
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री पदमा नियुक्ति भएको एक वर्षको अवधिमा आफूले गरेका कामको समीक्षा सहित देशवासीका नाममा सम्बोधन गरेका छन् । उनले देशबासीका नाममा सम्बोधन गर्दै आफूले नीतिगत सुधारदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विभिन्न काम गरेको बताउँदै सोचेजस्तो काम भने नभएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा भने कार्यशैली बदल्दै नतिजा देखिनेगरी काम गर्ने प्रतिबद्धता सम्बोधनबाट गरेका छन् । प्रधानमन्त्रीले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । स्वास्थ्य विमाको दायरा विस्तार गर्नुका साथै सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बिमामा आवद्ध गरिने उनले बताए ।
देशवासीका नाममा सम्बोधन गर्दै उनले विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरे । ‘मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन’, उनले भने । संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दावी गर्न सक्ने उनले बताए ।
‘चिकित्सा शिक्षालाई सस्तो र आम जनताको पहुँचमा पु¥याउन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरूमा नर्सिङ, प्यारामेडिक्स लगायतका शैक्षिक कार्यक्रम सञ्चालनको गृहकार्य भइरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्न थालेको जानकारी दिएका छन् । उनले कृषिमा राज्यको लगानी नघटेको तर उत्पादकत्व नबढेको बताए। सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पु¥याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिने उनको भनाइ छ। प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिने र दूध किसानहरूको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुने उनले बताए ।
उनका अनुसार खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, बिकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक (वि.सं. २०८१–२०९१) नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ।
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता यही फागुनमा सार्वजनिक गर्ने तयारी सरकारले गरिरहेको पनि उनले बताए । बजेटको सिद्धान्त र प्राथमिकता समयमै सार्वजनिक गरेर त्यसमाथि जनप्रतिनिधि र आम नागरिकको सुझाव लिइने पनि उनको भनाइ छ । बजेट निर्माणको परम्परागत तरिका भत्काउने उद्घोष गर्दै प्रधानमन्त्री प्रचण्डले दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेगरी नीतिगत, संरचनागत र कानुनी सुधारका काम सरकारले गर्ने पनि उनले प्रस्ट पारे।
विकास र समृद्धिको यात्रा सन्तोषजनक नभए पनि सरकारले अधिकतम प्रयास गरिरहेको पनि उनको भनाइ छ । आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा सफल भएको दाबी आफूले नगर्ने पनि प्रचण्डले बताए ।
‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि, सरकार असफल त भएन, तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘देश कति बन्यो भन्ने होइन, देश कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली फेरिन्छ ।’
केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने उद्घोष पनि प्रधानमन्त्री दाहालले गरेका छन् । ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा नगएर नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधानमा लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु ।
प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ
[pdf id=454742]