म जितार घलेको नाति, तेज बहादुर घलेको छोरा जिल्ला गोरखा, बारपाक सुलीकोट गापा वडा नं २ वतन भई हाल बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार वडा नं.११ बस्ने वर्ष ५५ को मिनबहादुर घले हुँ । मेरो सम्पर्क नं ९८४३…७ रहेको छ । चन्द्रबहादुर घलेले मेरो नाम समेत लिएको हुँदा सो सम्बन्धमा बयानको लागि यस कार्यालयमा उपस्थित भएको हुँ।
मैले ४/५ वर्ष जति ट्रेकिङ गाइडको रुपमा काम गरेँ, पछि नेचुरल एक्सफ्लोरल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि खोलि काम गरेँ, जनकपुर रेलवेको काठको ठेक्का पट्टा सम्बन्धि काम गरेँ, त्यसपछि हङकङमा गई ४/५ वर्ष बसेँ, त्यसपछि डान्स एण्ड रिसर्च कल्चर सेन्टर खोलेँ, यसपछि प्यासिफिक ओभरसिज प्रालि संचालन गरि बसेँ । कोभिड अगाडि यसलाई पनि बेचेँ र हाल कुनै पेशा व्यवसायमा आबद्ध छैन ।
मेरो मोबाइलमा भएको ९८४३…७ नम्बरबाट दर्ता भएको ह्वाट्सएपलाई देखाउँदा उक्त एपमा भएको टेक्स्ट म्यासेज तथा अडियो समेत सनाखत गरिदिएको छु । मेरो मोबाइलको कन्ट्याक्ट लिस्टमा पूर्ण काइला नाम गरेको व्यक्ति जिल्ला गोरखा वारपाक सुलिकोट गापा वडा नं. १ स्थायी वतन भइ हाल कामनपा स्वयम्भु बस्ने चन्द्र घले हुन् । ह्वाट्सएपमा समेत निजले प्रयोग गरेको नम्बर ९८५११…५ हो । निज चन्द्र घलेलाई दुबईमा सम्पर्क गर्नु पर्दा ह्वाट्सएपमा नेट नभए सम्पर्क गर्न नसकिने भएकाले त्यहींको सिम हुँदा सजिलै सम्पर्क गर्न सकिने भएकोले सिम किन्यौ ? भनी सोधेको हुँ र टिकटको सम्बन्धमा निजले मलाई पठाउन भनेकाले पठाएको हुँ ।
ह्वाट्सएपमा +८५२९…३ नम्बरका व्यक्तिसँग च्याट गरेको र उक्त नम्बरका व्यक्ति भारतीय नागरिक अंकित अग्रवाल हुन् । ह्वाट्सएप च्याटमा ६ सेप्टेम्बर २०२२ समय १९:२६ मा निजले तपाईलाई ०५६११४८४८० अभिमान भनी दिएको नम्बर भारतीय व्यक्तिकै हो निज व्यक्ति दुबईमै बस्छ । उक्त नम्बर चन्द्र घलेलाई दिनका लागी मलाई अंकित अग्रवालले दिएको हो । उक्त च्याट मा २८ सेप्टेम्बर २०२२ समय १०:५८ मा निजले मलाई नाम: गुरु, सेल: ०५६२…१ भनी दिएको नम्बर अङ्कित अग्रवालले कित गुरु, कित अभिमानले भेट्छ भनी उक्त नम्बर चन्द्र घलेलाई फर्वार्ड गर्नको लागि दिएको हो ।
अङ्कित अग्रवाललाई फ्लाई दुबईको बुकिङ रिफरेन्स नम्बरः एसएन४भीएक्सजी भएको टिकट मैले ह्वाट्सएपमा ५ डिसेम्बर २०२३ समय १५स्१९ मा पठाएको थिएँ । भोलि चन्द्र घलेसँग भेटघाट गर्नु भनी भनेको हो । च्याटको क्रममा अङ्कित अग्रवाललाई हुन्छ भनि बिहीबार अरिहान्त भनि सोधेको जवाफमा ‘नो आई डिडन्ट। आई गेस आर्या मिसइन्टरप्रिटेड दो बट वि स्टिल ह्याभ वन डे टु म्यानेझ दो । क्यान यू रु भनेकोमा ‘एसएसआई विल एरेन्ज फर टुमारो ‘भनि जवाफ आएको देखियो र धन्यवाद समेत भन्नु भएको देखिन्छ भन्ने सम्बन्धमा म केही खुलाउन चाहन्न ।
उक्त च्याटमा, समय १५:२६ मा अङ्कित अग्रवाललाई टोकन इज ५/१२१५५९२३७ भनी भनेकोमा उक्त टोकन नम्बर उक्त टोकन चन्द्र घलेनै हो भन्ने प्रमाणको रुपमा पठाएको हो । साथै उक्त च्याटमा चन्द्रले सिम लिएपछि म खबर गर्छु भन्दा अङ्कित अग्रवालले उसलाई गुरुलाई सम्पर्क नगर्नलाई भन्यौं होला भनि आस गर्छु भनी भनेकोमा मैले ०५२८२८९०९४ नम्बर पठाएको हो । उक्त नम्बर चन्द्र घलेले दुबईमा सिम लिएपछि मलाई दिएको थियो । सोही नम्बर पठाएको हुँ । अङ्कित अग्रवालले ‘ हुन्छ मेरो मान्छेले भोलि डेलिभरी लोकेसनमा पुर्याउँछ ।
भोलि बिहानलाई केही काम भनेकोमा तपाईंले भरे केही हुनेछ कससँग भेट्ने हो ? के उसले मेरो मान्छेलाई फोन गर्छ ? भन्ने बार्तालापमा चन्द्रलाई कस्ले भेट्छ भनी सोधेकोमा चन्द्रलाई अङ्कित अग्रवाल वा निजले पठाएको प्रतिनिधीले फोन गर्छ भनी सोधेको हुँ । जवाफमा चन्द्रसँग कुरा भैसकेको भनेको छ र उसले त्यहि वार्तालापमा सामान (सुन) दिएको जानकारी गराएको हो । चन्द्र घलेको भिसा तथा टिकट लाजिम्पाट स्थित राजश्री ट्राभलबाट इस्यू गराइदिन्छु । भिसा चाहिँ अङ्कित अग्रवालले उतैबाट पठाइदिन्छन् ।
मेरो मोबाइलमा दर्ता रहेको जिमेल आईडीमा रहेको इनबक्समा अङ्कित अग्रवालले २४ नोभेम्बर २०२३ मा पठाएको कृष्ण भिसामा ट्राभल इन्स्योरेन्स सर्टिफिकेट नामको कागजातमा कृष्ण कुमार श्रेष्ठ पासपोर्ट नं. पीए०६५२३८३ देखिन्छ । उल्लेखित कृष्ण कुमार श्रेष्ठ भन्ने ब्यक्ति कृष्ण कुमार श्रेष्ठ मेरो चिनजानको साथी हो । झन्डै आजभन्दा ७/८ वर्ष पहिले देखि चिन जान भएको हो । उक्त कृष्णकुमार श्रेष्ठको भिसा र ट्राभल इन्स्योरेन्स समेतका कागजात सनाखत गरिदिन्छु ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका पदाधिकारीले मलाई सोधपुछ गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको सेटिंङको बारेमा स्टेप बाइ स्टेप खुलाई दिनुहोस्, उक्त सुन चोरी पैठारीमा को-को संलग्न छन भन्ने प्रश्नको सम्बन्धमा आफुलाई जानकारी नभएको विमानस्थल भित्रको कर्मचारीहरुसँगको सेटिङ डिबिले नै मिलाउने गरेको भनी बताएको । उल्लेखित डिबि भन्ने व्यक्ति जिल्ला लमजुङ घर भएका डिबि भन्ने दनबहादुर गुरुङ हुन् ।
डिभी भनेर सेभ गरेको ९८६६४०१९३२ हो । निजसँग मेरो करिब ७/८ वर्ष पहिले नयाँ बसपार्कको दोहोरी साँझमा भेटघाट भई चिनजान भएको थियो । मैले समेत दुबईबाट विगतमा सुन ल्याउने गरेको हो । पछिल्लो पटक १४ किलो लिएर डिबी गुरुङको सहयोगमा एयरपोर्टबाट बाहिर निकाली डिबी गुरुङको घरबाट उक्त सुन बुझिलिई अंकित अग्रवालले पठाएको व्यक्तिलाई दिई निजबाट नौ लाख नगद बुझि लिएको हो ।
उक्त रकममध्ये ५ लाख डिबी गुरुङलाई एयरपोर्टको सेटिङ मिलाउन खर्च हुन्थ्यो । बाँकी रकम मध्ये १-१ लाख म र डिबी गुरुङले बाड्ने, बाँकीमध्ये साठी सत्तरी हजार दुबई सुन लिन जाने व्यक्तिलाई दिने गरिन्थ्यो भने बाँकी दुबईको टिकट भिसा बनाउन खर्च हुने गर्थ्यो ।
(१४ किलो सुन तस्करीमा संलग्न घलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिलाई दिएको बयान)