इरानलाई ट्रम्पको चेतावनी – ‘यो अन्तिम मौका हो’

तेहरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको भन्ने कुरा अस्वीकार गर्दै आएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पछिल्लो चरणको वार्ता पाँच महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने ‘अन्तिम मौका’ भएको चेतावनी दिएका छन् ।

ट्रम्पले सोमबार अबेर ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै वार्ता ‘अहिले भइरहेको’ बताएका थिए । उनका अनुसार इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतारलगायतका देशको आग्रहमा वार्ता अघि बढिरहेको हो ।

तर, तेहरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको भन्ने कुरा अस्वीकार गर्दै आएको छ । भविष्यमा पनि त्यस्तो वार्ता गर्ने कुनै योजना नरहेको इरानको भनाइ छ ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मंगलबार सरकारी सञ्चारमाध्यममार्फत इरानले आफ्नो सीमाको रक्षा जारी राख्ने बताएका छन् । यद्यपि उनले द्वन्द्वलाई थप विस्तार गर्ने इरानको चाहना नरहेको स्पष्ट पारेका छन् ।

ट्रम्पले भने, ‘उनीहरूका लागि राम्रो सम्झौतामा हस्ताक्षर गर्ने यो अन्तिम मौका हो ।’

यसअघि सोमबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरानी नेताहरूलाई ‘अविश्वसनीय रूपमा दोहोरो चरित्र भएका’ भन्दै आलोचना गरेका थिए । 

उनले इरानले शान्ति वार्ता भइरहेको कुरा अस्वीकार गरे पनि त्यहाँ वार्ता चलिरहेको दाबी गरेका थिए ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने अमेरिकासँग प्रत्यक्ष वार्ता हुने सम्भावनालाई पुनः अस्वीकार गरेका छन् ।

बघाईले सोमबार पत्रकार सम्मेलनमा अमेरिकासँग वार्ताका लागि तत्काल कुनै योजना नरहेको बताएका थिए । उनका अनुसार तेहरानले अहिले हर्मुज जलडमरूमध्यका विषयमा ओमानसँग मात्रै वार्ता गरिरहेको छ ।

यसअघि ट्रम्पले इरानमाथि गर्ने भनिएको ‘ठूलो सैन्य हमला’ स्थगित गर्ने निर्णय गरेका थिए । वार्ता सुरु हुने भन्दै उनले हमला रोक्ने निर्णय गरेका हुन् ।

ट्रम्पको निर्णयपछि विश्व बजारमा सकारात्मक प्रभाव परेको थियो र तेलको मूल्यमा उल्लेख्य गिरावट आएको थियो । 

तर, ऊर्जा बजारलाई प्रभावित पारिरहेको द्वन्द्वको कूटनीतिक समाधान तत्काल हुनेमा व्यापारीहरूको विश्वास घटेपछि मंगलबार बिहान तेलको मूल्यमा केही सुधार देखिएको छ ।

अमेरिकी समयअनुसार मंगलबार बिहान १ः३५ बजे वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य १.२९ प्रतिशत बढेर प्रतिब्यारेल ८१.३८ डलर पुगेको थियो । 

अन्तर्राष्ट्रिय बजारको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य पनि १.७३ प्रतिशत बढेर प्रतिब्यारेल ८५.२३ डलर पुगेको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डले सोमबार होर्मुज जलडमरूमध्यको जारी नाकाबन्दीअन्तर्गत ४४ वटा व्यावसायिक पानीजहाजको मार्ग परिवर्तन गराएको जनाएको छ । 

तीमध्ये दुईवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटामा प्रवेश गरी जाँच गरिएको पनि कमान्डले जनाएको छ ।

यसैबीच, इराकको मिलिसिया समर्थक सञ्चारमाध्यम ‘नाया’ले सोमबार अबेर राति कुवेतमा विस्फोट भएको खबर सार्वजनिक गरेको छ । उक्त विस्फोटको आवाज इराकको बसरा प्रान्तसम्म सुनिएको दाबी गरिएको छ ।

Share News