काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक पुँजी बजारको बैंकिङ समूहमा सेयर मूल्यका आधारमा फेरि नम्बर वान बनेको छ । नबिल बैंकको सेयर मूल्यलाई पछि पार्दै एक दशकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक नम्बर वान बनेको हो ।
कुनै बेला स्ट्याण्डर्ड चार्टर्ड बैंक पुँजी बजारको ‘हटकेक’का रूपमा लिइन्थ्यो । कुनैबेला दोस्रो बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी स्टयाण्डर्ड चार्टर्ड बैंक नै थियो । विगतमा बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले विभिन्न गतिविधि सामना गर्दा प्रत्यक्ष प्रभाव सेयर मूल्यमा पर्यो ।
बैंकहरूको चुक्ता पुँजी न्यूनतम २ अर्ब हुँदा बैंकिङ समूहको सबैभन्दा उच्च सेयर मूल्य भएको बैंकमा स्ट्याण्डर्ड चार्टर्ड थियो । तर, राष्ट्र बैंकले बैंकहरूको चुक्ता पुँजी न्यूनतम ८ अर्ब पुर्याउन निर्देशन दिएपछि भने विस्तारै बैंकको सेयर मूल्य ओरालो लाग्याे ।
सो व्यवस्था गरेपछि बैंकका विदेशी लगानीकर्ताले नेपाल छोड्ने चेतावनीसमेत दिएका थिए । तर, नेपाल राष्ट्र बैंकले एफपीओ जारी गरेर पुँजी पुर्याउन सुझाएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको थियो । तत्कालीन समयमा बैंकले प्रतिकित्ता १ हजार २९० रुपैयाँमा २५ लाख ५८ हजार १४० कित्ता सेयर एफपीओ जारी गरेर पुँजी वृद्धि गरेको देखिन्छ ।
बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंकले नबिललाई पछि पारेसँगै एक दशपछि पुनः वाणिज्य बैंकहरूमा सबैभन्दा उच्च सेयर मूल्य भएको बैंकका रुपमा पहिलो नम्बरमा उक्लिएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता २.६२ प्रतिशत अर्थात् १४.१० रुपैयाँले घटेर ५२४.९० रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेकाे तथ्यांकमा उल्लेख छ ।
बिहीबार बैंकको सेयर २३ हजार ६५५ कित्ता सेयर १९३ पटक खरिदबिक्री हुँदा १ करोड २३ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
थोरै शाखा कार्यालयमार्फत् उल्लेख्य नाफा कमाइरहेको यस बैंकको पुँजी पनि अन्य बैंकको भन्दा कम छ । कम पुँजीमा पनि उल्लेख्य व्यवसाय गरेर उच्च लाभांश वितरण गरिरहेकाले बैंक लगानीकर्ताको रोजाइमा पर्न थालेको छ । गत वर्षको नाफाबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
केही वर्षअघि वाणिज्य बैंकहरूमा सबैभन्दा बढी सेयर मूल्य भएको बैंकको ताज नबिल बैंकले खोसेको थियो । तर, आज त्यही ताज खोस्दै स्टयाण्डर्ड चार्टर्ड बैंक पहिलो बनेको हो ।
सेयरधनीहरूले ३६औं वार्षिक साधारणसभामा बोल्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सञ्चालक समिति र व्यवस्थापन समूहलाई आग्रह गरेका थिए । पछिल्लो समय वाणिज्य बैंकहरुको पुच्छारमा रहेको भन्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सेयरधनीहरुले आग्रह गरेका थिए । नभन्दै एकवर्ष पछि सबैभन्दा बढी सेयर मूल्य भएको बैंकको रुपमा उक्लिएको हो ।
नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ८.२० प्रतिशत अर्थात् ४६ रुपैयाँ घटेर ५१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज बैंकको सेयर प्रतिकित्ता ५६१ रुपैयाँमा कारोबार खुलेको थियो । बैंकको २ लाख ५४ हजार ९७९ कित्ता सेयर २ हजार ८४३ पटक खरिद बिक्री हुँदा १३ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि नम्बर वान पुगेर तेस्रो स्थानमा झरेको एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता १.२० प्रतिशत बढेर ५०४ रुपैयाँ रहेको छ । बैंकले वितरण गरेको २९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएपछि नम्बर वानबाट झरेको थियो ।