एनआइबिएल स्टेबल फन्डमा ७ करोड ८५ लाख कित्ता सेयरका लागि आवेदन
काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता सेयरका लागि आवेदन परेको छ । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’मा उक्त आवेदन परेको हो । बन्दमुखी योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरू प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ । उक्त निष्काशनमा शुक्रबार दिउँसो साढे १२ बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकले ७ करोड ८५ लाख ८१ हजार ५२० इकाई खरिदका लागि आवेदन दिएका हुन् । त्यसमध्ये ३ हजार ८५७ जना आवेदन मार्फत सेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएका छन् । यस निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।
चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका-१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । ‘चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौं’, अधिकारीले भने । सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दैछ । उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए । ‘यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिंदैछौं । हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौं’, नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ । चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ । तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन ।’ किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हातेमेसिन प्राप्त गर्न लागेका हुन् । ‘त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ । अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौं’, उनले भने, ‘चियालाई ‘अग्र्यानिक’ बनाउन पालिका लागिरहेको छ ।’ एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उनले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताए । ‘व्यापारीलाई कहिल्यै घाटा हुँदैन । उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ । तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन । ठुलो घाटा भनेको किसानलाई हुने हो । त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौं’, उने भने । राम्ररी टिपेको चिया ४० देखिमाथि रु दुई सयसम्म पनि बिक्री भइरहेको उनको भनाइ छ । ‘गुणस्तरीय चिया टिपौं न । चियाको न्यूनतम समर्थन मूल्य रु ४० हो । तर चियाको मुना ४० प्रतिशतचाहिँ हुनुपर्छ,’ उनी भन्छन्, ‘चालिस प्रतिशत मुना भएको चियालाई कुनै उद्योगले रु ४० दिएन भने नगरपालिकामा आउनुहोस् हामी दिलाउँछौं ।’ सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलव्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताए । ‘बोर्डले किसानलाई सचेतना गराउनुपर्छ, कसरी चिया टिप्नुपर्छ भनेर सिकाउनुपर्छ, किसान ठगिएको छन् कि ? ४० पतिशत मुना भनेको के हो भन्ने कुरा बोर्डले ‘अवार्नेस्’ गर्नुपर्छ’, उनले भने । चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो । किसानले पाएका दुःखमा समाजसेवी, अभियान्तालगायत सबैले साथ दिनुपर्ने राई बताउँछन् । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको पाँच वर्ष भयो । चिया उद्योगी र किसानसमेतको सहभागितामा कार्यविधि पारित गरिएको थियो । किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, विक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि कार्यविधिमा छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ । देशभरमै बढी चिया उत्पान हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुन्छ । रासस
आजदेखि न्युरोडको पार्किङ्ग धरहरा क्षेत्रमा
काठमाडौं । गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ । कामपाले उक्त सेवा आज माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा उपलव्ध गराउन लागेको जनाएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलव्ध हुने भएको हो । कामपाले न्यूरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङस्थल उपलव्ध गराउने क्रममा उक्त स्थानबाट सेवा दिन लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, “यसअघि काठमाडौँ टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलव्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलव्ध गराउन लागेका हौँ ।” पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलव्ध हुनेछ । शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । गएको दसैँदेखि छठपर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।
बाक्लो हुस्सु र शीतलहरले हवाई उडान प्रभावित
काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा शनिबार सो विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल राँझाका प्रमुख सुरेश खनालले जानकारी दिए । प्रमुख खनालले नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला सिमीकोट, हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सको ६ जहाजको उडान नभएको उल्लेख गर्दै काठमाडौँ जाने श्री एयरलाइन्सको २, यती एयरलाइन्सको १ र बुद्ध एयरलाइन्सको ६ उडान नभएको बताए । यसबाहेक श्रीएयरलाइन्सको माउन्टेन फ्लाइट पनि भएको छैन । बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगञ्जमा स्थानीयले विभिन्न चोकमा दाउरा बालेर आगो तापेको दृश्य जतासुकै देख्न पाइन्छ । केही साताअघि चिसो बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिकरूपमा आगो ताप्न दाउरा वितरण गरेको थियो ।
घाम ताप्न पहाड उक्लिँदै
काठमाडौं । निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् । यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । जाडो बढेपछि धनगढीबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ चुरे पहाडी क्षेत्रका डाँडामा लागेको घाम ताप्न तराईतिरबाट सर्वसाधारण पुग्न थालेका छन् । घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको स्थानीयले बताएका छन् । “घाम लाग्दैन, धोएको लुगासमेत सुकाउन समस्या भयो”, धनगढीका माया जोशीले भनिन् । डडेलधुराका प्राध्यापक मेखराज जोशी तराईको मौसम जस्तोसुकै भए पनि पहाडबाट तराईमा बसाइँसराइ गर्नेहरू बढ्दै गएको बताउँछन् । उनले भने, “वर्षा र गर्मी मौसममा असह्य गर्मी तथा डुबानको समस्या, हिउँदमा शीतलहरको जाडो भए पनि के गर्नु, तराई नै रोज्ने बढी मान्छे छन् ।” धनगढीबाट कैलालीको चुरे पहाडी क्षेत्र पुगेका पत्रकार श्रवण देउवाले दिउँसोको समयमा घाम लाग्ने चुरे पहाडका डाँडामा धेरै मान्छेले घाम तापिरहेको दृश्य देखिएको बताए । हिँउदेयाममा निरन्तरको शीतलहरसँगै देखिने डढुवा रोगले तराईका कैलालीसहितका जिल्लामा आलु, गोलभेँडा लगाएको तरकारी बालीमा प्रतिकूल असर पुर्याउने गरेको छ ।
रिलायबल लाइफको आज सेयर किन्नेले १६.८४ प्रतिशत लाभांश पाउने
काठमाडौं । आइतबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले माघ १५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आज माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गरेका सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् । लाभांश पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा माघ २९ गते लिसरा ब्याङ्क्वेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
रिलायन्स स्पिनिङ्गको आईपीओमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । माघ १० गतेदेखि बुक बिल्डिङ्ग विधिमार्फत बिक्री खुला गरेको कम्पनीको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले आज माघ १४ गतेसम्म बोलकबोल पेश गर्न सक्ने छन् । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर बुक बिल्डिङ्ग मार्फत बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयरको न्यूनतम मूल्य ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकिएको छ । नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई बिक्री मूल्यको सीमा भित्र रही बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरुले नेप्सेको कार्यालयमा गई आज माघ १४ गतेसम्म गोप्य बोलपत्र पेश गर्न सक्ने छन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।
लाभांश पारित गर्न यूनाइटेड अजोडले डाक्यो ३०औँ साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा फागुन ७ गते अनमोल ब्याङ्क्वेट शंखमूल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद गरी कूल १०.८० प्रतिशत लाभांश पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ । संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्नेछ । साथै, संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २२ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।