विकासन्युज

नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त, पुस १३ गते बोलायो एजीएम

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दिवाकर पौडेल बिदा भएसँगै कम्पनीले उक्त पदमा मास्केलाई नियुक्त गरेको हो । मास्के यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक थिइन् । उनले हालै मात्रै उक्त पदबाट राजीनामा दिएकी हुन् । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएसँगै उक्त समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बाहिरिएका हुन् । गत साउनमा मात्रै नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको २१ लाख ५७ हजार ६१५ कित्ता अर्थात १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको थियो । साथै, मंगलबार बसेको सोही बैठकले आगामी पुस १३ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।

ट्राभल सेवा उत्कृष्ट बनाउन रमेश कर्पले बोनजोय ट्राभलसँग गर्यो साझेदारी

काठमाडौं । नेपालको व्यापारिक घर रमेश कर्पले ट्राभल एजेन्सी बोन्जोय ट्राभलसँग समझदारी (एमओयू) गरेको छ । संस्थाले आफ्नो ट्राभल सेवा उत्कृष्ट बनाउन उक्त ट्राभलसँग समझदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यस सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाँउने छ । साथै, यस एमओयूको मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बडी उन्नत बनाउनु रहेको संस्थाले बताएको छ । रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले यस सहकार्यले कर्मचारी र ग्राहकको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने बताएका छन् ।

अब नबिल बैंकमा सोझै पैसा जम्मा गर्न सकिने, ल्यायो मेसिनबाटै चेक क्लियरिङ्ग हुने सुविधा

काठमाडौं । नबिल बैंकले किओस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा बैंकको विश्वास छ । हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिने बैंकले जानकारी गराएको छ । हाल बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

जापानी कम्पनीले भारतमा आइफोनको ब्याट्री बनाउने, १ हजारले रोजगारी पाउने दाबी

एजेन्सी । भारतका केन्द्रीय आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले जापानी इलेक्ट्रोनिक पार्ट्स निर्माता टीडीके कर्पोरेसनले भारतमा एप्पलको आइफोनका लागि लिथियम आयन ब्याट्री सेल बनाउने जानकारी दिएका छन् । एप्पलले केही वर्षहरूमा भारतमा आफ्ना उत्पादन गतिविधिहरू द्रुतरूपमा विस्तार गरिरहेको छ, किनभने कम्पनीले आफ्नो उत्पादनको एक हिस्सा चीनबाट बाहिर सार्ने देखिन्छ । एप्पलले २०१७ मा विस्ट्रोनसँग भारतमा आइफोन एसेम्बल गर्न थालेको थियो । यसपछि यसले फक्सकनसँग पनि काम गर्न थाल्यो । हाल भारतमा यसको १४ आपूर्तिकर्ता छन् । राज्यमन्त्री राजीव चन्द्रशेखरले सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा लेखेका छन्– ‘टीडीकेले उत्तरी राज्य हरियाणामा आफ्नो उत्पादन सुविधा स्थापना गर्ने छ। यसले करिब १ हजार नयाँ व्यक्तिलाई रोजगारी दिने छ ।’ मिडिया रिपोर्टका अनुसार हरियाणामा टीडीकेद्वारा तयार गरिएका सेलहरू एप्पलको लिथियम आयन ब्याट्री एसेम्बलर सुनभोडा इलेक्ट्रोनिक्सलाई आपूर्ति गरिने छ । यद्यपि, यस समाचारमा एप्पल र टीडीपी कर्पोरेसनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

एनसेल खरिद बिक्री प्रकरण : छलफल गर्न प्रधानमन्त्रीले राखे बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाएका छन् । । प्रधानमन्त्री सचिवालयअनुुसार मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एनसेलको सेयर खरिद बिक्रीको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्तारुढ दलहरुलाई छलफलमा बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले बोलाएका छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मन्त्रीहरु सहभागी छन् ।

सिद्धार्थ प्रिमियर र आइशरबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकलले सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । मंगलबार काठमाडौंस्थित बतास एम. ए. डब्लु.को मुख्य कार्यालयमा आयोजित एक समारोहमा दुबै कम्पनीका प्रमुखले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । क्यासलेस योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् । क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बीमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बीमा कम्पनी र बतास एम.ए.डब्लु.बीच कारोबार हुने बताइएको छ । दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्नेछ । यसका साथै ग्राहकले दुर्घटनापछि दाबी रकम इन्स्योरेन्स कम्पनीहरुले दिँदैनन् कि भन्ने मानसिक तनावबाट पनि मुक्त हुने र ग्राहकहरुले आफूले पाउने पैसा बिना झन्झट छिट्टै पाउने कम्पनीले जानकारी गराएको छ । योसँगै सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए । यसअघि आइशरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाख रुपैयाँको आकस्मिक बीमा उपलब्ध गराउँदै आइरहेको छ । उक्त समारोहमा टंगालस्थित बतास एम.ए.डब्लुका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, बतास एम.ए.डब्लु. कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका तर्फबाट मार्केटिंग हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थिति थियो ।

लगातार किन बढिरहेको छ सुनको मूल्य ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो । सोमबार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर मंगलबार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । तर सुनको मूल्य अझै बढ्ने व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो । तर पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ । तर मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दि बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिदाँ विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दि, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरुको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताए । दुई, तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारीक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताए । विश्व ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको जानकारी दिए । विश्वका लगानीकर्ताहरुले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गरे । संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताए । ‘विश्वका शक्तिशाली देशहरु युद्धहरुमा संलग्न हुनु, व्यापारमा ठूलो अन्तर आउनु, विश्व व्यापीहरुमा दिनप्रति दिन मूल्यवृद्धि हुँदै जानु र उद्योगधन्दाहरु फस्टाउने भन्दा पनि समस्यामा पर्न लागेको कारणले गर्दा सबैको ध्यान सुनमा गएको कारण पछिल्लो समय सुनको मूल्य उतारचढाव आएको आएको छ । अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णय पछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाएकाले पनि सुनको मूल्य बढ्यो । नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेको थियो । तर अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण केही दिन अघि २० किलो रहेकामा आजसम्म हेर्दा दैनिक १० केजी मात्रै खपत रहेको छ । अहिले किन्ने आउने भन्दा पनि बेच्न आउनेहरुको सुन किन्न पैसा अपुग भएकाे छ’, उनले भने । उनले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलबार मूल्यमा गिरावट आएको बताए । उनले नेपाली बजारमा पनि त्यसैको असर देखिएको जानकारी दिए । नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताए ।

नेपालमा औपचारिक रुपमै दर्ता हुन टिकटकले गर्यो पत्राचार

काठमाडौं । टिकटकले नेपालमा दर्ताका लागि पत्राचार गरेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले औपचारिक रुपमै दर्ता हुन इमेलमार्फत पत्राचार गरेको हो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यता टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।