५ बीमा कम्पनीको बोनस दर सार्वजनिक, आइएमई लाइफको अधिकतम ८० रूपैयाँ
काठमाडौं । हालसम्म विभिन्न ५ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को लागि बोनस दर सार्वजनिक गरेका छन् । एशियन लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, अमेरिकन मेट लाइफ, रिलायबल नेपाल लाइफले गत वर्षको लागि बोनस दर सार्वजनिक गरेका हुन् । गत आर्थिक वर्षको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कनका आधारमा कम्पनीहरूले बोनस दर निर्धारण गरेका हुन् । एशियन लाइफले न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, रिलायबल नेपाल लाइफले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, सिटिजन लाइफले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँ, मेट लाइफले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ, आइएमई लाइफले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर तोकेका छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमध्ये शून्यदेखि १४ वर्ष अवधिको ६१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ६४ रुपैयाँ र २५ वर्षदेखि माथिको ७५ रुपैयाँ बोनस तोकेको छ । सावधिक जीवन बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको ६५ रुपैयाँ निर्धारण गरेको छ । बालबालिकाको सावधिक जीवन बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वर्षदेखि माथिको ६० रुपैयाँ बोनस तोकेको कम्पनीले जनाएको छ । सामूहि सावधिक, नवरत्न, जीवन संजीवन, दम्पत्ति सरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा, भविष्य निधि बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ५० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको ५० रुपैयाँ, १२ वर्ष अवधिको ५० रुपैयाँ, १५ वर्ष अवधिको ६० रुपैयाँ, १८ वर्षको ६५ रुपैयाँ, २० वर्षको ७० रुपैयाँ र २५ वर्षको ७० रुपैयाँ बोनस दर तोकेको हो । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक बीमा योजनामा ९ वर्ष अवधिको ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६७ रुपैयाँ र ३० वर्षभन्दा माथिको ७० रुपैयाँ बोनस दर प्रदान गर्नेछ । सावधिक तथा सामुहीक जीवन बीमालेखमा ९ वर्ष अवधिको ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६५ रुपैयाँ र ३० वर्षभन्दा माथिको ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६५ रुपैया, वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण)मा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४४ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६० रुपैयाँसम्म र वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा २२ रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा लेखमा १० देखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमा लेखमा ० देखि ९ वर्ष अवधिको २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २७ रुपैयाँ, २० वर्षभन्दा माथिको २८ रुपैयाँ बोनस दर तोकेको छ । सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेखमा ० देखि ९ वर्ष अवधिको ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६५ रुपैयाँ र ३० वर्षभन्दा माथिको ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षमाथिको ७३ रुपैयाँ, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख)मा १० देखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको कम्पनीको भनाइ छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना)मा ० देखि ९ वर्ष अवधिको ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६२ रुपैयाँ र ३० वर्षमाथिको ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । अमेरिकन मेट लाइफ इन्स्योरेन्स कम्पनीले शिक्षा संरक्षण बीमालेखमा १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वर्षभन्दा माथिको ८० रुपैयाँ, सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको अवधिको ८० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिको ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको ६५ रुपैयाँ बोनस दर कायम गरेको कम्पनीको भनाइ छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रिलायबल सावधिक जीवन बीमालेखमा ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ र २० वर्षभन्दा माथिको ७० रुपैयाँ, लघु सावधिक जीवन बीमालेख योजनाको सबै बीमा अवधिमा ३० रुपैयाँ, रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनाको सबै बीमा अवधिमा २५ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ । रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा ५ देखि ९ वर्ष अवधिको २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३२ रुपैयाँ र २० वर्षभन्दा माथिको ४० रुपैयाँ बोनस दिने कम्पनीले बताएको छ । रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख)मा ५ देखि १४ वर्ष अवधिको ६० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिको ६५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षभन्दा माथिको ५० रुपैयाँ बोनस दिने भएको हो । रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमा अवधिमा प्रतिहजार २० रुपैयाँ, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा १०, १२ र १४ वर्ष अवधिको ५० रुपैयाँ र १६, १८ र २० वर्ष अवधिको ५५ रुपैयाँ बोनस दर निर्धारण गरेको कम्पनीले जनाएको छ ।
जाल्पा सामुदायिक लघुवित्तले लाभांश नदिने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई सामुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ । यसैमध्येको एक चितवनको मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत रहेको जनकौली मध्यवर्ती सामुदायिक वन पनि पर्यटकीय गतिविधिका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ । सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन् । रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ । जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुङ्गा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिङ्गर चाराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिने बताए । ‘यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ’, उनले भने, ‘डुङ्गामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन् ।’ उनले यहाँ घुम्न आउने पर्यटकका लागि डुङ्गा शयरसँगै जङ्गल बाक, बर्ड वाचिङ, सर्ट जङ्गल ड्राइभ, इलिफेन्ट उइथ वाकलगायतका प्याकेज दिने गरेको बताए । यहाँ पर्यटकलाई रातको समयमा बास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिए । ‘कोभिडपछि यस वर्ष पर्यटकको आवागमन राम्रो छ’, उनले भने, ‘आन्तरिकसँगै बाह्य पर्यटकको पनि भीड छ ।’ ढुङ्ग्रे खोला कुमरोज र जनकोली सामुदायिक वनको सिमाना भएर बग्ने गर्छ । डुङ्गा घाटबाट हात्तीसारसम्म डुङ्गा चलाउने गरिएको छ । डुङ्गा सफारी गर्ने पर्यटकलाई केही समय जङ्गल वाक गराएर राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रको म्युजियम र निकुञ्जको हात्तीसारमा घुमाउने गरिएको छ । डुङ्गा शयर गर्दा आन्तरिक पर्यटकका लागि रु चार सय ५० र बाह्य पर्यटकका लागि रु पाँच सय ५० शुल्क लिने गरिएको छ । अध्यक्ष महतोले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षणको कोषका हरेक संरक्षणमा सामुदायिक वनले सहभागिता जनाउने गरेको बताए । चोरी सिकारी नियन्त्रणमा र मध्यवर्तीका स्थानीयलाई विभिन्न सीपमूलक तालिममार्फत जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे सौराहाको पर्यटन विकासका लागि ढुङ्ग्रे खोलाको डुङ्गा शयरले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत पाँच सामुदायिक वन रहेको भन्दै उहाँले सबै वनको आ–आफ्नो विशेषता रहेको जानकारी दिए । उनले सौराहा आउने पर्यटकका लागि डुङ्गा शयर राप्तीपछिको गन्तव्य ढुङ्ग्रे खोला भएको बताए । डुङ्गा शयरबाट मात्रै यस सामुदाकि वनले वार्षिक रु १५–१६ लाखको कारोबार गर्ने गरेको उल्लेख गरे । यहाँ हुने आम्दानीको ३० प्रतिशत कुमरोज र ७० प्रतिशत जनकौली सामुदायिक वनले लिने गरेका छन् । ‘यहाँका सामुदायिक वनको आयस्रोत पर्यापर्यटन नै हो, वन्यजन्तु र वनस्पति देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ’, उनले भने । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा कोभिडपछि यस वर्ष पर्यटक सबैभन्दा धेरै आएको बताए । उनले जलचर प्राणी र चराचुरुङ्गीका लागि ढुङ्ग्रे खोला क्षेत्र उत्कृष्ट बासस्थान भएको बताए । उनले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि यहाँ विभिन्न माध्यममार्फत पर्यटन प्रवर्द्धनमा सहयोग गरिरहेको जानकारी दिए । रासस
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उहाँले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।’ उनले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको उल्लेख गरे । देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै उनले भने, ‘यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ ।’ विश्वविद्यालयले देशैभरि सबै प्रदेशमा आङ्गिक कलेज स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशमा आठवटा कृषि सङ्काय र एक वनविज्ञान सङ्कायअन्तर्गतका कलेज र दुईवटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गर्दै उनले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न सुझाव दिए । उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्छ प्रधानमन्त्री दाहालले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवं गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवर्द्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने बताए । आर्थिक विकासमा कृषि, पशु र वन क्षेत्रको योगदान वृद्धि गर्न वातावरण अनुकूलित आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले ग्रामीण समुदायको आर्थिकस्तर उठाउन शिक्षण, अनुसन्धान र प्रसारका क्रियाकलापमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला सङ्घसंस्था मिलेर अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिए । विश्वव्यापीरूपमा बढ्दै गइरहेको जलवायु परिवर्तन, खाद्य असुरक्षा, बेरोजगारीजस्ता प्रतिकूल अवस्थासँग जुध्न र किसानको आम्दानी वृद्धि गर्ने र रोजगारको सुनिश्चितता गर्ने कार्यमा लाग्न प्रधानमन्त्री दाहालले निर्देशन दिए । विश्वविद्यालयले अनुसरण गरिराखेका शिक्षण अनुसन्धान क्रियाकलाप, शिक्षण र अनुसन्धान क्रियाकलापमा गरिरहेका अन्तर्राष्ट्रियकरणका कार्य, भौतिक पूर्वाधार र कलेज विकासजस्ता कार्यलाई दिगोरूपमा सञ्चालन गर्न रचनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्रलगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो मशसुस गरी विसं २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गरिएको थियो । रासस
बालबालिकालाई भाइरल ज्वरोले सताएपछि विद्यालय बन्द
बाजुरा । जिल्लाको पूर्वी-उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए । एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो । अत्याधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले रुघाखोकी सरुवा रोग भएका कारण हावा र हाँछ्युका माध्मबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गरे । सङ्क्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खानेकुरा खाने, तातोपानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाँछ्यु गर्दा नाख, मुख छोप्ने र हिँडडुल गर्दा वा अन्य व्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने उनले सुझाब दिए । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरेको जानकारी दिए। भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने उनले बताए । रासस
अब गोठमा बस्नु पर्दैन पर्यटक, टोलटोलमा होटल तथा घरबास सञ्चालनमा
ढोरपाटन । एक दशक अगाडिसम्म नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशु चौपायाको हुल । जसोतसो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनै पूर्णिमाका अवसरमा मात्रै तीर्थ यात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्ट मात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाई भैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छैन । अहिले कच्ची भए पनि सडक पुगेको छ । सामान्य भए पनि होटल तथा होमस्टे (घरबास) ठाउँ–ठाउँमा छन् । सडक र होटल सञ्चालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन् । यहाँ दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आएका छन् । होटल सञ्चालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नुपरेको छैन । काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन् । स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन् । ढोरपाटनमा आएको परिवर्तनले स्थानीय बूढापाका द्ग छन् । पहिले सामान्य झुपडी रहेको बस्तीमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल सञ्चालनमा आएका छन् । चिसो ठाउँ भएको हुँदा न्यायो हुनेगरी यहाँका भवन निर्माण भएका छन् । ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा होटल निर्माण भएको पाइन्छ । कच्ची भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको सङ्ख्या बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुनमगरले बताए । पहिले ढोरपाटन आउँदा बास बस्न र खानाको ठूलो समस्या हुने हुँदा कम मात्रामा पर्यटक आउने गरेको उनको भनाइ छ । अहिले टोलटोल र बस्तीबस्तीमा होटल तथा घरबास सञ्चालनमा आएको हुँदा एक रातमा करिब छ सयको हाराहारीमा पाहुना राख्ने क्षमता रहेको अध्यक्ष पुनमगरले बताए । हाल ढोरपाटन उपत्यकामा करिब ३४ वटा होटल र घरबास रहेको उनको भनाइ छ । सञ्चालनमा आएका होटल सहरबजारका जस्ता व्यवस्थित नभए पनि खाना बस्नका लागि भने उपयुक्त रहेको पुनमगरले बताए । पछिल्लो समय धेरैले होटललाई व्यवस्थित बनाउँदै गएको उनी बताउँछन् । ‘चार वर्ष अगाडिसम्म ढोरपाटन आउने पर्यटकलाई कहाँ बस्ने, कहाँ खाने भन्ने समस्या थियो, सामान्य गोठमा स्याउला बिछ्याएर चिसोमा रात बिताउनुपर्ने अवस्था थियो, खाना खाने व्यवस्था थिएन, तर अहिले त्यो समस्या पूर्णरूपमा समाधान भएको छ, दुई–तीन वर्षको अवधिमा यति धेरै होटल र होमस्टे सञ्चालनमा आए’, उनले भने, ‘सहरको जस्तो सुविधासम्पन्न त नहोलान् तर भोक टार्न र रात बिताउनका लागि होटल भने प्रशस्तै छन् ।’ ढोरपाटन नगरपालिका–९ पाखाथरका स्थानीय गङ्गा भण्डारीले यो क्षेत्र निकै परिचत भए पनि विकासका हिसाबले पछाडि रहेको बताए । स्थानीयको पहलमा ढोरपाटन क्षेत्रमा केही परिवर्तन भए पनि राज्यको नजर भने पुग्न नसकेको गुनासो पोखे । हिउँदमा बेँसी (बोबाङगाउँ) र बर्खामा लेक (ढोरपाटन) मा बस्ने स्थानीय अहिले उपत्यका क्षेत्रमै स्थायीरूपमा बसेर होटल व्यवसाय गर्न थालेको उनको भनाइ छ । गाउँलेले आगन्तुकका लागि बस्न र खानका लागि राम्रो व्यवस्थापन गर्दै गएको तर सडकका कारण सोचेअनुसार पर्यटक ल्याउन नसकेको भण्डारीले बताउँछन् । उनले भने, ‘यो ठाउँका अधिकांश मान्छे बुकी जाने, वस्तुभाउ चराउने र खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए, व्यापार व्यवसाय गर्ने वातावरण थिएन, अहिलेका जस्ता घर पनि थिएनन्, विस्तारै बाटो आयो, मोटरगाडी आउन थालेपछि घर पनि राम्रा बन्न थाले, होटल भन्ने थाहा हुँदैनथ्यो, सहरबजार जाँदामात्रै सुनिन्थ्यो, अहिले त यहाँ पनि धेरै होटल खुलेका छन्, यस क्षेत्रका जनतालाई सबैभन्दा बढी समस्या बुर्तिबाङबाट यहाँसम्म आउने बाटोको छ, धेरै वर्ष भयो बाटो खुलेको तर अहिलेसम्म राम्रो बन्न सकेको छैन ।’ ढोरपाटन पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष बेगबहादुर विश्वकर्माले एक दशक अगाडि यहाँ आउने पर्यटकको सङ्ख्या निकै न्यून रहेको भन्दै पछिल्लो समय बढ्दै गएको बताए । पहिले ढोरपाटन आएका पर्यटकले गोठमा बसेर आलुको ढिँडो, आलुकै खोले खानुको विकल्प नभएको भन्दै अहिले पाहुनाले चाहेअनुसारको ठाउँमा बस्न र स्थानीय उत्पादनका परिकार खान पाउने उनको भनाइ छ । ढोरपाटन आउने अधिकांश पर्यटक उपत्यका क्षेत्रमा मात्रै डुलेर जाने गरेको विश्वकर्माले बताए । उपत्यकाभन्दा बुकी क्षेत्र, जलजला, छुन्तुङलगायत माथिल्लो क्षेत्र निकै रमणीय रहेको उनको भनाइ छ । होटल तथा घरबास सञ्चालनमा आएपछि पर्यटक आगमनमा निकै वृद्धि भएको अध्यक्ष विश्वकर्माले बताए। अहिले चिसोका कारण पर्यटक आउन छाडेको भन्दै सिजनमा दैनिक करिब तीन सयदेखि पाँच सयसम्म आउने गरेको उनको भनाइ छ । बुर्तिबाङ बजारबाट करिब ३२ किलोमिटर उत्तर पश्चिममा रहेको ढोरपाटन उपत्यका कच्ची सडकका कारण गाडीमा करिब दुई घण्टा लाग्छ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडक विसं २०६६ देखि निर्माण सुरु भएको थियो । बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिका लागि अघिल्लो वर्ष कात्तिकमा ठेक्का प्रक्रियामा गए पनि अपेक्षितरूपमा काम हुनसकेको छैन । रासस
नेपाल वेयर हाउजिङको नाफा ९ करोड २१ लाख रुपैयाँ ऋणात्मक
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ऋणात्मक रहेको छ । कम्पनीले पुस मसान्तसम्म ९ करोड २१ लाख रुपैयाँ नोक्सानी बेहोरेको हो । गत वर्ष कम्पनीले २ करोड ९९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । ६ महिनामा कम्पनीले ६६ लाख १० हजार रुपैयाँ रेभिन्यू संकलन गरेको छ । साथै, कम्पनीको कुल आम्दानी ६६ लाख १७ हजार रुपैयाँ रहेको छ भने कुल खर्च ९ करोड ८७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३. ४० रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९७.२३ रुपैयाँ छ । बजारमा देखिएको तरलताको अभाव, ब्याजदरमा भएको वृद्धीले नेपालको अर्थतन्त्र चुनौति पूर्ण अवस्थामा पुगेकोले कम्पनीले तय गरेको रणनितिक कार्यदिशा अनुरुपका लक्ष्यहरु हासिल गर्न कार्यशिल रहेको भएतापनी अपेक्षीत उपलब्धी हासिल गर्न चुनौति पूर्ण रहेको कम्पनीको भनाइ छ । साथै, मुलुकको राजनितिक अस्थिरता तथा समग्र आर्थिक क्षेत्रमा परेको असरले औधोगिक उत्पादन कमी आउदा भण्डारणमा पनि प्रत्यक्ष प्रभाव परेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार प्रथम वर्षमा समेत १५ हजार मेट भण्डारण क्षमता भएको सुनसरी शाखामा ३० प्रतिशत भण्डारण गरिएको छ । साथै २५ हजार मेट दोस्रो इकाई पर्साको निर्माण समेत सम्पन्न भएकोले तेस्रो त्रैमासिकबाट आम्दानी सुरुवात हुने छ । त्यसैगरी १५ हजार मेट तेस्रो इकाई कपिलवस्तुको निर्माण समेत चालु आर्थिक वर्षमा सम्पन्न भई आम्दानी सुरुवात हुने कम्पनीको दाबी छ । नयाँ प्रकृतिको व्यवसायिक कारोबार भएकाले ग्राहकलाई व्यवसायका बारेमा सम्पूर्ण रुपमा बुझाउन केही थप समय लाग्ने देखिएको कम्पनीको भनाइ छ ।
सानिमा रिलायन्स लाईफले गर्यो विद्यालयमा बीमा सचेतता कार्यक्रम
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि केसि प्रधानाध्यापक टंक प्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ ।