काठमाडौं । विवादित तथा पछिल्लो समय उच्छ्श्रृङ्खल गतिविधि गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग आफुले ऋण मिनाहाको माग राखेको बताएका छन् । उनले आफुले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने साढे ५ अर्ब ऋण र बि एण्ड सुी मेडिकल कलेजलाई सम्बन्धन दिनु पर्ने माग राखेको बताएका हुन् ।
एक पत्रकारसँगको कुराकानीमा उनले भनेका छन्, ‘मैले प्रधानमन्त्री प्रचण्डसँग ऋण मिनाहा र मेरो मेडिकल कलेजको सम्बन्धन दिलाउनका लागि आग्रह गरेको थिएँ तर उहाँले मान्नुभएन, अब म धेरै अगाडि बढिसकेको छु, केही दिन अगाडि मात्रै उहाँले तपाइँको दुइटै माग पुरा हुन्छन् भन्नुभयो तर अब म धेरै अगाडि बढिसकेको छ, ब्याक हुन्न भनेपछि कुरा सक्कियो ।’
विवादित व्यवसायी दुर्गा प्रसाईंले पछिल्लो समय सर्वसाधारणलाई भड्काएर २० लाखभन्दा कम ऋण भएकाहरूको ऋण मिनाहा हुनु पर्ने आवाज उठाउँदै आएका छन् । उनको त्यो भ्रमपूर्ण र असम्भव अभिव्यक्तिको साथ दिँदै उनको पछि लाग्नेहरूको पनि कमि छैन ।
उनले सार्वजनिक रूपमा २० लाखसम्मको ऋण मिनाहा हुनु पर्ने आवाज उठाए पनि भित्रिरूपमा भने आफ्नो साढे ५ अर्ब ऋण मिनाहा र बि एण्ड सी मेडिकल कलेजको सम्बन्धन पाउनु पर्ने लविङ सरकारसँग गरिरहेका छन् । जसको हतियार उनले २० लाखको ऋणलाई बनाएका छन् ।
बैंक भनेको सर्वसाधारणकै पैसा हो । उद्योगी व्यवसायीहरुले तिनै सर्वसाधारणको पैसालाई ऋणको रुपमा बैंकबाट लिन्छन् । सो पैसा तिरेन भने समग्र प्रणालीलाई नै असर पर्न जान्छ । तर, प्रसाईंले तिनै ऋण लिएर समस्यामा परेका सर्वसाधारणहरूको मन जित्न २० लाख रुपैयाँको कार्ड फालेका छन् ।
उनले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक÷एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएका छन् ।
सर्वसाधारणलाई उक्साएर बैंकको ऋण नतिर्ने र बैंकरलाई कालोमोसो दल्ने अभियान चलाइरहेका प्रसाईंले अहिले ‘जन विद्रोह’ भन्दै काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।