विकासन्युज

सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघको माग

काठमाडौं । स्वतस्र्फूत रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गरी हालै बजारमा सिमेन्टको भाउ बढाइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानून विपरितको दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन दाहालद्धारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । ‘विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघको विज्ञप्तिमा लेखिएको छ । म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघले पुनः नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष जोडदार माग गरेको छ ।

थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त

काठमाडौं । थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त भएका छन् । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शिवाकोटीलाई सञ्चालक समितिको अध्यक्षको पदमा नियुक्त गरेको हो । कम्पनीका अनुसार थ्री स्टार हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले राजीनामा दिएसँगै कम्पनीले उक्त पदमा शिवाकोटीलाई नियुक्त गरेको हो ।

प्रिमियमबाट उठेको रकमले भवन निर्माण गर्छौं, कम्पनीलाई उचाइमा पुर्याउँछौं : सीईओ पौडेल

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले प्रिमियमबाट उठेको रकम भवन निर्माणमा लगानी गर्ने बताएकी छिन् । बुधबार आईपीओ बाँडफाँट कार्यक्रममा बोल्दै सीईओ पौडेलले प्रिमियमबाट संकलन भएको रकम कम्पनीको भवन निर्माणमा लगानी गर्ने बताएकी हुन् । ‘प्रिमियमबाट उठेको रकम कम्पनीको भवनमा लगानी गर्छाैं या, त्यो भएन भने राम्रो कम्पनीमा लगानी गर्छौं,’ उनले भनिन् । हाल यस कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको नक्सालमा रहेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसबाट कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो । कम्पनीलाई जगबाटै बलियो बनाउने गरी काम गरिरहेको उनले बताइन् । साथै कम्पनीको व्यवसाय अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । ‘हिमालयन रिइन्स्योरेन्स पब्लिक कम्पनी बन्यो, अब कम्पनीलाई उचाइमा पुर्याउने उद्देश्य छ, आन्तरिक बजारमा व्यवसाय गरिरहेको छ, हाम्रो उद्देश्य आन्तरिक बजारमा मात्रै सीमित नभएर विदेशमा पनि काम गर्छाैं,’ उनले भनिन् । उनका अनुसार ३ वर्षको अवधिमा कम्पनीले २९ वटा अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका छ । नेपालको पहिलो रेटेड कम्पनी भएकाले अन्तर्राष्ट्रिय ब्राण्डेड कम्पनी बनाउने उनले बताइन् । तत्काल लगानीकर्तालाई लाभांश दिनेभन्दा पनि कम्पनीको उद्देश्य दीर्घकालसम्म टिकिरहने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा छाईरहेका छौं, अन्तर्राष्ट्रिय बजारमा नेपाल र हिमालयन रिइन्स्योरेन्सको नाम उचाईमा पुर्याउने योजना छ, ५० वटा देशका मार्केटले हामीलाई विश्वास गरेर अफर गरेका छन्, २९ वटा देशमा पुगिसकेका छौं,’ उनले भने, ‘रिइन्स्योरेन्सको व्यवसायमा सधैं राम्रो व्यापार हुँदैन, ननप्रोफिटेबल बिजनेश पनि लिनु पर्ने हुन्छ, त्यसमा अण्डरराइटिङ गाइडलाइन अनुरुप अघि बढ्नु पर्छ, पहिला आफू बलियो हुनुपर्छ, तुरुन्तै धेरै लाभांश दिने होइन, दीर्घकाल टिक्ने नाफायोग्य व्यवसाय गर्छाैं ।’ उनका अनुसार तत्काल फाइदा देखाएर लगानीकर्तालाई खुसी बनाउने भन्दा पनि दीर्घकालसम्म लगानीकर्तालाई टिकाउने उद्देश्य हो । सकेसम्म छिटो वार्षिक साधारणसभा गर्ने तयारी रहेको उनले बताइन् ।

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन मोटरसाइकल सार्वजनिक, कुनको मूल्य कति ? 

काठमाडौं । रोयल इन्फिल्डको तीन नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक भएका छन् । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गत ‘अल्फा अटोमोटिभ प्रालि’ ले बुधबार एक कार्यक्रम गर्दै ‘मिटिओर ३५० सीसी’ को तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा मोटरसाइकल सार्वजनिक गरेको छ । मोटरसाइकल सार्वजनिक गर्ने क्रममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइले उक्त मोटरसाइकल सबैको रोजाइमा पर्ने विश्वास लिएको बताए । ‘नयाँ मोटरसाइकल सार्वजनिक गर्दा खुसी छौं, यो मोटरसाइकल आम मास बिच लोकप्रिय हुने विश्वास लिएका छौं, आधुनिक विशेषता सहित आएका यी मोटरसाइकल धेरैको रोजाइमा पर्ने आशा छ,’ उनले भने । कम्पनीका अनुसार मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । उक्त मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड, इलेक्ट्रोनिक फ्युल इंजेक्शन रहेको छ । मोटरसाइकलमा जडान भएको इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र चार हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यसमा डुअल डिस्कब्रेक दिएको पनि बताइएको छ । कम्पनीका अनुसार उक्त तीन मोटरसाइकलामा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० कि।मि। माइलेज दिने छ । इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुब स्पाइन फ्रेम, आगाडी – चौडा टुबलेस टायर (९१०० / ९० – १९-५७पी), पछाडी चौडा दुबलेस टायर (९१४०/७०-१७“-६६पी) जस्ता फिचरहरू रहेको बताइएको छ । नयाँ डिजाइन र आकर्षक लुक्ससँगै आधुनिक विशेषता भएको ३५० सीसीको मिटिओर फायरबल पहेलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध रहेको छ । त्यस्तै, ३५० सीसीको मिटिओर स्टेलर कालो, निलो र रातो रंगमा उपलब्ध भने मिटिओर सुपरनोभा मोटरसाइकल खैरो, निलो र रातो रंगमा उपलब्ध रहेको छ । उक्त मोटरसाइकल रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ । कम्पनीले मिटिओर फायरबलको मूल्य पाँच लाख ५० हजार, मिटिओर स्टेलरको पाँच लाख ५५ हजार र मिटिओर सुपरनोभा मोटरसाइकलको मूल्य पाँच लाख पैसठी हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार सबै भेरियन्टको बुकिङ समेत खुल्ला गरिएको छ ।

लगातार तेश्रो दिन पनि घट्यो सेयर बजार, ५ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । लगातार तेश्रो दिन पनि सेयर बजार घटेको छ । बुधबारको सेयर मूल्य मापक नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा झरेको छ । जुन गत आइतबारको तुलनामा ०.८२ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन ७ अर्ब ११ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब २४ करोडको सेयर किनबेच भएको छ । बजारमा ३०७ वटा स्क्रीप्स कारोबारमा आएका छन् । जसमध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक अर्थात १९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम्को १८ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले र ७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा कम र ९ प्रतिशतभन्दा बढीले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । टप लुजरको शीर्ष स्थानमा बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशत, हिमालयन हाइड्रोपावरको ९.९९ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ससेयर मूल्य ९.८२ प्रतिशतले घटेको छ ।

सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल, पर्यटक भित्र्याउन टेवा पुग्ने

भजनी । पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ । सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्तकमैयाको अतिक्रमणमा परेको विमानस्थल सञ्चालनमा ल्याउने भन्दै खाली भएको दशक बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । अतिक्रमण हटाएर मर्मतसम्भार भएको विमानस्थलमा परीक्षण उडानसमेत भएको थियो । परीक्षण उडानपछि गौचरनमा सीमित भएको विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय राजेन्द्र विश्वकर्माले बताए । ‘आज जहाज चड्नका लागि नेपालगञ्ज र धनगढी जानुपर्ने बाध्यता टीकापुरवासीलाई छ’, उनले भने, ‘टीकापुर विमानस्थलबाट जाहाज उड्न सकेको भए त्यति टाढा जानुपर्ने बाध्यता अन्त्य हुने थियो ।’ टीकापुरको पर्यटन र विकासको सम्भावनालाई मूर्तरुप दिनका लागि विमानस्थल सञ्चालनको विकल्प नभएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । ‘आज दैनिक एक जहाजलाई पुग्ने यात्रु टीकापुरबाट नेपालगञ्ज र धनगढी जाने गरेका छन् । विमानस्थल सञ्चालन भएमा ती यात्रुले टीकापुरबाटै जहाज चड्थे’, उनले भने, ‘टीकापुरमा भएका पर्यटकीय सम्भावनाका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउनका लागि पनि टेवा पुग्ने थियो ।’ उक्त विमानस्थल सञ्चालन भएमा कैलालीका आठ र बर्दियाका तीन पालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास छ । धावनमार्गको समस्या देखाउँदै सञ्चालनमा ढिलासुस्ती भएको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने मागसहित नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए । नगर उपप्रमुख शाहले गलत राजनीतिक संस्कारका कारण विमानस्थल सञ्चालनको बाटो खुल्न नसकेको बताए । ‘हाम्रो विकासको वितरण प्रणाली नै असमान छ । उक्त असमान वितरण प्रणालीको सिकार टीकापुर विमानस्थल पनि बनेको कुरा यथार्थ हो’, उनले भने, ‘विकासको वितरण प्रणालीमा प्रधानमन्त्री, मन्त्री तथा नेतृत्व तहमा पुगेका राजनीतिक दलका नेता आफ्नो क्षेत्र केन्द्रित हुँदा पनि समस्या भएको हो । भएका सम्भावनालाई राज्यस्तरबाट सहयोग हुनसकेको छैन ।’ नगर उपप्रमुख शाहका अनुसार विमानस्थलमा तत्काल एटिआर ४२ को जहाजका लागि कुनै समस्या नभएको देखिएको छ । ‘मैले पाइलटसँग बुझ्दा एटिआर ७२ का लागि धावनमार्ग पुग्दैन । एटिआर ४२ को जहाजका लागि कुनै समस्या छैन’, उनले भने । यसको सञ्चालनका लागि राज्य तथा सरोकारवाला निकायबाट पहल हुनुपर्ने उनको भनाइ थियो । यसअघि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । विमानस्थलको अध्ययनका लागि तीन अध्ययन समिति पनि बनेका थिए । ती अध्ययन समितिको प्रतिवेदनका आधारमा धावनमार्गको समस्याका कारण विमानस्थल सञ्चालनमा ल्याउन कठिन देखिएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनको माग राख्दै दुई पटक महोत्सव आयोजना गरेको थियो । ‘हामीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई टीकापुरमा ल्याएर विमानस्थल सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न लगाएका थियौँ’, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष खड्काले भने, ‘त्यसपछि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । ती प्रयास सार्थक भने हुन सकेनन् ।’ नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्कालीन अवस्थामा ठूलो जहाज सञ्चालनका लागि धावनमार्गको समस्या देखिएको बताए । उनले धनगढी र नेपालगञ्ज विमानस्थललाई देखाउँदै सानो जहाज सञ्चालन गर्दा हवाई भाडा महँगो हुने तथा यात्रु पाउन गाह्रो हुने बताए । ‘ठूलो जहाजको लागि धावनमार्ग पुग्दैन । सानो जहाजमा काठमाडौंबाट टीकापुर यात्रा गर्दा निकै महँगो पर्छ र प्राधिकरणसँग अहिले जहाज पनि कम छन्’, भुलले भने, ‘विमानस्थाल सञ्चालनका लागि प्राधिकरणले यहाँको वास्तविक वस्तुस्थितिको अध्ययन गरेर अगाडि बढ्ने तयारी गरिरहेको छ ।’ उनका अनुसार प्राधिकरणले यसभन्दा अगाडिका अध्ययनले वास्तविक तथ्य ल्याउन सकेको छैन । ठूलो जहाजमार्फत धनगढी तथा नेपालगञ्जबाट काठमाडौं पुग्न ४५ मिनेटदेखि एक घण्टा लाग्ने भए पनि सानो मार्फत टीकापुर–काठमाडौं यात्रा गर्न डेढ घण्टा लाग्नुका साथै भाडादर पनि रू १० हजार भन्दा माथि पुग्ने प्राधिकरणले जनाएको छ । त्यति महँगो भाडा तिरेर सानो जहाजमा यात्रा गर्ने यात्रु नपाइने भएकाले तत्काल विमानस्थल सञ्चालन हुने स्थिति नदेखिएको हो । विमानस्थलको धावनमार्ग १२ सयदेखि १५ सयसम्म बनाउन सकेको खण्डमा काठमाडौंदेखि टीकापुरका लागि दैनिक एक उडान गर्न सकिने प्राधिकरणका सूचना अधिकारी भुलले बताए । उनले विमानस्थल सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै पहल गर्नुपर्ने बताए । प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चितता गरे मात्र अन्य पूर्वाधार निर्माणका लागि लगानी गर्न सकिने उनको भनाइ थियो । ‘प्राधिकरणका तर्फबाट टीकापुर विमानस्थल सञ्चालनका लागि कुनै समस्या छैन । त्यसमा हामीले प्रदेश र स्थानीय तहको भूमिका खोजिरहेका छौँ’, सूचना अधिकारी भुलले भने, ‘प्रदेश र स्थानीय तहले जग्गाको सुनिश्चित गरेर आएको अवस्थामा विमानस्थल सञ्चालनमा ल्याउन समस्या छैन ।’ सङ्घीय सरकारले वार्षिक बजेटमा टीकापुर विमानस्थललाई बर्सेनि समेट्दै लगेको छ । चालू आर्थिक वर्षमा उक्त विमानस्थलको मर्मत सम्भारका लागि भन्दै बजेटमा समावेश गरिएको छ । रासस

सुन ल्याउँदा एयरपोर्टको सेटिङ मिलाउन ५ लाख खर्च हुन्थ्यो : मिनबहादुर घले

म जितार घलेको नाति, तेज बहादुर घलेको छोरा जिल्ला गोरखा, बारपाक सुलीकोट गापा वडा नं २ वतन भई हाल बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार वडा नं.११ बस्ने वर्ष ५५ को मिनबहादुर घले हुँ । मेरो सम्पर्क नं ९८४३…७ रहेको छ । चन्द्रबहादुर घलेले मेरो नाम समेत लिएको हुँदा सो सम्बन्धमा बयानको लागि यस कार्यालयमा उपस्थित भएको हुँ। मैले ४/५ वर्ष जति ट्रेकिङ गाइडको रुपमा काम गरेँ, पछि नेचुरल एक्सफ्लोरल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि खोलि काम गरेँ, जनकपुर रेलवेको काठको ठेक्का पट्टा सम्बन्धि काम गरेँ, त्यसपछि हङकङमा गई ४/५ वर्ष बसेँ, त्यसपछि डान्स एण्ड रिसर्च कल्चर सेन्टर खोलेँ, यसपछि प्यासिफिक ओभरसिज प्रालि संचालन गरि बसेँ । कोभिड अगाडि यसलाई पनि बेचेँ र हाल कुनै पेशा व्यवसायमा आबद्ध छैन । मेरो मोबाइलमा भएको ९८४३…७ नम्बरबाट दर्ता भएको ह्वाट्सएपलाई देखाउँदा उक्त एपमा भएको टेक्स्ट म्यासेज तथा अडियो समेत सनाखत गरिदिएको छु । मेरो मोबाइलको कन्ट्याक्ट लिस्टमा पूर्ण काइला नाम गरेको व्यक्ति जिल्ला गोरखा वारपाक सुलिकोट गापा वडा नं. १ स्थायी वतन भइ हाल कामनपा स्वयम्भु बस्ने चन्द्र घले हुन् । ह्वाट्सएपमा समेत निजले प्रयोग गरेको नम्बर ९८५११…५ हो । निज चन्द्र घलेलाई दुबईमा सम्पर्क गर्नु पर्दा ह्वाट्सएपमा नेट नभए सम्पर्क गर्न नसकिने भएकाले त्यहींको सिम हुँदा सजिलै सम्पर्क गर्न सकिने भएकोले सिम किन्यौ ? भनी सोधेको हुँ र टिकटको सम्बन्धमा निजले मलाई पठाउन भनेकाले पठाएको हुँ । ह्वाट्सएपमा +८५२९…३ नम्बरका व्यक्तिसँग च्याट गरेको र उक्त नम्बरका व्यक्ति भारतीय नागरिक अंकित अग्रवाल हुन् । ह्वाट्सएप च्याटमा ६ सेप्टेम्बर २०२२ समय १९:२६ मा निजले तपाईलाई ०५६११४८४८० अभिमान भनी दिएको नम्बर भारतीय व्यक्तिकै हो निज व्यक्ति दुबईमै बस्छ । उक्त नम्बर चन्द्र घलेलाई दिनका लागी मलाई अंकित अग्रवालले दिएको हो । उक्त च्याट मा २८ सेप्टेम्बर २०२२ समय १०:५८ मा निजले मलाई नाम: गुरु, सेल: ०५६२…१ भनी दिएको नम्बर अङ्कित अग्रवालले कित गुरु, कित अभिमानले भेट्छ भनी उक्त नम्बर चन्द्र घलेलाई फर्वार्ड गर्नको लागि दिएको हो । अङ्कित अग्रवाललाई फ्लाई दुबईको बुकिङ रिफरेन्स नम्बरः एसएन४भीएक्सजी भएको टिकट मैले ह्वाट्सएपमा ५ डिसेम्बर २०२३ समय १५स्१९ मा पठाएको थिएँ । भोलि चन्द्र घलेसँग भेटघाट गर्नु भनी भनेको हो । च्याटको क्रममा अङ्कित अग्रवाललाई हुन्छ भनि बिहीबार अरिहान्त भनि सोधेको जवाफमा ‘नो आई डिडन्ट। आई गेस आर्या मिसइन्टरप्रिटेड दो बट वि स्टिल ह्याभ वन डे टु म्यानेझ दो । क्यान यू रु भनेकोमा ‘एसएसआई विल एरेन्ज फर टुमारो ‘भनि जवाफ आएको देखियो र धन्यवाद समेत भन्नु भएको देखिन्छ भन्‍ने सम्बन्धमा म केही खुलाउन चाहन्‍न । उक्त च्याटमा, समय १५:२६ मा अङ्कित अग्रवाललाई टोकन इज ५/१२१५५९२३७ भनी भनेकोमा उक्त टोकन नम्बर उक्त टोकन चन्द्र घलेनै हो भन्‍ने प्रमाणको रुपमा पठाएको हो । साथै उक्त च्याटमा चन्द्रले सिम लिएपछि म खबर गर्छु भन्दा अङ्कित अग्रवालले उसलाई गुरुलाई सम्पर्क नगर्नलाई भन्यौं होला भनि आस गर्छु भनी भनेकोमा मैले ०५२८२८९०९४ नम्बर पठाएको हो । उक्त नम्बर चन्द्र घलेले दुबईमा सिम लिएपछि मलाई दिएको थियो । सोही नम्बर पठाएको हुँ । अङ्कित अग्रवालले ‘ हुन्छ मेरो मान्छेले भोलि डेलिभरी लोकेसनमा पुर्याउँछ । भोलि बिहानलाई केही काम भनेकोमा तपाईंले भरे केही हुनेछ कससँग भेट्ने हो ? के उसले मेरो मान्छेलाई फोन गर्छ ? भन्‍ने बार्तालापमा चन्द्रलाई कस्ले भेट्छ भनी सोधेकोमा चन्द्रलाई अङ्कित अग्रवाल वा निजले पठाएको प्रतिनिधीले फोन गर्छ भनी सोधेको हुँ । जवाफमा चन्द्रसँग कुरा भैसकेको भनेको छ र उसले त्यहि वार्तालापमा सामान (सुन) दिएको जानकारी गराएको हो । चन्द्र घलेको भिसा तथा टिकट लाजिम्पाट स्थित राजश्री ट्राभलबाट इस्यू गराइदिन्छु । भिसा चाहिँ अङ्कित अग्रवालले उतैबाट पठाइदिन्छन् । मेरो मोबाइलमा दर्ता रहेको जिमेल आईडीमा रहेको इनबक्समा अङ्कित अग्रवालले २४ नोभेम्बर २०२३ मा पठाएको कृष्ण भिसामा ट्राभल इन्स्योरेन्स सर्टिफिकेट नामको कागजातमा कृष्ण कुमार श्रेष्ठ पासपोर्ट नं. पीए०६५२३८३ देखिन्छ । उल्लेखित कृष्ण कुमार श्रेष्ठ भन्‍ने ब्यक्ति कृष्ण कुमार श्रेष्ठ मेरो चिनजानको साथी हो । झन्डै आजभन्दा ७/८ वर्ष पहिले देखि चिन जान भएको हो । उक्त कृष्णकुमार श्रेष्ठको भिसा र ट्राभल इन्स्योरेन्स समेतका कागजात सनाखत गरिदिन्छु । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालयका पदाधिकारीले मलाई सोधपुछ गर्दा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल भित्रको सेटिंङको बारेमा स्टेप बाइ स्टेप खुलाई दिनुहोस्, उक्त सुन चोरी पैठारीमा को-को संलग्न छन भन्ने प्रश्नको सम्बन्धमा आफुलाई जानकारी नभएको विमानस्थल भित्रको कर्मचारीहरुसँगको सेटिङ डिबिले नै मिलाउने गरेको भनी बताएको । उल्लेखित डिबि भन्‍ने व्यक्ति जिल्ला लमजुङ घर भएका डिबि भन्ने दनबहादुर गुरुङ हुन् । डिभी भनेर सेभ गरेको ९८६६४०१९३२ हो । निजसँग मेरो करिब ७/८ वर्ष पहिले नयाँ बसपार्कको दोहोरी साँझमा भेटघाट भई चिनजान भएको थियो । मैले समेत दुबईबाट विगतमा सुन ल्याउने गरेको हो । पछिल्लो पटक १४ किलो लिएर डिबी गुरुङको सहयोगमा एयरपोर्टबाट बाहिर निकाली डिबी गुरुङको घरबाट उक्त सुन बुझिलिई अंकित अग्रवालले पठाएको व्यक्तिलाई दिई निजबाट नौ लाख नगद बुझि लिएको हो । उक्त रकममध्ये ५ लाख डिबी गुरुङलाई एयरपोर्टको सेटिङ मिलाउन खर्च हुन्थ्यो । बाँकी रकम मध्ये १-१ लाख म र डिबी गुरुङले बाड्ने, बाँकीमध्ये साठी सत्तरी हजार दुबई सुन लिन जाने व्यक्तिलाई दिने गरिन्थ्यो भने बाँकी दुबईको टिकट भिसा बनाउन खर्च हुने गर्थ्यो । (१४ किलो सुन तस्करीमा संलग्न घलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिलाई दिएको बयान)

राष्ट्रिय सहकारी बैंकले माग्यो ९२ जना कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न १० पदका लागि ९२ जना कर्मचारीको माग गरेको हाे । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको जनाएको छ । बैंकले कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जना र कर्जा अधिकृत २ जना कर्मचारीको लागि आवेदन खुलाएको छ । ईच्छुकले तथा योग्यता पुगेका नागरिकले पुस २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने बैंकले जनाएको छ ।