पेट्रोलियम पदार्थको मूल्य १५ रुपैयाँसम्म बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल/मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य १७० रुपैयाँ, डिजेल, मट्टितेलको मूल्य १५८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य १ हजार ९१० रुपैयाँ कायम भएको छ ।
राष्ट्र संघद्वारा सोमालियाका लागि १.६ अर्ब अमेरिकी डलरको मानवीय योजना सार्वजनिक
काठमाडौं । संयुक्त राष्ट्र संघले सन् २०२४ को मानवीय आवश्यकता तथा प्रतिक्रिया योजना सार्वजनिक गरेको छ । यसमा ५२ लाख सोमालियालीहरूलाई सहयोगका लागि १.६ अर्ब अमेरिकी डलर माग गरिएको छ । ‘विश्व निकायले आफ्ना साझेदारहरू र सोमालियाको संघीय तथा राज्य सरकारहरूसँग मिलेर प्रयास गर्यो,’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले नियमित पत्रकार सम्मेलनमा भने । गत वर्ष, सोमालिया विनाशकारी खडेरी भारी वर्षा, बाढीका कारण प्रभावित भएको थियो । सोमालियामा लाखौं मानिसहरू भोकमरी र कुपोषणबाट पीडित रहेको प्रवक्ता दुजारिकले बताए । प्रवक्ताका अनुसार देशको जनसंख्याको लगभग एक चौथाई (४० लाख) भन्दा बढी मानिसहरूले हाल खाद्य असुरक्षाको सामना गरिरहेका राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले जानकारी गराएको छ । तथ्यांक अनुसार ६ वर्ष मुनिका प्रत्येक पाँचमध्ये दुई जना बालबालिका तीव्र कुपोषणबाट पीडित रहेको संकेत गरेको दुजारिकले बताए । सोमालिया आन्तरिक विस्थापनको गम्भीर समस्यासँग जुझिरहेको छ । लगभग ३८ लाख व्यक्तिहरू विभिन्न सङ्कटका कारण आन्तरिक रूपमा विस्थापित भएका छन् । सोमालियाले हाल हैजाको प्रकोपको सामना गरिरहेको बताउँदै हैजा तीव्र गतिमा फैलिरहेको उनले बताए ।
सामसुङ इलेक्ट्रोनिक्सको नाफामा ठूलो गिरावट, टीभीका दर्शक घटे
काठमाडौं । दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको नाफामा गिरावट आएको छ । कम्पनीले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको हो । स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले जनाएको हो । सन् २०२३ मा सामसुङको सञ्चालन नाफा ८४.९ प्रतिशतले घटेर ६.५७ ट्रिलियन पुगेको छ । पछिल्लो समयमा विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ । त्यस्तो प्रत्यक्ष असर यस कम्पनीमा पनि परेको हो । राजस्व १४.३ प्रतिशतले घटेर २५८.९४ ट्रिलियन ओन कायम भएको छ । कम्पनीको अक्टोबरदेखि डिसेम्बरको तीन महिनामा मात्रै सञ्चालन नाफा ३४.४ प्रतिशतले घटेर २.८२ ट्रिलियन कायम भएको बताइएको छ । चौथो त्रैमासिकमा राजस्व ३.८ प्रतिशतले घटेर ६७.७८ ट्रिलियन ओन र आय ७३.४ प्रतिशतले घटेर ६.३४ ट्रिलियन पुगेको छ । चौथो त्रैमासमा अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको माग बढेसँगै बिजनेस केही सुधार भएको कम्पनीले जनाएको छ । सन् २०२३ मा सामसुङको कूल पूँजीगत खर्च ५३.१ ट्रिलियन भएको बताइएको छ ।
इन्द्रावती जलविद्युत् आयोजनाको काम पुनः सुरु, ज्योति विकास बैंकसँग ऋण सम्झौता
सिन्धुपाञ्चोक । नेशनल हाइड्रो पावर कम्पनीको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनः सुरु भएको छ । वि.सं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनःनिर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिए । उनका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको हो । विद्युत् विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कूललागत एक सय १० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिए । चार दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाइ तीन हजार तीन सय मिटर रहेको आयोजनाले जनाएको छ । मेलम्ची नगरपालिकामा निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैंकसँग ऋण सम्झौता भएको पाण्डेले बताए ।
न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो । रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । उक्त विवादमा काठमाडौं जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । सोही आदेशविरुद्ध निजकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेका थिए । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालतमा पुगेकी थिइन् ।
२० अर्ब पुँजी पुर्याउन नेपाल रिलाई छैन सकस, हिमालयनसँग दुई विकल्प
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै पुनर्बीमा कम्पनीहरू त्यसकाे तयारीमा जुटेका छन् । प्राधिकरणले नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीका सञ्चालकहरू आन्तरिक छलफलमा जुटेका हुन् । प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीलाई १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न पनि समय दिएको छ । अब कुन उपकरण अपनाएर पुँजी वृद्धि गर्ने भन्ने विषयमा दुवै कम्पनीका सञ्चालक समिति आन्तरिक छलफलमा जुटेका हुन् । उसो त यसअघि पनि प्राधिकरणले पुनर्बीमा कम्पनीका सीईओहरूलाई प्राधिकरणमै बोलाएर पुँजी वृद्धिको विषयमा छलफल गरिसकेको थियाे । प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिए पनि कसरी वृद्धि गर्ने भन्ने विषयमा भने सार्वजनिक धारणा राखेको छैन । त्यसका लागि योजना पेस गर्न कम्पनीलाई नै जिम्मा दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल दुईटै पुनर्बीमा कम्पनीले पेस गरेको पुँजी वृद्धिको योजना अध्ययन गरेर सही विकल्पलाई अनुमति दिने बताउँछन् । नेपाल पुनर्बीमा कम्पनीको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ । पुँजी वृद्धिका लागि सरकारले मात्रै ३ अर्ब पुँजी थप्नु पर्ने देखिएको छ । नेपाल पुनर्बीमा कम्पनीलाई भने पुँजी वृद्धिका लागि सकस नहुने देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बोनस सेयर वितरण गरेर पुँजी बढाउने योजना बनाइरहेको छ । अपुग पुँजीका लागि कम्पनीले एफपीओ जारी गर्न सक्छ । सोही विषयमा कम्पनीमा छलफल पनि भइसकेको बुझिएको छ । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष इश्वरी प्रसाद अर्याल आन्तरिक छलफल गरेर कुन विकल्प रोज्ने भन्ने विषय टुंगो लगाउने बताउँछन् । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी नेपाल सरकार र अन्य सेयरधनीहरूसँग छलफल गरेर पुँजी वृद्धिको योजना तयार पार्ने उनको भनाइ छ । ‘पुँजी वृद्धिका लागि विकल्पहरू धेरै छन्, अहिले नै निर्णय भएको छैन, मुख्य सेयरधनी नेपाल सरकार वा अर्थमन्त्रालयसँग छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषय टुंगो लगाउँछौं, मन्त्रालयमा मन्त्री तथा सचिवज्यूसँग छलफ गरेर आगामी दिशा तय गर्छाैं,’ उनले भने । यस्तै, हाल हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । हिमालयनले हालै मात्र प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो । सुरुमा ७ अर्ब रहेको पुँजी आईपीओ जारी गरेपछि १० अर्ब पुगेको छ । कम्पनीले अझै १० अर्ब पुँजी थप्नु पर्ने देखिएको छ । कम्पनीमा ३० जना संस्थापक सेयरधनी छन् । जसमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व अम्बर प्रोभेष्टमेन्टको ६७ लाख ८५ हजार कित्ता रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको ५०/५० लाख कित्ता, इन्फिनीटी होल्डिङ्गसकाे ४५ लाख कित्ता र जगदम्बा मोटर्सको ३२ लाख कित्ता सेयर स्वामित्व छ । यस्तै, केएल दुगड ग्रुपका प्रबन्ध संचालक विकास दुगड र जगदम्बा स्टिलसको २२/२२ लाख कित्ता, साफ्रोन सिके र हंसराज हुलासचन्दको २०/२० लाख कित्ता, आरएमसी कन्ष्ट्रक्सन र सशीकान्त अग्रवालको १५/१५ लाख कित्ता, कार्भी ग्लोबल, अटल फिन्कोर्प, अकोर्ड फिन्कोर्प र कालिका फिन्कोपको १३.५०/१३.५० लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीमा सौर्य सिमेन्ट, सन्दिप अग्रवाल, राहुल अग्रवाल, विकास जे.वि.राणा, शालिमार इनभेष्टमेन्ट, राजेश हार्डवेयर, कैलाश सिरोहिया, किर्ती एपेक्स, ओण्डर भेन्चर्स, उज्जिवन मर्चेन्ट र अजन्ता होल्डिङ्गसको १०/१० लाख, एक्सप्रेस इनभेष्टमेन्ट र कामधेनु इनभेष्टमेन्टको ९/९ लाख कित्ता, पशुपति मुरारका र सिरिश कुमार मुरारकाको ७.२५/७.२५ लाख कित्ता सेयर स्वामित्व छ । नेपाल पुनर्बीमाको तुलनामा हिमालयनलाई पुँजी वृद्धिमा केही सकस भोग्नु पर्ने देखिन्छ । कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने वा विदेशी साझेदार भित्र्याउन सक्नेछ । कम्पनीले बोनस सेयर वितरण गरेर एक वर्षभित्र १० अर्ब पुँजी बढाउन सक्ने सम्भावना देखिँदैन । पुँजी वृद्धिको अर्को उपकरण भनेको मर्जर हो । तर, नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमाबीच मर्जरको सम्भावना शून्य प्राय छ । प्राधिकरणका कार्यकारी निर्देशक पौडेलका अनुसार अबको एक वर्ष अर्थात् वि.सं २०८१ माघ १० गतेभित्र पुँजी वद्धि गरेर २० अर्ब पुर्याउनु पर्नेछ । बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि गराउन निर्देशन दिएको उनको भनाइ छ । पुनर्बीमा कम्पनीहरू बीमा कम्पनीको पनि बीमा गर्ने भएकाले पुँजी बढाउन आवश्यक रहेको उनले बताए । उनका अनुसार पुनर्बीमा कम्पनीहरूले विदेशमा पनि व्यवसाय गर्नु पर्ने भएकाले पुँजी बढाउन आवश्यक छ ।
दीगो ग्रुपले मुल्कोटमा शुरु गर्यो ईभी चार्जिङ स्टेशनसहितको ई-स्टप
काठमाडौं । दीगो ग्रुप अफ कम्पनीले मुलकोटको रामटारमा आफ्नो पहिलो दीगो ई-स्टप स्थापना गरेको छ । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशनहरूसँग रेस्टुरेन्ट सुविधाहरूको संयोजन गर्दै राजमार्ग यात्रुहरूका लागि आवश्यक सेवा प्रदान गर्न कम्पनी उक्त ई-स्टप स्थापना गरेको हो । रणनीतिक रूपमा मुलकोटमा अवस्थित दीगो ई-स्टपले लामो दुरीको सडक यात्रामा क्रान्ति ल्याउने कम्पनीको प्रतिबद्धता छ । लामो दूरीका यात्रुहरूका लागि समाधान गरेर दीगो ई-स्टप नेपालभर दिगो र पर्यावरण-मैत्री यात्राहरू प्रवर्द्धन गर्न कम्पनी एउटा ल्यान्डमार्क बन्न तयार छ । ईभी चार्जिङ स्टेसनहरू, परिवारमैत्री रेष्टुरेन्टहरू, सफा शौचालय र उच्च गतिको वाईफाई सेवा जस्ता अत्याधुनिक सुविधाहरूसहित दीगो ई-स्टप लामो समयको लागि यात्रा गर्न प्रतिबद्ध छ । सार्वजनिक यातायात र निजी सवारी साधन यात्री दुबैले यसको सुविधा लिन सक्नेछन् । दीगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीले नेपालभरका राजमार्गहरूमा ई-स्टपहरुको विस्तार गर्ने र विद्युतीय यातायात प्रवर्द्धनका साथै राजमार्गहरूमा सफा र स्वच्छतापूर्ण विश्राम स्टपहरू उपलब्ध गराउने बताए । ‘मुलकोटमा ई-स्टपले आधुनिक यात्रीहरूको लागि दिगो र नवीन समाधानहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । ईभी चार्जिङ स्टेशनहरूसँग रेस्टुरेन्ट सुविधाहरू एकीकृत गरेर, हामीले यातायातका दिगो र पर्यावरण-मैत्री मोडहरू प्रवर्द्धन गर्दै राजमार्ग यात्रुहरूका लागि समग्र अनुभव सिर्जना गर्ने लक्ष्य राखेका छौं ।’ उनले भने ।
जापानलाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता
जापान । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ । जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले यसै महिना सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले निर्यात गरेको ४९ लाख १० हजारको तुलनामा यो सङ्ख्या करिब पाँच लाखले बढी हो । यद्यपि, चीनको भन्सार विभागले निर्यात सङ्ख्या ५२ लाख २० हजार पुगेको र बर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जानकारी गराएको छ । चीनले सन् २०२३ को शुरू देखि नै मासिक रूपमा जापानले भन्दा बढी सवारी साधन निर्यात गर्दै आएको थियो र बुधबार सार्वजनिक समग्र तथ्याङ्कमा चीनले जापानलेभन्दा बढी सवारी साधन निर्यात गरेको देखिएको छ । हालैका वर्षहरूमा विद्युतीय कारहरूमा ठूलो लगानीका कारण चीनको कार उत्पादन क्षेत्र ठूलो मात्रामा फस्टाएको छ । यसबाट जापानी फर्महरूलाई चुनौती थपिएको छ । जापानी निर्माताहरूले लामो समयदेखि हाइब्रिड कार उत्पादनको शर्त राखेका छन् । हाइब्रिड कार जापानी प्रसिद्ध उत्पादन टोयटा प्रियसको जस्तै ब्याट्री पावर र आन्तरिक दहन इन्जिनबाट चल्ने कार हुन् । चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ । यसले बढ्दो क्षेत्रको लागि बेइजिङको बलियो सरकारी समर्थनलाई पूँजीकृत गरेको छ । सन् १९९५ मा ब्याट्री निर्माताको रूपमा स्थापना भएको बीवाईडीले पछि प्लग–इन हाइब्रिड र सबै–इलेक्ट्रिक वाहनहरू उत्पादन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ । शेन्जेन क्षेत्रलाई मुख्य बजार बनाएको बीवाईडीले चीन र युरोपमा मूल्यमा टेस्लासँग प्रतिस्पर्धा गर्दछ । रासस