विकासन्युज

हुण्डी कारोबारमा संलग्न काठमाडौंका दुई जना पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई कारोबारीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी टोलीले काठमाडौं जिल्लाका दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको अनामनगरस्थित बस्ने ५० वर्षिय युवराज प्रसाईं र हाल काठमाडौंको नयाँवस्तीमा बस्दै आएका ३० वर्षिय विश्वास राई रहेका छन् । राईको स्थायी ठेगाना भने सुनसरी धरान उपमहानगरपालिका वडा नं. १९ हो । प्रहरीले उनीहरुलाई अवैध ३० लाख १८ हजार रुपैयाँ, दुई थान ल्यापटप, पाँच थान मोबाईलसहित पक्राउ गरेको हो । प्रहरीले युवराज प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रसाईलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गरेको थियो । सो क्रममा विश्वास राईले भाडामा लिई प्रयोग गरेको सटर कोठाबाट गैह्रकानुनी तवरबाट हुण्डी कारोबार गरिरहेको अवस्थामा फेला पारेको हो । त्यसैले, प्रहरीले निजहरुलाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

जापान : भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति

जापान । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् । इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको ७.५ म्याग्नीच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको उक्त क्षेत्रको केही भाग ध्वस्त पार्नुका साथै भवनहरू भत्किएका छन्, सडकहरू भत्किएका छन् र ठूलो आगलागी भएको छ । इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ बिलियन डलर) देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर) को क्षति भएको हुनसक्ने सरकारी अध्ययनले देखाएको हो । क्याबिनेट कार्यालयका एक अधिकारीले विगतका ठूला भूकम्पको तथ्याङ्क प्रयोग गरेर गणना गरिएको र बिहीबार सरकारी बैठकमा आर्थिक प्रतिवेदन पेश गरेको पुष्टि गरेका छन् । तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६।९ ट्रिलियन येनको क्षतिभन्दा यो निकै कम हो । त्यस विपत्तिले लगभग १८ हजार ५०० मानिसहरूको मृत्यु वा वेपत्ता र फुकुशिमा आणविक केन्द्रमा आणविक दुर्घटना निम्त्याएको थियो । यसलाई चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना मानिएको छ । अधिकारीहरूले बिहीबार इशिकावाको पुनर्निर्माणको विस्तृत योजना सार्वजनिक गरेका छन् । इशिकावामा हिमपात र नराम्ररी क्षतिग्रस्त सडकहरूका कारण भूकम्पपछि राहत प्रयासलाई जटिल बनाएको छ। यसमा कारखाना र बन्दरगाहहरूको पुनस् र्निर्माणका साथै यस क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्न अनुदानका साथै उद्धारका लागि आश्रयस्थलहरूमा सुधार समावेश छ । जापान प्यासिफिक ‘रिंग अफ फायर’ मा अवस्थित छ, जुन तीव्र भूकम्पीय गतिविधिको चाप हो जुन दक्षिणपूर्व एशिया र प्रशान्त क्षेत्रमा फैलिएको छ । यो देश नियमित रूपमा भूकम्पको चपेटामा पर्दै आएको छ र भवनहरूले शक्तिशाली कम्पन सहन सक्ने सुनिश्चित गर्न कडा निर्माण नियमहरू छन् । नयाँ वर्षको भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका विशेष गरी ग्रामीण क्षेत्रका समुदायहरूमा धेरै संरचनाहरू पुराना छन् । रासस

एउटा बचत खाता खोल्दा सिटिजन्स बैंकले एक रूख रोप्ने

काठमाडौं । पैसाको कारोबार गर्ने संस्थाका रूपमा बैंकलाई लिइन्छ । बैंकहरूले पैसाको नै कारोबार गर्छन् । बैंकहरूले पैसाबाहेक अन्य केही काम गर्दैनन् भन्ने सोच आम मानिसको छ । तर, सिटिजन्स बैंक पैसाको कारोबारका साथै वनजंगलको संरक्षणमा समेत जुटेको छ । पछिल्लो समय बढ्दो जनसंख्याका कारण वन विनाश भइरहेका बेला सिटिजन्स बैंक भने जंगल जोगाउने अभियानमा जुटेको हाे । कुनै ग्राहकले सिटिजन्स बैंकमा खाता खोल्यो भने उक्त ग्राहकको नाममा बैंकले एउटा रूख रोपिदिने भएको छ । बैंकले नयाँ वर्ष सन् २०२४ को अवसरमा वातावरणमैत्री बनाउन ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । ‘हजुरको नयाँ स्मार्ट बचत खाता, सिटिजन्स बैंकद्वारा एक वृक्षारोपण’ नाराका साथ ‘एक खाता, एक वृक्ष’ स्मार्ट खाता सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ । सन् २०२४ मा  ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूका लागि बैंकले एक खाताबराबर एक वृक्षारोपण गर्नेछ । ‘एक खाता एक वृक्ष’ स्मार्ट खाता शून्य ब्यालेन्समा खोल्न सकिने बैंककी कर्पाेरेट कम्युनिकेसन हेड स्मारिका तिवारीले बताइन् । स्मार्ट बचत खातामा रकम जम्मा गर्दा ग्राहकहरूले ४.१५ प्रतिशत ब्याजदर पाउने उनले बताइन् । बैंकका अनुसार स्मार्ट बचत खाता खोल्न ग्राहकहरूको निःशुल्क डिम्याट खाता र एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा उपभोग गर्न सक्ने छन् । साथै, ग्राहकहरूले निःशुल्क ‘थ्री–डी सेक्युर ई–कमर्स’ कारोबार गर्न सक्ने तिवारीको भनाइ छ । पहिलो एक वर्षसम्म निःशुल्क इन्टरनेट बैंकिङ, डेबिट कार्ड, सी–आश्वा रजिस्ट्रेसन सर्भिस स्मार्ट खाता खोल्ने ग्राहकहरूलाई प्रदान गरिनेछ । यसका साथै बैंकका डिजिटल प्रडक्टहरूमा हरेक वर्ष स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूले ५० प्रतिशत छुट पाउनेछन् । स्मार्ट बचत खाता खोल्न कुनै पनि डकुमेन्ट आवश्यक नपर्ने उनको भनाइ छ । खाता खोल्नेदेखि कारोबार पनि सबै डिजिटल माध्यमबाट हुने  व्यवस्था गरिएको उनले बताइ । जंगल जोगाउन यस किसिमको प्रडक्ट ल्याइएको उनले बताइन् । ‘यस खाता खोलेपछि ग्राहकहरूले सबै कारोबार डिजिटल्ली गर्नुपर्ने छ, बैंकले कागजरहित सेवालाई जोड दिएकाले चेक पनि दिँदैनौं,’ उनले भनिन्, ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिड कार्डलगायत सबै डिजिटल सेवामात्रै यस खातामा उपलब्ध छन् ।’ सन् २०२४ मा एक वर्षको अवधिभर जति खाता खुल्छन् सोही आधारमा बैंकले रूख रोप्ने उनको भनाइ छ । साथै, बैंकले रोपेका ति रूखहरू ग्राहकहरूको नाममा रोपण गर्ने उनले बताइन् । ‘एक वर्षसम्म कति खाता खुल्छन्, ती सबैका खातावालाहरूको नाममा बैंकले रूख रोप्नेछ, अहिलेसम्म बैंकले कुन ठाउँमा वृक्षारोपण गर्ने भनेर स्थान तोकेको छैन, यो वर्षमा कति वटा खाता खोलिन्छन्, खाता संख्याको आधारमा हामी ठाउँ तोक्ने छौं,’ उनले भनिन् । साथै, वृक्षारोपण गर्ने समयमा सबै खातावाल ग्राहकहरूलाई बोलाउने योजना रहेको उनको भनाइ छ । रोपिएका रूखहरूको सबै लागत बैंकले बेहोर्ने उनले बताइन् । ‘ज-जसले खाता खोल्नु भएको छ, उहाँहरूलाई बोलाएर वृक्षारोपण गर्छाैं, रोपिएका रूखहरूको सबै लागत बैंकले बेहोर्छ,’ उनले भनिन्, ‘यसबाट बैंकको व्यवसायसँगै वातावरणलाई समेत जोगाउन खोजेका हौं, यसअघि बैंकले गत वर्ष ३ सय रूख रोपेको थियो, त्यसरी आफैं रोप्नुभन्दा ग्राहकहरूको नाममा रोप्न पायौं भने उहाँहरूमा पनि सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ उनका अनुसार यस प्रडक्टअन्तर्गत बैंकले एक वर्षमा १ हजारभन्दा बढी खाता खोल्ने लक्ष्य राखेको छ । सोही आधारमा बैंकले ग्राहकहरूको नाममा रूख रोपिदिनेछ ।

अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने बताए । बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्याल्यु रेसियोको हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधन गरिनु पर्ने तथा भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गरे । यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरु बारे प्रस्तुतिकरणमार्फत विस्तृत रुपमा जानकारी प्रदान गरे । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले विद्युतिय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताएको नाडाले जनाएको छ । उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

‘पिकनिक’ को आकर्षक गन्तव्य बन्दै ‘बालाजु बाइसधारा’

काठमाडौं । मुलुकको सङ्घीय राजधानीको सबैभन्दा नजिक रहेको बालाजुको बाइसधारा पछिल्लो समय पिकनिक र घुमघामका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित उत्तर–पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा पछिल्लो समय पिकनिक र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ ।बालाजु बाइसधारा घुम्नका लागि अहिले दैनिक सयौँ व्यक्ति यहाँ पुग्ने गरेका छन् । बालाजु पार्कसँगै जङ्गलसमेत भएकाले रमणीय वतावरणमा समय बिताउन चाहनेको रोजाइमा यो पार्क पर्न थालेको स्थानीय बताउँछन् । बालाजुस्थित बाइसधारा ऐतिहासिक महत्वको पर्यटकीयस्थल पनि हो । यो बिहान ८ देखि साँझ ६ बजेसम्म खुल्ने गरेको छ ।उक्त पार्क हाल काठमाडौँ महानगरपालिकाको वातावरण विभागअन्तर्गतको बालाजु बाइसधारा उद्यान कार्यालयले रेखदेख गर्दै आएको छ । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन यहाँ घुम्न आउने व्यक्तिको सङ्ख्या अत्यधिक हुने गरेको बताए । ‘अव्यवस्थित सहरीकरणका कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले राजधानीवासीको मन जित्न सफल भएको छ,’ उनले भने । दैनिक पाँच सयदेखि सात सय व्यक्ति र पर्व तथा बिदाको दिनमा तीन हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका बस्नेतले जानकारी दिए । उनका अनुसार यहाँ रहेका २२ धारामा भने अहिले पानी आउँदैन ।जाडोको समयमा बालाजु वरपरका मानिस उद्यानमा घाम ताप्नसमेत जाने गरेका छन् । काठमाडौं वनस्थलीबाट उद्यान घुम्न आएकी रेशु श्रेष्ठले स्वच्छ, सफा वातावरण खोज्दै यहाँ आएको भन्दै यहाँ आएपछि मन आनन्दित भएको बताइन् । ‘यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरीथरी फूलको सुगन्धले सारा दुःख नै भुलाउँछ’, उनले भने । बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करिब एक सय ६२ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो । विसं २०१८ जेठ २७ गते शिलान्यास भई विसं २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइसधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ । राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सो क्षेत्र जताततै पानीले जलमग्न भएकाले पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा २१ ढुङ्गेधारा निर्माण गरिएको किंवदन्ती छ । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरू ठूलो धारा थपी बाइस धारा पुराएको इतिहास छ ।आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडौँ आउने क्रममा बालाजु देखेपछि रमाएर कविता लेखेका थिए । भानुभक्तले बालाजु बाइसधाराको बारेमा कविता लेखेकै कारण विसं २०५१ मा भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि आचार्यको सालिक स्थापना गरियो । बालाजु बाइसधारा आन्तरिक तथा बाह्य पर्यटकको घुम्नेमात्र ठाउँ नभएर साहित्यकर्मीका लागि पनि त्यत्तिकै महत्वपूर्ण तीर्थस्थल हो । धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचुडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ । सो अवसरमा बाइसधारामा मेला लाग्ने गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक लाख ८३ हजार तीन सय १२ जनाले बालाजु बाइसधाराको भ्रमण गरेका उद्यान कार्यालयले जनाएको छ । उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्धका लागि पनि मानिस आउने गरेका छन् । उद्यानमा प्रवेश शुल्क नेपालीका लागि रू ३०, नेपाली विद्यार्थीका लागि रू २०, विदेशीका लागि रू एक सय, मोटरसाइकल पार्किङका लागि रू ३०, ठूला सवारी साधन पार्किङ शुल्क रू ६० र पाँच जनाभन्दा बढी ड्राइफुड जमघटका लागि रू तीन सय लिँदै आइएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार व्यक्तिगत क्यामरा रू एक सय, व्यावसायिक फोटो रू एक हजार पाँच सय र विवाह फोटो सुट रू पाँच सय, म्युजिक भिडियो सुटिङ रू १० हजार लिने गरिएको छ । सातवटा पिकनिक ‘स्पट’का लागि रू एक हजार पाँच सयदेखि पाँच हजारसम्म शुल्क लिइँदै आएको कार्यालयले जनाएको छ ।बालाजु बाइसधारा उद्यान कार्यालयले चालु आवको छ महिनामा रू ६० लाख १४ हजार दुई सय ८० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । उद्यान प्रवेशमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ । लामो इतिहास बोकेको यस पार्कमा दैनिक सयौँ र पर्व तथा बिदाको समयमा हजारौँ व्यक्ति घुम्न आउने भए पनि यहाँको पूर्वाधार भने व्यवस्थित हुन सकेको देखिँदैन । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यथेष्ट मात्रामा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको बताउँछन् । रासस

बाराही हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । हाइड्रोपावरको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन् ।

स्पेनको एसएएससँग सहकार्य गर्दै मुक्तिनाथ कृषि कम्पनीले ल्यायो नयाँ प्रडक्ट

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा सुरु भएको ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनीमा कम्पनीले ‘जैविक मल तथा उत्सर्जक’ नामक नयाँ उत्पादन सार्वजनिक गरेको हो । कम्पनीले स्पेनको सस्टेनेबल एग्रो सोलुसन्स (एसएएस) सँग सहकार्य गरेर नेपाली बजारमा उक्त प्रडक्ट भित्र्याएको हो । जसको सार्वजनिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. वेदुराम भुसालले गरेका हुन् । नेपालमा हाल बालीको उत्पादकत्व वृद्धिका लागि उचित मल तथा उत्सर्जकको अभाव देखिँदा बालीको वृद्धि हुन नसकेको अवस्थामा मध्यनजर गर्दै कम्पनीले उक्त प्रडक्ट ल्याएको बताएको छ । कम्पनीका अनुसार उक्त प्रडक्टले कृषि उत्पादन वृद्धि साथै बिरुवालाई पोषण मिल्ने छ । कम्पनीले यस प्रडक्टमा बालीको सम्पूर्ण वृद्धि अवस्था (वनस्पति विकास, फूल फुल्ने र फल लाग्ने) चरणमा आवश्यक पर्ने पोषक तथा सूक्ष्म पोषक तत्त्वहरू रहेको पनि जानकारी गराएको छ ।

फुटपाथ व्यवसायीले सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने

काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ । शुक्रबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते वृहत सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको बताएको हो । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्नको लागि माघ १७ गते जिल्ला प्रशासन कार्यलय,१८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए । एक हप्ता सबै स्वरोजगार श्रमिकहरुलाई एक ठाउँमा ल्याएर माघ २८ गते थाल चम्चा सहित ठूलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको बताए । उनले काठमाडौं महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरुको माग अहिलेसम्म सम्बोधन नगरेको कारण आन्दोलन गर्न बाध्य भएको बताए । उनले महानगरले फुटपाथ व्यापारीहरुको जफथ गरेको सामान फिर्ता गर्न माग गरे । उनले निम्न वर्गका व्यवसायीहरुको सामान कब्जा गरी लिलाम गर्ने कार्य महानगरले तत्काल रोक्नुपर्ने बताए । उनले स्वरोजगार श्रमिकको लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग गरे । उनले वैकल्पिक व्यवस्था नगरेसम्म महानगरपालिकाले अहिले फुटपाथ व्यवसायीहरुले व्यवसाय गरिरहेको स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सुचारु गर्न दिन माग गरे । उनले महानगरपालिकाले स्वरोजगार व्यवसायीहरुलाई पञ्जिकरण गर्न सम्झौता भएपनि कार्यान्वयन गर्ने भन्दा बढी व्यवसायीहरुलाई धरपकट गर्ने काम भएको बताए । फुटपाथ व्यापारीको उचित व्यवस्थापनको लागि मेयर तथा उपमेयरको संयोजकत्वमा संघर्ष समितिका प्रतिनिधिसहित उच्चस्तरीय व्यवस्थापन कार्यदल बनाउनुपर्ने उनको माग छ । महानगरले फुटपाथ र साना व्यवसायीलाई निर्मम ढंगले लखेट्ने धरपकट गर्ने काम तत्काल रोक्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बताए । उनले ७ बजेपछि सडक पेटीमा व्यापार गर्ने महिलाहरुलाई महानगर प्रहरीले अमानवीय व्यवहार गरी सामान लुट्ने गरेको बताए । फुटपाथमा बेलुका दुई घण्टा व्यापार गरेर बिहान बेलुकाको दुई छाक टार्ने निम्न वर्गका व्यापारीहरुलाई महानगरले अमानवीय व्यवहार गर्ने गरेको बताए । उनले फुटपाथ व्यवसायीहरुको समस्या समाधानको लागि भएका महानगरले गरेको ४ बुँदे सम्झौता कार्यान्वयनमा नगरेको आरोप लगाए । उनले महानगरपालिकाले कार्यदलमा फुटपाथ व्यवसायीलाई भुलाएर सडकमा व्यापारीहरुलाई धरपकट गर्ने काम गरेको आरोप लगाए ।