एलन मस्कलाई पन्छाउँदै विश्वकै नम्बर एक धनी बनेका बर्नार्ड अर्नाल्टको कति बढ्यो नेटवर्थ ?
काठमाडौं । टेस्ला, स्टारलिंक र एक्स (पहिला ट्वीटर) का मालिक एलन मस्कले विश्वको सबैभन्दा धनी व्यक्तिको ताज गुमाएका छन् । टेस्लाको सेयरमा ठूलो गिरावट आएपछि उनको सम्पत्ति पनि घटेको छ । फ्रान्सेली व्यापारी तथा लक्जरी ब्राण्ड लुइस भिटनका मालिक बर्नार्ड अर्नाल्ट अब फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्स रियल टाइम बिलिनायर्सका अनुसार बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति करिब २ खर्ब ७ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । मस्कको कुल सम्पत्ति अहिले २ खर्ब ४ अर्ब ७० करोड डलरबराबर छ । मस्कलाई पछि पार्दै बर्नार्ड अर्नल्ट विश्वकै धनी व्यापारी बनेका हुन् । बर्नार्डको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर बढी छ । यो ध्यान दिन लायक छ कि शुक्रबार एलभिएमएचको मार्केट क्याप ३ खर्ब ८८ अर्ब ८ करोड डलर नाघेको थियो । टेस्लाको मार्केट क्याप हाल ५ खर्ब ८६ अर्ब १४ करोड डलर छ । यी हुन् शीर्ष १० धनी फोर्ब्सको रियल टाइम अर्बपति सूचीअनुसार बर्नार्ड अर्नाल्ट र इलन मस्कपछि अमेजन संस्थापक जेफ बेजोसको नाम तेस्रो स्थानमा छ । उनको कुल सम्पत्ति १ खर्ब ८१ अर्ब ३० करोड डलर छ। चौथो स्थानमा ल्यारी एलिसनको नाम छ । उनको कुल सम्पत्ति १ खर्ब ४२ अर्ब २० करोड डलर छ। त्यस्तै १ खर्ब ३९ अर्ब १ करोड डलर नेटवर्थसाथ मेटाका सीईओ मार्क जुकरबर्ग यस सूचीमा पाँचौं स्थानमा छन् । यसपछि वारेन बफेट, ल्यारी पेज, बिल गेट्स, सर्गेई ब्रिन र स्टिभ वाल्मरको नाम पनि विश्वका धनी व्यक्तिको सूचीमा परेको छ । फोर्ब्स रियल टाइम सूचीमा एशिया र भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी (मुकेश अम्बानी नेटवर्थ) को नाम ११औं स्थानमा छ । उनको कुल सम्पत्ति १ खर्ब ४ अर्ब ४ करोड डलर छ । जहाँ भारतका दोस्रो धनी व्यक्ति गौतम अडानी (गौतम अडानी नेटवर्थ) यस सूचीमा १६औं स्थानमा छन् । उनी कुल ७५ अर्ब ७० करोड डलरका मालिक हुन् । एजेन्सी
राइनासकोटको पर्यटन : इतिहास, संस्कृति र प्रकृतिको समिश्रण
गण्डकी । नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै यहाँबाट देखिने १८ वटा जिल्लाको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे-चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, त्यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थलले यहाँको गरिमा र महत्व चुलिएको छ । समुुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्वपूर्ण ऐतिहासिक स्थल पनि हो । यहाँबाट देखिने एक सय ८० डिग्रीको बिन्दुमा एकैसाथ नाङ्गो आँखाले धवलागिरिदेखि गणेश हिमालसम्मका १८ वटा हिमशृङ्खलाले यहाँको महत्वलाई अझै उँचो बनाएका छन् । गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । लमजुङको राइनास नगरपालिकामा पर्ने यो स्थललाई नेपालको एकीकरणमा गौरवशाली भूमिका र पहिचान स्थापित गरेको महत्वपूर्ण किल्लाका रुपमा लिने गरिन्छ । रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको बताइन्छ । इतिहासअनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ-राइनासकोट राज्यको पछि उनका छोराहरू नरहरि शाहले थप सुदृढ़ीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए । दाजु नरहरि शाहले पश्चिम लमजुङको राजकाज पाएपछि द्रव्य शाह (विसं १६१६-१६२७) पूर्वी किल्लाको राजा बनेका थिए । राइनास कोटमा बस्ने द्रव्य शाहले लिगलिगकोट दौडमा विजय हासिल गरेपछि लिगलिग कोटको राजा भएपछि नेपालको एकीकरणको सुरुआत भएको हो । लिगलिगको दौडमा विजयी हुने रणनीति द्रव्य शाहले राइनासकोटमा नै बसेर गरेका कारण पनि यसलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ । त्यही रणनीतिअनुसार राइनासकोटबाट द्रव्य शाह दलबलसहित लिगलिगको दौडमा सहभागी हुन पुगेका थिए । मगरहरूसँग दौडेका द्रव्य शाहले रणनीतिक रुपमा दौड जितेर लिगलिगकोटको राजा भए र त्यसपछि दौडेर राजा हुने परम्पराको नै अन्त्य गरे । गोरख ग्रन्थमा उल्लेख भएबमोजिम गुरु गोरखनाथ पहिलोपटक तत्कालीन राजकुमार द्रब्य शाहको राइनासकोटको गाईगोठमा गएर आर्शिवाद दिएका थिए । आशिर्वादसँगै उनको राज्य बिस्तारको अभियान सफल हुँदै गएको मानिन्छ । पृथ्वीनारायण शाहले आफ्नो नेपाल एकीकरणको अभियानलाई सफल पार्नका लागि राइनासकोटमा नै बसेर योजना बनाएको पनि इतिहासमा उल्लेख छ । गुरु गोरखनाथको निर्देशनअनुसार पृथ्वीनारायण शाह बेलाबेलामा राइनासकोट पुगी विभिन्न रणनीति तय गर्ने गरेको बताइन्छ । उनले समयसमयमा राइनासकोट पुुगी पूजाआजा गर्ने गरेको सिद्धबाबाको मन्दिर आदिले यहाँको ऐतिहासिक महत्वलाई उजागर गरेका छन् । ढुङ्गाको पर्खालले वरिपरि घेरिएको गोलाकार किल्लाभित्र रहेको सिद्धबाबाको मन्दिरका साथै कोटेश्वर महादेव, कालिका मन्दिरमा यहाँका स्थानीयले परापूर्व कालदेखि श्रद्धाभक्तिका साथ पूजाआजा गर्दै आएका छन् । मनले चिताएको जनविश्वासका कारण आसपासका सर्वसाधारण यी धार्मिक स्थलमा पुुग्ने गरेका छन् । शाहवंशीय राजाको उद्गमस्थलका रुपमा यो स्थलमा रहेका ऐतिहासिक एवम् धार्मिक महत्वका थानी माई, शिव मन्दिर, कालिका मन्दिर महत्वपूर्ण धार्मिक पर्यटकीय आकर्षण हुुन् । परम्परागत मौलिकतामा आधारित घाटु, चुड्का जस्ता संस्कृतिलाई बचाइएका कारण यो स्थलको सांस्कृतिक रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको स्थानीयवासी एवम् राइनासकोट सामुदायिक होमस्टेका सदस्य तुलसीमाया गुरुङले बताइन् । राइनासकोटमा घरवासको विकास भने २०७२ सालको भूकम्प पछि गरिएको बताउँदै उनले हाल यहाँका २० घरमा घरवास सञ्चालन गरिएको बताइन् । भूकम्पले भत्किएका घरसँगै यहाँको धार्मिक सम्पदाहरू पुनर्निर्माण गरिएको उनले बताइन् । ‘होमस्टे सञ्चालनले हामीलाई दैनिकी सञ्चालनमा सहयोग पुुगेको छ’, उनले भनिन्, ‘यहाँका प्रत्येक घरमा १० जनासम्म बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।’ आफूहरूले २०७४ सालदेखि घरवास सञ्चालन गर्दै आएको बताउँदै गुरुङले पर्यटकको बढ्दो आकर्षणले आँफूहरूलाई उत्साहित बनाएको बताइन् । राइनासकोटको पर्यटकीय आकर्षण बढेसँगै विगतमा गाउँ छोडेर गएका स्थानीयवासी पनि फर्किएर घरवास सञ्चालन गर्न थालेका छन् । करिब २० वर्षअघि गाउँ छोडेर गएका स्थानीय तीर्थकुमारी गुरुङको परिवार भूकम्पपछि गाउँ फर्किएर घरवास सञ्चालन गरिरहेको छ । त्यस्तै यहाँका अन्य स्थानीयवासी पनि घरवास सञ्चालन गरिरहेका छन् । पछिल्ला वर्षमा राइनासकोटमा घरवासमा बस्नका लागि टाढाटाढाबाट मानिसहरू आउने गरेको बताउँदै उनले पुस महिनामा धेरै समूहहरू आएको जानकारी दिइन् । घरबासमा आउने पर्यटकका लागि एक हजार १५० रुपैयाँको प्याकेज राखिएको छ । उक्त प्याकेजअनुसार घरवासमा आएका पर्यटकले पुुग्नासाथ खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान नास्ता खान पाउँछन् । पर्यटकको आवश्यकताअनुसार उनीहरूका लागि सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको उनले बताइन् । प्योकजअन्तर्गतको ५० रुपैयाँ होमस्टे सञ्चालक समितिको कोषमा राख्ने गरिएको उनले बताइन् । राइनासकोट वीर भक्ति थापासँग जोडिएको गाउँ समेत भएकाले गाउँको माथि भक्ति थापाको शालिक समेत स्थापना गरिएको र उक्त स्थललाई भक्ति थापा पार्कका रुपमा विकास गर्न लागिएको राइनासकोट नगरपालिकाका प्रमुख खड्गबहादुर गुुरुङले बताए । आसपासका पर्यटकीय सम्भावनायुक्त स्थलहरूको विकास गर्दै पर्यटकीय रुपमा देश तथा विदेशमा यसको प्रवद्र्धन गरिने उनको भनाइ छ । ऐतिहासिक दरबारका भग्नावशेषसँगै पुरातात्विक महत्वका गढीका कारण राइनासकोटको महत्व चुलिएको स्थानीयवासी एवम् पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु बताउँछन् । २०७२ को भूकम्पपछि यहाँको पर्यटन प्रवद्र्धनलाई विशेषरुपमा जोड दिइएको उल्लेख गर्दै उनले त्यसयता सङ्घ, प्रदेश हुँदै स्थानीय तहले यहाँको प्रवद्र्धन र विकासमा विशेष जोड दिएको बताए । विभिन्न सञ्चारमाध्यमबाट समयसमयमा हुने गरेको राइनासकोटको प्रचारप्रसारले पछिल्ला समयमा पर्यटकको आकर्षण समेत बढीरहेको उनले बताए । ‘सरकारी प्रयाससँगै यहाँका स्थानीयवासी पनि यस क्षेत्रको पर्यटकीय विकासमा चासो देखाएका छन्’, उनले भने, ‘यहाँको इतिहास । संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोड्दै समृद्धि र विकासको अभियान थालिएको छ ।’ रमणीय उच्च भागमा अवस्थित राइनासकोटबाट धवलागिरीदेखि गणेश हिमालसम्मका दृश्यलाई एक साथ नियाल्न सकिनुु र रमणीय परिवेश यहाँको विशिष्टता भएको नगरपालिका प्रमुख गुुरुङ बताउँछन् । पहिला ५८ घर रहेको यस स्थानमा पछिल्लो समयमा वसाइसराइको बढ्दो क्रमले घरहरूको सङ्ख्या घटिरहेको उनले बताए । पछिल्लो समयमा स्थानीयवासीहरू शहरमुखी बन्ने प्रवृत्तिले गाउँमा जनशक्ति घट्दै गएको उनको भनाइ छ । पर्यटनसँगै स्थानीयवासीलाई उत्पादनमा जोड दिइएको उनले जानकारी दिए । स्थानीय कोदो, गुन्द्रुक आदिको उत्पादनसँगै दूध उत्पादन, दुनाटपरीको उत्पादन तथा प्रयोग आदिमा गाउँपालिकाले जोड दिएको उनले बताए । ‘हामी कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन चाहन्छौं’, उनले भने, ‘कृषि र पर्यटनका माध्यमबाट स्वरोजगार सिर्जना गर्दै शहरमुखी बनेका स्थानीयलाई पुनः गाउँमा नै फर्काउने हाम्रो दीर्घकालीन सोच छ ।’ समग्र राइनासकोट नगरपालिकाको जनसंख्या १८ हजार रहेको उनले जानकारी दिए । ऐतिहासिक मठमन्दिर, कोट आदिको संरक्षण गर्दै पर्यटकीय रुपमा उपयोग गर्ने नगरपालिकाको सोच रहेको नगरपालिका प्रमुख गुरुङ बताउँछन् । भग्नावशेषका रुपमा रहेको द्रव्य शाहको दरबारको पुनर्निर्माणको लागि योजना अघि सारिएको बताउँदै उनले यो सँगै यहाँका गढी र किल्लालाई संरक्षण गरी पर्यटकीय रुपमा उपयोग गरिने बताए । राइनासकोटको पर्यटकीय प्रवद्र्धनमा पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरेका छन् । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले हालै राइनासकोटमा पुुगी घरवास तथा व्यावसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने एगा पोखराको वार्षिक कार्यक्रम अनुसार यस पटक राइनासकोटको प्रवद्र्धन गरिएको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले बताए । प्रवद्र्धनात्मक भ्रमणका क्रममा राइनासकोटसँग पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरिएको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले बताए । ‘गाउँमा उत्पादन गर्न सकेमा हामीले अल्लो, गाँजाको लोक्ता ९हेम० खरिद गर्न सक्ने विषयमा त्यहाँ जानकारी गराएका छौं’, उनले भने, ‘पर्यटनसँगै त्यहाँ उत्पादित कच्चा पदार्थ खपत गर्न सकिने विषयमा महत्वपूर्ण छलफल भएको छ ।’ यस्ता कच्चा पदार्थको उत्पादनसँगै स्थानीय श्रमिकहरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उनले पर्यटनलाई उत्पादनसँग जोड्न सकेमा त्यसले दिगो पर्यटनको विकासमा योगदान पुर्याउने बताए । रासस
एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र
काठमाडौं । सरकारले करिब एक अर्ब रुपैयाँको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा केन्द्र निर्माण गरेको हो । आयोजना प्रमुख चन्द्रप्रसाद रिसालले प्रत्येक पालिकामा करिब तीन करोड रुपैयाँको लागतमा निर्माण गरिएको अत्याधुनिक प्रविधि तथा सुविधासम्पन्न ती केन्द्र चालु आर्थिक वर्षभित्र सम्बन्धित पालिकालाई हस्तान्तरण गर्ने जानकारी दिए । उनले आगामी आर्थिक वर्षदेखि थप १० पालिकामा केन्द्र निर्माण गरिने योजना रहेको बताए । ग्रामीण उद्यम तथा आर्थिक विकास ग्रामीण उद्यमशीलता विकासलाई प्रोत्साहित गर्न आयोजनाले प्रमुख आर्थिक करिडोर क्षेत्रका साना कृषि उत्पादक तथा खरिदकर्ताबीचमा उत्पादनमूलक साझेदारी तथा बजार सम्बन्धको विकासमार्फत बजार पहुँच सुदृढ गर्न सहजीकरण गर्ने छ । कृषि तथा पशुपक्षी विकासका लागि आवश्यक नीतिगत खाका, आवश्यक संरचना निर्माण र क्षमता विकासलगायत अन्य सहयोगी सेवामार्फत उपयुक्त उद्यमशीलताको वातावरण निर्माण गर्नसमेत सहयोग पुर्याउने उद्देश्य आयोजनाले राखेको छ । उत्पादनमूलक साझेदारीलाई प्रवर्द्धन गर्ने उत्कृष्ट व्यावसायिक योजनालाई पूरक अनुदान, मागमा आधारित साना कृषि बजार केन्द्र निर्माण, मूल्य शृङ्खलासम्बन्धी आधारभूत संरचना निर्माण, प्रादेशिक बजार निर्माणका क्षेत्रमा लगानी विस्तार गर्दै आएको आयोजना प्रमुख रिसालले जानकारी दिए । कर्णाली प्रदेशबाहेकका सबै प्रदेशमा आर्थिक करिडोर जोडिएको छ । रासस
पर्वतमा ३ करोडमा बनेको वधशाला प्रयोगविहीन
पर्वत । कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको वधशाला लामो समयदेखि प्रयोगविहीन छ । कुश्मा नगरपालिका–४ स्थित अर्मादीमा एक निजी कृषि फार्मले तीन करोड रूपैयाँ लागतमा स्थापना गरेको वधशाला प्रयोगविहीन बनेको हो । स्थानीय किसान लालबहादुर हरिजनले तीन करोड रूपैयाँको लगानीमा वधशाला स्थापना गरेका थिए । किसान हरिजनले पाँच वर्ष पहिले इटलीबाट खरिद गरी सञ्चालनमा ल्याएको वधशालातर्फ मासु उत्पादक र विक्रेताको आकर्षण हुन नसक्दा बन्द गर्नुपरेको हो । वधशाला ऐन, २०५५ लागू गर्न सरकारले कुनै चासो नदेखाउँदा समस्या भएको हरिजनले बताए । कुखुराको मासु अव्यवस्थित रूपमा बिक्री वितरण भइरहेको अवस्थामा आधुनिक स्वचालित मेसिन रहेको वधशाला बन्द गर्नुपरेको भन्दै यसको सञ्चालनमा सरोकारवाला निकायले चासो दिनुपर्ने बताए । विसं २०७५ देखि करिब १५ रोपनी क्षेत्रफलमा धवलागिरि एकीकृत कृषि फार्म सञ्चालन गर्दै आउनुभएका किसान हरिजनले कुखुरापालन व्यवसायसँगै माछापालन र तरकारीखेती गर्दै आएका छन् । बधशाला सञ्चालनमा आएको केही महिनासम्म आफूले पालन गरेका कुखुराको मासु उत्पादन गरेको भए पनि अन्य कुखुरापालक कृषक, मासु विक्रेता र सरोकारवालाले स्वच्छ मासु उत्पादनमा चासो नदेखाएको किसान हरिजनको गुनासो छ । किसान हरिजनका अनुसार वधशालाको क्षमता प्रतिघण्टा दुई सय २० वटा कुखुरा वध गर्ने रहेको छ । आधुनिक वधशालामा व्यवस्थापन गरिने कुखुराको मासु बाह्य स्थानमा तयार गरिनेभन्दा स्वच्छ, सफा र स्वस्थकर हुन्छ । मासु काटमार गर्न प्रयोग हुने स्वचालित मेशीनमा खिया नलाग्ने स्टिलको प्रयोग हुन्छ भने कुखरा सफा गर्न प्रयोग हुने पानीसमेत स्वच्छ प्रयोग हुने, झिङ्गा र धुँवाधुलो नहुनेगरी तोकिएको मापदण्ड पूरा गरेरमात्र स्वस्थकर मासु तयार हुने हरिजनको भनाइ छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका अनुसार जिल्लाभर कुखुराको मासु बिक्री पसलको सङ्ख्या करिब दुई सयको हाराहारीमा छ । माछामासुको वार्षिक उत्पादन दुई हजार ८४ मेट्रिक टन रहेकामा बिक्री हुने मासु ७० प्रतिशत कुखुराको रहेको छ । कुखुराको मासु बिक्री गरिनु पहिले जिउँदो कुखुराको स्वास्थ्य परीक्षण हुने व्यवस्था नरहेको केन्द्रले जनाएको छ । केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले पशु वधशाला ऐन, २०५५ लागू हुन नसक्दा आधुनिक वधशाला सञ्चालक किसानलाई समस्या परेको बताए । रासस
एशियन लाइफको ८.१६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ १२ गते बसको बैठकले ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद गरी कूल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
प्राइम बैंकमा पूर्व र वर्तमान सीईओको लगानी, उमेश श्रेष्ठ सबैभन्दा ठूला सेयरधनी
काठमाडौं । प्राइम कमर्सियल बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धर र हालका सीईओ संजीव मानन्धरको पनि लगानी रहेको छ । बैंकका अनुसार पूर्व सीईओ नारायण दास मानन्धरको ४ लाख ८ हजार ४९१ कित्ता र सीईओ संजीव मानन्धरको ६ लाख १६ हजार ८६६ कित्ता सेयर स्वामित्व रहेको छ । साथै, बैंकमा १९ जना व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ । जसमध्ये सबैभन्दा बढी सेयर स्वामित्व उमेश श्रेष्ठको छ । श्रेष्ठको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, विनोद चन्द्र बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १४९ कित्ता, कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, कर्मचारी सञ्चय कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता, विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५११ कित्ता सेयर स्वामित्व छ । यस्तै, सुन्दर नारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८३, शैलजा बर्जाचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, श्याम बहादुर श्रेष्ठको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३७ कित्ता, स्वेता मास्केको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४८८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता सेयर स्वामित्व छ । यस्तै, सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२० कित्ता, महेश राज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८४७ कित्ता, चिरन्जिवी दवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, बैंकको अध्यक्ष राजेन्द्र दास श्रेष्ठको ३ लाख ४२ हजार ६३९ कित्ता, सञ्चालकहरू उदय मोहन श्रेष्ठको ८ लाख ९४ हजार कित्ता, नरेन्द्र बज्राचार्यको १३ लाख २० हजार ३८१ कित्ता, डा. गजेन्द्र बिष्टको १९ हजार १५९ कित्ता, प्रचण्ड मान श्रेष्ठको १ हजार ८६५ कित्ता, मनोज पौडेलको १ हजार ८६५ कित्ता सेयर स्वामित्व छ ।
स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।” प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्याएको स्मरण गरे । प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिए । रासस
६ महिनामा औद्योगिक क्षेत्रमा एक खर्ब छब्बिस अर्ब लगानी प्रतिबद्धता
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले चालु आवमा कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने लक्ष्य राखेको छ । दर्ता भएका उद्योगमा २८ वटा ठुला उद्योग, १६ वटा मझौला उद्योग र १६७ वटा साना उद्योग छन् । चालु आर्थिक वर्षमा ठुला उद्योग ८०, मझौला ८५ र साना दुई सय वटा उद्योग दर्ता गर्ने लक्ष्य छ । छ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । चालु आवको पहिलो छ महिनामा उद्योग दर्ताको सङ्ख्या गत आवको यसै महिनाको तुलनामा वृद्धि भए पनि लगानी प्रतिबद्धतामा भने कमी आएको छ । विभागको तथ्याङ्क अनुसार गत आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योग दर्ता भएका थिए । जसको कुल प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब रुपियाँ रहेको थियो । यस वर्ष पुसमा मात्र कुल ३२ उद्योग दर्ता भएका छन् । यसमा १२ अर्ब ३१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका उद्योगले कुल १३ हजार ६७० रोजगारी सिर्जनाको लक्ष्य राखेका छन् । पुसमा मात्र दर्ता भएका उद्योगले दुई हजार १८१ रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ । यस्तै चालु आवको पहिलो छ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भने २२ अर्ब ३३ करोड रुपियाँ बराबरको स्वीकृति भएको छ । यो वर्ष कुल ३८ अर्ब विदेशी लगानी भित्र्याउने लक्ष्य रहेको छ । पुसमा मात्र एक अर्ब ७३ करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । छ महिनामा विदेशी लगानीका २२६ वटा उद्योग दर्ता भएका छन् । पुस महिनामा मात्र २७ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यी उद्योगले १२ हजार १६७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै पर्यटन, सेवामूलक र ऊर्जा क्षेत्रमा रहेको विभागले जनाएको छ । यसैबिच चालु आवको साउनदेखि नै मुलुकमा भित्रिने विदेशी लगानीमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । गोरखापत्रबाट ।