काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योग सञ्चालनका लागि आवश्यक एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । संघले मंगलबार एक अपिल जारी गर्दै पछिल्लो समय एलपी ग्यासको आपूर्तिमा देखिएको समस्याले उद्योग सञ्चालन प्रभावित भएको जनाएको हो ।
संघका अनुसार उद्योगमा कच्चा पदार्थको अभाव हुँदा उत्पादन प्रभावित भएको छ भने यसको प्रत्यक्ष असर बजारमा ग्यास आपूर्तिमा पर्न थालेको छ । समयमै आवश्यक परिमाणमा एलपी ग्यास उपलब्ध गराउन नसकिए उद्योगहरू थप संकटमा पर्ने अवस्था सिर्जना हुने संघको भनाइ छ ।
संघले सम्बन्धित सरकारी निकाय, नेपाल आयल निगम तथा सरोकारवाला निकायलाई ग्यास आयात, ढुवानी र वितरण प्रक्रियालाई सहज बनाउँदै उद्योगलाई नियमित आपूर्ति हुने वातावरण बनाउन आग्रह गरेको छ ।
अपिलमा उद्योग सञ्चालन निरन्तर राख्न आवश्यक सहजीकरण गर्न तथा बजारमा उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने व्यवस्था मिलाउन सरकारलाई विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।
संघले आपूर्ति व्यवस्थापनमा देखिएको समस्या शीघ्र समाधान भए बजारमा देखिएको ग्यास अभावको अवस्था अन्त्य हुने विश्वाससमेत व्यक्त गरेको छ ।