लगातार तेश्रो दिन पनि घट्यो सेयर बजार, ५ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । लगातार तेश्रो दिन पनि सेयर बजार घटेको छ । बुधबारको सेयर मूल्य मापक नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा झरेको छ । जुन गत आइतबारको तुलनामा ०.८२ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन ७ अर्ब ११ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब २४ करोडको सेयर किनबेच भएको छ । बजारमा ३०७ वटा स्क्रीप्स कारोबारमा आएका छन् । जसमध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक अर्थात १९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम्को १८ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले र ७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा कम र ९ प्रतिशतभन्दा बढीले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । टप लुजरको शीर्ष स्थानमा बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशत, हिमालयन हाइड्रोपावरको ९.९९ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ससेयर मूल्य ९.८२ प्रतिशतले घटेको छ ।
सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल, पर्यटक भित्र्याउन टेवा पुग्ने
भजनी । पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ । सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्तकमैयाको अतिक्रमणमा परेको विमानस्थल सञ्चालनमा ल्याउने भन्दै खाली भएको दशक बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । अतिक्रमण हटाएर मर्मतसम्भार भएको विमानस्थलमा परीक्षण उडानसमेत भएको थियो । परीक्षण उडानपछि गौचरनमा सीमित भएको विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय राजेन्द्र विश्वकर्माले बताए । ‘आज जहाज चड्नका लागि नेपालगञ्ज र धनगढी जानुपर्ने बाध्यता टीकापुरवासीलाई छ’, उनले भने, ‘टीकापुर विमानस्थलबाट जाहाज उड्न सकेको भए त्यति टाढा जानुपर्ने बाध्यता अन्त्य हुने थियो ।’ टीकापुरको पर्यटन र विकासको सम्भावनालाई मूर्तरुप दिनका लागि विमानस्थल सञ्चालनको विकल्प नभएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । ‘आज दैनिक एक जहाजलाई पुग्ने यात्रु टीकापुरबाट नेपालगञ्ज र धनगढी जाने गरेका छन् । विमानस्थल सञ्चालन भएमा ती यात्रुले टीकापुरबाटै जहाज चड्थे’, उनले भने, ‘टीकापुरमा भएका पर्यटकीय सम्भावनाका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउनका लागि पनि टेवा पुग्ने थियो ।’ उक्त विमानस्थल सञ्चालन भएमा कैलालीका आठ र बर्दियाका तीन पालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास छ । धावनमार्गको समस्या देखाउँदै सञ्चालनमा ढिलासुस्ती भएको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने मागसहित नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए । नगर उपप्रमुख शाहले गलत राजनीतिक संस्कारका कारण विमानस्थल सञ्चालनको बाटो खुल्न नसकेको बताए । ‘हाम्रो विकासको वितरण प्रणाली नै असमान छ । उक्त असमान वितरण प्रणालीको सिकार टीकापुर विमानस्थल पनि बनेको कुरा यथार्थ हो’, उनले भने, ‘विकासको वितरण प्रणालीमा प्रधानमन्त्री, मन्त्री तथा नेतृत्व तहमा पुगेका राजनीतिक दलका नेता आफ्नो क्षेत्र केन्द्रित हुँदा पनि समस्या भएको हो । भएका सम्भावनालाई राज्यस्तरबाट सहयोग हुनसकेको छैन ।’ नगर उपप्रमुख शाहका अनुसार विमानस्थलमा तत्काल एटिआर ४२ को जहाजका लागि कुनै समस्या नभएको देखिएको छ । ‘मैले पाइलटसँग बुझ्दा एटिआर ७२ का लागि धावनमार्ग पुग्दैन । एटिआर ४२ को जहाजका लागि कुनै समस्या छैन’, उनले भने । यसको सञ्चालनका लागि राज्य तथा सरोकारवाला निकायबाट पहल हुनुपर्ने उनको भनाइ थियो । यसअघि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । विमानस्थलको अध्ययनका लागि तीन अध्ययन समिति पनि बनेका थिए । ती अध्ययन समितिको प्रतिवेदनका आधारमा धावनमार्गको समस्याका कारण विमानस्थल सञ्चालनमा ल्याउन कठिन देखिएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनको माग राख्दै दुई पटक महोत्सव आयोजना गरेको थियो । ‘हामीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई टीकापुरमा ल्याएर विमानस्थल सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न लगाएका थियौँ’, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष खड्काले भने, ‘त्यसपछि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । ती प्रयास सार्थक भने हुन सकेनन् ।’ नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्कालीन अवस्थामा ठूलो जहाज सञ्चालनका लागि धावनमार्गको समस्या देखिएको बताए । उनले धनगढी र नेपालगञ्ज विमानस्थललाई देखाउँदै सानो जहाज सञ्चालन गर्दा हवाई भाडा महँगो हुने तथा यात्रु पाउन गाह्रो हुने बताए । ‘ठूलो जहाजको लागि धावनमार्ग पुग्दैन । सानो जहाजमा काठमाडौंबाट टीकापुर यात्रा गर्दा निकै महँगो पर्छ र प्राधिकरणसँग अहिले जहाज पनि कम छन्’, भुलले भने, ‘विमानस्थाल सञ्चालनका लागि प्राधिकरणले यहाँको वास्तविक वस्तुस्थितिको अध्ययन गरेर अगाडि बढ्ने तयारी गरिरहेको छ ।’ उनका अनुसार प्राधिकरणले यसभन्दा अगाडिका अध्ययनले वास्तविक तथ्य ल्याउन सकेको छैन । ठूलो जहाजमार्फत धनगढी तथा नेपालगञ्जबाट काठमाडौं पुग्न ४५ मिनेटदेखि एक घण्टा लाग्ने भए पनि सानो मार्फत टीकापुर–काठमाडौं यात्रा गर्न डेढ घण्टा लाग्नुका साथै भाडादर पनि रू १० हजार भन्दा माथि पुग्ने प्राधिकरणले जनाएको छ । त्यति महँगो भाडा तिरेर सानो जहाजमा यात्रा गर्ने यात्रु नपाइने भएकाले तत्काल विमानस्थल सञ्चालन हुने स्थिति नदेखिएको हो । विमानस्थलको धावनमार्ग १२ सयदेखि १५ सयसम्म बनाउन सकेको खण्डमा काठमाडौंदेखि टीकापुरका लागि दैनिक एक उडान गर्न सकिने प्राधिकरणका सूचना अधिकारी भुलले बताए । उनले विमानस्थल सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै पहल गर्नुपर्ने बताए । प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चितता गरे मात्र अन्य पूर्वाधार निर्माणका लागि लगानी गर्न सकिने उनको भनाइ थियो । ‘प्राधिकरणका तर्फबाट टीकापुर विमानस्थल सञ्चालनका लागि कुनै समस्या छैन । त्यसमा हामीले प्रदेश र स्थानीय तहको भूमिका खोजिरहेका छौँ’, सूचना अधिकारी भुलले भने, ‘प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चित गरेर आएको अवस्थामा विमानस्थल सञ्चालनमा ल्याउन समस्या छैन ।’ सङ्घीय सरकारले वार्षिक बजेटमा टीकापुर विमानस्थललाई बर्सेनि समेट्दै लगेको छ । चालू आर्थिक वर्षमा उक्त विमानस्थलको मर्मत सम्भारका लागि भन्दै बजेटमा समावेश गरिएको छ । रासस
सुन ल्याउँदा एयरपोर्टको सेटिङ मिलाउन ५ लाख खर्च हुन्थ्यो : मिनबहादुर घले
म जितार घलेको नाति, तेज बहादुर घलेको छोरा जिल्ला गोरखा, बारपाक सुलीकोट गापा वडा नं २ वतन भई हाल बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार वडा नं.११ बस्ने वर्ष ५५ को मिनबहादुर घले हुँ । मेरो सम्पर्क नं ९८४३…७ रहेको छ । चन्द्रबहादुर घलेले मेरो नाम समेत लिएको हुँदा सो सम्बन्धमा बयानको लागि यस कार्यालयमा उपस्थित भएको हुँ। मैले ४/५ वर्ष जति ट्रेकिङ गाइडको रुपमा काम गरेँ, पछि नेचुरल एक्सफ्लोरल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि खोलि काम गरेँ, जनकपुर रेलवेको काठको ठेक्का पट्टा सम्बन्धि काम गरेँ, त्यसपछि हङकङमा गई ४/५ वर्ष बसेँ, त्यसपछि डान्स एण्ड रिसर्च कल्चर सेन्टर खोलेँ, यसपछि प्यासिफिक ओभरसिज प्रालि संचालन गरि बसेँ । कोभिड अगाडि यसलाई पनि बेचेँ र हाल कुनै पेशा व्यवसायमा आबद्ध छैन । मेरो मोबाइलमा भएको ९८४३…७ नम्बरबाट दर्ता भएको ह्वाट्सएपलाई देखाउँदा उक्त एपमा भएको टेक्स्ट म्यासेज तथा अडियो समेत सनाखत गरिदिएको छु । मेरो मोबाइलको कन्ट्याक्ट लिस्टमा पूर्ण काइला नाम गरेको व्यक्ति जिल्ला गोरखा वारपाक सुलिकोट गापा वडा नं. १ स्थायी वतन भइ हाल कामनपा स्वयम्भु बस्ने चन्द्र घले हुन् । ह्वाट्सएपमा समेत निजले प्रयोग गरेको नम्बर ९८५११…५ हो । निज चन्द्र घलेलाई दुबईमा सम्पर्क गर्नु पर्दा ह्वाट्सएपमा नेट नभए सम्पर्क गर्न नसकिने भएकाले त्यहींको सिम हुँदा सजिलै सम्पर्क गर्न सकिने भएकोले सिम किन्यौ ? भनी सोधेको हुँ र टिकटको सम्बन्धमा निजले मलाई पठाउन भनेकाले पठाएको हुँ । ह्वाट्सएपमा +८५२९…३ नम्बरका व्यक्तिसँग च्याट गरेको र उक्त नम्बरका व्यक्ति भारतीय नागरिक अंकित अग्रवाल हुन् । ह्वाट्सएप च्याटमा ६ सेप्टेम्बर २०२२ समय १९:२६ मा निजले तपाईलाई ०५६११४८४८० अभिमान भनी दिएको नम्बर भारतीय व्यक्तिकै हो निज व्यक्ति दुबईमै बस्छ । उक्त नम्बर चन्द्र घलेलाई दिनका लागी मलाई अंकित अग्रवालले दिएको हो । उक्त च्याट मा २८ सेप्टेम्बर २०२२ समय १०:५८ मा निजले मलाई नाम: गुरु, सेल: ०५६२…१ भनी दिएको नम्बर अङ्कित अग्रवालले कित गुरु, कित अभिमानले भेट्छ भनी उक्त नम्बर चन्द्र घलेलाई फर्वार्ड गर्नको लागि दिएको हो । अङ्कित अग्रवाललाई फ्लाई दुबईको बुकिङ रिफरेन्स नम्बरः एसएन४भीएक्सजी भएको टिकट मैले ह्वाट्सएपमा ५ डिसेम्बर २०२३ समय १५स्१९ मा पठाएको थिएँ । भोलि चन्द्र घलेसँग भेटघाट गर्नु भनी भनेको हो । च्याटको क्रममा अङ्कित अग्रवाललाई हुन्छ भनि बिहीबार अरिहान्त भनि सोधेको जवाफमा ‘नो आई डिडन्ट। आई गेस आर्या मिसइन्टरप्रिटेड दो बट वि स्टिल ह्याभ वन डे टु म्यानेझ दो । क्यान यू रु भनेकोमा ‘एसएसआई विल एरेन्ज फर टुमारो ‘भनि जवाफ आएको देखियो र धन्यवाद समेत भन्नु भएको देखिन्छ भन्ने सम्बन्धमा म केही खुलाउन चाहन्न । उक्त च्याटमा, समय १५:२६ मा अङ्कित अग्रवाललाई टोकन इज ५/१२१५५९२३७ भनी भनेकोमा उक्त टोकन नम्बर उक्त टोकन चन्द्र घलेनै हो भन्ने प्रमाणको रुपमा पठाएको हो । साथै उक्त च्याटमा चन्द्रले सिम लिएपछि म खबर गर्छु भन्दा अङ्कित अग्रवालले उसलाई गुरुलाई सम्पर्क नगर्नलाई भन्यौं होला भनि आस गर्छु भनी भनेकोमा मैले ०५२८२८९०९४ नम्बर पठाएको हो । उक्त नम्बर चन्द्र घलेले दुबईमा सिम लिएपछि मलाई दिएको थियो । सोही नम्बर पठाएको हुँ । अङ्कित अग्रवालले ‘ हुन्छ मेरो मान्छेले भोलि डेलिभरी लोकेसनमा पुर्याउँछ । भोलि बिहानलाई केही काम भनेकोमा तपाईंले भरे केही हुनेछ कससँग भेट्ने हो ? के उसले मेरो मान्छेलाई फोन गर्छ ? भन्ने बार्तालापमा चन्द्रलाई कस्ले भेट्छ भनी सोधेकोमा चन्द्रलाई अङ्कित अग्रवाल वा निजले पठाएको प्रतिनिधीले फोन गर्छ भनी सोधेको हुँ । जवाफमा चन्द्रसँग कुरा भैसकेको भनेको छ र उसले त्यहि वार्तालापमा सामान (सुन) दिएको जानकारी गराएको हो । चन्द्र घलेको भिसा तथा टिकट लाजिम्पाट स्थित राजश्री ट्राभलबाट इस्यू गराइदिन्छु । भिसा चाहिँ अङ्कित अग्रवालले उतैबाट पठाइदिन्छन् । मेरो मोबाइलमा दर्ता रहेको जिमेल आईडीमा रहेको इनबक्समा अङ्कित अग्रवालले २४ नोभेम्बर २०२३ मा पठाएको कृष्ण भिसामा ट्राभल इन्स्योरेन्स सर्टिफिकेट नामको कागजातमा कृष्ण कुमार श्रेष्ठ पासपोर्ट नं. पीए०६५२३८३ देखिन्छ । उल्लेखित कृष्ण कुमार श्रेष्ठ भन्ने ब्यक्ति कृष्ण कुमार श्रेष्ठ मेरो चिनजानको साथी हो । झन्डै आजभन्दा ७/८ वर्ष पहिले देखि चिन जान भएको हो । उक्त कृष्णकुमार श्रेष्ठको भिसा र ट्राभल इन्स्योरेन्स समेतका कागजात सनाखत गरिदिन्छु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका पदाधिकारीले मलाई सोधपुछ गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको सेटिंङको बारेमा स्टेप बाइ स्टेप खुलाई दिनुहोस्, उक्त सुन चोरी पैठारीमा को-को संलग्न छन भन्ने प्रश्नको सम्बन्धमा आफुलाई जानकारी नभएको विमानस्थल भित्रको कर्मचारीहरुसँगको सेटिङ डिबिले नै मिलाउने गरेको भनी बताएको । उल्लेखित डिबि भन्ने व्यक्ति जिल्ला लमजुङ घर भएका डिबि भन्ने दनबहादुर गुरुङ हुन् । डिभी भनेर सेभ गरेको ९८६६४०१९३२ हो । निजसँग मेरो करिब ७/८ वर्ष पहिले नयाँ बसपार्कको दोहोरी साँझमा भेटघाट भई चिनजान भएको थियो । मैले समेत दुबईबाट विगतमा सुन ल्याउने गरेको हो । पछिल्लो पटक १४ किलो लिएर डिबी गुरुङको सहयोगमा एयरपोर्टबाट बाहिर निकाली डिबी गुरुङको घरबाट उक्त सुन बुझिलिई अंकित अग्रवालले पठाएको व्यक्तिलाई दिई निजबाट नौ लाख नगद बुझि लिएको हो । उक्त रकममध्ये ५ लाख डिबी गुरुङलाई एयरपोर्टको सेटिङ मिलाउन खर्च हुन्थ्यो । बाँकी रकम मध्ये १-१ लाख म र डिबी गुरुङले बाड्ने, बाँकीमध्ये साठी सत्तरी हजार दुबई सुन लिन जाने व्यक्तिलाई दिने गरिन्थ्यो भने बाँकी दुबईको टिकट भिसा बनाउन खर्च हुने गर्थ्यो । (१४ किलो सुन तस्करीमा संलग्न घलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिलाई दिएको बयान)
राष्ट्रिय सहकारी बैंकले माग्यो ९२ जना कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न १० पदका लागि ९२ जना कर्मचारीको माग गरेको हाे । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको जनाएको छ । बैंकले कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जना र कर्जा अधिकृत २ जना कर्मचारीको लागि आवेदन खुलाएको छ । ईच्छुकले तथा योग्यता पुगेका नागरिकले पुस २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने बैंकले जनाएको छ ।
इजरायल-हमासको युद्धले भारतलाई दबाब, व्यापार र आपूर्तिमा खतरा बढ्ने
काठमाडौं । तीन दिनअघि अरब सागरमा शंकास्पद ड्रोन आक्रमणको शिकार भएको व्यापारिक जहाज ‘एमभी केम प्लुटो’ डिसेम्बर २५ मा मुम्बई पुगेपछि भारतीय नौसेनाको विस्फोटक डिस्पोजल टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो । उक्त जहाजमा लाइबेरियाको झण्डा फहराइएको थियो र चालक दलमा २१ भारतीय र एक भियतनामी थिए । आक्रमण भएको जहाजको भाग र त्यहाँ रहेको भग्नावशेष हेर्दा ड्रोनले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । त्यसबारे भने अनुसन्धान भइरहेको छ । साउदी अरबबाट मङ्गलुरु आउँदै गरेको त्यो जहाजमा शनिबार अरब सागरमा आक्रमण भएको थियो । तर, यसबीच व्यापारिक जहाजमा आक्रमणको घटनापछि भारतीय नौसेनाले अरब सागरका विभिन्न क्षेत्रमा आईएनएस मोर्मुगाओ, आईएनएस कोची र आईएनएस कोलकाता नामक गाईडेड मिसाइल विनाशक तैनाथ गरेको छ । यसअघि अफ्रिकी देश गाबोनको झण्डा बोकेको जहाजमा आक्रमण भएको थियो । उक्त जहाज तेलले भरिएको थियो । एम साई बाबा नामको यो जहाज भारततर्फ आइरहेको थियो र त्यसमा चालक दलका २५ सदस्य सवार थिए । ती सबै भारतीय थिए । यो जहाजमा आइतबार ड्रोनले आक्रमण गरिएको थियो । यसअघि नर्वेको झण्डा बोकेको जहाजमा आक्रमण भएको थियो । आइतबार हमला भएको ग्याबोन जहाजको सम्बन्धमा सबैभन्दा पहिले भारतीय झण्डा बोकेको जहाजमा आक्रमण भएको खबर आएको थियो । अमेरिकाले भारतीय जहाजमा आक्रमण भएको दाबी गरेको थियो । तर, पछि भारतीय नौसेनाले यसमा ग्याबोनको झण्डा रहेको स्पष्ट पारेको थियो । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले ग्याबोनको झण्डा फहराउने जहाजमा आइतबार हुथी विद्रोहीले आक्रमण गरेको जनाएको छ । शनिबार एमभी केम प्लुटोमा इरानबाट आएको ड्रोनले आक्रमण गरेको थियो । तर, इरानले भारत आउँदै गरेको जहाजलाई आफ्नो भूमिबाट आक्रमण नगरेको बताएको थियो । भारतको प्रतिक्रिया भारत आउँदै गरेका जहाजहरूमा यस्तो बेला आक्रमण भएको हो, जुन लालसागरमा यमनका हुथी विद्रोहीहरूद्वारा मिसाइल र यूएभी आक्रमण जारी थियो । इजरायल र हमासबीचको युद्धपछि इजरायलतर्फ गइरहेका जहाजहरूमा यी आक्रमणहरू भइरहेका हुन् । अमेरिकी केन्द्रीय कमाण्डले ट्वीट गर्दै यी आक्रमणको गम्भीरतातर्फ ध्यानाकर्षण गराएका छन् । उनले यस्ता आक्रमणले अन्तर्राष्ट्रिय सामुद्रिक मार्गको सुरक्षामा खतरा हुन सक्ने बताए । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले आफ्नो पक्षबाट जवाफी कारबाही गरेको थियो । सबैभन्दा पहिले नोभेम्बर २१ मा इजरायली कार्गो जहाज ग्यालेक्सी लिडरमा हमला भएको थियो । यो जहाज पनि टर्कीबाट भारततर्फ आइरहेको थियो । इरानको सहयोगी हुथी विद्रोहीले जहाजमा सवार २५ जनालाई अपहरण गरेका थिए । त्यसबेला हुथी विद्रोहीका मुख्य वार्ताकार र प्रवक्ता मोहम्मद अब्दुल सलामले इजरायलका शत्रुका सबै जहाजले एउटै नियति भोग्ने बताएका थिए । यसअघि हुथी विद्रोहीका प्रवक्ताले ती देशहरूलाई इजरायली जहाजबाट आफ्ना नागरिक फिर्ता लिन आग्रह गरेका थिए । हमासलाई सहयोग गर्ने इरानले हुथी विद्रोहीलाई ड्रोन, ब्यालेस्टिक र क्रुज मिसाइल सञ्चालन गर्ने तालिम दिइरहेको बताइएको छ । नोभेम्बर २५ मा कार्गो जहाज ग्यालेक्सी लिडरमा आक्रमण भएपछि डिसेम्बर ३ सम्म दुई इजरायली जहाज र अर्को व्यापारिक जहाजमा आक्रमण भएको थियो । र, अहिले पछिल्ला दुई–तीन दिनमा भारततर्फ आउने दुईवटा जहाजमा आक्रमणका कारण अवस्था निकै गम्भीर बनेको छ । लाइबेरिया र ग्याबोनको झण्डामुनि आफ्नो क्षेत्रीय जलक्षेत्रतर्फ उड्ने विमानमा आक्रमण भएपछि भारत सरकारले अरब सागरका विभिन्न क्षेत्रमा आईएनएस मोर्मुगाओ, आईएनएस कोची र आईएनएस कोलकाता नामक गाईडेड मिसाइल विनाशकहरू तैनाथ गर्नुपरेको थियो। ‘भारतको बढ्दो आर्थिक र रणनीतिक शक्तिले केही शक्तिहरूलाई इर्ष्यालु बनाएको छ,’ भारतका रक्षामन्त्री राजनाथ सिंहले यस विषयमा प्रतिक्रिया दिँदै भने, ‘अरब सागरमा हालै भएको एमभी केम प्लुटोमा भएको ड्रोन आक्रमण र केही दिनअघि लालसागरमा एमभी साईबाबामाथि भएको आक्रमणलाई भारत सरकारले गम्भीरतापूर्वक लिएको छ । यो आक्रमण कसले गराएको हो उसलाई समुन्द्रमुनिबाट पनि पत्ता लगाइने छ र सजाय दिइनेछ।’ लालसागरको महत्व भारतीय नौसेनाका एक वरिष्ठ अधिकारीले हमास र इजरायलबीचको द्वन्द्व अब अरब सागरतर्फ बढ्दै गएको बताएका छन् । यस्तो युद्ध मोर्चा खोल्दा भारतमा ठूलो असर पर्न सक्ने उनको भनाइ छ । ‘बरु भारत यसबाट प्रभावित हुन थालेको छ,’ उनले भनेका छन्, ‘यसै कारण भारतले क्षेप्यास्त्र नष्ट गर्ने जहाज तैनाथ गरेको हो । भारतको अधिकांश आयात र निर्यात मुम्बई, कोची, मंगलुरु, गोवा र चेन्नई हुँदै जान्छ। त्यसैले यो अवस्था भारतका लागि चिन्ताजनक छ ।’ भारतको ८० प्रतिशत व्यापार समुद्री मार्गबाट हुने गरेको छ । यसबाहेक यसको ९० प्रतिशत इन्धन समुद्री मार्गबाट आउँछ । यस्तो अवस्थामा समुद्री मार्गमा हुने कुनै पनि आक्रमणले भारतको व्यापार र यसको आपूर्ति शृङ्खलालाई सिधै खतरामा पार्ने छ । आज विश्वको ढुवानी ट्राफिकको १२ प्रतिशत लालसागर र स्वेज नहर हुँदै जान्छ । लालसागर इडेनको खाडीमा खुल्छ र एडेनको खाडी अरब महासागरमा खुल्छ । स्वेज नहर भूमध्यसागरमा खुल्छ । भूमध्यसागर र यसको पछाडि सम्पूर्ण युरोप र यसको छेउमा, एट्लान्टिक सागर, उत्तर र दक्षिण अमेरिका पछाडि छ । यो व्यापार मार्गहरूको सम्पूर्ण श्रृंखला हो । यसमा कुनै पनि समस्याले सम्पूर्ण विश्वव्यापी व्यापारलाई हानि पुर्याउन सक्छ । भारतमा यी आक्रमणको प्रभाव के हुन्छ ? भारत र यो मार्गबाट आयात निर्यात प्रायः मुम्बई, कोची, मंगलुरु, गोवा र चेन्नई हुँदै जान्छ । त्यसपछि दक्षिण पूर्वी एसियाली देशहरू जस्तै सिंगापुर, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाम र चीन, जापान, कोरिया, अष्ट्रेलिया जाने सबै जहाजहरू छन् जुन अरब सागरमार्फत भित्र आउँछन् । पहिले हिन्द महासागर र त्यसपछि अरब महासागरमा पुग्छन् । अरब महासागरबाट यो अडेनको खाडी, लालसागर र त्यसपछि स्वेज नहर र भूमध्यसागरमा जान्छ र त्यसपछि यहाँबाट युरोप र त्यसपछि जिब्राल्टरको जलडमरू हुँदै एट्लान्टिक सागर र त्यसपछि अमेरिकासम्म पुग्छ । यिनीहरूमा कुनै समस्या भए पूरै रुट परिवर्तन गरिने छ । यसपछि सम्पूर्ण सामान केप अफ गुड होपबाट ल्याउनुपर्ने छ । यसले सम्पूर्ण व्यापार मार्गको लम्बाइ ४० प्रतिशतले बढाउने छ । अब लामो दूरीका लागि थप इन्धन खर्च गर्नुपर्ने छ र व्यापार लागत बढ्ने छ। यो भारतका लागि ठूलो आर्थिक दबाब हुनेछ । यसअघि इजरायल वा यसका व्यापारिक वा सहयोगी मुलुकका व्यापारी जहाजमा आक्रमण हुने गरेको थियो भने अहिले भारतमा आउने जहाजमाथि आक्रमण भइरहेको छ । आखिर भारततर्फ आउने जहाजमाथि हमला भइरहेको छ । के यो इजरायलको आक्रमण रोक्न हमासमाथि दबाब बढाउनका लागि गरिएको हो ? हुथी विद्रोहीहरूले हमासमाथिको आक्रमण नरोकिएसम्म यी आक्रमणहरू जारी रहने बताएका छन् । वास्तवमा, हमास र यससँग सम्बन्धित सेनाहरूले इजरायललाई आक्रमण रोक्न दबाब दिइरहेका छन् । रुस र चीनले इजरायललाई आक्रमण गर्नबाट रोक्ने प्रयास गरिरहेका छन् । अहिले भारतमाथि दबाब बढेको छ । भारतको हितमा हानि पुर्यायाउने प्रयास भए इजरायल र हमासबीचको युद्ध बन्द होस् भन्ने चाहन्छ । नेतन्याहुसँग भारतको राम्रो सम्बन्ध छ र यस दिशामा पहल गर्न सक्छ । यही कारणले भारतमाथि दबाबको रणनीति बनिरहेको छ । बीबीसी हिन्दी
आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता
काठमाडौं । आइएमई पे र एजुकेशन पार्कबीच आइईएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइईएलटिएस र पिटिईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । पुस ६ गतेबाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ । आइईएलटिएस र पिटिई कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरु माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा छुट पाउने
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
अपर हेवाखोलालाई साधारण सभा गर्न समस्या, समय थप्न माग
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई वार्षिक साधारण सभा गर्न समस्या भएको छ । गत असारमा आएको बाढीले अपर हेवाखोला साना जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभा गर्न समस्या भएको हो । उक्त बाढीले क्षति पुर्याएको र सोको पुनः निमार्ण कार्य तीव्र गतिमा भइ रहेको तथा बीमा दावीको टुङ्गो लागि नसकेकोले कम्पनीले म्याद थप गरिदिन माग गरेको छ । कम्पनीले आगामी ३ महिना थप गर्नको लागि स्वीकृति दिन कम्पनी रजिष्ट्रार कार्यालयसँग अनुरोध गरेको छ ।