विकासन्युज

नागरिक स्टक डिलरले पुस २० गते बोलायो साधारणसभा

काठमाडौं । नागरिक स्टक डिलरले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले चौंथो वार्षिक साधारणसभा पुस २० गते काठमाडौंमा अपरान्ह ३ बजे बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा नियुक्ति गरेका व्यक्तिको सभाले अनुमोदन गर्नेछ । कम्पनीको प्रबन्धपत्र संशोधन गर्नेछ ।

१०.५२ प्रतिशत लाभांश पारित गर्न नेपाल इन्स्योरेन्स डाक्यो साधारणसभा

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले ७५औं वार्षिक साधारणसभा पुस १३ गते प्रज्ञाभवन कमलादी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सजल मास्केको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुग्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

३१ देशका २६१ विदेशी कैदीबन्दी, कुन देशका कति ?

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल ३ हजार ४६९ कैदीबन्दी रहेकामध्ये २६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उनका अनुसार भारतीय १३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश ९, थाइल्याण्ड ८, बोलिभिया ५, मलेसिया ४, फिलिपिन्स ३, अमेरिका ३, जर्मनी ३, सुडान ३ रहेका छन् । साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका १/१ जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउँछन् । वदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उहाँका अनुसार ११३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा ८, जीउ बेच्ने मास्नेमा ७ र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् । नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउँछन् । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र २ विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता १ हजार ७ सय रहेपनि हाल ३ हजार ४ सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ । ३ वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा १ हजार ८६६, भद्र जेलमा १ हजार १३९ र महिला जेलमा ४६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ । कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउँछन् । “अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उनले भने ।

इराकमा बेचिए ७ नेपाली चेली, उद्धारका लागि हारगुहार

काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेका ७ नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा र पासाङ शेर्पा बेचिएका हुन् । अनिता पाइजा मगरलाई ७ महिनाअघि एजेन्ट किसन राईले राम्रो कमाइ हुने भन्दै गैरकानुनी तरिकाले इराक पुर्याएर बिक्री गरेको पाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । सिर्जनालाई एजेन्ट प्रमोद गुरुङले, शर्मिलालाई आशा कुमालले, फूलमाया र पेम्बा तमुलाई एजेन्ट अजित श्रेष्ठले इराक पुर्याएर बिक्री गरेका हुन् भने सफिया र पासाङलाई पनि एजेन्टले त्यहाँ लगेर बेचेका हुन् । उनीहरू सबै जना २÷३ महिनाअघि मात्र इराकको कुर्किस्थान आएको, एजेन्टले घरेलु कामदारका रूपमा बिक्री गरेको र समस्या भएपछि उद्धारका लागि अपिल गरेको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको अवस्था दयगत एनआरएनएले जानकारी लिएको समेत उनले बताए । ‘उनीहरूले उद्धारका लागि अपिल गरेको भए पनि अहिलेसम्म कसैको पनि उद्धार भएको छैन,’ उनले भने, ‘सोफिया र पासाङ काममा गएका छन्, अनिताको एजेन्टले पैसा मिलाउँदै छ, एक साता जति लाग्छ होला, अरूको पर्ख र हेरको अवस्थामा छ ।’ अन्यको हकमा भने रोजगारदातासँग भेटेर छलफल गरिएको छ । ‘यहाँ रोजगारदाताको दोष होइन, जसले नेपालबाट कामदार ल्याउनुहुन्छ, त्यसरी ल्याउँदा खुलस्त भन्नुपर्यो, तपाईंहरूले घरेलु कामदारका रूपमा काम गर्नुपर्छ भनेर, यहाँ आउने सबैलाई राम्रो नै हुन्छ भन्ने छैन । यहाँ अनुमानित १२ देखि १५ हजार महिलाले काम गरिरहेका छन्,’ उनले थपे । ‘अहिले श्रम बजार पनि खुम्चिएको छ, अब जाडो मौसममा काम पाउन पनि गाह्रो हुन्छ, दिदीबहिनी हरेक दिन समस्यामा परेका छन्, उनीहरूले उद्धारका लागि सहयोग मागिरहेका छन्,’ उनले भने । अनिताका एजेन्ट किसन राईले भने मुख्य भिसा निकाल्ने अनिल श्रेष्ठ रहेको र त्यहाँ समस्यामा परेको जानकारी आएको भन्दै ७–१० दिनभित्र नेपाल फिर्ता ल्याउने प्रतिबद्धता जनाए । ‘ऊ मसँगै पढेको साथी पनि हो, उसको आर्थिक अवस्था पनि कमजोर भएकाले हामीले इराक पठाउन सहयोग गरेका हौं,’ किसनले भने, ‘६÷७ लाख रुपैयाँ जति खर्च लाग्ने रहेछ, पैसाको जोहो गर्दै छौं, पैसा हुनेबित्तिकै नेपाल फिर्ता ल्याउँछौं ।’ यो समाचार राजधानी दैनिकमा छ ।

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ)सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए । उनले भने, “प्राधिकरणले पहिलो पटक विश्वका ठुला एयरलाइन्सले समेत भाग लिन पाउने गरी खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारी गरेको छ । ग्राउन्ड ह्यान्डलिङमा दिँदा प्राविधिक र आर्थिक ढाँचा कस्तो हुने भन्नेबारे समितिले अध्ययन गर्ने छ ।” समितिले खुला प्रतिस्पर्धाका माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनोट गर्ने प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजातसमेत तयार पार्ने उनले बताए । प्राधिकरणले विमानस्थल सेवा शुल्क, २०७८ नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय गरेको उनले जानकारी दिए । विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको निगमले व्यावसायिक उडानभन्दा ग्राउन्ड ह्यान्डलिङलाई मात्रै आम्दानीको मुख्य स्रोत बनाएपछि प्राधिकरणले प्रतिस्पर्धा गराउने निर्णय गरेको बताइएको छ । हाल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत निगमले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ । निगम र प्राधिकरणबिच सन् २०२० को जनवरीमा भएको सहमतिअनुसार सन् २०२५ को जनवरी अन्त्यसम्म निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको छ । हाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा उक्त निर्णय गरिएको र पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भने हाललाई निगमले नै जिम्मेवारी दिइने प्राधिकरणले जनाएको छ । निगमले सन् २०१६ देखि आफ्नो सेवालाई अन्तर्रष्ट्रियस्तरको सेवामा मापन गर्दै आएको छ । निगमले भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आयटा)को मापदण्ड अनुसारको ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको दाबी गर्दै आएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सोती घटना : २३ जनालाई जन्मकैदको फैसला

त्रिवेणी (रुकुम पश्चिम) । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको फैसला भएको छ । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए। त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ । उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए । भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो । विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भएको थियो ।

सत्तारुढ गठबन्धनको निष्कर्ष : एनसेलको सेयर बिक्री शंकास्पद, छानबिन समिति बनाउने

काठमाडौं । एनसेलको शेयर बिक्रीलाई राज्यका विभिन्न अंगहरुले शंकास्पद रुपमा हेर्न थालेका छन् । मंगलबार साँझ मुख्य सचिव र सचिवहरुसहित गठबन्धनका शीर्ष नेताहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा छलफल गरेका छन् । छलफलको क्रममा सत्तारुढ गठबन्धनले एनसेलको शेयर बिक्री शंकास्पद रहेको भन्दै र गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । साथै संयुक्त बैठकले एनसेलको बिक्री सन्दर्भमा कानून बमोजिम सबै प्रक्रिया पूरा गर्नुपर्ने र नेपालको कानुन र हित विपरीत भएका कामहरुलाई सरकारले रोक्नुपर्ने निष्कर्ष निकालेको छ । सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी छन् । उनले दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरकाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रीपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको बताइन् । उनका अनुसार समिति कति सदस्य बन्ने भन्ने टुंगो लागि सकेको छैन । ‘एनसेलको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’, बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने, ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ ।’ एनसेलको शेयर बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि भोलि बुधबार बैठक आह्वान गरेको छ । यसअघि समितिले एनसेलको शेयर बिक्रीमा कर छली भएको आशंका गर्दै नियामक निकायहरु (नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग) लाई ९ वटा प्रश्नहरु सहित पत्र लेखेको थियो । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् । एनसेलको शेयर बिक्री गर्ने आजियाटाको निर्णयपछि नेपाल दूर सञ्चार प्राधिकरणले एनसेललाई शेयर बिक्री गर्नु अगाडि अनुमति लिन भनेर पत्र पठाएको थियो । जसको जवाफ आज मात्रै एनसेलले प्राधिकरणलाई पठाएको छ । तर, एनसेलको जवाफको विषयमा विस्तृत अध्ययनपछि मात्रै धारणा सार्वजनिक गर्ने प्राधिकरणले जनाएको छ । तत्कालीन टेलिसेरेना कम्पनीले आजीयाटा कम्पनीलाई एनसेलको शेयर बिक्री हुँदा पनि नेपाललाई लाभकर छली गरीएको विषयमा अहिले पनि मुद्दा सर्वोच्चमा छ । एनसेलको पछिल्लो शेयर बिक्रीको विषयमा विभिन्न राजनीतिक व्यक्तिहरुले सरकारको संलग्नताको विषयलाई समेत जोडेर अभिव्यक्ति दिन थालेपछि सरकार र अन्य निकायहरुले सो विषयमा विशेष चासो अगाडि बढाएको देखिन्छ ।

एनसेलबाट आजियाटाले लग्यो साढे ६६ अर्ब रुपैयाँ लाभांश

काठमाडौं । एनसेलको विदेशी साझेदार आजियाटाले नेपालबाट ६६ अर्ब ८० करोड रुपैयाँ लाभांश लगेको छ । नेपाल राष्ट्र बैंक स्रोतले उपलब्ध गराएको तथ्यांक अनुसार आजियाटाले ६ आर्थिक वर्षमा कुल ६६ अर्ब ८० करोड ८५ लाख ४५ हजार रुपैयाँ लाभांश लगेको हो । सुरुवाती वर्षहरूमा कम्पनीले २३ अर्ब रुपैयाँसम्म लाभांश लगेको भएपनि पछिल्लो वर्षहरूमा भने त्यो रकम घटेको तथ्यांकले देखाउँछ । आजियाटाले आर्थिक वर्ष २०७३/७४ मा एनसेलमा गरेको लगानीबापत् ८ अर्ब ३६ करोड रुपैयाँ लाभांश लगेको छ भने आर्थिक वर्ष २०७४/७५ मा २३ अर्ब ५० करोड ५२ लाख ८० हजार रुपैयाँ लाभांश रकम फिर्ता लगेको छ । यस्तै, आर्थिक वर्ष २०७५/७५ मा लाभांश रकम करिब आधाले घटेर १२ अर्ब ५४ करोड रुपैयाँ झरेको देखिन्छ भने आर्थिक वर्ष २०७६/७७ मा लाभांश नै लगेको देखिँदैन । तर, त्यो वर्ष एनसेलले ४६ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा आजियाटाले १३ अर्ब ९७ करोड १८ लाख ४० हजार, आव २०७८/७९ मा ४ अर्ब ७७ करोड ७२ लाख १९ हजार र आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ६५ करोड ४२ लाख ६हजार रुपैयाँ लाभांश फिर्ता लगेको राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । आजियाटाले एनसेलबाट पाउने लाभांश रकम वर्षेनी घट्दै जाँदा र व्यवसाय विस्तारमा पनि अनेक समस्या झेल्नुपर्दा कम्पनी निरुत्साहित भएर बाहिरिएको हुन सक्ने धारणा राष्ट्र बैंक स्रोतको छ । सेयर बेचेपनि लाभांश पाउने आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका विदेशी नागरिक सतिशलाल आचार्यको ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बिक्री गरेका छन् । विशेषतः एनसेलमा आफ्नो खर्ब बढी सम्पत्ति रहेको आजियाटाले ८० प्रतिशत सेयर साढे ६ अर्बमा बिक्री गर्दा यसभित्रको रहस्यको विषयमा सबैको चासो बढ्न थालेको छ । सडकदेखि सदनसम्मको चासोको विषयकारूपमा एनसेलको सेयर खरिद बिक्रीलाई लिइएको छ । सन् २०१६ मा तत्कालीन टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेको थियो । तर, अहिले सोही सेयर पाँच करोड अमेरिकी डलर अर्थात् साढे ६ अर्ब रुपैयाँमा बिक्री भएको छ । चलिरहेको व्यवसाय किनेको रकमभन्दा ९६ प्रतिशत कम रकममा बेच्नु अस्वभाविक पक्कै पनि हो । तर, सस्तैमा बिक्री गरेपनि दुई कम्पनीबीच लाभांश आजियाटचाले पाउने सअमति भएको छ । एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । लाइसेन्सको अवधिभरको लाभांश आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजियाटाकै हुने गरी दुई कम्पनीबीच समझदारी भएको हो । दुई कम्पनीबीच भएको समझदारी अनुसार २०२३ को ८० प्रतिशत लाभांश आजियाटाले पाउनेछ । २०२४ र २०२५ मा ४० प्रतिशत, सन् २०२६ र ०२७ मा ३० प्रतिशत र सन् २०२८ र ०२९ मा २० प्रतिशत लाभांश पाउने दुई कम्पनीबीच सहमति भएको छ । यसबापत् पनि आजियाटालाई फाइदा नै हुने देखिन्छ । यस्तो छ आम्दानी वि.स २०७२ चैत ३० गते नेपाली बजारमा बजारमा प्रवेश गरेको आजियाटा सुरुवाती वर्षहरूमा राम्रै आम्दानी गरेको देखिन्छ । तर, पछिल्लो वर्षहरूमा भने कम्पनीको व्यापारसँगै आम्दानी पनि केही घटेको देखिन्छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा एनसेलले ५७ अर्ब ७२ करोड आम्दानी गरेको थियो भने आर्थिक वर्ष ०७३/०७४ मा ५६ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष ०७४/०७५ मा एनसेलले ५९ अर्ब ६९ करोड कमाएको देखिन्छ । जुन एनसेलले हालसम्मकै बढी आम्दानी हो । आर्थिक वर्ष २०७५/०७६ मा एनसेलको आम्दानी ५५ अर्ब २८ करोड रुपैयाँ रहेको थियो भने आव २०७६/०७७ मा ४६ अर्ब ७६ करोड, आव ०७७/०७८ मा ४० अर्ब २२ करोड, आव ०७८/०७९ मा ३९ अर्ब ५० करोड र आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।