विकासन्युज

त्रिविको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पुस २ गते ४९औं दीक्षान्त समारोह गर्ने भएको छ । दशरथ रंगशालामा गरिने दीक्षान्त समारोहका लागि अहिले तयारी तिव्रपारिएको त्रिविले जनाएको छ । सो समारोहमा विसं २०७९ असार १ गतेदेखि २०८० सेठ ३२ गते सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् । त्रिविको ६४ औं वार्षिक दिवसको अवसरमा पारित ६४ औं ग्रेस लिस्टको आधारमा विद्यार्थीको संख्या यकिन भएको हो । ग्रेस लिस्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन् । यसैबीच त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ । संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषाल समक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो ।

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली, स्थानीय खुसी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण उद्घाटन गरे । सांसद सापकोटाले गुम्बागाउँमा आयोजित कार्यक्रममा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका हुन् । गत वर्ष सुरु भएको विद्युतीकरण कार्यक्रमअन्तर्गत जुगलका लेकालीगाउँ अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधव सापकोटाको प्रयासमा जुगल गाउँपालिका–३ का गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नहुँदै जुगल हिमाल आरोहणमा सहभागी हुनुभएका सापकोटाले सो क्षेत्रमा बिजुली ल्याउने प्रतिबद्धता चुनावताका गरेका थिए । विद्युतीकरण शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष रेशम स्याङबो, विद्युत् प्राधिकरण लामोसाँघु वितरण केन्द्रका प्रमुख दीपक सापकोटा, माओवादीका जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु, पदम श्रेष्ठलगायत सहभागी थिए । माथिल्लो भेगका गाउँ तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइरहेको छ । यही रफ्तारमा काम हुँदा आगामी वैशाखसम्म बाँकी तीनवटै गाउँमा बत्ती बल्ने गाउँपालिका अध्यक्ष स्याङबोले बताए । चर्चित जुगल पर्यटकीय क्षेत्र हिमाल जाने बाबाखर्क, क्याङसिङ र गुम्बाका तीन सय घरमा बिजुली पुगेपछि पर्यटकलाई सहज भएको छ । रासस

स्रोत नखुलेको रकमसहित पक्राउ

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो । निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ ।

काठमाडौं उपत्यका खानेपानीको सीईओका लागि ८ जना सर्टलिष्ट, को-को हुन् ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जनाको नाम सर्टलिष्ट गरिएको छ । सीईओ छनोट सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूमध्ये ८ जनाको नाम सर्टलिष्ट गरेको जनाएको छ । कार्यालयका अनुसार ई.अर्जुनबाबु ढकाल, अशोक कुमार पौडेल, ई.उमेश बाबु मरहट्टा, डा.ई.डोल प्रसाद चापागाईंको नाम सर्टलिष्ट गरिएको हो । यस्तै, ई.दिपेन्द्र कुमार देव, प्रकाश कुमार राई, ई.रमशे केसी र राजेन्द्र श्रेष्ठको नाम सर्टलिष्ट गरिएको सिफारिस समितिले जानकारी दिएको छ । शैक्षिक योग्यता र अनुभवसँग सम्बन्धित कागजातहरूको आधारमा मूल्याङ्कन गर्दा ४० प्रतिशत भन्दा बढी अङ्क ल्याउने उम्मेदवारहरू मध्ये क्रमश सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ७ जना र सातौं स्थानका लागि बराबर अङ्क प्राप्त गर्नेलाई सर्टलिष्ट गरिएको हो । उपत्यका खानेपानी लिमिटेडले गत असोज २३ गते सीईओका लागि आवेदन आह्वान गरेको थियो । अब सर्टलिष्ट भएकामध्ये ३ जनाको नाम सिफारिस गरिनेछ र तीन जनामध्येबाट एक जना सीईओ बन्नेछ । सीईओको कार्यकाल चार वर्षको हुनेछ ।

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौं । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए । विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताए ।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका उनलाई डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।

परराष्ट्र सचिव पौड्यालले लिए अवकाश, राजदूत बन्दै

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष निजामति सेवाबाट उनले आजबाट अवकाश लिएका हुन् । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन् । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएका छन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।

१० % लाभांश पारित गर्न मितेरी बैंकले डाक्यो १८औँ साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले १८औँ वार्षिक साधारणसभा पुस १४ गते सुनसरीमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको अधिकृत पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतर रहेको १ लाखभन्दा बढीको खर्च सभाले अनुमोदन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन्