लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट १५० जना विद्यार्थी दीक्षित
काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन । काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरे । सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनले मलेसियामा फाईभ स्टार ¥याङक प्राप्त गर्न पनि सफल भएको छ । सूचना प्रविधि सम्बन्धी सो विश्वविद्यालय मलेसियामा फाईभ स्टार र्याङ्क प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालय मध्ये १६ औँ स्थानमा पर्न सफल भएको छ । लर्डबुद्ध एजुकेशन फाउन्डेसनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यवहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए । प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष जालानले भने, ‘लर्डबुद्धबाट बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका पनि खोल्ने पनि आफैँले हो ।’ नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको अध्यक्ष जालानले बताए । विदेशमा जानका लागि लाखौँ, करोडौँ रुपैयाँ खर्च गर्ने तर त्यही रकम स्वदेशमा लगानी गर्न नसक्नु विडम्बना भएको अध्यक्ष जालानको भनाई छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । शैक्षिक बेरोजगारीको सङ्ख्या बढ्दै जानु मुलुकका लागि दुर्भाग्य भएको अध्यक्ष मल्लको भनाई छ ।
हेटौँडा आन्तरिक राजस्व कार्यालयबाट करिब तीन अर्ब राजस्व सङ्कलन
हेटौँडा । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले छ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ९३ करोड ११ लाख ७६ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार विगत छ महिनामा आयकरतर्फ ४८ करोड छयासी लाख ६७ हजार, घरभाडा करतर्फ ७८ लाख ९२ हजार, ब्याज करतर्फ चार करोड पाँच लाख ८१ हजार, आन्तरिक करतर्फ ४९ करोड ९० लाख ६८ हजार, अन्तःशुल्क करतर्फ एक अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड एक लाख ४१ हजार राजस्व सङ्कलन भएको जनाएको छ । विगत छ महिनामा ३२ हजार एक सय ८६ करदातामध्ये १२ हजार सात सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ । आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार सात सय पाँचजना रहेका बताइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार/व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको कार्यालयले जनाएको छ । प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताए । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा छ अर्ब ६० करोड ८८ लाख २२ हजार सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको थियो । रासस
१५ वर्षमा लाग्यो इसेवा : डिजिटल नेपालको सेवामा अझै समर्पित
काठमाडौं । इसेवाले अहिले १५ औँ वार्षिकोत्सव मनाइरहेको छ। दक्षिण एसियामै पहिलो डिजिटल भक्तानी सेवा प्रदायकको रूपमा स्थापित इसेवाले नेपाललाई डिजिटल बनाउनमा पनि सधैँ अग्रणी भूमिका निभाउँदै आएको कम्पनीको ठहर छ । डिजिटल नेपालको सपनालाई साकार पार्नका लागि विविध सेवालाई डिजिटल बनाउँदै सर्वसाधारणको दैनिक जीवनशैली इसेवाले सहज बनाइदिएको कम्पनीको दाबी छ । आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नो १५ औँ वार्षिकोत्सवमा १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याउने पनि जानकारी दिएको छ । सन् २००९ मा इसेवाको सुरुवात हुनुअघि रिचार्ज कार्ड स्क्रयाच गर्दै फोन रिचार्ज गरेको सम्झना त हामी सबैलाई नै होला । त्यस्तै, घरायसी बिजुली बत्तीको तथा खानेपानीको महशुल तिर्नका लागि पनि विद्युत प्राधिकरणको कार्यालयमा तथा खानेपानीको कार्यालयमा घन्टौं लाइन लाग्नुपरेको पनि हामी सबैलाई अहिले सम्झदा कुन्नी कहिले पो इतिहासको कुरा हो जस्तो लाग्न सक्छ । आन्तरिक उडानको लागि टिकट काट्दा समेत विभिन्न ट्राभलर टूर्सको कार्यालय धाएर आफुलाई पायक पर्ने मूल्यमा टिकट किनेको पनि अब सम्झनामा मात्र सिमीत भएको छ । इसेवाले सर्वसाधारणको यी सबै आवश्यकताहरू पूरा गर्नका लागि सबैलाई सजिलो डिजिटल उपाय चिनाईदिएको थियो । इन्टरनेटको पहुँच सिमीत ठाउँ तथा सिमीत मानिसहरूसँग मात्र हुँदा मेसेज प्रणालीमा बनेको इसेवाले आफ्नो एजेन्ट सञ्जाल देशभरी फैल्याएर सबैलाई लाइनमा पर्खनुपर्ने झन्झटबाट मुक्त गरिदिएको थियो । समयसँगै थप विविध सेवाहरू थप्दै आफ्नो सेवा परिष्कृत गर्दै आएकाले इसेवासँग आजसम्म पनि डिजिटल सेवा प्रयोग गर्दै आएका सर्वसाधारण मध्ये अधिकांश प्रयोगकर्ताहरू रहेका छन् । नेपालभरी करिब ८१ लाख प्रयोगकर्ताले इसेवा एपको प्रयोग गर्दै आइरहेका छन् । अझै पनि देशभरीको ७५३ वटा स्थानीय तह मध्ये ७४८ वटा स्थानीय तहमा इसेवाका २ लाख ३० हजार बढी एजेन्टहरू मार्फत करिब २ करोड जनसंख्याले विविध डिजिटल सेवाको उपयोग गर्दै आएको सुखद अनुभव इसेवाले साझा गरेको छ । सबै सहरी तथा ग्रामीण स्थानहरूमा पनि आफ्नो सेवा प्रभावकारी रूपमा सर्वसाधारणबीच पुर्याउनका लागि इसेवाले ७ वटा प्रदेशमा ८ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालयहरू संचालनमा ल्याएको छ। साथमा इसेवामा ४९ं बैंक, ४५ं माइक्रोफाइनान्स, ७००ं सहकारीहरू पनि जोडिएका छन् । जसमार्फत इसेवामा सजिलै पैसा पाउन तथा इसेवाबाट पैसा पठाउन सकिन्छ । डिजिटल सेवा पुर्याउदै आएका नेपालमा रजिष्टर भएका डिजिटल वालेटको सङ्ख्या २७ पुगेको भए तापनि अझै पनि सर्वसाधारणको पहिलो रोजाईमा इसेवा नै रहेको कुरा प्रयोगकर्ताको संख्याले प्रष्टै देखाउँछ । नेपालमा विविध ग्रामीण स्थानमा समेत डिजिटल सेवा पुर्याउन तथा डिजिटल लिटरेसीका लागि इसेवा सधैँ तत्पर रहेको जनाएको छ । हाल ४ लाख बढी मर्चेन्टको साथमा इसेवाले ५ हजार बढी विविध सेवाहरू पुर्याउँदै आइरहेको छ । नवीनता अर्थात् इनोभेशनलाई आत्मसाथ गर्दै अघि बढिरहेको इसेवाले समयसँगै सर्वसाधारणको जीवनशैलीलाई थप सहज बनाउनका लागि नयाँ-नयाँ सेवाहरू प्रदान गर्दै आइरहेको छ । अहिले मोबाइल रिचार्ज गर्न, खानेपानी र बिजुली बत्तीको महशुल तिर्न, स्कुल तथा कलेजको फी तिर्न, इन्स्योरेन्सको प्रिमियम तिर्न, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट किन्न, टिभी तथा इन्टरनेटको बिल तिर्न, सरकारी बिलको भुक्तानी गर्न, रेमिट्यान्स पाउन, बस तथा केबलकारको टिकट काट्न, फिल्मको टिकट काट्न, डिजिटल कारोबार गर्न, सहकारीमा पैसा राख्न तथा झिक्न, बैंक खातामा तथा साथीहरूलाई पैसा पठाउन, अस्पतालमा सेवा बुक गर्न लगायतको थुप्रै सुविधाको उपयोग गर्नका लागि सर्वसाधारणले इसेवाको प्रयोग गर्दै आएका छन् । यत्तिका विविध सेवाहरू इसेवामा उपलब्ध रहे तापनि इसेवाले अझ विविध सेवाहरू थप्दै आइरहेको नै छ। केही समय अघि, अनलाइन व्यापार-व्यवसायमा ठगीको मुद्दाहरू बढ्दै जाँदा इसेवाले एस्क्रो सेवा बजारमा ल्याएको थियो, जसमार्फत अपेक्षा गरिएको सेवा र सामानको चित्तबुझ्दो डेलिभरीपछि मात्रै प्रयोगकर्ताले व्यवसायीलाई सेवाको लागि भुक्तानी गर्न सक्छन् । इसेवा अहिले आफ्नो प्रयोगकर्ताका लागि एप तथा वेबमार्फत होटेल बुक गर्ने सजिलो माध्यम पनि बन्दै आएको छ। त्यस्तै, गतवर्ष मात्रै इसेवाले इसेवा वालेटमा भएको पैसा एटीएम बुथ मार्फत बिना एटीएम कार्ड निकाल्नका लागि एटीएम विथड्र सेवा पनि संचालनमा ल्याएको छ। त्यस्तै, डिजिटल कारोबारको खबर आवाजमार्फत् तुरुन्तै पुर्याउनका लागि इस्पीकर यन्त्र पनि इसेवाले भर्खरै मात्र बजारमा ल्याएको छ। साथमा इन्स्योरेन्सको लागि इसेवा केयर प्याकेज र घर तथा सम्पत्ति बीमा पनि इसेवाबाटै सबैले डिजिटल रूपमा खरिद गर्न सक्छन् । हाल ४ लाख बढी मर्चेन्टको साथमा इसेवाले यी विविध सेवाहरू पुर्याउँदै आएको छ । इसेवाको १५ औँ वार्षिकोत्सवको बहार इसेवाले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ ९जनवरी २५० देखि माघ २५ ९फेब्रुअरी ८० सञ्चालनमा रहनेछ। इसेवाले १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, एजेन्ट सञ्जाल तथा मर्चेन्टहरू प्रति कृतज्ञता जाहेर गर्दै १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याएको बताएको छ । आफ्नो १५ औँ वार्षिकोत्सवमा धेरै भन्दा धेरै प्रयोगकर्तालाई लाभ पुर्याउनका लागि टपअप, हवाई टिकट, बैंक लोड, इसेवा केयर, इस्पीकर खरिद, होटेल बुकिङ लगायतका विविध सेवाहरूमा आकर्षक अफर इसेवाले ल्याएको हो । यी सबै अफरबारे थप जानकारी इसेवाको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध हुने पनि इसेवाले जनाएको छ । १५ औँ वार्षिकोत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने सम्पूर्ण इसेवा प्रयोगकर्ता, एजेन्ट सञ्जाल, मर्चेन्ट, पाटनर्स बैंक, नियमक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ । हामीले आगामी दिनमा इसेवाको मोबाईल एपलाई सम्पूर्ण आम मानिसको हरेक क्रियाकलापमा साथ दिनलाई थप विविध सेवाहरू अझ सुदृध रूपमा लिएर आउने लक्ष्य लिएका छौँ । मलाई आशा छ डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ’ । डिजिटल कारोबारको प्रणालीलाई अपनाएर निरन्तरको यो साथका लागि सधैँ आभारी रहेको पनि इसेवाले जनाएको छ । इसेवाको अहिलेसम्मको यात्रा सन् २००९ जनवरीबाट यात्रा सुरु गरेको इसेवा नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक हो । सहरी तथा दुर्गम क्षेत्रमा मोबाइल रिचार्ज देखि बिजुलीको बिल तिर्न अनलाइनबाटै सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि सजिलो थिएन । इसेवा के होरु यसबाट के-के गर्न सकिन्छरु वा यो कसरी चलाउने भन्नेबारे सर्वसाधारण अनभिज्ञ रहनु पनि स्वाभाविक नै थियो । साथमा इन्टरनेटको पहुँच पनि सर्वसाधारणमा राम्रोसँग पुगेकै थिएन । ती तमाम चुनौतीहरूको समाधान गर्दै आजको दिनसम्म ८१ लाख बढी प्रयोगकर्तासँग इसेवा एपमार्फत प्रत्यक्ष रूपमा तथा एजेन्ट सञ्जाल मार्फत् करिब २ करोड जनसङ्ख्यालाई सेवा प्रदान गर्न सक्नु कुनै चानचुने काम हैन । आफ्नो १५ वर्षको यस यात्रामा इसेवाले थुप्रै सर्वसाधारणको भरोसा तथा मर्चेन्टहरूको दरिलो साथ पनि पाएको छ । सन् २००९मा स्थापना भएको इसेवाले सन् २०१० मा आफ्नो मोबाइल एप्लिकेसन ल्याएको थियो । सन् २०१२मा इसेवाले सुरुवाती दिन तथा अहिलेको सर्वसाधारणमा पुग्ने बलियो मेरुदण्डको रूपमा रहेको एजेन्ट नेटवर्क (सञ्जाल) सुरु गरेको थियो । सन् २०१३ मा सूचना तथा सञ्चार मन्त्रालय मार्फत उत्कृष्ट टेक्नोलोजीको अवार्ड पाएको थियो । सन् २०१७ मा नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकमार्फत इसेवाले भुक्तानी सेवा प्रदायकको रूपमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको थियो । सोही वर्ष अनलाइन मोबाइल रिचार्ज (टपअप) का लागि शीर्ष विक्रेता९टप सेलर० भएकोमा नेपाल टेलिकम मार्फत पनि सम्मानित भएको थियो । सन् २०१८ मा ५ लाख एप डाउनलोडको उपलब्धि हासिल गरेको इसेवाले ३ वर्षको अवधिमा १० गुणा वृद्धि ल्याउँदै सन् २०२१ मा ५० लाख एप डाउनलोडको उपलब्धि हासिल गरेको थियो । सन् २०२२ सम्ममा २ लाख मर्चेन्टको सेवा डिजिटल रूपमा प्रदान गरिरहेको इसेवाले अहिले ४ लाख बढी मर्चेन्टको सेवा प्रदान गरिरहेको छ । हाल इसेवामा ८१ लाख बढी प्रयोगकर्ताले प्रत्यक्ष सेवा लिइरहेका छन् भने २ लाख ३० हजार बढी इसेवा एजेन्ट मार्फत २ करोड बढी सर्वसाधारणले परोक्ष रूपमा डिजिटल सेवाको उपयोग गरिरहेका छन् । हाल इसेवामा ४००ं कर्मचारीहरू तथा १७५ं क्षेत्रीय प्रतिनिधीहरू रहेका छन् । इसेवाको विभिन्न सामाजिक सञ्जालमा समेत ९ लाख ३० हजार बढी प्रयोगकर्ताहरू जोडिएका छन् । इसेवाबारे के भन्छन् त मर्चेन्टहरू इसेवा मार्फत ८१ लाख बढी प्रयोगकर्ताहरू माझ सजिलै डिजिटल सेवा प्रदान गरिरहेका ४ लाख बढी मर्चेन्टहरू इसेवाप्रति सकारात्मक नै रहेका छन् । इसेवाबारे आफ्नो तथा आफूले प्रतिनिधित्व गर्ने संस्थाको इसेवाबारे धारणा थुप्रै मर्चेन्टहरूले साझा गरेका थिए । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको डिजिटल यात्रामा विगत ६ वर्ष देखि इसेवाले ठूलो योगदान पुर्याउदै आएको बताए । हाल करिब १२ लाख ग्राहकले इसेवा मार्फत विद्युत महशुलको भुक्तानी गरिरहेका छन् । आगामी दिनमा नेपाल विद्युत प्राधिकरणमा रहेका करिब ५०-६० लाख ग्राहकलाई बढी भन्दा बढी सेवा इसेवा मार्फत सेवा लिन सक्ने प्रबन्ध मिलाउने तर्फ मिलेर अघि बढ्न पनि घिसिङले आग्रह गरे । त्यस्तै, बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले सम्पूर्ण नेपाली सेवाग्राहीलाई धेरै लामो लाइन बसेर खरिद भुक्तानी गर्नुपर्ने झन्झटबाट इसेवाले मुक्त गरिदिएको बताएका छन् । केही क्लिक मै खरिद भुक्तानी गर्न सकिने सजिलो सुविधा इसेवाले बनाइदिएकाले धेरै मानिसलाई धेरै-धेरै सुविधा भएको पनि बस्नेतले थपे । सुबिसु केबलनेट लिमिटेडका अध्यक्ष सुधिर पराजुलीले इसेवा डिजिटल इकोसिस्टममा आउँदा एउटा साथी आएजस्तो भएको बताए । ग्राहकले तिर्नुपर्ने पैसा सजिलै डिजिटल माध्यमबाट उठाइदिने साथीको रूपमा इसेवा आएपछि पैसा बचाउनलाई पनि सजिलो भएको बताए । ६ महिना जतिको कोभिड महामारीको लकडाउनको समय सम्झँदै पराजुलीले उक्त समयमा इसेवामार्फत डिजिटल रूपमा सेवा सुचारु रहेकाले ग्राहकबाट पैसा उठाउन, आफ्नो कर्मचारीहरूलाई तलब दिन तथा अरूहरूलाई पैसा दिनलाई पनि उठाउन सजिलो भएकाले ठूलो योगदान पुर्याएको स्मरण गरे । त्यस समयले सरकारलाई पनि डिजिटल भुक्तानी सेवा प्रदायक अत्यावश्यक सेवामा पर्दो रहेछ भनेर सरकारलाई पनि सिकाएको जिकिर गरे । डिजिटल माध्यमबाट कारोबार गर्दा पारदर्शीता रहने तथा कम्पनीहरूलाई पनि करको मामिला तथा अन्य कारोबारको मामिलामा ढुक्क हुन सक्ने वातावरण बनेको कुरा पराजुलीले बताए । पराजुलीले अन्य व्यवसायीलाई पनि सुझाव दिँदै इसेवा जस्ता डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरू सँग आबद्ध भई व्यवसायलाई सहज बनाउनलाई प्रोत्साहन समेत गरे । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्रा डा. चित्र बहादुर बुढाथोकी (मगर)ले इसेवाले शिक्षाको सेवामा पनि सहरी तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई थप सहजता पुर्याएको बताए । कोभिड महामारीको लकडाउनको समय सम्झँदै दुर्गम गाउँठाउँमा रहेका विद्यार्थीले पनि आफ्नै घरमा बसेर सजिलै फारम भरेको कुरा स्मरण गरेका छन् । इसेवाको अबको यात्रा इसेवाका चिफ स्ट्र्याट्रेजी अफिसर, रबि शाक्यले प्रयोगकर्तामा केन्द्रीत नवीनता (युजर फोकस्ड इन्नोभेशन), सेवा विविधीकरण (सर्भिस डाइभर्सीफिकेसन) र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच (फाइनेन्सियल इन्क्लुजन तथा फाइनेन्सियल एक्सेस) नै इसेवाको सेवाका ३ प्रमुख स्तम्भहरू रहेको र आगामी दिनमा यी ३ स्तम्भलाई नै ध्यानमा राखेर आफ्नो सेवालाई बिस्तार तथा थप सुदृढ बनाउँदै लैजाने इसेवाको योजना रहेको जानकारी दिए । बैंक तथा अन्य वित्तीय सेवाहरूको पहुँच भन्दा टाढा रहेका स्थान तथा मानिसहरूमा वित्तीय कारोबारका लागि सजिलो डिजिटल उपायको रूपमा इसेवाको सेवा विस्तार गर्दै लैजाने कुरामा पनि उनले जोड दिए। दुर्गम स्थानहरूमा डिजिटल साक्षरता (लिटरेसी) का लागि ध्यान केन्द्रीत गर्दै इसेवा अघि बढ्ने कुरा पनि उनले बताए । त्यस्तै, अन्तरदेशीय भुक्तानीमा पनि इसेवाको सेवा विस्तार हुने कुरा उनले जानकारी दिए । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले आगामी दिनमा इसेवाले स्थानीय भाषाको प्रयोग मार्फत स्थानीयकरण तथा पर्सनालाइजेशनमा समेत ध्यान केन्द्रीत गर्ने बताए । नेपाली भाषामा पनि इसेवा एप चलाउन मिल्ने सुविधा छिट्टै सबै सर्वसाधारणले पाउन सक्नेबारे उनले जानकारी दिए । आफ्नै बोलीचालीको भाषामा इसेवा चलाउन पाएपछि इसेवाका ग्राहकहरूलाई थप सजिलो हुने कुरामा उनले जोड दिए । अहिले आर्टिफिसियल इन्टेलिजेन्सको जमाना रहेको छ । केही समय अघि मात्र इसेवाले प्रयोगकर्ताले आफ्नो जिज्ञासा वा गुनासो आफ्नो एप तथा वेबबाट डिजिटल रूपमा दर्ता गर्न सक्ने सिस्टम ल्याएको थियो । प्रयोगकर्ताले इसेवाको विविध सेवासुविधाको प्रयोग गर्दा कुनै पनि समस्या आइपरेमा कल, इमेल गर्नुको सट्टामा एपबाटै डिजिटल रूपमा स्क्रिनशट सहित जुनसुकै समयमा आफ्नो समस्या दर्ता गर्न सक्ने गरी नयाँ सिस्टम ल्याइएको हो । प्रयोगकर्तालाई थप सहजता साथ आफ्नो जिज्ञासा राख्नका लागि इसेवाले इसेवा असिस्टेन्ट नामक एआई प्रोग्राम छिट्टै नै लिएर आउने पनि इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताए । मेसिन लर्निङमार्फत् यस प्रोग्रामले सबै प्रयोगकर्ताका लागि सजिलै जिज्ञासाको समाधान बताइदिने र समयसँगै थप प्रभावकारी हुँदै जाने पनि उनले जनाए । चिफ बिजनेस अफिसर आशिष गौतम तथा चिफ स्ट्र्याट्रेजी अफिसर रबि शाक्य दुवैले वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच (फाइनेन्सियल इन्क्लुजन तथा फाइनेन्सियल एक्सेस)लाई केन्द्रमा राखेर आफ्ना विविध सेवाहरूलाई थप सुदृढ रूपमा अगाडि लैजाने कुरामा जोड दिए ।
एनआईसी एशियाको सञ्चालकमा कार्की नियुक्त, ग्रहण गरे सपथ
काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिपेन कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको संस्थाको बैठकले कार्कीलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको सञ्चालकको जिम्मेवारी सम्हालेका कुमार राठीको राजिनामा स्वीकृत भएसँगै कार्कीले संस्थाको सञ्चालक पदको जिम्मेवारी पाएका हुन् । संस्थाको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि कार्कीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उल्लेख भएको व्यवस्था बमोजिम उक्त बहाल पदको लागि कार्कीबाट सपथ ग्रहण समेत भैसकेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिए ।
५ हजार बढीले पाए सर्वोत्तम सिमेन्टको ५० कित्ता सेयर
काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार रितपूर्वक प्राप्त भएका ३३ हजार ८१० वटा आवेदनहरुबाट प्राप्त जम्मा रकम ७७ करोड १७ लाख ८४ हजार रुपैयाँ बराबरको २१ लाख ३८ हजार ५०० कित्ता सेयर बाँडफाँटमा समावेश गरिएको थियो । जसमा बुक विल्डिङ निर्देशिकाअनुसार प्रतिआवेदकलाई न्यूनतम ५० कित्ताको दरले गोला प्रथा विधिद्वारा २ लाख ६७ हजार कित्ता सेयर ५ हजार ३४० जना आवेदकलाई सेयर बाँडफाँट गरिएको क्यापिटलले जानकारी गराएको छ । कम्पनीले पुस २५ गते देखि माघ १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले प्रतिसेयर ३६० रुपैयाँ ९० पैसामा निष्काशन गरेको थियो । सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरोसेयर र सिडीएसले आईपीओ नतिजाको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।
बढ्दो बजारमा ब्रेक, कारोबार रकम पनि घट्यो
काठमाडौं । आइतबारदेखि निरन्तर बढेको बजारमा बुधबार ब्रेक लागेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २१.६७ अंकले घटेसँगै बजारमा बढेको बजारमा ब्रेक लागेको हो । बुधबार कारोबार शुरु भएको केहि समयमै परिसूचक निरन्तर घटेर २०९७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशतले घटी हो । बजारमा परिसूचक मात्रै नभई कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ५ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ । कूल ३१३ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा बुधबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । लामो समयदेखि निरन्तर उच्च कारोबार हुँदै आएको सो कम्पनीको एकैदिन ६३ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि सामान्य अर्थात ५ रुपैयाँले बढेर प्रतिकित्ता ७१४.६० रुपैयाँ पुगेको छ । सर्वाधिक कारोबार गर्नेको दोश्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, तेश्रोमा न्यादी ग्रुप पावर र चौथोमा नेपाल पुनर्बीमा इन्स्योरेन्स रहेको छ । नेपाल पुनर्बीमा इन्स्योरेन्सको एकैदिन १९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ९ रुपैयाँले घटेर प्रतिकित्ता ८१६ रुपैयाँमा झरेको छ । घटेको बजारमा पनि सामलिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । यससँगै यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९० र ४६५ रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा मेनछ्यिाम हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ५.८७ प्रतिशतले घटेर प्रतिकित्ता ३०९.७० रुपैयाँमा झरेको छ ।
भृकुटीमण्डपमा माघ १८ देखि नवौं ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै
काठमाडौं । माघ १८ गतेदेखि नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहनेछन् । मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा मेला सञ्चालन गर्न लागेको हो । निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी महत्वपूर्ण हुने मिडिया स्पेस सोलुसन्सका कार्यकारी निर्देशक सिर्जल भट्टराईले बताए । उनले विगत ८ वर्षदेखि मेला गर्दै आइरहेको र प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने विश्वास रहेको बताए । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा राखेको जानकारी दिए । मेलाको तयारी लगभग सकिसकेको उनको भनाइ छ । प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरुले सहभागिता जनाउने बताए । यस वर्ष विदेशका तुलनामा नेपालका स्टलहरु बढी रहने पनि बताए । मेलाले आर्थिक संकुचन हटाउन पनि मदद्त पुग्ने जानकारी दिए । ‘माघको १८, १९, २० र २१ गते (फेब्रुअरी १,२,३ र ४) मा भृकुटीमण्डप काठमाडौंमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुन्छ । बिल्डिङ कन्स्ट्रक्शन क्षेत्रको यो एक्जिबेशन हो । यसमा हाम्रो अपेक्षा भनेको ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने भन्ने हो । यो प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मिडिल इस्टमा दुबईका कम्पनीहरु छन् । यो मेलामा लगभग डेढ सय कम्पनीका स्टल रहनेछन् । जसमा ५ सय बढी ब्राण्डहरुका सामान हुनेछन् । नेपाल र भारतका बढी स्टलहरु हुन्छन् । यस्ता मेलाले आर्थिक संकुचन हटाउन पनि मदद्त गर्दछ । पहिला विदेशका कम्पनी धेरै थिए, अहिले नेपाली कम्पनीहरु विदेशी कम्पनीको तुलनामा धेरै छन्’, उनले भने । कार्यकारी निर्देशक भट्टराईले ४ दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए । विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने उद्देश्यले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण हुन लागेको हो ।
भारतीय मालवाहक साधन भन्सार बिन्दुबाट १६ किमीसम्म मात्र सञ्चालन गर्न नाडाको आग्रह
काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले नेपालको सीमा क्षेत्रमा कडाई तथा व्यवस्थित गर्ने विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसंग छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरी भारतीय मालवाहक साधनहरुलाई भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । मंगलबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भएको भेटमा उनले भारतीय मालवाहक साधनलाई भन्सार बिन्दुबाट १६ किमी तथा नेपालमा २४ घण्टाको मात्र समयावधि दिन आग्रह गरेका हुन् । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा माल बाहक इन्डियन ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट खाशगरी नेपालको मालवाहक सवारी साधनहरुको विक्री र त्यसको व्यवसायमा गम्भिर असर परेको भन्दै भारतिय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमी सम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरे । यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपाल भारतविच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोबाइल स्पेयर पाट्र्सको आयात हुदै आएको । यसले एकातर्फ नेपालका लुव्रिकेण्टस र टायरटयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको छ भने अर्कोतर्फ ती बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकीरहन ज्यादै कठीन हुदै गईरहेकोले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नु पर्ने देखिएको भन्दै यस्तो हुन सकेमा देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भएकोले यसतर्फ आवश्यक पहलका लागि अनुरोध गरे । सो छलफलका क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले नाकामा हुने गरेका विभिन्न समस्याहरु बारे जानकारी गराए । छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पुर्याइएको र सीमा नाकामा भईरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए । उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।