम्पन्न, एमरच्योर सदभावलाई करियरको दोस्रो उपाधि

काठमाडौ । युवा एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन । सदभाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए । अन्तिम दिन आज ३-अन्डर ६९ स्कोर गर्दा सदभावले समग्रमा १७-अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिँदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन । इभन-पार ७२ खेल्दै समग्रमा १०(अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए। प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गरे । समग्रमा ७/अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए। प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे। आज २-ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन(पार २ सय ८८ प्रदर्शनमा चौथो भए । प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो । समग्रमा २-ओभर २ सय ९० को स्कोरमा निरज तामाङ पाँचौ भए। उनले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए । पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए । आज ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता सकाए । समग्रमा उनी छैटौं भए। समग्रमा ४-ओभर २ सय ९२ सहित रबि खड्का सातौं भए । उनले आज इभन-पार ७२ मा खेल सकाए। उनले ५० हजार प्राप्त गरे। आज ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौं भए । उनले ४२ हजार ५ सय पुरस्कार राशी हात पारे। समग्रमा ६-ओभर २ सय ९४ सहित धन बहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौं भए । धनले आज ६-ओभर ७८ र तोरणले ३-अन्डर ६९ स्कोर गरे। दुवैले ३७ हजार २ सय ५० हजार नगद पुरस्कार प्राप्त गरे । अन्तिम १८ होलको सुरूवात गर्दा आज सदभावसँग ४ स्ट्रोकको अग्रता थियो । सदभावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे । दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सदभावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो । तर यसपछि सदभावले तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गरे र फ्रन्ट नाइनको खेल सकिदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए । दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरेपनि चौथो, छैटौं, आठौं र नवौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए । यसपछि ब्याक नाइनमा सदभावले दशौं देखि तेह्रौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने संभावनालाई लगभग सुनिश्चित गरे । अन्य गल्फरले चुनौती समेत दिन सकेनन । यसपछि १४औं र १६औं होलमा बोगी खेपे पनि ब्याक नाइन २-अन्डर ३४ मा पुरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बने । दिनेशले १४औं होलमा एक सट खेर फाले भने १०औं, ११औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अण्डर ३४मा सकाए । भुवनले इभन-पार ७२ मा खेल सकाउने क्रममा फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । दोस्रो होलमा बोगी प्रहार गर्दा तेस्रो र सातौं होलमा एक-एक सट बचाए । छैटौं होलमा भने डबल बोगीको सामना गरे । यसपछि १५औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी हान्दै १(अन्डर ३५ मा ब्याक नाइन सकाए । सञ्जयले दोस्रो, सातौं र आठौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाए । १८औ होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

भारतीय बजारमा दाल र प्याजको मूल्य उच्च

एजेन्सी । भारत सरकारले अनेक प्रयास गर्दा पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको प्रत्यक्ष असर खुद्रा व्यापारमा परेको छ । राजधानी नयाँदिल्लीको खुद्रा बजारमा प्याज र दालको मूल्य अझै उच्च छ । यता, अनियमित वर्षाका कारण महत्वपूर्ण बालीको रोपाइँ घटेको छ । गत वर्षको तुलनामा सन् २०२३ नोभेम्बर १७ सम्म देशमा करिब ८ लाख ८७ हजार हेक्टर कम क्षेत्रफलमा बाली उत्पादन भएको छ । सबैभन्दा धेरै गिरावट गहुँ र दलहन बाली रोपाइँमा परेको छ । सरकारले प्याजको मूल्य नियन्त्रण गर्ने प्रयास भने गरिरहेको छ । दिल्लीका विभिन्न क्षेत्रका आमउपभोक्ता कृषि भवन बाहिर लाइनमा उभिरहेका छन्। उनीहरूले नाफेडको मोबाइल भ्यानबाट प्रतिकिलो २५ रुपैयाँ सहुलियत दरमा प्याज पाउँदै आएका छन् । प्रयास गर्दा गर्दै तरकारी बजारमा माग र आपूर्तिअनुसार प्याज पुग्न नसकेको र खुद्रा बजारमा यसको मूल्य उच्च रहेको छ । नाफेडको भ्यान अगाडि लाइनमा उभिरहेका करोलबागका मनोजले एनडीटीभीलाई भने, ‘मेरो घर नजिकको खुद्रा बजारमा प्याजको मूल्य ६०–८० रुपैयाँ प्रतिकिलो छ, २५ रुपैयाँ प्रतिकिलोमा प्याज किन्न हामी यहाँ ४५ मिनेटदेखि लाइनमा उभिइरहेका छौं ।’ नाफेड र एनसीसीएफले सहुलियत दरमा प्याज बिक्री बढाउनुपर्छ ताकि धेरैभन्दा धेरैले सस्तो प्याज किन्न सकुन् भन्ने आमनागरिकको माग छ । पछिल्लो एक महिनादेखि खुद्रा बजारमा अरहर, मुग, चना र उडदको दाल पनि महँगो भएको छ । थोक बजारमा दालको उपलब्धता घटेकाले खुद्रा बजारमा दालको मूल्य बढेको किराना पसलका व्यापारी मोहित गोयल बताउँछन् । ‘पछिल्लो एक महिनामा विभिन्न प्रकारका दाल १५ देखि २० प्रतिशतसम्म महँगो भएका छन्। पछिल्लो एक महिनामा अरहर दालको मूल्य १ सय ४० रुपैयाँ किलोबाट बढेर १ सय ६० पुगेको छ, मुगको दाल प्रतिकिलो १ सयबाट बढेर १ सय २० रुपैयाँ, चनाको दाल ७० रुपैयाँबाट बढेर ८५ रुपैयाँ र उडदको दाल १ सय रुपैयाँबाट बढेर किलोको १ सय २० रुपैयाँसम्म पुग्यो,’ उनले भने, ‘अहिले तीन–चार पसलमा मूल्य थाहा पाएपछि मात्रै दाल किन्छन् । पहिले दुई किलो किन्थे, अहिले डेढ किलोमात्रै किन्ने गरेका छन् । बिक्री प्रभावित भएको छ ।’ गत वर्षको तुलनामा महत्वपूर्ण बालीको रोपाइँ घटेको बेला प्याज, दाललगायत अत्यावश्यक खाद्यवस्तुको खुद्रा मूल्यमा वृद्धि भएको हो । कृषि मन्त्रालयको बाली महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा मंसिर १७ सम्म महत्वपूर्ण बालीको रोपाइँमा ८ लाख ८७ हजार हेक्टरमा कमी आएको छ । २०२३ नोभेम्बर १७ सम्म करिब ८६।०२ लाख हेक्टर क्षेत्रमा गहुँ खेती भएको थियो भने अघिल्लो वर्ष सोही अवधिमा ९१.०२ लाख हेक्टर क्षेत्रमा गहुँ रोपिएको थियो। यसको अर्थ गत वर्षको तुलनामा ५.०१ लाख हेक्टर कम क्षेत्रफलमा गहुँ रोपाइ भएको छ । नोभेम्बर १७ सम्म देशमा करिब ६५.१६ लाख हेक्टर क्षेत्रफलमा दाल बाली रोपिएको थियो भने गत वर्ष सोही अवधिमा ६९.३७ लाख हेक्टर क्षेत्रमा दाल बाली छरिएको थियो । अर्थात्, गत वर्षको तुलनामा नोभेम्बर १७ सम्म ४.२१ लाख हेक्टर कम क्षेत्रफलमा दाल बाली रोपिएको छ ।

एभरेष्ट बैंकद्वारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम सञ्चालन

रुपन्देही । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएमकाे उद्घाटन गरेको छ । एटिएमकाे उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् । यो संगै बैंकको एटिएम्को संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त एटिएम सेवा विस्तार सँगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानिय बासन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गरे । त्यस्तै, मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यवाद ज्ञापन गरेका थिए । साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

गरिमा विकास बैंक १७औं वर्षमा प्रवेश

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएकाे छ । पछिल्लो समयमा प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर प्रगति गर्न सफल भएको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।

अमेरिका र क्यानडा शिक्षा मेला काठमाडौंमा हुँदै

काठमाडौं । जाम्बोरी एजुकेशन नेपालले अमेरिका र क्यानडा विश्व विद्यालय फेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिवार अर्थात नोभेम्बर २५ तारिखमा जाम्बोरीको कार्यालय स्थित पुतली सडकमा कार्यक्रम हुने जनाइएको छ । कार्यक्रममा प्रतिष्ठीत अमेरिकी र क्यानाडाली विश्व विश्विद्यालयले आफ्नो देशमा भइरहेको शैक्षीक गतिविधिबारे कार्यक्रममा जानकारी गराउनेछन् । जसले नेपाली विद्यार्थीहरुका लागि सहज हुने अपेक्षा गरिएको छ । विद्यार्थीले आफ्नो भविष्यको लागि अहिले नै के गर्ने, कसरी शिक्षा ग्रहण गर्ने भन्ने बारेमा कार्यक्रमका विशिष्ट व्यक्तिहरुले धारणा राख्ने भएका छन् । कार्यक्रममा २५ भन्दा बढी विश्व विद्यालय र कलेजका प्रतिनिधिको सहभागिता रहनेछ । सहभागी अमेरिका र क्यानडा विश्व विद्यालयका प्रतिनिधिहरुले विश्वभरको शिक्षा डिजीटलबाट कसरी एकरुपता गर्न सकिन्छ भन्नेबारे जानकारी गराउने जनाइएको छ । कार्यक्रममा सहभागिले विश्व विद्यालयका प्रतिनिधिहरुलाई प्रश्नसमेत गर्न सक्नेछन् । नेपालको शिक्षा र बाह्य देशको शिक्षा विषयमा बहस हुने भएकाले यो कायक्रम अन्वेषणको मञ्चमात्र नभइ बृहत तयारीको हब हुने जाम्बोरीले जनाएको छ । जसले गर्दा विद्यार्थीहरुले आफ्नो आफ्नो शैक्षिक यात्रामा आउने चुनौतीसँग तयार रहन सक्षम राख्ने दावी गरेको छ । कार्यक्रममा विद्यार्थीमात्र नभइ शिक्षासँग सरोकार राख्नेहरुका लागि पनि उपयोगीमुलक रहने भएकाले सहभागी हुन जाम्बोरीले आग्रह गरेको छ ।

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युते भारतर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९/८०को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ । प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

सडकमा अशान्ति हुँदा शान्ति क्षेत्र विद्यालयमा असर

काठमाडौंको अनामनगरकी ज्योतिका पाण्डे बिहीबार बिहानै उठिन् । अघि पछिजस्तै छिट्टै खाना पकाएर छोरीलाई विद्यालयको लागि तयार गर्न लागिन् । खाना पकाइवरी छोरीलाई तयार पार्न लाग्दा अचानक मोवाइलमा म्यासेज आयो । म्यासेज थियो छोरीको विद्यालयबाट । ‘आदरणीय अभिभावकज्यू, काठमाडौंका विभिन्न ठाउँहरूमा विभिन्न समूहद्वारा र्‍याली जुलुस तथा प्रर्दशनका कार्यक्रम हुने भन्ने बुझिन आएकोले ट्राफिक प्रहरीले समेत सवारी आवागमनमा असहजता हुनसक्ने जानकारी गराएको र उक्त असहज परिस्थितिलाई मध्यनजर राख्दै आज विद्यालयको सम्पूर्ण पठन-पाठनकार्य बन्द रहने छ ।’ यो म्यासेज हेरिसकेपछि उनले छोरीलाई तयार पार्न छाडिन् । ज्योतिकाकी छोरी पिरीसा अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कूलमा एलकेजीमा अध्ययनरत छिन् । ‘आफू पनि काममा जानुपर्छ छोरीलाई पनि स्कूल पठाउनुपर्छ भनि बिहानै उठेँ छोरीको त विद्यालय बन्द रहेछ, म्यासेज आएपछि थाहा पाए छोरीलाई घरमै राखी म आफ्नै काममा हिँडे,’ ज्योतिकाले विकासन्युजसँग भनिन् । काठमाडौंको कलंकीकी प्रतिमा खड्काले पनि बिहीबार छोरालाई घरमै बसाउनुपर्‍यो । उनका छोरा कलंकीको नेपालय स्कूलमा कक्षा तीनमा अध्ययनरत छन् । ‘मलाई त आज विद्यालय किन बन्द भयो भन्ने समेत थाहा थिएन, छोरालाई लिएर स्कूलमै पुगें, आज त विद्यालय बन्द छ भन्ने सुनेपछि फर्केर आएँ,’ उनले भनिन् । बिहीबार काठमाडौं उपत्यकाका धेरैजसो विद्यार्थी र अभिभावक यसैगरी झुकिए । आज काठमाडौं शान्त र अशान्त दुवै रह्यो । शान्त सडकमा गाडी बाक्ला चलेनन्, मान्छेको आवतजात पातलो थियो । तर अशान्त, ठाउँ-ठाउँमा नाराजुलुस र प्रदर्शनले गर्दा रह्यो । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलले फरक-फरक गरेको ठाउँमा गरेकोे प्रदर्शनको असर विद्यालयमा पर्‍यो  जसका कारण उपत्यकाको रिङरोडभित्रका धेरै जसो विद्यालय बन्द भए । आन्दोलनका कारण बानेश्वर, तीनकुने, कालिमाटी, कलंकी, बल्खु, चक्रपथलगायत क्षेत्रका सबैजसो स्कूल प्रभावित भएका छन् । आन्दोलनकारीको भीड र आन्दोलनका कारण बालबालिकालाई तनाव हुने भएकाले विद्यालय बन्दको उपाय रोजिएको विद्यालय सञ्चालकहरूले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले आन्दोलनकै कारण उपत्यकाका चक्रपथभित्रका दुई सय बढी विद्यालय बन्द भएको बताए । ढुंगानाले प्याब्सनले आन्दोलन प्रभावित क्षेत्रका विद्यालय बन्दका लागि स्वनिर्णय गर्ने अधिकार दिइएकाले विद्यालय आफैंले बन्द गरेको बताए । ‘हिजोदेखि उपत्यकामा डर लाग्दो अवस्था हुन्छ भन्ने सबैलाई लागेको थियो, आजपनि बल्खुको अवस्था देखिहाल्नुभयो, यस्तो बेला विद्यार्थीलाई बोलाउन सक्ने अवस्था नभएर पनि विद्यालय बन्द गर्नुपर्‍यो,’ उनले भने । धेरैजसो विद्यालयले विद्यालयकै गाडीबाट विद्यार्थी ल्याउने लैजाने गर्छन् । तर, आज प्रहरीले नै गाडी नचलाउन भनेपछि बाध्यताले विद्यालय बन्द गर्नुपरेको विद्यालय सञ्चालकहरूको भनाइ छ । विद्यालयलाई असर राजनीतिक, सामाजिक कुनैपनि दल वा व्यक्तिले गरेको असर सबैभन्दा पहिले शिक्षा क्षेत्रमा पर्छ । सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको १२ वर्ष भयो । वि.सं २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै विद्यालयको हाताभित्र वा विद्यालय वरिपरी कुनैपनि ¥याली, जुलुस नाराबाजी गर्न नपाइने व्यवस्था सरकारले गरेको थियो । विद्यालय हाताभित्र यस्ता कार्य नगर्नु र हिंसात्मक कार्यमा बालबालिकाको प्रयोग नगर्नु भनिए पनि यस्ता किसिमका प्रदर्शन वा आन्दोलनको प्रत्यक्ष असर विद्यालयमा पर्ने गर्छ । नेपालको संविधानले बालबालिकाको शिक्षा तथा स्वास्थ्यको सुनिश्चितता गरेको छ । बालबालिका भविष्यका कर्णधार भन्ने नारालाई सार्थकता प्रदान गर्न उनीहरूको चौतर्फी विकासका लागि बाल अधिकारसँग सरोकार राख्ने गाँस, वास, कपास, शिक्षा, स्वास्थ्यको सहज सुनिश्चितता आधारभूत शर्त हो । तर, कुनै न कुनै कारण कहिले न कहिले बालबालिकाका आधारभूत शर्तमा असर परेको विज्ञहरूको भनाइ छ । कसैले कार्यक्रम गर्दा पनि विद्यालय बन्द गर्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको शिक्षाविद्हरु बताउँछन् । संविधानले दिएको र कानुनले प्रदत्त गरेको बालबालिकाको अधिकार हनन् हुनु हाम्रो र समाजकै लागि सुभ संकेत नभएको उनीहरूको भनाइ छ ।

नेप्से ९.८७ अंकले बढ्यो, कारोबार रकममा सुधार हुँदै

काठमाडौं । बिहीबार सेयर बजार ९.८७ अंकले बढेको  छ । बुधबार २०.६७ अंकले बढेको सेयर बजार बिहीबार ९.८७ अंकले बढेको हाे । आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा ९.८७ अंकको वृद्धि भई १८६०. २० अंकमा बन्द भएको छ । धेरै दिनपछि सेयर कारोबार पनि बढेको छ । बुधबार १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ३४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आज १६१ कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको सेय मूल्य भने घटेकाे छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । यस्तै, थ्री स्टार हाइड्राेपावरको ८.५८ प्रतिशत र सिकलेस हाइड्रोपावर कम्पनीको सेयर ८.५४ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी गुमाउनेमा नबिल बैंकका लगानीकर्ता छन् । आज नबिल बैंकको सेयर मूल्य ८.२० प्रतिशले घटेको छ ।