पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट १ खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन
काठमाडौं । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा १ खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत एक हजार दुई सय मेगावाटको बुढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको थियो । सरकारले आव २०७७/७८ को बजेटबाट पाँच रुपैयाँबाट डिजेल, पेट्रोल र हवाई इन्धनमा सङ्कलन गर्दै आएको कर बढाएर १० रुपैयाँ पुर्याएको थियो । इन्धन आयात गरेबापत मासिक रूपमा भन्सार बिन्दुमै पूर्वाधार करबापत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा १० रुपैयाँ शुल्क सङ्कलन हुँदै आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भन्सारबिन्दुमै पूर्वाधार कर सङ्कलन गरी सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
मिस्ट्री जलविद्युत्को भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चद्वारा परमादेश
काठमाडौं । सर्वोच्च अदालतले म्यादी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार उक्त जलविद्युत् आयोजनाका कारण म्यादीमा रहेको तातोपानी कुण्ड सुकेर अपूरणीय क्षति पुग्ने उल्लेख गर्दै परमादेश दिएको हो । तातोपानी कुण्डको प्राकृतिक स्रोतलाई प्रत्यक्ष असर पर्ने गरी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन मिति २०७८ फागुन २२ गते र २०७९ साउन २३ गते प्रारम्भिक वातावरणीय परीक्षणलाई पनि अदालतले बदर गरेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन संशोधन, भू–गर्भविज्ञको प्रतिवेदनसहितको प्रतिबद्धताको माग गरेकामा जबर्जस्ती साबिक पारित प्रतिवेदनबमोजिम निर्माण गर्ने भनी रेखाङ्गकन गर्न थालेकाले सोही बमोजिम कार्यान्वयन भएमा पहिचान बोकेको तातोपानी कुण्ड नै सुकी अपूरणीय क्षति हुने उल्लेख गर्दै सो क्षेत्रका स्थानीय बासिन्दा रुमलाल पुन, खिममाया लिलिजासहित १८ जनाले रिट निवेदन दायर गरेका थिए । उक्त जलविद्युत् आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्ने भएकाले संरक्षण क्षेत्रभित्र कस्तो कस्तो प्रकारको विकास–निर्माण गर्ने, विकासका लागि संरक्षित क्षेत्रभित्र प्रयोग गर्न दिदाँ सम्बन्धित विज्ञहरुसँग छलफल गरी एक वैज्ञानिक किसिमको गुरुयोजना तथा एकीकृत परियोजनाको कार्यविधि तत्काल कार्यान्ववयन नगर्न परमादेशमा भनिएको छ । सो आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्ने भएको हुँदा सो क्षेत्रमा आदिम समयदेखि पिछडिएको जनजातिको बासस्थान भएको र उक्त क्षेत्रमा सार्वजनिक पाटीपौवा भएको उतm संरक्षण गर्न, कृषि पेसा र तातोपानी कुण्डको कारण नै पर्यटन व्यवसाय सञ्चालन गरी जीविका चल्दै आएकाले उतm आयोजनाले असर गर्ने आदेशमा छ । उक्त विषयमा अधिवक्ताहरु पदमबहादुर श्रेष्ठ, शुभराज आचार्य, राज फुयाल, दिलराज खनाल, षटकोष श्रेष्ठ, आरजु कार्की, राकेशकुमार साह र विष्णुकुमार थोकरले बहस गरेका थिए ।
हकप्रद निष्काशन प्रयोजनार्थ रिडी पावरले तोक्यो बुक क्लोज मिति
काठमाडौं । रिडी पावर कम्पनीले सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन माघ २२ गते बुक क्लोज मिति तय गरेको हो । त्यसैले माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ को १ः०.५० अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ कित्ता बराबर ०.५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
जुम्लाको तापक्रम माइनस ४.९ डिग्रीमा झर्याे, काठमाडौंमा चिसो बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आइतबार तराईले भने केही राहत महसुस गरेको छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनमत तापक्रम २.२ मा झरेको काठमाडौंको तापक्रम आइतबार त्यसभन्दा पनि तल झरेर २.१ डिग्रीमा आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए । उनले आइतबार सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको पनि जानकारी दिए । उनका अनुसार आइतबार तराईले भने केही राहत महसुस गरेको छ । उच्च बादल अर्थात् पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सु मात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उनको भनाइ छ । यो हाई क्लाउडले पानी भने नपार्ने उनले बताए । “खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आइतबार साँझ ६ बजेको समयमा धेरै क्षेत्रमा एक हजार मिटरमाथि भिजिबिलिटी छ”, मौसमविद् अर्यालले भने, “जसले हिजोको भन्दा कम कुहिरो हुँदा घाम लागेर राहत मिलेको छ ।” मौसमविद्का अनुसार भिजिबिलिटी १ हजारभन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ । तराईमा भोलि पनि केही राहत मिल्ने तर जनजीवनमा भने चिसोले असर नै पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ । कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ । शनिबार भने तराईका अन्य क्षेत्रको ‘भिजिबिलिटी’ अलि धेरै रहे पनि नेपालगञ्ज र धनगढीमा बाक्लो थियो । त्यहाँ ३ सय मिटरसम्म झरेको पनि मौसमविद् अर्यालले बताए । उच्च पहाडी भेगमा केही मौसम बदली रहेको र हिमाली क्षेत्रमा हिमपात भने जारी नै रहेको छ । विभागले आइतबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका केही स्थानमा हुस्सु लागेको छ । आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार दिउँसोको अवस्थामा पनि उस्तै रहने जनाइएको छ ।
खसीबोका बिक्रीबाट साढे २ अर्ब आम्दानी
फाइल फाेटाे काठमाडौं । गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन् । अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानको रुचि बाख्रापालनमा बढेको हो । यस जिल्लाका किसान खसी, बोका बिक्रीबाट वार्षिक २ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गर्दछन् । यहाँको खसी, बोका बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ । जिल्लाका प्रत्येक पालिकाहरुबाट वार्षिकरुपमा ४६ हजार खसी, बोका जिल्लाबाहिर निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीका पशु विकास अधिकृत हुमाकान्त पाण्डेयले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाबाहिर निर्यात भएका खसी, बोकाबाट वार्षिक ९८ करोड रुपैयाँ जिल्ला भित्रने गरेको बताइएको छ । जिल्लाको रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबैभन्दा बढी बाख्रापालन गरिँदै आएको छ । यस क्षेत्रमा उत्पादन भएका पाँच हजार जति बोका बीउका लागि बाहिर निर्यात हुँदै आएको छ । जिल्लामा वार्षिकरुपमा १ लाख २० हजार खसी, बोका बिक्री हुँदै आएको कार्यालयले जनाएको छ । उक्त खसी, बोकाबाट जिल्लामा वार्षिक १ हजार १६३ मेट्रिकटन मासु उत्पादन हुने गर्दछ । जिल्लामा जमुनापारि क्रस र बोयर क्रस जातका बाख्राहरु उत्पादन गरिँदै आएको छ । गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका ४१६ बाख्रा फार्मबाट २ लाख ५ हजार ७७७ बाख्रा उत्पादन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीले बाख्रापालनका लागि किसान र तिनका समूहलाई खोर निर्माण, बीउ, औषधि उपचार, खोप, मेसेनरी सामग्री खरिदलगायत क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएकोे पशु सेवाविज्ञ केन्द्र प्रमुख पाण्डेयले बताए । जिल्लामा किसानले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आए पनि पछिल्लो समयमा भने व्यावसायिक किसानको सङ्ख्या भने घट्दै जान थालेको छ । युवा जनशक्ति बाहिर पलायन हुँदै जाने, अनुदान पाउने आशमा मात्र व्यवसाय सञ्चालन गर्ने, घाँसको अभाव हुने र काम गर्ने जनशक्ति पर्याप्त नभेटिने समस्याका कारण किसानले सोचेजस्तो प्रतिफल पाउन नसकेको बताइएको छ ।
इभी व्यवसायमा देखिएका चुनौतिहरुको विषयमा पाठ्यक्रम बनाइने
काठमाडौं । नेपालमा इलेक्ट्रिक भेइकल (इभी) व्यवसायमा देखिएका चुनौतिहरुको विषयमा पाठ्यक्रम बनाइने भएको छ । आइतबार नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विद्युतीय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाइ अघि बढ्ने विषयमा छलफल भएको हो । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यताको विषयमा पनि छलफल भएको थियो । विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरियो । उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
परिसंघ, सरकार र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता, एक हजार ६६५ जनाले रोजगारी पाउने
काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको छ । माघ १४ गते भएको सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् । एप्रेन्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इन्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण शुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डष्ट्रिज प्रालि, र रन शुज् इन्डष्ट्रिज प्रालि रहेका छन् । सम्झौताअनुसार यी उद्योगहरुले कुल एक हजार ६ सय ६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरुलाई प्रशिक्षण दिएर सोपश्चात् कम्तिमा १८ महिनाको रोजगारी प्रदान गर्नेछन् । प्रशिक्षार्थी कामदारहरुको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्ने बताइएको छ । सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्द प्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, र विभिन्न उद्योगी र नेपाल सरकारका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो । यस्तै, कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका महाशाखा तथा विभागीय प्रमुखहरु, उद्योग मन्त्रालयकी पूर्वसचिव यामकुमारी खतिवडा, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता तथा परिसंघको रोजगारदाता परिषदका सभापति ध्रुव रिजाल, नेपाल उद्योग वाणिज्य महसंघ निर्यात प्रवर्द्धन समितिका सहसभापति तथा नेपाल तयारी पोशाक महासंघका अध्यक्ष पशुपतिदेव पाण्डे, विभिन्न उद्योगका प्रतिनिधिहरु समेतको उपस्थिति थियो । मन्त्री रिजालले यस कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसरहरु सिर्जना हुने अपेक्षा व्यक्त गरे । साथै, कार्यक्रममा साझेदारी गर्ने सम्बद्ध सबै पक्षलाई धन्यवाद दिँदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहनुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले भने, ‘चालु आर्थिक वर्षका लागि ९ ओटा उद्योगहरुले २१०० प्रशिक्षार्थीका लागि परिसंघमार्फत आवेदन दिएका थिए । तथापि, पाठ्यक्रम तथा अन्य चुनौतीका कारणले ६ ओटा उद्योगहरुसँग मात्र यस कार्यक्रमका त्रिपक्षीय सम्झौता हुन सक्यो । अन्य उद्योगहरु इच्छुक हुँदाहुँदै पनि यसमा सहभागि हुन नसक्दा १६६५ हाराहारी मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएकाले आगामी दिनमा यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ । यसलाई सफल बनाउनका लागि परिसंघको भूमिका सदैव सकारात्मक रहने छ ।’ यस्तै, परिसंघका उपाध्यक्ष गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरुलाई समेट्नुपर्ने बताए । ‘सीटीईभीटीबाट मान्यता प्राप्त पाठ्यक्रम भएमा यस कार्यक्रमले अझ ठूलो उपलब्धि हासिल गर्नेछ,’ उनले भने । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत घिमिरेले दक्ष जनशक्ति विकस गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको यस कार्यक्रममा यस किसिमले सरोकार पक्षहरुबीच त्रिपक्षीय सम्झौता हुनु ठूलो उपलब्धि भएकाले यसलाई थप सफल बनाउन सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । माघ १४ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले प्रस्तावित ५.०२६३२ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पाउने भएका छन् । बोनस सेयर वितरण पश्चात कम्पनीको तत्काल चुक्ता पुँजी वृद्धि हूने भएकोले सोही अनूसार कम्पनीको प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनूसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट दुई जना दावा फुटी शेर्पा र भेज प्रसाद तिमिल्सिना सञ्चालकमा निर्विरोध निवार्चित भएका छन् । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न श्री एस.ए.आर. एशोशियट्स् चार्टर्ड एकाउन्टेन्ट्सलाई कम्पनीको लेखापरीक्षकमा नियुक्ति गरेको छ । यससँगै सिटिजन लाइफ आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभा गर्ने पहिलो जीवन बीमा कम्पनी हुन सफल भएको छ । सभाले उक्त आवको वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरण पारित भएको छ ।