युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सनिबार कोहलपुरमा सम्पन्न भएको हो । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको थियो । सो कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । सभाध्यक्ष कार्यकारी निर्देशक डा.गोपाल दहित थिए । उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुख कर्मचारीहरु सहभागी थिए ।
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । उपकरणहरुको जडान धमाधम भइरहेको छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ । आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्यभोटेकोशी जलविद्युत आयोजनाका संरचनाहरुको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नु पर्ने दबाबमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । साथै, टोलीले मध्यभोटेकोशी जलविद्युत आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरुको जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिए । ‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी (काठमाडौं) प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ, अन्य कुनै समस्या नआएमा निर्माण आगामी २÷३ महिनाभित्र सम्पन्न हुने अवस्था बनेको छ, त्यसैले सबैले आ–आफ्नोतर्फबाट अन्तिम पहल र कोसिस गरौं’, घिसिङले भने । बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ । कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनु पर्ने छ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् । ८ वटा टावरमध्ये ५ वटाको जग हालिसकिएको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेका छन् । तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये ८ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये ७ वटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्ने छ । १ वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको ३० किलोमिटर तार तानिएको छ । यो खण्ड निर्माणको जिम्मा पाएको ठेकेदारले समस्या समाधान भएमा तीन महिनाभित्रमा काम सक्ने बताएको छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण बाँकी छ ।
गुरुङ्ग, राणा, मुरारका कुमारी बैंकका व्यावसायिक साझेदार
काठमाडौं । कुमारी बैंकमा २२ व्यक्ति तथा कम्पनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । साविक कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक मर्जरपश्चात् बैंकका सेयरधनीहरूको संख्या २२ जना पुगेका हुन् । साविक कुमारी बैंकबाट १५ सेयरधनी र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबाट ७ जना गरी २२ जना सेयरधनीहरूको सबैभन्दा ठूलो सेयर रहेको हो । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी संचय कोषको २.९६ प्रतिशत अर्थात् ७७ लाख ५३ हजार २३९ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, अमिर प्रताप जबराको २.०२ प्रतिशत अर्थात् ५२ लाख ९० हजार ५८१ कित्ता, नागरिक लगानी कोषको १.७१ प्रतिशत अर्थात् ४४ लाख ८९ हजार १७२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको १.३९ प्रतिशत अर्थात् ३६ लाख ५२ हजार ९३१ कित्ता, जानकी कुमारी जबरा राणा शाहीको १.३० प्रतिशत अर्थात् ३४ लाख ६ हजार ९२६ कित्ता, साबित्री गुरुङ्गको १.२४ प्रतिशत अर्थात् ३२ लाख ३९ हजार ६८५ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १.०८ प्रतिशत अर्थात् २८ लाख ३७ हजार ६२१ कित्ता, सांग्रिला इन्भेष्टमेन्ट प्रालिको ०.९५ प्रतिशत अर्थात् २४ लाख ९३ हजार ८६६ कित्ता, बिमला देवी अग्रवालको ०.९५ प्रतिशत अर्थात् २४ लाख ८५ हजार ३३४ कित्ता, विरेन्द्र कुमार साहको ०.९१ प्रतिशत अर्थात् २३ लाख ८७ हजार २५८ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, एनबी ग्रुप नेपालको ०.७४ प्रतिशत अर्थात् १९ लाख ५० हजार ९४४ कित्ता, पशुपति मुरारकाको ०.६७ प्रतिशत अर्थात् १७ लाख ५७ हजार ३१८ कित्ता, गौरी श्रेष्ठको ०.६२ प्रतिशत अर्थात् १६ लाख ३२ हजार ९९० कित्ता, जगन्नाथ ज्ञवालीको ०.६० प्रतिशत अर्थात् १५ लाख ७९ हजार ३९९ कित्ता, मिन बहादुर गुरुङ्गको ०.६० प्रतिशत अर्थात् १५ लाख ७१ हजार ३६२ कित्ता सेयर स्वामित्व छ । यस्तै, ओम प्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात् १५ लाख ६८ हजार ७३ कित्ता, नारायण प्रसाद श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् १५ लाख ४४ हजार ३६० कित्ता, प्रदिप कुमार मुरारकाको ०.५७ प्रतिशत अर्थात् १४ लाख ९५ हजार ३२६ कित्ता, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १४ लाख ४२ हजार ८११ कित्ता, अनुपमा राठीको ०.५५ प्रतिशत अर्थात् १४ लाख ३२ हजार ३३५ कित्ता, राजन प्रसाद अमात्यको ०.५३ प्रतिशत अर्थात् १३ लाख ९४ हजार ८० कित्ता र नबिन अग्रवालको ०.५२ प्रतिशत अर्थात् १३ लाख ७१ हजार ७०६ कित्ता सेयर स्वामित्व रहेको छ ।
सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
टाटा मोटर्सको नाफा १३८ प्रतिशतले बढ्यो
एजेन्सी । टाटा ग्रुपको कम्पनी टाटा मोटर्सको नाफा १३८ प्रतिशतले वृद्धि भएको छ । टाटा मोटर्सले शुक्रबार सार्वजनिक गरेको ०२३/२४ को तेस्रो त्रैमासिक अवधिको तथ्यांकले कम्पनीको वार्षिक नाफामा १३८ प्रतिशतले वृद्धि भएर ७ हजार २५ करोड भारु पुगेको जनाएको छ । टाटा मोटर्सले अघिल्लो वर्षको सोही अवधिमा २ हजार ९ सय ५८ करोड नाफा आर्जन गरेको थियो । कम्पनीले राज्यलाई १ लाख १० हजार ५७७ करोड राजस्व बुझाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८८ हजार ४८९ रुपैयाँ राजस्व बुझाएको थियो ।
नेपालमा क्यान्सरको अवस्था र चुनौती
नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ । नसर्ने रोगमध्येको एक महत्त्वपूर्ण रोग क्यान्सर पनि हो । नेपाललगायत अन्य विकासोन्मुख देशमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप धेरै छ । नसर्ने रोग भन्नाले क्यान्सर, मुटुरोग, मिर्गौलाको रोग, डायबिटिज, श्वासप्रश्वासको रोग, अल्जाइमर आदि पर्दछन् । मानव जीवनमा हुने नसर्ने रोगहरूमध्ये क्यान्सर रोग जुनसुकै उमेर, लिङ्ग, जाति, वर्गलाई पनि हुनसक्छ । क्यान्सर कदापि सरुवा रोग होइन । यो एउटा निको हुने रोग हो । प्रायः क्यान्सर सुरु–सुरुको अवस्थामा पहिचान गर्न सक्यो भने नेपालमा नै निको पार्न सकिन्छ । नेपालमा पहिले सरुवा रोग र कुपोषणको समस्या बढी थियो भने वर्तमानमा क्यान्सरलगायत नसर्ने रोगहरू बढ्दै गएका छन् । क्यान्सर सरुवा रोग नभए पनि यसको प्रकोप बढ्दो छ । क्यान्सर भनेको हाम्रो जीवनशैली खानपिनमा भरपर्ने रोग हो । सबै क्यान्सर वंशानुगत हुँदैनन् । कुनै–कुनै मात्र वंशानुगत हुन्छन् । जस्तै महिलामा लाग्ने स्तन क्यान्सर, डिम्वाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर ५–१० प्रतिशत वंशानुगत हुन्छन् । प्रायः सबैलाई थाहा छ, सुर्तीजन्य पदार्थको सेवनले हामीलाई क्यान्सर गर्दछ । तर धेरैलाई थाहा छैन कि, मानव शरीरमा लाग्ने हरेक अङ्गको क्यान्सरको पहिलो कारकतत्व भनेको सुर्तीजन्य पदार्थ नै हो । सुर्तीजन्य पदार्थ भन्नाले चुरोट, बिँडी, हुक्का, पाइप, चिलिम, गुटखा, खैनी, पानपराग आदि पर्दछन् । नेपालमा बर्सेनि ३० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् । करिब २० हजारको क्यान्सरकै कारण ज्यान जान्छ । धूमपानबाट हुने विशेषगरी फोक्सो, नाक, कान, घाँटी, मुख तथा पिसाब थैलीको क्यान्सर मुख्य छन् । यसका साथै सङ्क्रमणले हुने क्यान्सर जस्तै– पेट, पित्तथैली, कलेजो र पाठेघरको मुखको क्यान्सर हुन्छ । अस्वस्थकर खानपिन, निष्क्रिय जीवनशैली, मोटोपन र शारीरिक व्यायामको कमीलगायत कारणले प्रोस्टेट, आन्द्रा, स्तन, प्याङ्क्रियाजलगायतका अङ्गमा पनि क्यान्सर फैलिँदै गएको छ । नेपालमा हाल करिब ७५ लाख व्यक्ति प्रत्यक्षरूपमा पान, बिँडी, खैनी, सुर्ती, पराग, हुक्का सेवन गर्दछन् । यही अवस्था रहेमा त्यसको असरबाट प्रभावित भई क्यान्सरका रोगीहरूको सङ्ख्या पनि बढ्ने देखिन्छ । नेपालमा क्यान्सर रोगीहरूको तथा यसबाट मुत्यु हुनेहरूको तथ्याङ्कहरू प्राप्त छैन, तर पनि प्रतिलाख जनसङ्ख्यामा प्रतिवर्ष एक सयजना क्यान्सर रोगी थप्ने अनुमान गरिएको पाइन्छ । सो अनुमानअनुसार हाल नेपालको जनसङ्ख्याको अनुपातमा वार्र्षिक २५–३० हजार क्यान्सर रोगीहरू थपिने हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कले क्यान्सर रोगीहरूको सङ्ख्यामा दिनहुँ वृद्धि भइरहेको औँल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज बर्सेनि ३६ हजार व्यक्ति क्यान्सर रोगबाट पीडित हुँदै आएका छन् । साथै नेपालकोे प्रमुख अस्पतालहरूको तथ्याङ्कानुसार महिलाहरूमा लाग्ने क्यान्सर रोगमध्ये पाठेघरको मुखको क्यान्सर प्रथम स्थानमा र स्तन क्यान्सर दोस्रो स्थानमा रहेको छ । विश्वलगायत नेपालमा यी दुई क्यान्सरका कारण बर्सेनि हजारौँ महिलाको मृत्युदर बढिरहेको अहिलेको अवस्था छ । क्यान्सर एउटा यस्तो रोग हो जो शरीरको कुनै पनि भागमा एक नयाँ, अनियन्त्रित तथा लगातार बढिराख्ने असामान्य कोषहरूको समूहलाई प्रतिनिधित्व गर्दछ र यो शरीरका लागि खतरनाक हुन्छ । क्यान्सर कोषहरू शरीरको सामान्य कोषभन्दा भिन्दै खालको हुन्छ । कोषहरूको आकार नाप र भित्री बनावट फरक–फरक हुन्छ । क्यान्सर आफू नजिकका तन्तुहरूलाई असर पार्नुका साथै शरीरका अरु भागमा पनि फैलिन सक्छ । क्यान्सर सरुवा रोग होइन । क्यान्सर जसलाई पनि हुनसक्ने रोग हो । क्यान्सर रोगका केही प्रमुख तत्वहरूको सेवनप्रति नेपालीहरूले प्रायः लापरवाही गरिरहेको पाइन्छ । विशेषगरी सुर्र्तीजन्य सामग्री (चुरोट, बिँडी, खैनी, गुट्खा र कक्कर), रक्सी (मद्यपान), तारेको, भुटेको र पोलेको खाद्य वस्तुलगायत अजिनोमोटो प्रयोग गरिएको क्यान फुडलगायतका खाद्य सामग्री सेवनको चलन अधिक रहेको पाइन्छ । यसलाई आधुनिक जीवनशैली भनिए पनि यसले क्यान्सरको साथै अन्य रोगहरू हुने सम्भावना बढ्न सक्छ । यसका अतिरिक्त मोटोपनाले पनि रोगको सम्भावना बढाउँछ । नेपालमा विशेषतः फोक्सोको क्यान्सर र कोलोनको क्यान्सर बढी मात्रामा देखिँदै आएको छ । विश्वकै तथ्याङ्कलाई हेर्ने हो भने लोग्नेमान्छे र स्वास्नीमान्छे दुवैमा सबैभन्दा बढी पाइने पाँच प्रमुख क्यान्सर फोक्सो, स्तन, ठूलोआन्द्रा तथा मलाशय, प्रोस्टेट र आमाशयको क्यान्सर पर्दछ । क्यान्सरबाट हुने मृत्युको सङ्ख्या केलाउँदा फोक्सो, कलेजो, आमाशय, ठूलोआन्द्रा तथा मलाशय र स्तनको क्यान्सर प्रमुख मानिन्छ । दक्षिण एसिया क्षेत्रमा सबैभन्दा बढी मुखको क्यान्सर पाइन्छ, यसको प्रमुख कारण यस क्षेत्रमा ठूलो मात्रामा पान, चुन, सुर्ती आदिको सेवनले गर्दा हो । नेपालमा क्यान्सरका बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइन्छ । हालको तथ्याङ्कानुसार नेपालमा प्रमुख १० क्यान्सरमा फोक्सोको क्यान्सर १२ दशमलव दुई प्रतिशत, पाठेघरको मुखकोको क्यान्सर १० दशमलव नौ, स्तन क्यान्सर नौ दशमलव छ, आमाशयको क्यान्सर सात दशमलव छ, पित्तथैलीको क्यान्सर चार दशमलव नौ, मुख तथा ओठको क्यान्सर चार दशमलव एक, थाइरायडको क्यान्सर तीन दशमलव चार, ठूलो आन्द्राको क्यान्सर तीन, रगतको क्यान्सर दुई दशमलव नौ र डिम्बाशयको क्यान्सर दुई दशमलव नौ प्रतिशत रहेको छ । क्यान्सरका केही यथार्थ र भ्रम क्यान्सरसँग जोडिएका केही यथार्थ तथा भ्रमका कुराहरू पनि समाजमा रहेको पाइन्छ । केही वर्ष पहिले आम सोचाइ के थियो भने क्यान्सर भनेको विकसित देशमा नै हुने समस्या हो, तर खासमा भन्ने हो भने क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या विकसित देशहरूमा भन्दा विकासोन्मुख देशहरूमा बढी भएको तथ्याङ्कले देखाएको पाइन्छ । यथार्थपरक रूपमा भन्नुपर्दा क्यान्सर सरुवा रोग होइन, तर क्यान्सरका कारकतत्वजस्ता सुक्ष्म जीवाणु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । क्यान्सर जुनसुकै उमेरमा हुन रोग हो । नपालमा प्रायः ४० वर्षपछि क्यान्सर देखिन्छ । बच्चामा पनि क्यान्सर हुन्छ । क्यान्सर शरीरका जुनसुकै भागमा हुनसक्छ । सुरुका अवस्थामा निदान गरी सही उपचार गर्न सके निको हुन्छ । यो रोगको उपचार हुन्छ । क्यान्सर रोगबाट बच्ने विभिन्न उपाय छन् । क्यान्सरलाई जित्न सकिन्छ । क्यान्सरको उपचारपछि पनि जीवन हुन्छ । यस्तै यस रोगका बारेमा मानिसले विभिन्न भ्रम पालेको देखिन्छ । धेरैले यसलाई क्यान्सर सरुवा रोग हो भन्ने गर्दछन् । परिवारमा कसैलाई क्यान्सर भयो भने सबैलाई हुन्छ भन्ने भ्रम मानिसमा रहेको छ । क्यान्सर निको हुने रोग होइन, यो रोग लागेपछि बाँच्ने सम्भावना हुँदैन भन्ने विश्वास धेरैले लिएका हुन्छन् । क्यान्सर पूर्वजन्मको पाप हो भन्ने पनि गरिन्छ । शरीरमा सानो गाँठो अथवा घाउ क्यान्सर हुन सक्दैन भनेर धेरैले समयमै उपचार नगराउँदा यो रोगको सङ्क्रमण भएको छ । क्यान्सरको उपचार गर्नु बेकार हो, क्यान्सर रोगबाट बच्ने कुनै उपाय हुँदैन भन्ने सोच राख्दा धेरैले उपचार नपाएर अकालमै मृत्युको मुखमा गएको उदाहरणहरू छन् । यो कुनै धनीलाई नहुने वा गरिबलाई हुने रोग होइन । क्यान्सर एक मान्छेबाट अर्को मान्छेमा सर्दैन । हाल आएर नेपालमा बढ्दो अव्यवस्थित सहरीकरणले गर्दा वातावरणीय तथा व्यावसायिक प्रदूषण बढिरहेको देखिन्छ । यो प्रदूषणले गर्दा केही खास क्यान्सर हुनसक्छ । एकदमै चिसो वा गर्मी ठाउँमा बस्ने मान्छेहरूको खानपान, रहनहन फरक भएको हुनाले क्यान्सर पनि फरक हुन्छ । कहिलेकाहीँ वंशाणुत गुणमा पनि निर्भर गर्दछ । उदाहरणका लागि आफ्नै आमा, दिदी/बहिनीलाई स्तन क्यान्सर भयो भने त्यो महिलामा क्यान्सर हुने सम्भावना बढेर जान्छ । क्यान्सर पुनःस्थापनाको पहल क्यान्सर भनेको मृत्यु होइन । यो एउटा निको हुने रोग हो । क्यान्सरको प्रायः वातावरणीय प्रभाव र जीवनशैलीले गर्दा हुन्छ, जसमध्ये कतिपय खास कारण थाहा नभए पनि लगभग ८० प्रतिशत क्यान्सरका कारण हाम्रो प्रयासबाट हटाउन सकिन्छ । धूमपानले मात्र एकतिहाई क्यान्सर हुन्छ तथापि हामीले धूमपानमात्रै बन्द गर्न सक्याँै भने कतिपय क्यान्सरको रोकथाम सजिलैसित गर्न सकिन्छ । सायद चिकित्सा विज्ञानको विकासले नै होला, क्यान्सरका बिरामी निको हुने दर बढ्दै गएको छ । विकसित देशहरूमा त आधाभन्दा बढी मान्छे क्यान्सरबाट निको हुन्छन् र नयाँ सामान्य जीवनयापन गर्दछन् । क्यान्सरपछिको जिन्दगी सहज र सफल हुनु पर्दछ । अरुका लागि प्रेरणादायी हुनु पर्दछ । नेपालमा पनि क्यान्सर विजेताहरूको सङ्ख्या बढ्दै गएको छ । हाल आएर हाम्रो देशमा पनि क्यान्सर विजेताले सामाजिक अभियन्ता भएर कार्य गर्दैछन् । अरुको लागि प्रेरणाको स्रोत बनेको छ । केही सामाजिक संस्थाहरू गठन भएका छन् । पहिला–पहिला क्यान्सर भयो भने अरुलाई भन्दैनन् थिए र निको भएको कुरा पनि लुकाइन्थ्यो । आज क्यान्सर निको भयो, सरुवा रोग होइन, उपचार गरे बाँचिन्छ भन्ने सन्देशले अनेकौँलाई राहत दिनुका साथै प्रेरणा प्रदान गर्दछ । मान्छेहरूको मनोवल बढेर जान्छ । आफ्नो बाँकी जीवनयापन राम्रोसित गर्न सकिन्छ । आफूले भोगेका समस्या अरुले न भोगोस् र अरुलाई समाजमा सक्रिय रहन प्रोत्साहित गर्नुपर्छ । नेपालमा पनि क्यान्सर पुनःस्थापना केन्द्रहरू खोल्न जरुरी छ । हुन त क्यान्सरजस्तो जटिल रोग लागेपछि यसको उपचार प्रक्रियाले विभिन्न समाजिक, आर्थिक, घर–व्यवहारका समस्याहरू आउँछन् । ती समस्या समाधान गर्ने उपाय पनि सिकाउँछ । यो रोगसँग लड्न व्यक्ति, परिवार, समाज तथा राज्यको दायित्व महत्त्वपूर्ण हुन्छ । यो रोग निको भइसकेपछि पनि त्यो मान्छेको समाजमा पुनःस्थापित हुन जरुरी हुन्छ । उदाहरणका लागि, कुनै ठाउँमा कार्य गरिरहेको कर्मचारी रोगले गर्दा कार्य गर्न सकेन भने उसमाथि आश्रित बच्चा तथा परिवारको पालनपोषणको व्यवस्था गरिनु पर्दछ । ऊ निको भइसकेपछि गर्न सक्ने काममा लाउनुपर्छ । अहिले नेपाल सरकारले क्यान्सरलगायत केही दीर्घरोगीहरूका लागि मासिकरूपमा जीवन निर्वाह भत्ता दिनु यसैको उदाहरण हो । रासस (लेखक नेपाल क्यान्सर एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष हुन्)
महत्त्वपूर्ण विधेयक पारित गर्नुअघि दलहरूबीच सहमति आवश्यक
सरकारले संसद्लाई क्रियाशील बनाउनेगरी संसद्मा विभिन्न विधेयक, प्रस्तावहरू छलफलका लागि ल्याएको खण्डमा मात्र संसद् पनि प्रभावकारी र सक्रिय हुन्छ । गत अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन । बजेटबाहेकका विधायिकी ‘एजेण्डा’ संसद्लाई दिइएन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट कतिपय विषयमा संसद् अवरुद्ध गर्नुपर्ने बाध्यतासमेत देखापर्यो । मुलतः एक सय किलो सुन प्रकरणको विषयमा निष्पक्ष छानबिन गर्न आयोगको प्रस्ताव गरिएकामा सरकारले सुरुमा अस्वीकार गरेपछि बाध्यतावश सदन अवरुद्ध गर्नुपरेको थियो । यस घटनालाई लिएर प्रतिपक्षले संसद् चल्न दिएन भन्ने आरोप लगाइयो । पछि एउटा समझदारी कायम गरी संसद् सुरु गरियो, तर सरकारले अरु बिजनेस दिन सकेन । संसद् सञ्चालनलाई गरिमामय बनाउन गम्भीरतापूर्वक ध्यान दिइएन । गत अधिवेशन मिटरब्याजपीडितलाई राहत दिनेगरी ल्याइएको विधेयक पारित भयो । पीडित जनताको पक्षमा आएको त्यस विधेयकलाई संसद्ले पारित गरेको थियो । प्रमुख प्रतिपक्षको भूमिका सशक्त भएता पनि संसदीय अभ्यासमा कमजोरी र फितलो अनुभव रह्यो । आगामी अधिवेशनमा पनि एमालेबाट जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह हुनेछ । मुलुक र जनताको हितका लागि जिम्मेवार प्रतिपक्ष हुनुका नाताले राष्ट्रको स्वाभिमानलाई झुक्न नदिने र कानुन निर्माणमा एमालेले भूमिका खेल्नेछ । सभामुखको अग्रसरतामा आगामी संसद्ले कार्यतालिका बनाएर काम गर्ने भन्ने सुनिएको छ । सत्य निरुपण, सङ्घीय निजामती, प्रदेश प्रहरी र सम्पत्ति शुद्धीकरणसमेत संविधान, शान्ति सम्झौता र सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने कार्यभार छ । यस्ता अन्तर्राष्ट्रिय सरोकार र मानवअधिकारसँग गाँसिएका विषयमा दलहरूबीच सहमति र समझदारी कायम गर्नुपर्छ, बहुमतका आधारमा टुङ्ग्याउने अवस्था आउन दिनुहुन्न । संसद्मा कोरम नपुग्नु लज्जास्पद जनप्रतिनिधिका हैसियतले गाउँटोल, निर्वाचन क्षेत्र र जिल्लाका विकास निर्माणमा सांसदले दृष्टि पुर्याउनुपर्छ भन्ने आमजनताको मत छ । यो भावनालाई सम्बोधन गर्न विकासका साथै सामाजिककार्यमा पनि जनप्रतिनिधि संलग्न हुनुपर्ने बाध्यता छ । पार्टीको विभिन्न जिम्मेवारीमा खटिनुपरेका कारण सदन र विषयगत समितिका बैठकमा कहिलेकाहीँ संसद्मा उपस्थिति कमजोर देखिएको हुनसक्छ । तथापि विधायकको जिम्मेवारी भएकाले विधायिकी कार्य र राष्ट्रिय मुद्दामा हुने बहसमा सांसद केन्द्रित हुनुपर्छ । कतिपय बैठकमा २५ प्रतिशत सांसद पनि उपस्थित नभएका कारण कोरम नपुगेर बैठक स्थगित हुनु भनेको लज्जास्पद घटनाजस्तो लाग्छ । त्यसमा पनि बैठक सञ्चालन गर्ने मुख्य जिम्मेवारी सत्तापक्षकै हुन्छ, प्रतिपक्षले त कमीकमजोरी औँल्याउने र सतर्क गराउने हो । संसद्लाई व्यवस्थित र सघनरूपमा अघि लैजाने सन्दर्भमा सत्तापक्षबाटै बेवास्ता भएको देखिन्छ । सङ्ख्याको कारण बैठक स्थगित हुनु लज्जाको विषय हो, यसबारे पटक–पटक सत्तापक्षको ध्यानाकर्षण गरिएको छ । भोजपुरको प्राथमिकता पूर्वी पहाडी जिल्ला भोजपुरलाई तराई र राष्ट्रिय सडक सञ्जालमा जोड्न सुनकोशी र दूधकोशी नदीमा ठूला पक्की पुलको आवश्यकता छ । दक्षिण र सदरमुकाम तथा दिङ्ला र सदरमुकाम जोड्ने पुल विकासका प्राथमिक आवश्यकता हुन् । मध्यपहाडी राजमार्गले भोजपुरलाई सडक सञ्जालको माध्यमबाट राजधानीलाई जोडेको छ । तराईसँग जोड्न सुनकोशीको पुल निर्माणलाई छिटो पूरा गर्नुपर्ने छ । जिल्लामा अन्य विषयहरूजस्तै शिक्षा, स्वास्थ्य, खानेपानी पनि विकासका प्राथमिकता हुन् ।पहाडी जिल्ला भएकाले सडक दुर्घटनाको जोखिम रहेकाले प्रभावकारी उपचारसहितको व्यवस्था गर्न ट्रमा अस्पतालको माग गर्दै आएका छौँ । सुन्तला उत्पादनका हिसाबले भोजपुर मुलुकै स्थापित जिल्ला हो, त्यसको विकास र विस्तारमा पनि उत्तिकै ध्यान पुर्याउनुपरेको छ भने पछिल्लो समय कफी, चिया र अलैँचीको पनि धेरै सम्भावना देखिएको छ । सरकारले पकेट क्षेत्र घोषणा गरी सहुलियत ऋण सहयोग उपलव्ध गराएमा जनताको जीवनस्तर उकास्न योगदान पुग्नेछ । भ्रष्टाचार न्यूनीकरण दलका नेता र नेतृत्व इमान्दार नहुँदाको परिणाम भ्रष्टाचार मैलाउन पुग्यो । कानुन परिपालना र व्यवहारमा इमान्दारिता देखिएन । इमान्दारिता प्रदर्शन नगरेको नेतृत्वलाई तह लगाउनेगरी कारबाही हुन सकेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा राज्यको सक्रियता देखिन्न । त्यहाँ हुने नियुक्तिमा स्वतन्त्र र सही व्यक्तिको चयन गर्ने संयन्त्र बनाउन सकिएन । अनुगमन र मूल्याङ्कनको बाटोलाई बलियो तुल्याउन नयाँ प्रभावकारी कानुन तर्जुमा गर्नुपर्छ । आवश्यक कानुनी व्यवस्थाको अभाव र नेतृत्वपङ्क्तिमा इमान्दारिता कायम हुन नसक्दा भ्रष्टाचार बढ्ने र सुशासन कमजोर हुने परिस्थिति सिर्जना हुन पुग्यो । निर्वाचन प्रणाली पनि अत्यन्त खर्चिलो भएको छ । यसलाई नियन्त्रण गर्ने भन्ने विषय राजनीतिक नेतृत्वसँग गाँसिन्छ । एउटा उम्मेदवारले अन्धाधुन्ध खर्च गरेपछि अर्को उम्मेदवार पनि त्यसतर्फ जानुपर्ने बाध्यकारी स्थिति छ । पैसाका आधारमा नभई नीति, विचार र कार्यक्रममार्फत मत प्राप्त गर्नेतर्फ उम्मेदवार र नेतृत्व उन्मुख हुनुपर्छ । पैसाको लोभलालच दिएर मत तान्ने देखिएको प्रवृत्ति परिवर्तन र अन्त्य हुन आवश्यक छ । पैसा खर्च गरेर होइन, उम्मेदवारले नीति, विचार र कार्यक्रम व्याख्यामार्फत मत माग्ने सोच सबैले अघि बढाउनुपर्छ । निर्वाचनमा करोडौँ खर्च भएको छ, आगामी निर्वाचनमा फेरि उठ्न गर्नुपर्ने त्यसखाले तयारीले पनि भ्रष्टाचारलाई टेवा पुर्याएको छ । यो दुर्भाग्यपूर्ण कुरा हो । मुलुकमा प्रजातन्त्र बहालीपछि यतिका अवधिसम्म उद्योगधन्दाको विकास गर्न र युवापुस्तालाई रोजगारी दिन नसक्नु राज्यको कमजोरी हो । सूचना तथा सञ्चार क्षेत्रमा भएको तीव्र विकासले संसार एउटा गाउँमा परिणत भई आफ्नो योग्यता, क्षमता र रुचिका आधारमा विदेश जाने तथा दैनिक रोजीरोटीको जोहो गर्न बाध्यताले विदेश पलायन हुने दुईखाले अवस्था छ । विदेश गइयो भने आर्थिक उपार्जन हुनसक्छ र देश–विदेश घुम्न पाइन्छ भन्ने बुझाई र गर्व गर्ने संस्कृतिले मलजल गरेको छ, यो गलत छ । हाम्रा पाखुरी र पसिना आफ्नै देशमा लगाउनुपर्छ भन्ने राष्ट्रियताको सञ्चार र देशभक्ति प्रत्येक नेपालीमा हुनुपर्छ, त्यो खाले सांस्कृतिक अभियान चलाउनुपर्छ । बाध्यताले विदेश पलायन हुने अवस्थालाई अन्त्य गर्न औद्योगिकीकरणको गतिलाई तीव्र तुल्याउनुपर्छ । राष्ट्रियहितप्रति राजनीतिक नेतृत्व इमान्दार र समर्पित भएर लाग्नुपर्छ । यहाँ भएका अथाह प्राकृतिक स्रोतलाई नेपाल र नेपालीको हितमा प्रयोग गर्न सक्नुपर्छ । राष्ट्रिय हित र विकासप्रतिको चिन्तन तथा चुनावी घोषणाप्रति इमान्दार भएर लाग्न सम्पूर्ण राजनीतिक दलका नेतालाई आह्वान गर्दै नेपाली समाजलाई विदेश पलायन हुने चिन्तन फेर्न आग्रह गर्छु । (सांसद राईकोसँग कुराकानीमा आधारित)
ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति
ढोरपाटन । पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो । तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको १० लाख र स्थानीयले उठाएर रु ३५ लाख गरी रु ४५ लाखमा सडक खुलाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद–बर्खा यात्रा गर्दा निकै समस्या भोग्नुपरेको भन्दै आर्थिक वर्ष २०७८/७९ देखि गण्डकी प्रदेशले बजेट विनियोजन गर्दै आएपछि सडक बन्दै गएको उनको भनाइ छ । हालसम्म प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको भन्दै पहिलो वर्ष निर्माण कम्पनीले काम नगर्दा रु ३० लाखमात्रै खर्च भएको नगरप्रमुख गैरेले बताए । गतवर्षको सबै बजेटको काम भएको र यस वर्ष पनि निर्माण कम्पनीले धमाधम काम गरिरहेको उनको भनाइ छ । सडक स्तरोन्नति भएपछि ठाना, तोरीखोला, खसखसलगायतका गाउँका नागरिकलाई पालिका केन्द्र मजुवा र गलकोट हटिया बजारमा पुग्न सहज हुने गैरेले बताए । नगरपालिकाले यससँगै अन्य ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनको भनाइ छ । नगरप्रमुख गैरेले भने, ‘यो सडक खुलाउने बेला निर्माण समितिको सचिव मै थिएँ, यहाँका नागरिकले पैसा उठाएर ट्रयाक खुलाएका हौँ, अहिलेसम्म सडकको दुरावस्था थियो, अब सुधार हुँदै जाने छ, डेढ दशकपछि सडक राम्रो बन्न थालेपछि स्थानीय पनि खुसी भएका छन्, गाउँलेले लगानी गरेको लाखौँ रुपैयाँले बनेको यो सडकमा सरकारले पनि बर्सेनि बजेट विनियोजन गरेर काम गर्दै आएको छ, केही समयपछि कालोपत्र पनि हुने छ ।’ नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले पक्की नाली, मेसेरेनरी वाल, ग्याबिन निर्माण र सडक फराकिलो बनाउने काम भइरहेको बताए । सडक निर्माणका लागि थ्री ब्रोदर्श कन्स्ट्रक्सनले गत मङ्सिरमा जिम्मा लिएको उहाँको भनाइ छ । असार मसान्तसम्म सक्नेगरी सम्झौता भए पनि निर्माण कम्पनीले यही महिनाको अन्तिममा सक्नेगरी काम गरेको इन्जिनियर दाहाल बताउँछन् । निर्माण कम्पनीले ४६ लाखमा सडक स्तारोन्नतिको जिम्मा लिएको उनले बताए । रासस