पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन
इलाम । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९.९६ प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । यसैगरी आव २०७७/७८ मा एक करोड ८९ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए । यस्तै आव २०७८/७९ मा दुई करोड ५३ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार रुपैयाँ सङ्कलन भएको थियो । कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९/८० मा दुई करोड ५० लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा दुई करोड ७१ लाख ८२ हजार रुपैयाँ सङ्कलन गरिएको थियो । अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको हो । पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन् । ‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ,’ उनले भने । नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ ।
विमानस्थलमा विदेशी लगानी खुलाउन प्राधिकरणको पत्र, गौतम अडानीका लागि बाटो खुल्दै
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालनमा निजी क्षेत्रले प्रवेश पाउने सम्भावना बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नसक्ने भएपछि नयाँ मोडेलको विषयको खोजीमा स्वयं प्राधिकरण अगाडि बढेको हो । पुस २० गते प्राधिकरण बोर्डको बैठकले निजगढमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने विषयमा नयाँ मोडेल अपनाउनुपर्ने भन्दै सरकारलाई सो विषयमा आवश्यक निर्णय लिन अनुरोध गरेको छ । प्राधिकरका प्रवक्ता जगन्नाथ निरौलाले प्राधिकरण बोर्डको बैठकले भएका तीनवटा विमानस्थल सञ्चालन तथा विस्तार गर्न र नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सार्वजनिक–निजी साझेदारी वा अन्य विकल्पको विषयमा निर्णय गर्न प्राधिकरण बोर्डले निर्णय गरेर मन्त्रालय पठाएको बताए । २२ अर्ब बढी लागतको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ३२ अर्ब बढी लागतको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले व्यवसाय गर्न नसकेपछि निजगढमा थप अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र विमानस्थलहरुको सञ्चालन गर्न विद्यमान कानून र संरचनाबाट सम्भव नभएको निष्कर्षमा प्राधिकरण पुगेको देखिन्छ । प्राधिकरणका प्रवक्ता निरौलाले भएका विमानस्थल सञ्चालन गर्न र नयाँ विमानस्थल बनाउन सो निर्णय गर्नुपरेको बताए । ‘तीनवटा निर्माण भइसकेका विमानस्थल सञ्चालन र विस्तार गर्नुपर्ने भए विस्तार गर्ने र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल समेत विस्तार गर्नका लागि पब्लिक–प्राइभेट पार्टनरसिप वा कुनै उपयुक्त विकल्पमा निर्माण गर्न वा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गर्नुपर्छ भन्ने हिसाबले प्राधिकरण सञ्चालक समितिको बोर्डको बैठकले निर्णय गरेर मन्त्रालयमा पठाएको छ’, प्रवक्ता निरौलाले विकासन्युजसँग भने । प्राधिकरण बोर्डले गरेको निर्णय मन्त्रालयमा आइसकेपछि मन्त्रालय एक्लैले सो विषयमा निर्णय गर्न नसक्ने देखेपछि आवश्यक निर्णय गर्न मन्त्रिपरिषदमा पठाइएको मन्त्रालयका एकअधिकारीले विकासन्युजलाई बताए । राष्ट्रिय महत्व र नेपालको अर्थराजनीतिमा नै दीर्घकालिन प्रभाव पार्नसक्ने विषय भएकाले उक्त प्रस्ताव क्याबिनेटमा पठाएको उनले बताए । ‘भएका विमानस्थल पनि सञ्चालन गर्नुपर्यो, हामीसँग भएका यी तीनवटा विमानस्थल पनि पूर्ण क्षमताका होइनन्’, उनले भने, ‘पूर्ण क्षमताको विमानस्थल बनाउको लागि निजगढमा बनाउने भनिएको छ, त्यसको लागि ठूलो रकम खर्चिनुपर्ने हुन्छ, नेपाल सरकारको स्रोतबाट निर्माण गर्न समस्या भएकाले दुईवटा विमानस्थल सञ्चालनमा पनि ल्याउने निजगढ विमानस्थल पनि निर्माण गर्ने साझेदारी अवधारणाबाट अगाडि बढ्ने भनेर निर्णय गरेको हो ।’ सरकारले आगामी वैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको छ । सो सम्मेलनलाई लिएर स्वयं अर्थमन्त्री प्रकाशशरण लगायत विभिन्न सम्बन्धित निकायका व्यक्तिहरुले यतिवेला विश्वस्तरमा सम्बन्ध विस्तार गर्ने वातावरण निर्माण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । नेपालमा लगानी गर्नको लागि आवश्यक वातावरण निर्माण गर्ने सवालमा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको विमानस्थललाई ठूला लगानीकर्तासँगको साझेदारीमा सञ्चालन गर्दा सफल पनि हुने र विदेशी लगानी पनि भित्र्याउन सकिने रणनीतिमा सरकार अगाडि बढ्न खोजेको देखिन्छ । प्राधिकरणका अनुसार नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल र ५२ वटा आन्तरिक विमानस्थल रहेका छन् । जसमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । त्यस्तै, ३० वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी र १९ वटा आन्तरिक वायु सेवा कम्पनीहरुले अहिले नेपालमा क्रियाशील रहँदै आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्ष (आव) ०७९/८० मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी गरेको थियो । पुँजीगत सञ्चालन खर्च कटायर सो आवमा प्राधिकरणले ३ अर्ब ४९ करोड १५ लाख नाफा आर्जन गरेको थियो । सम्भावित नाफा आर्जनको तुलनामा कम भएपनि नाफा आर्जन भइरहेको अवस्थामा थप लगानी भित्र्याउन र आधुनिक व्यवस्थापन सहित अन्तर्राष्ट्रिय स्तरमा सहज पहुँच बनाउने उद्देश्यले प्राधिकरणले गरेको निर्णय समसामयिक रुपमा सकारात्मक भएको र सो निर्णयलाई सरकारले आवश्यक निर्णय गर्ने सम्भावना भएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लिएर नेपालमा लगानी गर्न विशेषगरी भारतीय पुँजीपति गौतम अडानीले अर्थमन्त्री डा महतसमक्ष राखेको सकारात्मक धारणाले पनि नेपालको विमानस्थलको आधुनिक व्यवस्थापनमा विदेशी लगानीकर्ताको सहभागिताको विषयमा सरकारले निर्णय गर्न सकेमा भारत र अन्तर्राष्ट्रिय बजारमा समेत नेपालको राम्रो व्यवसाय हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।
पुल्चोक क्याम्पसका ६ जना उत्कृष्ट विद्यार्थीहरुले पाए एनसेल छात्रवृति
काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । यो एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो । यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आईकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरुको समुउपस्थितीमा प्रदान गरिएको थियो । यस वर्ष अर्थात २०८० का लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो । इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्शीयल अफिसर उमेर मोहसिन र एक्टिङ् चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सँगको सहकार्यमा युवा र विद्यार्थीलाई आफ्नो उत्कृष्टताका लागि प्रोत्साहन प्रदान गर्ने यो कार्यक्रम गर्न पाएकोमा हामी गौरवान्वित छौं । नयाँ पुस्तालाई सशक्त बनाउने एक जिम्मेवारी मात्र नभएर प्रतिबद्धता पनि हो जसले नवीनता, प्रगति र सकारात्मक परिवर्तनलाई बढावा दिन्छ । सम्मानित हुने विद्यार्थीका उपलब्धिहरूले हामी सबैलाई गर्व मात्र प्रदान गर्दैन भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि बन्दछ । हामी विश्वास गर्छौं कि हाम्रो सहयोगले विद्यार्थीहरुको भविष्य निर्माणमा सहयोग गर्दछ र आजका विद्यार्थी नै देशको भविष्य हुन् । व्यक्तिगत रूपमा, मलाई २० वर्ष पहिलेको सम्झना छ जब मैले मेरो उपलब्धिको लागि छात्रवृत्ति पाएको थिए र त्यसैको कारणले आज म यहाँसम्म पुगेको छ । आर्थिक रूपमा मात्र होइन, यो महत्त्वपूर्ण सम्मानले सबैलाई राम्रा काम जारी राख्न प्रेरित गर्नेछ । प्रतिभा विकासमार्फत समाजको भविष्यको लागि अनवरत लागि रहनु भएका इन्जिनियरिङ्ग अध्ययन संस्थानका सबैलाई उहाँँहरुको अथक प्रयासका लागि धन्यवाद दिन चाहन्छु ।’ त्यसैगरी एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. जोशीले भने, “हाम्रा विद्यार्थीहरूले पढाईमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा समेत हासिल गरेको उपलब्धिका बारेमा सम्झन चाहन्छु । उनीहरुले देश बाहिरपनि धेरै महत्त्वपूर्ण कार्यहरुमा योगदान दिइरहेका छन् र पूर्व विद्यार्थीहरूको सफलताका कथाहरू सुन्न पाउँदा खुसी लाग्छ । जब हाम्रा विद्यार्थीहरू सफल हुन्छन्, मलाई शिक्षाको परिवर्तनकारी शक्ति र विद्यार्थीहरुमा हुने अपार सम्भावनाको सम्झना आउँछ । तपाईं चाहे उद्यमी, प्रोफेसर वा अन्य जुनसुकै पेशामा जानुस् तपाईंको भाग्य तपाईंको जोश र तपाईंले देख्ने सपनामा निहित छ । एनसेल छात्रवृत्ती तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीहरुलाई धेरै धेरै, बधाई छ । म तपाईंका उपलब्धिहरूमा धेरै गर्व गर्छु । विगत एक दशकदेखि हाम्रा विद्यार्थीहरूलाई यो प्रदान गर्नु भएको यो सम्मान र सहयोगका लागि एनसेलप्रति म धेरै आभारी छु ।” यसै अवसरमा प्रा.डा.जोशीले पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मान स्वरुप इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्र प्रदान गरको छ । यसअघि दुई पटक एनसेल छात्रवृत्ति प्राप्त गरेका र यो वर्ष ईलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरि एनसेल उत्कृष्टता सम्मान प्राप्त गरेको विवेक खनालले भने, ‘यो अवार्ड मेरो कडा मेहनत र पढाई देखाएको उत्कृष्टताको परिणाम हो । यो एक आर्थिक सहयोग पनि हो तर अझ महत्त्वपूर्ण कुरा भनेको योे वास्तवमै एक ठूलो सम्मान हो र यसले विद्यार्थीहरूलाई एकदम लगनशील भएर आफ्नो पढाईमा लाग्न उत्प्रेरित गर्दछ । यो सहकार्यको लागि म एनसेल र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई धन्यवाद दिन चाहन्छु ।’ ‘यो खुशीको कुरा हो एनसेलले शिक्षा क्षेत्रमा योगदान पुर्याएको छ । म यो छात्रवृत्रि प्राप्त गर्न पाउँदा गर्व महसुस गरिरहेको छु । यो छात्रवृत्ति सधै सधैं मेरो लागि प्रमुख प्रेरणादायी कारकहरू मध्ये एक थियो । विद्यार्थीहरुलाई परिवारबाट आर्थिक स्वतन्त्रता हुन्न । त्यस्तो अवस्थामा यो छात्रवृत्तिको रकम आफ्नो शिक्षाको लागि लगानी गर्न पनि प्रयोग गर्न सकिन्छ त्यसैले एनसेललाई धन्यवाद छ,’ एनसेल छात्रवृत्ति प्राप्त गर्ने १८ मध्ये एक विद्यार्थी बेन्जिना ढकालले भनिन् । उनले मेकानिकल इन्जिनियरिङ संकाय अन्तर्गत दोस्रो वर्षमा उत्कृष्ट बन्दै यो छात्रवृत्ति पाएकी हुन् । २०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको छ । प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् । कुल १८ जना मध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् । यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
कामना सेवा विकास बैंकमा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण
काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई साईबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल प्रहरी, साईबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई वर्तमान अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतीय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको बारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए । उक्त प्रशिक्षणले बैंकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्बन्धी ज्ञान अभिवृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
डियरहोल्ड नेपालमा एमच्यामको ‘इन्फर्मेटिभ लर्निङ’
काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा ‘इन्फर्मेटिभ लर्निङ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपालमा डियरवाक अन्तर्गतका कम्पनी र डियरहोल्डले सफ्टवेर विकास, स्कुल तथा कलेज सञ्चालन, कर्पोरेट तथा आइटी तालिम, अटो सर्भिस एवं पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीका संस्थापक रुद्रराज पाण्डेले बताए । कम्पनीका संस्थापक पाण्डेले नेतृत्व विकास र कम्पनीको बारेमा अनुभव साटेका थिए । सचिन कारन्जितले डियरहोल्ड नेपालको सञ्चालनको, डियरवाक स्कुल र कलेजको बारेमा बिजय श्रेष्ठ र डियरवाक कम्पवेरको बारेमा यज्ञ लम्सालले जानकारी दिएका थिए । आफ्ना सदस्यहरूमा सिकाई श्रृङ्खला अन्तर्गत एमच्यामले अन्तर्क्रियासँगै काठमाडौंको सिफलमा रहेको डियरहोल्ड र डियरवाक ग्रुपको परिसर भ्रमण गराएको हो । कार्यक्रमले सदस्यहरूबीच मित्रता बढाउने र एक अर्काको व्यवसायको बारेमा थप बुझ्न मद्दत गर्ने एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए । कार्यक्रममा सहभागीहरूले डियरहोल्ड र डियरवाक ग्रुप अन्तर्गत सिफल स्कुल, डियरवाक कलेज, डियरवाक कम्पवेर अवलोकन गरेका थिए । कार्यक्रममा एमच्यामका निवर्तमान अध्यक्ष अजित शाह सदस्य सामर्थ मोघा र अमेरिकी दूतावासका आर्थिक तथा वाणिज्य विशेषज्ञ तथा आर्थिकरवाणिज्य अधिकृत डरिन क्रिस्टेनसेन लगायत ४० जना सहभागी थिए । एमच्याम नेपालमा अमेरिकी लगानीका ४० भन्दा बढी व्यवसायिक संस्था आवद्ध भैसकेका छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ । यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि भएको एमच्याम नेपालले जनाएको छ ।
विनोद चौधरीको पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम बन्ने, लागत १७ करोड रुपैयाँ
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्का लगायतका गृहकार्यपछि शुक्रबार उक्त औद्योगिक ग्रामको शिलान्यास भएको छ । चालू आर्थिक बर्षमा उक्त ग्रामका लागि बजेट विनियोजनसँगै स्थानीय तहमा तयारी समेत अगाडि बढेपछि नवलपरासीका लागि यो महत्वपूर्ण परियोजनाका रुपमा अगाडि बढेको छ । सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए । आफु निर्वाचित भएको एक बषमै उनले उक्त प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याएका छन् । नमुना औद्योगिक ग्राम नवलपरासी जिल्लाकै एकिकृत सुविधा उपलब्ध हुने नमूना औद्योगिक ग्रामका रुपमा स्थापना गर्न लागिएको छ । यस ग्राममा स्थानीय युवाका श्रृजनशिल उद्यमशिलता र स्थानीय कच्चा पदार्थमा आधारित सिपलाई उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग (एसएमई) भिलेजका रुपमा पनि चिनिनेछ । बर्दघाट नगरपालिका वडा नं ५, खजुरा खोला क्षेत्रमा करिब १८ विगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हुँदैछ । यस परियोजनाका लागि १७ करोड रूपैयाँ खर्च हुने अनुमान छ । यो परियोजना बहुबर्षिय परियोजनाका रुपमा आगामी तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सांसद चौधरीको विशेष पहलमा चालु आर्थिक बर्षका लागि ४ करोड रूपैयाँ यस परियोजनाका लागि निकासा भई टेण्डर भईसकेको छ । रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभिले निर्माणको जिम्मा पाएको छ । यस बर्ष पूर्वाधारका कामहरू सम्पन्न गरिनेछन् । कार्य प्रगती राम्रो रहेमा यसै आर्थिक बर्षभित्र थप बजेट निकासा भई थप काम गर्न सक्ने अवस्था छ । यस परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन परियोजनालाई कुनै आर्थिक भार नपर्ने गरि चौधरी फाउण्डेसनका इन्जिनियरहरूले प्रत्यक्ष रुपमा सहयोग गर्नेछन् । तीन बर्षभित्र नमूना औद्योगिक ग्राम तयार गरि नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने सांसद चौधरीको लक्ष्यअनुसार उनको सचिवालयका अधिकारीहरूले पनि परियोजनाको निरन्तर अनुगमन गर्नेछन् । उक्त परियोजनाको एक समारोहवीच शुक्रवार शिलान्यास गरिएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् । उक्त अवसरमा बोल्दै मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमूना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफुले पहल गर्ने पनि मन्त्री रिजालले बताए । शिलान्यास कार्यक्रममा बोल्दै सांसद चौधरीले आफुले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिवद्धताहरूलाई एक एक गरि पूरा गर्ने शिलशिलामा नमूना औद्योगिक ग्राम सोही प्रतिवद्धता कार्यान्वयनको अर्को महत्वपूर्ण चरण भएको बताए । ‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहान्छु । तर, यहाँ त्यहि भईरहेको छ । म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु तर हाम्रा कतिपय मित्रहरू मैले गरेका कामहरूलाई विकास हैन राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, सक्नुहुन्छ भने तपाईँहरु पनि यस्तै विकासको राजनीति गर्नुस् । आर्थिक विकासको अध्यायलाई अगाडि बढाउने काममा जोडिनुस् । चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए । एसएमई भिलेज उद्यमशिलताको नमूना बन्ने र नवलपरासीका युवाहरूलाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहनेछ भन्ने मेरो विश्वास छ, सांसद चौधरीले भने । ‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोंच राख्ने युवाहरुका लागि एकिकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ । यसले यहाँका युवाहरूका नयाँ सोंच, नवप्रवर्तनका कार्यक्रमहरूलाई अर्को तहमा पु¥याउनेछ भन्ने मेरो विश्वास छ’, सांसद चौधरीले भने, ‘हामीले युवाहरूका लागि युवा उद्यमशिलता तालिम अगाडि बढाईरहेका छौँ । र उनीहरुका लागि विउ पँुजीको व्यवस्था गर्न पनि आवस्यक पहल लिनेछौँ ।’ यस परियोजनालाइ सम्पन्न गर्न आफु र आफ्नो टिमले निरन्तर सहयोग र अनुगमन गर्ने पनि उनले जानकारी दिए । उद्योग ग्राम खोलेर मात्रै हुदैन जीवन्त बनाउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । विशेष औद्योगिक क्षेत्र (सेज) र अन्य ग्रामजस्तो यस ग्रामलाई उद्योगविहिन हुने अवस्था आउन दिइनेछैन । सांसद चौधरीले जोड दिए । प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधक रवीन्द्र शाहले जानकारी दिए । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले नगरपालिकामा नमूना औद्योगिक ग्राम बन्नु अत्यन्तै सुखद रहेको बताए ।
माउन्टेन ग्लोरीले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
काठमाडौं । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको माउन्टेन ग्लोरीले आईपीओ निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शुनिलभक्त श्रेष्ठ र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । विगत ८ वर्षदेखि पोखराको दोभिल्लास्थित रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको कम्पनीले एक सय रुपैयाँ दरको ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । माउन्टेन ग्लोरीमा हाल जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पामा एशियन लाइफ इन्स्योरेन्सको ४० प्रतिशत लगानी रहेकाे छ । एशियन लाइफ इन्स्योरेन्सले पछिल्लो समय पर्यटन, जलविद्युत, पूर्वाधार, बैंकिङ लगायतको क्षेत्रमा लगानी विस्तार गर्दै गएको छ । पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विषेश सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालनमा छ । निकट भविष्यमा सेयर निष्काशन पश्चात कोठाहरु थप गर्ने, विदेशी होटलसँग अनुबन्धन हुने र पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।
नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ । छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गरे। छलफलमा नेपाल वायुसेवा निगमका अध्यक्षसहित सुर्खेतबाट हवाई सेवा दिने व्यवस्था मिलाउन गठित समितिका पदाधिकारीहरूको समेत सहभागिता थियो । छलफलमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, सङ्घीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताए । नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबीच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीका लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने बिषयमा समेत छलफल भएको थियो। निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । ‘यसका लागि समिति पनि गठन गरिएको छ’, अध्यक्ष अधिकारीले भने, ‘हामी सुर्खेतबाट हवाई सेवा दिन तयारी गरिरहेका छौँ ।’ उपप्रधानमन्त्री खड्कासँगको छलफलको क्रममा गठित समितिका सदस्य सचिव दीपेश पुनले माघभित्र तयारी पूरा गरी फागुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताए । उनले थप प्रष्ट पार्दै भने, ‘कर्णाली प्रदेशका अन्य जिल्लालाई हवाई उडानमार्फत सुर्खेतमा जोड्ने गरी काम गरिरहेका छौँ ।’ सो अवसरमा उपप्रधानमन्त्री खड्काले निगमलाई हाल उपलब्ध सबै विमान उपयोग गरी देशभित्र र विश्वका विभिन्न गन्तव्यहरुमा उडान विस्तार गर्न रणनीतिक योजनाका साथ अघि बढ्न सुझाव दिए । ‘नेपाल एयरलाइन्सले हाल भइरहेका विमानको पूर्ण क्षमतामा सञ्चालन गरी अधिकतम लाभ लिन सक्नुपर्छ’, उनले भने । छलफलको निष्कर्षमा उपप्रधानमन्त्री खड्काले पुनः जोड दिँदै निगम अधिकारीलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला र पायक पर्ने छिमेकी जिल्लाहरुमा समेत नेपाल एयरलाईन्सले नियमित हवाई सेवा संचालन गरी त्यहाँका जनताको वर्षौंदेखिको हवाई सेवा प्राप्त गर्ने आकाङ्क्षा पूरा गर्न विशेष जोड दिए । रासस