व्यापार क्षेत्रबाट बालाजु अटो वर्क्सले तिर्यो सबैभन्दा बढी कर
काठमाडौं । व्यापार क्षेत्रबाट बालाजु अटो वर्क्सले सबैभन्दा बढी कर तिरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस आय वर्ष २०७८र७९ का लागि करदाताहरुमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी भएको छ । यसको कदर स्वरुप आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मालाई सम्मान-पत्र प्रदान गरेको छ ।
पर्यटन विधाको ठूलो करदाताको रुपमा मनकामना दर्शन सम्मानित
काठमाडौं । मनकामना दर्शन पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीवार कम्पनीलाई सम्मानित गरेको हो । सो अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए । प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गरेको मनकामना दर्शन प्रालिले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेशबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले देशका अन्य भागमा पनि केबुलकार सञ्चालन गरिरहेको छ ।
बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने
काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्कले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पनि सहकार्य गर्ने भएको छ । कम्पनीले आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लब (एलसिएफसि) सँग मोबिलिटी पार्टनरको रूपमा पुनः सहकार्यको सम्झौता गरेको हो । सो साझेदारीले साइमेक्स इन्क र बिवाइडीको प्रविधि र दिगो विकासको साझा प्रतिबद्धतालाई जोडेको कम्पनीको भनाइ छ । नोभेम्बर २४ बाट सुरु हुँदै गरेको नेपाल सुपर लिगका नौ फ्रेन्चाइज फुटबल टिमहरू मध्येको एक, ललितपुर सिटी फुटबल क्लबले बाग्मती प्रदेशको ललितपुरको प्रतिनिधित्व गर्दैछ । उक्त सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको छ । सिमेक्स इन्क र बिवाइडीकोको दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्नेमा कम्पनी विश्वास्त छ । ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने साइमेक्सको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकूदबीचको सहकार्य दर्साउने कम्पनीको जिकिर छ । ललितपुर सिटी फुटबल क्लबसँग साइमेक्सको यो पहिलो साझेदारी भने होइन । २०२१ मा भएको नेपाल सुपर लिगको प्रारम्भिक सिजनमा, ललितपुर सिटी फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको थियो । साइमेक्स इन्क का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, ‘नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँगको विाइडीको साझेदारीले हामि निकै उत्साहित छौँ । यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बाहिरसम्म, खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारीसाधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरूलाई स्पष्टसँग देखाउने छ भन्नेमा हामी ढुक्क छौँ ।’ ललितपुर सिटी फुटबल क्लब पनि स सहकार्यलाई लिएर उत्तिकै उत्साहित रहेको क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बताउछन् । उनले भने ‘बिवाइडीलाई क्लबको मोबिलिटी पार्टनरका रूपमा पाउँदा हामी गौरवान्वित छौँ र यो सहकार्य फुटबल मैदानबाट बाहिर पनि दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोगी हुनेछ।’
गतिलो आम्दानीको स्रोत बन्दै बाख्रापालन व्यवसाय
कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । उनका गोठमा जमुनापारी र तोतापारी जातका सय बढी बाख्रा रहेका छन् । वार्षिकरूपमा बाख्रापालन गरी रु पाँच लाखदेखि रु सात लाखसम्म उनको आम्दानी हुने गरेको छ । गएको दसैँ र तिहारमा मात्रै उनले रु तीन लाख २८ हजारका खसीबोका बिक्री गरे । यी जातका खसीबोका ६५ किलोदेखि ७० किलोसम्मको हुने गरेको उनले जानकारी दिए। जिउँदो खसी रु पाँच सय ५० प्रतिकिलोका दरले गोठबाटै काठमाडौँ, नेपालगञ्जलगायत क्षेत्रका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । ‘कोरोना महामारीअघि खसीबोकाको बजार निकै राम्रो थियो, आम्दानी चाहेजस्तै हुन्थ्यो’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि र त्यसपछिको समय खसीबोकाको व्यापार नहुँदा थोरै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भयो, अहिले विस्तारै पुरानै अवस्थमा व्यवसाय फर्किन थालेपछि सहज भएको छ ।’ किसान विष्टले बाख्रापालनकै कमाइबाट बेदकोट नगरपालिकाको दैजीमा घरघरेडी जोडेका छन् । निगालीमा डेढ बिघा जग्गा खरिद गरी खेती गर्दै आएका छन्। बाख्रापालनसम्बन्धी तालिम नलिएका विष्टले पुरानै तरिकाले बनाइने खोरमा बाख्रा राख्दै आएका छन्। बाख्रालाई रोगव्याधि लागे, चोटपटक लाग्यो भने उपचार भने आफैँले गर्दै आएका छन् । भेटेरेनरी प्राविधिकसँगको सङ्गतले उपचार गर्न सक्षम भएको उनको भनाइ छ । ‘चुरे क्षेत्रमा चरनको राम्रो व्यवस्था भएकाले डेढ दशकदेखि बाख्रा चराउने काम गर्दै आएका छौँ’, उनले भने, ‘चरन क्षेत्रमा केही वर्षयतादेखि पहिरो जान थालेपछि बाख्रापालन सङ्कटमा पर्न थालेको छ ।’ चुरे क्षेत्रमा भइरहेको वन विनाशसँगै ढुङ्गा, गिट्टीलगायतको दोहन रोक्नुपर्ने उनले बताए । ‘चुरे क्षेत्र जोगिएमात्रै बाख्रापालन गर्न सकिने हो’, उनले भने, ‘यसलाई जोगाउन सबैको हातेमालो आवश्यक छ ।’ विष्टजस्तै निगाली गाउँका १५ बढी परिवारको जीविका चलाउने आधार बाख्रापालन नै रहेको छ । परम्परागतरूपमा बाख्रपालन गर्दै आएका परिवारसँग कम्तीमा ५० देखि बढीमा दुई सयसम्म बाख्रपालन गरिएका छन् । बाख्रापालनमा लागेका परिवारको वार्षिक कमाई रु पाँच लाख बढी हुने गरेको छ । बाख्रापालन व्यवसायमा लागेका देव बोहराले स्थानीय तहले खोर व्यवस्थापन, घाँसखेती, औषधोपचारको तालिम दिएर सक्षम बनाउनुपर्ने बताए । ‘बाख्रापालनमा लागेका व्यवसायीलाई सहुलियत दरमा ऋणसँगै अनुदानको व्यवस्था गरिनुपर्छ’, उनले भने, ‘वर्षौँदेखिका चरन क्षेत्रमा बाख्रा चराउनका लागि सहज वातावरण कायम गरिनुपर्छ ।’ व्यवसायीले हालसम्म सरकारी तवरबाट सञ्चालन हुने कार्यक्रममा नसमेटिएको जनाउँदै गुनासो पोखे। रासस
सिटिजन लाइफले जित्यो बेष्ट स्ट्राटिजी फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीमा बिस्तारका लागि उत्कृष्ट रणनीति’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौंथो संस्करणमा सिटिजन लाइफले बेष्ट स्ट्राटिजी फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड जितेको हो । नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरुमध्येबाट उत्कृष्टलाई इण्डियन चेम्बर अफ कमर्सले विगत ४ वर्षदेखी उक्त अवार्ड प्रदान गर्दै आएको छ । मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो । वि.सं. २०७४ भदौ ७ गतेदेखि नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमती पाई वि.सं. २०७४ कार्तिक २ गतेदेखि सञ्चालनमा आएको सिटिजन लाइफ नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट बीमा कम्पनी हो । हाल देशभरका १४१ शाखा, उपशाखाहरु र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताहरुबाट सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ सधैँ तयार रहेको कम्पनीले जनाएको छ ।
नेपाली सेनाले खुलायो साढे ३ हजार जनालाई जागिर
फाइल फाेटाे काठमाडौं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार एक सूचना प्रकाशन गरी सेनाले ३ हजार ४१३ जना कर्मचारी मागेको हो । सेनाको सूचना अनुसार सैन्य पद, सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पद गरी कूल ३ हजार ४१३ जना कर्माचारी मागेको हो । देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस ७ गतेसम्म पहिलो दस्तुर र पुस १४ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नछन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञानका प्राध्यापकले तलव नपाएपछि ४ महिनादेखि पठनपाठन ठप्प
काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भने, ‘प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् ।’ उनका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ । अध्यक्ष सापकोटाले भने, ‘प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ ।’ प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनको भनाइ छ । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताए । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ ।
मुक्तिनाथ कृषिको आईपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन भर्न पाइने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आज मंसिर ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले विदेशमा रोजगार गरिरहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता कर्मचारी, ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले मंसिर १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा मंसिर २२ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।