३१ देशका २६१ विदेशी कैदीबन्दी, कुन देशका कति ?

<p>काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल ३ हजार ४६९ कैदीबन्दी रहेकामध्ये २६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए [&hellip;]</p>

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल ३ हजार ४६९ कैदीबन्दी रहेकामध्ये २६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् ।

उनका अनुसार भारतीय १३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश ९, थाइल्याण्ड ८, बोलिभिया ५, मलेसिया ४, फिलिपिन्स ३, अमेरिका ३, जर्मनी ३, सुडान ३ रहेका छन् ।

साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका १/१ जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउँछन् ।

वदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै

कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उहाँका अनुसार ११३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् ।

त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा ८, जीउ बेच्ने मास्नेमा ७ र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् ।

नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउँछन् ।

नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र २ विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता १ हजार ७ सय रहेपनि हाल ३ हजार ४ सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ ।

३ वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा १ हजार ८६६, भद्र जेलमा १ हजार १३९ र महिला जेलमा ४६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ ।

कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउँछन् ।

“अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उनले भने ।

Share News