एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयर हेल्थमा विशेष छुट
काठमाडौं । एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोसिडियर्स, माइनर इनभेष्टिगेशन (स्टाफलाई मात्र), अप्टिकल्समा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । साथै, पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअप समेत निः शुल्क हुनेछ । सो समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रति, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक संजिब कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो । बैंकले हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
सम्मानित हुँदै ढकालले भने : गण्डकीको पर्यटन पूर्वाधारमा जोड गरौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णता तथा शीघ्र सञ्चालनका लागि आग्रह गरेका छन् । बुधबार बागलुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठुलो टेवा पुग्ने बताए । गण्डकी प्रदेश भौतिक रूपमा दुई ठुला छिमेकी भारत र चीनसँग जोडिएको तथा पोखरा, मनाङ, मुस्ताङ, काल गण्डकी र हिमालदेखि लिएर बागलुङको ढोरपाटनजस्ता कैयौँ अद्वितीय पर्यटकीय क्षेत्रहरू समेटिएकाले यसबाट फाइदा लिन थप प्रयत्न गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । दक्षिणी छिमेकीको करिब एक अर्ब मानिसको आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट वे पनि बागलुङ भएकाले यसको थप प्रवर्द्धन गर्नुपर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । भारत र चीन जस्ता निकट छिमेकीको जनसङ्ख्या पौने ३ अर्ब छ । नजिकैको ठुलो पर्यटन बजार हुनु ठुलो अवसर हो । त्यसैले यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माणले हवाई र स्थल मार्गबाट थप पर्यटक भित्र्याउन सकिने यथार्थलाई मनन् गरेर प्रदेश सरकारले ध्यान पुर्याउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । कोरोला नाकाको स्तरोन्नति र अधिकतम प्रयोग एवं पूर्ण सञ्चालनका लागि बागलुङ जिल्ला र गण्डकी प्रदेशका व्यवसायीहरूले पहल लिनु पर्ने समय आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे । बेइजिङको समृद्धि भित्र्याउने र स्थानीय उत्पादन चीन तर्फ निर्यात गर्न कोरोला नाका प्रभावकारी हुने भएकाले सङ्घीय सरकार सँगसँगै प्रदेश सरकारले पनि अग्रसरता लिनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । बागलुङको पर्यटकीय सम्भावनाको चर्चा गर्दै अध्यक्ष ढकालले पोखरा आएका कम्तीमा पनि आधा पर्यटक पर्वत, बागलुङ बास बस्दै मुस्ताङ पुर्याउन सकिने योजना बनाएर काम गर्ने गरी जुट्न पनि अध्यक्ष ढकालले स्थानीय व्यवसायीहरुलाईआग्रह गरे । पर्यटन प्रवर्द्धनबाट नै स्थानीय उत्पादन र उद्यमशीलताको पनि विस्तार र विकास गर्न सकिन्छ भन्ने तथ्य बुझेर आवश्यक पर्यटन पूर्वाधारको निर्माण गरी छिमेकको विशाल पर्यटन बजारलाई आकर्षित गर्नुपर्ने पनि अध्यक्ष ढकालले बताए । सो अवसरमा अध्यक्ष ढकालले बागलुङ महोत्सवमा उद्घाटनमा सरिक भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाइ नेपालका समग्र उद्योगी, व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र यस महोत्सवको मुख्य आयोजक जिल्ला उद्योग वाणिज्य संघ, बागलुङका तर्फबाट धन्यवाद समेत व्यक्त गरे । अध्यक्ष ढकाल सम्मानित बागलुङ महोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् । अध्यक्ष ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । बागलुङमा जन्मेर निजी क्षेत्रको एक मात्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको सफल नेतृत्व गरेको र आइएमई ग्रुपबाट उद्योग, पर्यटन, बैकिङ, उर्जा लगायतका क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको सातौँ बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले जानकारी दिए ।
अदालतमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका, एकै वर्ष ३७ हजार ४३४ वटा मुद्दा दर्ता
काठमाडौं । नेपालका अदालतहरूमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका पर्ने गरेको तथ्याङ्क सर्वाजनिक भएको छ । सर्वाेच्च अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका पर्ने गरेका छन् । सर्वाेच्च अदालतको तथ्याङ्क अनुसार आर्थिक वार्षिक प्रतिवेदन २०७८/७९को असारसम्म देशभरिका जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३७ हजार ४३४ वटा मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका हुन् । जसमध्ये २७ हजार ७८ वटा मुद्दा फछ्र्याैंट भएका छन् भने १० हजार ३५६ वटा मुद्दा बाँकी रहेका छन् । जिल्ला अदालतहरूमा ३६ हजार ४७२ मुद्दा, उच्च अदालतमा ९०८ वटा मुद्दा र सर्वाेच्च अदालतमा ५४ वटा मुद्दा लगत भएका हुन् । यस्तै, अंशबन्डाका ३५ हजार ६९९ मुद्दा दर्ता भएका छन् भने विवाहसम्बन्धी १ हजार १४५ वटा मुद्दा दर्ता भएका छन् ।
हिमालयन हाइट होटलमा जुवातास खेलिरहेका दशजना पक्राउ
काठमाडौं । जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ तहाचलस्थित काठमाडौं महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस
टेरामक्स खरिद प्रक्रियामा गडबढी देखियो, तत्काल अनुसन्धान गरियोस् : संसदीय समिति
काठमाडौं । सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई यथास्थितिमा राख्दै शीघ्र अनुसन्धानको निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकले टेरामक्स खरिद प्रक्रियामा गड्बडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो । समितिले यसको अनुसन्धानको प्रगति विवरण हरेक ३० दिनमा समितिलाई बुझाउन पनि भनेको छ । समितिले अधिकारको दुरुपयोग भएको देखिएमा र राज्यलाई हानी, नोक्सानी हुने गरी काम भएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाहीका लागि माग दाबीसहित कानून बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान आयोगलाई निर्देशन दिएको छ । समिति बैठकको निर्देशनबारे सभापति ऋषिकेश पोखरेलले भने ‘यससँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई हालमा यथास्थितिमा राख्दै उल्लेखित विषयहरुसहित यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म सम्भावित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गरी सैद्धान्तिक, नीतिगत र सर्वोच्चको परमादेशसहित उल्लंघन भएको यो समिति ठहर गर्दछ । र अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र हरेक ३० दिनमा प्रगति विवरण समितिमा उपलब्ध गराउन । अधिकारको दुरुपयोग भएको देखिएमा, राज्यलाई हानि, नोक्सानी हुनेगरी कार्य गरे, गराइएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाहीका लागि माग दाबीसहित कानुन बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन गर्दछ ।’ समितिले टेरामक्स खरिद प्रक्रियामा शर्तहरु टेण्डरको दौरानमा पटक-पटक फेरिएको उल्लेख गरेको छ । तत्कालिन मन्त्रालयका सचिवालयका सदस्यहरु नै टेरामक्स प्रविधिको बजार व्यवस्थापक रहेको देखिएको समितिले निष्कर्ष निकालेको छ । त्यस्तै, लागत आधार बनाउने विज्ञ नै सप्लायर्ससँग सम्बन्धित रहेको, अल्जेरिया र इरानमा यही कम्पनीले यही प्रणाली न्युन मूल्यमा उपलब्ध गराएपनि नेपालमा भने त्यसको तुलना र बजार विश्लेषण नगरी प्रक्रिया अगाडी बढाएकोप्रति आशंका व्यक्त गरेको छ । अख्तियारको पत्रपछि ठेक्का व्यवस्थापनमा मिलेमतो भनि दूरसञ्चार प्राधिकरणले रद्द गरेको भएपनि पछि सर्वोच्चको फैसलापछि कुनै विश्लेषण नगरी ठेक्का बन्दोबस्त गरेको देखिएको पनि समितिको ठहर छ । त्यसैगरी, भुक्तानी स्थानीय मुद्रामा गर्नुपर्ने शर्त भएकोले विधि सफ्टवेयरको भुक्तानी स्थानीय मुद्रामा गर्दा कर छली हुनसक्ने समितिको अनुमान छ । स्थानीय मुद्रा डलरमा सटही गर्दा समयको परिवर्तन र बजार भाउमा फरक परी करिव ५० करोड रुपैयाँ नोक्सानी हुने देखिएको समिति सभापति पोखरेलको भनाई छ । उनकाअनुसार विमानस्थल भन्सार कार्यालयले आएका सामानहरुको प्रश्न उठाइ राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरणलाई पत्राचार गरेको देखिएको र आयातित सामान भन्सारमा सम्बन्धित कम्पनीको भएपनि भन्सार छुटाउने काममा प्राधिकरणको सक्रियता रहेको भन्दै यसप्रति प्रश्न उब्जिएको छ । उनले विदेशी भुक्तानी दिनुपर्दा राष्ट्र बैंकको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था भएपनि नविल बैंकले गरेको भुक्तानीमा राष्ट्रबैंको स्वीकृति नदेखिएकोले यसको सबै प्रक्रिया रोक्नुपरेको उल्लेख गरे ।
सहकारीसँग १ करोड बढी घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
पर्वत । ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो । कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । तत्कालीन रजिस्ट्रार पराजुलीलाई रू एक करोड पाँच लाख घूस लिएको आरोप लागेको छ । रासस
युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि हाइड्रोपावरले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । बुधबार सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच कमलादीमा हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावरको हकप्रद सेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ । युनाईटेड मोदी हाइड्रोपावर अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी – १ जलविद्युत आयोजना’ २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।
एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको भाउ कति घट्यो ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार मात्रै हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी होटल र फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । यी तीन वटै कम्पनीको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । जसमध्ये हाथवेको १० प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । बुधबार प्रतिकित्ता ७९६.५० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य घटेर ७२४.०९ रुपैयाँमा झरेको छ । यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ७२४.०९ रुपैयाँलाई आधार मानेर हुनेछ । त्यस्तै, तारागाउँ रिजेन्सीको पनि ४ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ८३६.६३ रुपैयाँमा छ । जुन बुधबार प्रतिकित्ता ८७०.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, फर्ष्ट माइक्रोफाइनान्सको पनि ७.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । बुधबार प्रतिकित्ता ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ६२२.३३ रुपैयाँमा झरेको हो ।