पुरानै लयमा मुस्ताङको व्यवसाय, एक महिनामै ८० हजार पर्यटकले गरे भ्रमण
काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार ८७९ स्वदेशी र ५ हजार ५०४ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो । कात्तिकमा मुस्ताङमा १३ हजार ९०१ सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए । ६ हजार ४०८ मोटरसाइकल, ६ हजार २८९ कार–जिप तथा ७५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले अधिकतम दैनिक चारदेखि ५ हजार ५ सयको अनुपातमा पर्यटक मुस्ताङ भित्रिएका बताए । बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए । मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए । ‘विगतका वर्षमा दसैँतिहार याममा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि धेरै दुःख पाए, यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजे,’ उनले भने । शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटल व्यवसायीले बताएका छन् ।
ट्राभल्सको सिस्टम ह्याक गरी ३३७ जनाको टिकट काटि २ करोड ठग्ने सुवेदी पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले जियोल्याण्ड ट्राभल्स एण्ड टुस प्रा.लि.को युजर आईडी पोर्टल ह्याक गरी २ करोड रुपैयाँ ठगी गरेको आरोपमा नारायण सुवेदी पक्राउ परेका छन् । जियोल्याण्ड ट्राभल्सको प्रणाली ह्याक गरी १ करोड ९९ लाख ८२ हजार रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले मंसिर ६ गते सुवेदीलाई पक्राउ गरेको प्रवक्ता नबराज अधिकारीले जानकारी दिए । सीआईबीका अनुसार गत कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म काठमाडौं ३ बालुवाटारस्थित ट्राभल्स कम्पनीको पोर्टल ह्याक गरी जजिरा एयरलाइन्स र एयर अरबिया एयरलाइन्सको ३३७ जनाको टिकट बनाई २ करोड रुपैयाँ बराबरको ठगी गरेको जाहेरी परेको थियो । सोही आधारमा स्याङ्जा वालिङ ४ स्थायी घर भई हाल काठमाडौंको टोखा बस्दै आएका मस्र्याङ्दी ट्राभल्सका म्यानेजर समेत रहेका सुवेदीलाई पक्राउन गरेको हो ।
कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा, देश-विदेशका ३ सय जना सहभागी
काठमाडौं । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) बुधबारदेखि विश्वविद्यालयमा सुरु भएको हो । कार्यशालाको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले उद्घाटन गरेकी हुन् । मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दै नेत्री राईले कृषिको अध्ययन–अनुसन्धानमा युवापुस्ता आउनुले सकारात्मक सन्देश प्रवाह गरेको बताईन् । कृषि क्षेत्रमा प्रयोग भएका प्रविधि र अहिले बजारमा आएका प्रविधिको अन्तरका कारण पनि किसानले आफ्ना समस्या समाधान गर्न नसकेको उनको भनाइ छ । राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष रामकुमार फुँयालले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताए । कृषि क्षेत्रका आयोजनालाई आयोगले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । बागमती प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा.नरविक्रम थापाले कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा नयाँ खोज गर्न जरुरी भएको बताए । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, विश्वविद्यालयका कृषि सङ्कायका डिन प्रा. अर्जुनकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशी, एसियाली विकास बैंकका रुडी भेन डायल, एएसडिपीका कार्यक्रम निर्देशक वासुदेव काफ्लेलगायतले नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका लागि सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश–विदेशका ३ सय वैज्ञानिक सहभागी भएका छन् । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकले ११३ वटा कार्यपत्र प्रस्तुत गर्ने छन् । यसैगरी एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थासहित विभिन्न दातृ निकायका प्रतिनिधि सम्मेलनमा सहभागी भएका हुन् । सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरूद्वारा कृषि, वन, पशुपालन, भेटेरेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुति गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक सहभागी छन् । यसैगरी कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता छ ।
एकैदिन ७ जना मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय सङ्गम पोख्रेल आ–आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । उदयपुर, त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय प्रदीप वाग्ले आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । रूकुम पश्चिम, चौरजहारी नगरपालिका–५ भाग्री बस्ने ७८ वर्षीय रामबहादुर सार्की सोही ठाउँस्थित सिञ्चाई कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी, रूकुम पश्चिम, आठबिसकोट नगरपालिका–१३ घेत्मास्थित गुहे खोलामा सोही ठाउँ बस्ने ४६ वर्षीय मोती राम बुधबार मृत अवस्थामा फेला परेका छन् । सिरहा, नवराजपुर गाउँपालिका–३ मेनहामा नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहाका तीन उत्कृष्ट करदाता सम्मानित
काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहानले १२औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा बिहीबार सिरहा जिल्लाका तीन उत्कृष्ट करदाता कम्पनीलाई सम्मान गरेको छ । बाह्रौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आन्तरिक राजस्व कार्यालय लहानले आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी कर तिर्ने तीन करदातालाई उत्कृष्ट करदाता घोषणा गर्दै सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले बताए । कार्यालयले नाथ बाबा अटोमोबाइल्स लहान–३, सृजनशील लघुवित्त वित्तीय संस्था गोलबजार, शिव शङ्कर आयरन स्टोर मिर्चैया सिरहालाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो । आर्थिक वर्ष २०८०÷८१ को कात्तिक महिनासम्म ५७ करोड ३९ लाख ८५ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा कार्यालयले ५४ करोड ९८ लाख ४८ हजार रुपैयाँ गरी लक्ष्यको ९५.७९ प्रतिशत राजस्व उठाएको हो । सिरहा जिल्लामा ४१ हजार ४३७ व्यावसायिक करदाता दर्ता भएका छन् ।
दशकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुनरागमन, फर्कायो ताज
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक पुँजी बजारको बैंकिङ समूहमा सेयर मूल्यका आधारमा फेरि नम्बर वान बनेको छ । नबिल बैंकको सेयर मूल्यलाई पछि पार्दै एक दशकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक नम्बर वान बनेको हो । कुनै बेला स्ट्याण्डर्ड चार्टर्ड बैंक पुँजी बजारको ‘हटकेक’का रूपमा लिइन्थ्यो । कुनैबेला दोस्रो बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी स्टयाण्डर्ड चार्टर्ड बैंक नै थियो । विगतमा बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले विभिन्न गतिविधि सामना गर्दा प्रत्यक्ष प्रभाव सेयर मूल्यमा पर्यो । बैंकहरूको चुक्ता पुँजी न्यूनतम २ अर्ब हुँदा बैंकिङ समूहको सबैभन्दा उच्च सेयर मूल्य भएको बैंकमा स्ट्याण्डर्ड चार्टर्ड थियो । तर, राष्ट्र बैंकले बैंकहरूको चुक्ता पुँजी न्यूनतम ८ अर्ब पुर्याउन निर्देशन दिएपछि भने विस्तारै बैंकको सेयर मूल्य ओरालो लाग्याे । सो व्यवस्था गरेपछि बैंकका विदेशी लगानीकर्ताले नेपाल छोड्ने चेतावनीसमेत दिएका थिए । तर, नेपाल राष्ट्र बैंकले एफपीओ जारी गरेर पुँजी पुर्याउन सुझाएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको थियो । तत्कालीन समयमा बैंकले प्रतिकित्ता १ हजार २९० रुपैयाँमा २५ लाख ५८ हजार १४० कित्ता सेयर एफपीओ जारी गरेर पुँजी वृद्धि गरेको देखिन्छ । बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंकले नबिललाई पछि पारेसँगै एक दशपछि पुनः वाणिज्य बैंकहरूमा सबैभन्दा उच्च सेयर मूल्य भएको बैंकका रुपमा पहिलो नम्बरमा उक्लिएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता २.६२ प्रतिशत अर्थात् १४.१० रुपैयाँले घटेर ५२४.९० रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेकाे तथ्यांकमा उल्लेख छ । बिहीबार बैंकको सेयर २३ हजार ६५५ कित्ता सेयर १९३ पटक खरिदबिक्री हुँदा १ करोड २३ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । थोरै शाखा कार्यालयमार्फत् उल्लेख्य नाफा कमाइरहेको यस बैंकको पुँजी पनि अन्य बैंकको भन्दा कम छ । कम पुँजीमा पनि उल्लेख्य व्यवसाय गरेर उच्च लाभांश वितरण गरिरहेकाले बैंक लगानीकर्ताको रोजाइमा पर्न थालेको छ । गत वर्षको नाफाबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । केही वर्षअघि वाणिज्य बैंकहरूमा सबैभन्दा बढी सेयर मूल्य भएको बैंकको ताज नबिल बैंकले खोसेको थियो । तर, आज त्यही ताज खोस्दै स्टयाण्डर्ड चार्टर्ड बैंक पहिलो बनेको हो । सेयरधनीहरूले ३६औं वार्षिक साधारणसभामा बोल्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सञ्चालक समिति र व्यवस्थापन समूहलाई आग्रह गरेका थिए । पछिल्लो समय वाणिज्य बैंकहरुको पुच्छारमा रहेको भन्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सेयरधनीहरुले आग्रह गरेका थिए । नभन्दै एकवर्ष पछि सबैभन्दा बढी सेयर मूल्य भएको बैंकको रुपमा उक्लिएको हो । नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ८.२० प्रतिशत अर्थात् ४६ रुपैयाँ घटेर ५१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज बैंकको सेयर प्रतिकित्ता ५६१ रुपैयाँमा कारोबार खुलेको थियो । बैंकको २ लाख ५४ हजार ९७९ कित्ता सेयर २ हजार ८४३ पटक खरिद बिक्री हुँदा १३ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि नम्बर वान पुगेर तेस्रो स्थानमा झरेको एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता १.२० प्रतिशत बढेर ५०४ रुपैयाँ रहेको छ । बैंकले वितरण गरेको २९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएपछि नम्बर वानबाट झरेको थियो ।
दाजुभाइको दोस्ती, सरकारको तक्मा
काठमाडौं । बिहीबार सरकारले सबैभन्दा बढी कर तिरेको भन्दै १६ वटा व्यक्ति तथा संस्थालाई सम्मान गर्यो। सम्मानित हुनेमा ढकाल दाजुभाइ पनि परे । बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले ग्लोबल आइएमई बैंकलाई सम्मानित गर्यो भने रेमिट्यान्स क्षेत्रतर्फ बढी कर तिरेको भन्दै आईएमई रेमिटलाई सम्मान गर्यो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको नेतृत्व गरिरहेका छन् भने नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकाल आइएमई रेमिटका सञ्चालक तथा को-फाउण्डर हुन् । उनीहरू दुवै दाजुभाइले सँगै सम्मान थापेका छन् । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल दाजुभाइ हुन् । नेपाली उद्योग व्यवसायी क्षेत्रमा एउटा नयाँ उदाहरण बनेका ढकाल दाजुभाइले सरकारलाई उच्च कर तिरेर नयाँ उदाहरण पस्केका छन् । सम्भवतः बढी कर तिरेर सरकारबाट सँगै सम्मानित हुने दाजुभाइमा ढकाल दाजुभाइ नै पहिलो हुनुपर्छ । व्यावसायिक जीवनमा एकपछि अर्को सफलता हासिल गरिरहेको ढकाल दाजुभाइले आइएमई ग्रुपमार्फत् व्यवसाय विस्तार गरिरहेको छ । एउटा सामान्य किसानको छोराबाट सुरु भएको ढकाल दाजुभाइको व्यवसाय अहिले देशभर फैलिएको छ । दुवै दाजुभाइ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत आधा दर्जनभन्दा बढी कम्पनीको संस्थापक छन् भने अन्य धेरै कम्पनीहरूमा उनीहरूको लगानी छ । बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल दाजुभाइको व्यवसायिक सुरुवात भने वि.स २०४८ सालबाट भएको हो । अध्यक्ष ढकालले वि.स २०४८ सालमा कोल्ड स्टोर स्थापना गरेपछि उनको परिवारको व्यवसाय सुरु भयो । उनले त्यसपछि कार्गो व्यवसायमा हात हाले । चन्द्र ढकालभन्दा उमेरले १० वर्ष कान्छा हेमराज उनका व्यवसायका सारथी हुन् । ‘सानैदेखि सँगै काम गर्याैं, धेरै मिहिनेत गर्यौं, अहिले ठूलो टिम बनेको छ, मभन्दा बढी मिहिनेत मेरो टिमले गर्छ,’ ढकालले यसअघि विकासन्युजसँग भनेका थिए, ‘मेरो सफलतामा मेरो टिमको भूमिका महत्वपूर्ण छ ।’ ढकाल दाजुभाइ अहिले देशको एक सफल र अग्रणी व्यवसायीको सूचीमा पर्छन् । उनीहरूले रेमिट्यान्स, बैंक, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन कम्पनीमा लगानी गर्यो, त्यसमा उनीहरू सफल बनिरहेका छन् । आइएमई समूह संलग्न जलविद्युत क्षेत्रतर्फ दुइटा कम्पनी हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जी कम्पनी सञ्चालनमा छन् । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । वित्तीय क्षेत्रतर्फ ८ वटा कम्पनी छन् । आइएमई रेमिट, ग्लोबल आइएमई बैंक, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स, हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलमा आइएमई समूहको लगानी छ । यी कम्पनीहरूको संस्थापक नै ढकाल दाजुभाइ हुन् । यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा.लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आइएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता छ । अन्य धेरै कम्पनीमा आइएमई ग्रुपको लगानी छ । यी कम्पनीहरूमा आइएमईले अर्बौंको लगानी गरेको छ । कम्पनीले नेपाल पूर्वाधार बैङ्कमा पनि लगानी गरेको छ । जसको पुँजी मात्रै साढे २१ अर्बको छ । सेयर बजारमा सूचिकृत भएका आधा दर्जन कम्पनीहरूको पुँजी ३० अर्ब बढीको छ । आइएमई समूहले सुरु गरेको अर्को नयाँ प्रोजेक्ट चन्द्रागिरि हिल्स हो । अहिले चन्द्रागिरि काठमाडौं उपत्यका नजिकैको सबैभन्दा उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । जसको नेतृत्व हेमराज ढकालले गरिरहेका छन् । ढकाल दाजुभाइलाई नचिन्ने मान्छेले पनि चन्द्रागिरि चिन्छन् । यस्तै, अहिले आइएमई ग्रुपले पेपर उत्पादनमा पनि हात हालेको छ । व्यावसायिक जीवनमा सफल भएसँगै ढकाल दाजुभाइ व्यवसायीहरूको छाता संस्थाको नेताको पनि अग्रपंत्तिमा छन् । दाजु चन्द्र हाल महासंघको नेतृत्व गरिरहेका छन् भने भाइ हेमराज नेपाल उद्योग परिसंघको नेतृत्वको लाइनमा छन् । आइएमई ग्रुपले सुरु गरेको व्यवसायले त्यो क्षेत्रकै नेतृत्व गरिरहेको छ । बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकले नेतृत्व गरिरहेको छ । ग्लोबल आइएमईले हाल सबैभन्दा ठूलो बैंकको परिचय बनाएको छ भने रेमिट क्षेत्रमा आइएमई रेमिट विश्वासिलो रेमिट्यान्स कम्पनीको रूपमा उदाएको छ । पर्यटनतर्फ चन्द्रागिरि हिल्स प्रख्यात छ । व्यवसायमा पारदर्शिता मन पराउने ढकाल अहिले अर्बपतिको लाइनमा रहेको बुझाइ धेरैको छ ।
एशियन लाईफ इन्स्योरेन्स सम्मानित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले कार्यालयमा बिहीबार आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान् पत्र हस्तान्तरण गरेका हुन् । आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतली सडकले आर्थिक वर्ष २०७८।०७९ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान् गरेको हो ।