विकासन्युज

यस्तो छ धरहरा र काठमाडौं टावरमा बनाइएको निःशुल्क पार्किङ (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरा र काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा सवारी साधन पार्किङ गर्न मिल्ने व्यवस्था गरेको छ । न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गर्दै महानगरले विकल्पको रुपमा उक्त दुई ठाउँमा निःशुल्क रूपमा पार्किङ सेवा दिने भएको हो । यससँगै धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबार अर्थात माघ १४ गतेदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको छ । यससँगै सवारी चालकलाई सहज रूपमा उक्त क्षेत्रमा पार्किङ गर्न पाउने भएका छन् । महानगरका अनुसार उक्त तलामा १५ सयवटा बाइक तथा स्कुटर पार्किङ गर्न मिल्ने छ । हाल उक्त स्थानमा गाडि पार्किङ भने गर्न नमिल्ने बताइएको छ । यसअघि गत सातामात्रै महानगरले काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइ सकेको छ । जहाँ कार र बाइक गरेर १५ सय बढी पार्किङ गर्न मिल्ने महानगरले जानकारी गराएको छ । त्यस्तै, हाललाई निःशुल्क सेवा दिइएपनि पछि शुल्क लाग्न सक्ने बुझिन्छ ।  

बालेनले शिक्षा विभागका प्रमुख कोइरालालाई सोधे ७ दिने स्पष्टिकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई ७ दिने स्पष्टिकरण सोधेको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले निर्णय गर्नुपर्ने विद्यालयको अध्ययन अनुमति सम्बन्धी निर्णय कोइराला आफैँले गरेको पाइएपछि उनलाई स्पष्टिकरण सोधिएको हो । कोइरालाले काठमाडौंको बानेश्वरमा रहेको रत्नराज्य माविमा प्लस टुमा विज्ञान संकाय अध्यापनका लागि नगर शिक्षा समितिले निर्णय नै नभई अनुमति दिएका थिए । सो स्कुललाई प्लस टु चलाउन कोइरालाले अनुमति भएको पत्र बुझाएका बताइएको छ । उनको अनुमतिपछि विद्यालयले २२ जना विद्यार्थीसमेत विज्ञान संकायमा भर्ना गरिसकेको पाइएपछि महानगरले उनलाई स्पष्टिकरण सोधेको हो । मेयर शाहले कोइरालालाई शुक्रबारदेखि लागू हुने गरी सात दिने स्पष्टिकरण सोधेका हुन् । यद्पि महानगरले यस विषयमा थप छानविन गरिरहेको बताइएको छ ।

आईएसएमटी कलेजका ३९९ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं स्थित आईएसएमटी कलेजका ३९९ जना विद्यार्थी दीक्षित भएका छन् । बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष समरोहको आयोजना गरी दीक्षित गरिएको कलेजले जनाएको छ । आईएसएमटी कलेज बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई युनीभरसिटीले विशेष अवार्ड समेत प्रदान गरेको कलेजले जनाएको छ । १२ माघमा होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि एवम् अभिभावकहरुको सहभागिता रहेको कलेजले जनाएको छ ।

माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माणमा सनराइज बैंकले ७५ प्रतिशत लगानी गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ । बैंक र अपर सेती हाइड्रोबीच सो कम्पनीको कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीका अनुसार सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १०, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवर्द्धकको रुपमा नेपालको प्रतिठित व्यापारिक घराना के.सी. ग्रुप रहेको छ । सो परियोजना निमार्णको लागि बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक/संस्थापकहरुको लगानी रहने छ । बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउनेछ । कम्पनीका अनसार २० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै बैंकको हरित ऊर्जा प्रवद्र्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ ।

बाँदरका कारण बाँझो जग्गामा ओखरखेती

बागलुङ ।  बसाइँसराइका कारण बाक्लो बस्ती पातलिँदै गएपछि केही वर्ष अघिसम्म लहलह झुल्ने खेतबारी अहिले बाँझै छन् । बाँझो फोड्ने जनशक्ति पनि गाउँमा कहाँ छ र ? बलियाबाङ्गा विदेशिएकाले बुढाबुढी र केटाकेटी मात्र गाउँमा छन् । जसोतसो खेती लगाउँ भने पनि घरघर डुल्ने बाँदरबाट जोगाउनै मुस्किल भएपछि अधिकांश गाउँबसीको यही नै  साझा पिरलो भएको छ । गाउँमा खेती जोगाउन र बाँझो जग्गाको उपयोग गर्न खोज्नेहरुले अहिले  पनि बाँदरले नखाने खेती के हुन्छ भनेर खोजी गरिरहेका छन् । यसै क्रममा बागलुङ नगरपालिका–५ मालिकादेखि वडा नं ९ तित्याङको उच्च भेगका किसान अहिले ओखर र किबी खेतीमा तानिएका छन् । किसानको मागअनुसार बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका पाँच वडामा ओखरखेतीको सुरुआत गर्न लागेको छ । यो वर्ष नै एक हजार तीन सय ५० बिरुवा किसानलाई उपलव्ध गराइने नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले बताए । बजारमा दाँते ओखरको माग उच्च छ । स्थानीय बजारमै पठाउन सकिने भएकाले पनि किसानले ओखरको माग गरेको उनको भनाइ थियो । नगरपालिकाको वडा नं ५ देखि ९ सम्म एक हजार छ सय मिटरभन्दा माथिको भूभागमा यो खेती गर्ने नगरपालिकाले योजना बनाएको छ । ‘किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा ओखरखेती कार्यक्रम सञ्चालन गर्न थालिएको हो । अधिकतम बाँझो जग्गा उपयोग गर्ने र किसानलाई आम्दानीसँग जोड्ने हाम्रो अभियान हो’, शाखाप्रमुख सापकोटाले भने, ‘कास्मिरी थिनलेस जातको ओखर लगाउने तयारी छ । बैतडी जिल्लामा उत्पादन भएका बिरुवा बागलुङ ल्याएर लगाउने तयारी भइरहेको छ । बाँदरले कम क्षति गर्ने भएकाले किसानको उच्च माग मागलाई  हामी कार्यान्वयनमा ल्याउने सोचमा छौँ ।’ ओखरसँगै किबी खेतीलाई पनि प्रवद्र्धन गरिने उनले बताए । यो वर्ष पाँच सय किबीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलव्ध गराइने छ । फलफूल प्रवद्र्धन कार्यक्रमका लागि नगरले रु २० लाख विनियोजन गरेको छ । कूल बजेटको ७० प्रतिशत नयाँ बाली विस्तारमा खर्च गरिने छ । जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् । ‘दैनिक स्याहार गर्नुपर्ने खेतीपाती लगाउन नसकिएकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाइएको हो,’ जैमिनी–३ का किसान प्रेमबहादुर छन्त्यालले भने, ‘मेरो बारीमा भएका दुईवटा बोटमा लटरम्म ओखर फलेको छ ।  व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।’ उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन् । यहाँका किसानले गठन गरेको छन्त्याल किसान समूहमा आवद्ध भएका तीन भाइले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् । एक हजार दुई सय बिरुवा रोप्नका लागि रु १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले रु १० लाख अनुदान दिएको थियो । रासस

बालेन, हर्क र गोपी चर्चामा, गुमनाम छन् यी एक दर्जन स्वतन्त्र जनप्रतिनिधि

काठमाडौं । वि.सं २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत् करिब एक दर्जन स्वतन्त्र उम्मेदवारले पालिकाको नेतृत्व गर्ने अवसर पाए । उम्मेदवार बनेदेखि हालसम्म तीनजना स्वतन्त्र उम्मेदवार मात्रै चर्चामा छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) अहिले चर्चामा छन् । उनीहरूलाई चर्चामा ल्याउने विषय नै उनीहरूको कामले हो । काठमाडौंका मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन, अव्यस्थित पार्किङ व्यवस्थापनका साथै अतिक्रमित जग्गा तथा भवन हटाउनेदेखि काठमाडौं सहर सुन्दर बनाउन खेलेको भूमिकाले उनी चर्चामा छन् । धरानका मेयर राई धरानवासीलाई पानीको सुविधा दिने, खाली ठाउँमा बोट विरुवा रोप्नेदेखि धरान बजारलाई व्यवस्थित बनाउका लागि गरेको पहलले चर्चामा छन् । धनगढीका मेयर हमालले पनि धनगढी उपमहानगरपालिकामा अतिक्रमित घर तथा जग्गा हटाउने, सडक चौडा बनाउने तथा सुन्दर धनगढी बजार बनाउनका लागि खेलेको भूमिकाले सर्वत्र चर्चामा छन् । अहिले यी तीन जना जनप्रतिनिधिको देश/विदेशमा चर्चा छ । धेरैले अब स्वतन्त्र उम्मेदवारको लहर चल्न सक्ने अनुमान गरिरहेका छन् । उनीहरूले निडर भएर काम गरिरहेको प्रशंसा गर्दै धेरैले उनीहरूलाई छुट्टै पार्टी खोल्न पनि सुझाव दिइरहेका छन् । स्वतन्त्र उम्मेदवार बनेर जनप्रतिनिधि बनेका यी तीनजना मात्रै होइनन् अन्य धेरै पालिकामा पनि स्वतन्त्र उम्मेदवारले जित हासिल गरेर पालिकाको नेतृत्व गर्ने अवसर पाएका छन् । तर, ती जनप्रतिनिधिको काम कारवाहीबारे न कुनै चर्चा हुन्छ नत कुनै सञ्चार माध्यमको प्राथमिकतामा उनीहरू पर्छन् । वि.सं २०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा मनोज कुमार साह, बर्दिबास नगरपालिकामा प्रहलादकुमार क्षेत्री, चन्दननाथ नगरपालिकामा राजु सिंह कठायत र खाँडाचक्र नगरपालिकामा कमल बहादुर शाहीले स्वतन्त्र उम्मेदवार बनेर पालिकाको नेतृत्व गर्ने अवसर पाए । यस्तै, मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, डोल्पो बुद्ध गाउँपालिकामा कार्मा छोइवेल गुरुङ, सान्नी त्रिवेणी गाउँपालिकामा मोहन बहादुर केसी, चंखेली गाउँपालिकामा प्यारीलाल शाही र डिलासैनी गाउँपालिकामा सन्तोष प्रकाश जोशी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए । तर, यी स्वतन्त्र जनप्रतिनिधिहरूको न चर्चा छ नत उनीहरूले गरेको कामको विषयमा सञ्चार माध्यमले प्राथमिकता नै दिइरहेका छन् । हुन त स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर धेरै जनाले उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्य भएर काम गरिरहेका छन् । यी जनप्रतिनिधिहरू मध्ये धेरै पार्टीले टिकट नदिएर स्वतन्त्र बनेका हुन् कतिपय स्वतन्त्र व्यक्ति नै उम्मेदवार बनेर निर्वाचित भएका हुन् । स्वतन्त्र जनप्रतिनिधिमध्ये केहीले जितिसकेपछि पनि पार्टीमा प्रवेश गरिसकेका छन् । पार्टीमा आबद्ध नभएर स्थानीय तहमा काम गर्न सकिँदैन भन्ने बुझाइ धेरै जनप्रतिनिधिको छ । धेरै स्वतन्त्र उम्मेदवारहरू आफूहरू सञ्चार माध्यममा नआए पनि राम्रो काम गरिरहेको दाबी गर्छन् । किन गुमनाम छन् स्वतन्त्र जनप्रतिनिधि ? कोशी प्रदेशको ओखलढुङ्गामा रहेको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका हुन् । उनी विकासको एजेण्डा बनाएर काम अगाडि बढाउँदा स्वतन्त्र जनप्रतिनिधिलाई खासै असहज नहुने बताउँछन् । मानेभन्ज्याङका नागरीकले देख्ने र महसुस गर्ने गरी काम गर्नमा आफू सफल भएको उनको दाबी छ । ‘हामीले गाउँपालिकामा दीगो कृषिको विकास गर्ने योजनाका साथ अगाडि बढेका छौं, रैथाने बाली, गाँजा खेती, लोकल रक्सी प्रवर्द्धनका लागि काम गरिरहेका छौं, ‘उनले भने, खानेपानी, स्वास्थ्य, सडक लगायत विकासका पूर्वाधार विकासमा काम गरिरहेका छौं ।’ उनी आफू प्रचार प्रसारमा भन्दा पनि आफ्नो काममा फोकस भएर लागिरहेको बताउँछन् । पालिकाको स्रोत साधनले भ्याएसम्म उत्कृष्ट काम गरेको उनको भनाइ छ । ‘हामीले गरेको कामको प्रचार प्रसार नगरेकाले गुमनाम भएका हौं, मिडिया पनि सहर केन्द्रित छन्, त्यसैले ग्रामिण भूभागमा भएका क्रियाकलापको उठान नभएको हो,’ उनले भने । दलबाट निर्वाचित भएर आएको प्रतिनिधिले भन्दा स्थानीय तहमा स्वतन्त्र उम्मेदवारबाट आएको प्रतिनिधिले धेरै काम गर्न सक्ने उनको धारणा छ । ‘दलबाट निर्वाचित भएर आएको मान्छेले धेरै जसो पार्टीका इसारामा चल्नु पर्ने हुन्छ, ‘उनले भने, ‘स्वतन्त्रबाट आएको व्यक्तिले कसैको दबाब बिना स्वस्फूर्त रूपमा काम गर्न सकिन्छ ।’ यस्तै, नेकपा एकिकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेपछि कर्णाली प्रदेशको कालीकोट जिल्लामा रहेको खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाही स्वतन्त्र उम्मेदवर बनेको थिए । स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएपछि उनी पुनः उक्त पार्टीमा नै फर्किएर पालिकाको काम गरिरहेका छन् । स्वतन्त्र भएर स्थानीय तहमा काम गर्न नसकिने विषयलाई मनन् गर्दै आफू पुनः पार्टीमा प्रवेश गरेको उनी बताउँछन् । ‘स्वतन्त्र भएरै चुनाव जितियो, पहिलादेखि नै एकीकृत समाजवादीमा भएकाले अहिले त्यही पार्टीमा आबद्ध छु, स्थानीय तहमा स्वतन्त्र भएर काम गर्नको लागि गाह्रो पर्ला भन्ने विषयलाई मध्यनजर गरेर सो निर्णय गरेको हुँ,’ उनले भने । काठमाडौं, धरान, धनगढीजस्तो ठाउँमा स्रोत साधन भएर पनि त्यहाँका जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार सो ठाउँमा राजनीतिक दलका प्रतिनिधि भएको भए अझै बढी काम गर्न सकिने उनको बुझाइ छ । ‘म नगरको प्रमुख छु । तर, आफ्नै कामप्रति सन्तुष्ट छैन, यहाँ सीमित स्रोतसाधन छ, बजेट थोरै छ, तथापि अहिले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेका छौं, सहरी क्षेत्रमा रहेर सुविधा सम्पन्न ठाउँमा बसेर स्वतन्त्रले काम गर्नु सामान्य हो,’ उनी भन्छन् । यस्तै, कर्णाली प्रदेशमै रहेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसी पनि नेकपा माओवादी केन्द्रले विश्वास नगरेपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर, जितेपछि उनी पुनः पार्टीमै फर्किए । ‘म भूमिगत भएर आएको मान्छे हुँ, मेरो लगानी नै पार्टीमा भएकाले निश्चित मान्छेको चित्त नबुझ्दैमा भएको विषयलाई समग्र बलिदानलाई भुल्न नसकिने भएकाले पार्टीमा फर्किएको हुँ,’ उनले भने । जनताको इच्छा आकांक्षा धेरै भएको र स्रोत साधनले भ्याएसम्म आधारभूत आवश्यकता पुरा गर्दै काम गरिरहेको उनी बताउँछन् । उनका अनुसार विकास निर्माणका काममा पनि गाउँपालिका अग्रसर नै छ । बर्दिबास नगरपालिका मेयर प्रहालद कुमार क्षेत्री पनि नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका हुन् । तर, उनी पनि अहिले पार्टीमै फर्किसकेका छन् । जनकपुर उपमहानगरपालिका मेयर मनोज कुमार शाह पार्टीले गठबन्धन गरेपछि स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनी पनि पार्टीमै फर्के । तर, उनी अहिले कुनै पनि पार्टीलाई भन्दा पनि सबैलाई समान व्यवहार गरेर काम गरिरहेको बताउँछन् । उनका अनुसार उपमहानगरले छाडा चौपायाको लागि गौशाला निर्माण, बारा बिग्गा रंगभूमि मैदानका लागि डीपीआर गरेरअहिले त्यहाँ पार्किङ स्थलको रूपमा निर्माण गरिरहेको छ । बस स्टेशन निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढाएको बताउँदै साहले एकीकृत सहरी विकास परियोजना (आईयूडीपी) सँग सम्झौता गरेर यही साता १८ अर्बको ऋण सम्झौता गरेको बताए । यस्तै, बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशी पनि स्वतन्त्र उम्मेदवार बनेर नै पालिकामा निर्वाचित भएका थिए । तर, उनी कुनै पनि दलसँग आबद्ध नभएर विजयी भएका हुन् । उनी देशमा स्वतन्त्रको खाँचो भएको बताउँछन् । ‘जनतासँग गरिएको प्रतिबद्धता राम्रोसँग कार्यान्वयन गर्न सके पार्टी आवश्यक पर्दैन, म अहिले जनताको सेवामा छु, गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता गाउँघरमै पुर्याइरहेको छ,’ उनले भने । उनले गाउँपालिकाभित्र विद्युतको पहुँच विस्तार भइरहेको बताउँदै शिक्षा स्वास्थ्यको गुणस्तर कायम गर्नको लागि पहल भइरहेको बताए । उनी काठमाडौं, धरान, धनगढीका मेयरसँग गाउँपालिको तुलना गर्न नमिल्ने बताउँछन् । ‘ उनीहरूलाई काम गर्न सहज छ, त्यही अनुसारको स्रोत, साधन तथा जनशक्ति छ, हाम्रो गाउँपालिकामा प्रशासकीय अधिकृत नभएको मात्रै झण्डै ४ वर्ष पुग्यो, हामीले अनेक समस्या भोग्नु परेको छ,’ उनले भने ।

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम भैरहवा स्थित होटल टाईगर प्यालेसमा सम्पन्न गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो । तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका ४ जना सिओटी र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटीको लागि योग्य हुने अभिकर्ताहरुको बृद्धि विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराए । समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो । सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

बढेको बजारमा हिमालयन रिको सर्वाधिक कारोबार, तीन हाइड्रोमा लाग्यो सर्किट

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर उतारचढाव देखिएको नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४९ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । दिनभरमा ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ३३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता ६४५ रुपैयाँमा झरेको छ । बढेको बजारमा तीन हाइड्रोमा सर्किट लागेको छ । आइतबार मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुनखोला जलविद्युत र सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । यससँगै यी तीन कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता ७५६.९० रुपैयाँ, ४४१.१० रुपैयाँ र ५८६.१० रुपैयाँमा भएको छ । बजारमा टप लुजरको शीर्ष स्थानमा चन्द्रागिरि हिल्स रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९.८६ प्रतिशतले घटेर प्रतिकित्ता ९४२ रुपैयाँमा झरेको छ । आइतबार बैंकिङ, होटल्स एण्ड टुरिजम, उत्पादनमूलक र म्युचुअल फण्ड समूह ओरालो लागेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।