बजेट अभावले ८ वर्षसम्म बनेन ६ किमी बाइपास सडक
चितवन । पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौंतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको ८ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा पनि सम्पन्न हुन नसकेको हो । भरतपुरको केन्द्रीय बस ट्रमिनलबाट आँपटारीसम्मको बाइपास सडकमा अहिले फुटपाथ व्यवस्थापनको काम मात्र बाँकी छ । पश्चिमतर्फको काम सम्पन्न गरी पूर्वतर्फ बसेनीबाट आँपटारी चोकसम्ममा फुटपाथ व्यवस्थापनको काम बाँकी रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी ई चन्द्रेश्वर साहले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष २०७१/७२ देखि सुरु हुँदै आएको यो सडकको निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । बहुवर्षीय योजनाको यो सडकका लागि पछिल्लो समय बजेट अभाव भएको छ । बजेट नपरेपछि सडक विभागमा सडक डिभिजन कार्यालयले पत्राचार गरेको उनले बताए । बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस ट्रमिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म दिइएको थियो । पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउनका लागि ठेक्का गरिए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर सडक चार लेनमा निर्माण गरिएको छ । पहिलो खण्डको ठेक्का गौरी–पार्वती निर्माण सेवाले १२ करोडमा पाएको थियो । पहिलो खण्डमा ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ भने सम्झौताको म्याद गत भदौमा सकिएको थियो । दोस्रो खण्डमा भने पशुपति रायमाझी जेभीले काम गर्दै आएको छ । सो खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ । फुटपाथमा स्ल्याप राख्ने काम भइरहेको छ । गत आर्थिक वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा सो खण्डमा बजेट अभावका कारण पूरा हुन नसकेको हो । निर्माण कम्पनीले ९० प्रतिशत काम सम्पन्न गरे पनि बजेट निकासा हुन नसक्दा निर्माण कम्पनीले पैसा पाउन सकेको छैन । डिभिजन सडक कार्यालयका प्रमुख रमेश पौडेलका अनुसार सो कम्पनीलाई बाँकी रकम भुक्तानी गर्न सकिएको छैन । पछिल्लो समय गरेको कालोपत्रलगायत कामको भुक्तानीका लागि पनि विभागमा बजेट माग गरिएको छ । रासस
बाँसबारी छालाजुत्ताका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ
काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।
युरोप पठाइदिन्छु भन्दै करोडौँ ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ
काठमाडौं । युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया लगायतका देशहरुमा पठाइदिन्छु भन्दै ६ सय जना बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला ललितपुर नल्लु गाविस वडा नम्बर ५ र हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङ रहेका छन् । उनले कामनपा १६ स्थित बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिइ युरोपियन मुलुक पठाइदिन्छु भनि ६ सय बढी सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले बताए । उनका अनुसार तामाङ वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पूर्जि जारी भइ फरार रहेका थिए । उनकाअनुसार पक्राउ परेका तामाङले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडा १८ लाख, माल्टा, ८ लाख, पोल्याण्ड, ७ लाख र क्रोशिया ६ लाख ५० हजार रुपैयाँ ठगि गरेको खुलेको छ । ६ सय भन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको प्रहरीले बताएको छ । ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धारामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाईको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको छ ।
भृकुटीमण्डपमा ‘नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु’, निर्माणका सम्पूर्ण सामग्री पाइने
काठमाडौं । भृकुटीमण्डपमा नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रदर्शनी माघ १८ गतेदेखि माघको २१ गतेसम्म सञ्चालन हुनेछ । निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु साथै यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको हो । नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन एक कार्यक्रमकाबीच अर्थ मन्त्रालयका मन्त्री डा. प्रकाश शरण महतले गरेका हुन् । उद्घाटनमा क्रममा मन्त्री महतले प्रदर्शनीले व्यापार व्यवसाय प्रवर्द्धनमा थप मदत पुग्ने बताए । प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरू रहेका छन् । निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी साथै नयाँ-नयाँ प्रविधिको बारेमा उक्त प्रदर्शनीबाट थाहा पाउन सकिने बताएको छ । मिडिया स्पेस सोलुसन्सका कार्यकारी निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीले यस्ता आर्थिक संकुचन हटाउन मद्दत पुग्ने विश्वास व्याक्त गरे । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको उल्लेखनीय सहभागिता रहने विश्वास भट्टराईले लिएका छन् । प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ । आयोजक टिमले मेला अवधिभर ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा राखेको छ । प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरूले सहभागिता रहेको छ । ४ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेश गर्न सकिने छ । प्रदर्शनीमा निर्माण तथा घर बनाउँदा चाहिने आवश्यक सामग्रीहरू उपलब्ध छन् ।
जनवरीमा ७९ हजार पर्यटक भित्रिए
काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । साथै चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बङ्गलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
लैनचौरबाट पक्राउ परे व्यवसायी अरुण चौधरी
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा सिजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा सीआईबीले अनुसन्धान गरिरहेको छ । अरुण चौधरी उद्योगपति तथा सांसद विनोद चौधरीका भाई हुन् ।
‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु, २१ विषयमा एलर्ट गर्न पाइने
काठमाडौं । ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को आरम्भ गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को शुभारम्भ गरेका हुन् । एलर्ट मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट राख्न तथा गुनासो पठाउनका लागि बनाइएको बताइएको छ । यस एपमार्फत २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने नगरप्रमुख महर्जनले जानकारी दिए । ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने जनाइएको छ । गुनासोहरुलाई इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा समेत पठाउन सकिने प्रवन्ध गरिएको छ । त्यस्तै सन्देश पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको जानकारी दिइएको छ । एप शुभारम्भ गर्दै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नगरप्रमुख महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । काम गर्दै जाँदा सेवा प्रवाहमा ढिलासुस्ती भएमा सुधार गर्दै समयमै सम्बोधन गर्ने पनि उनले बताए । उनले एपमार्फत सेवा दिन पनि पूर्वाधारको व्यवस्थापन गर्नु आवश्यक रहेको भन्दै उनले पूर्वाधार निर्माणमा लागि परेको पनि बताए । ‘आज शुभारम्भ गर्यौँ । यसले एकदम राम्रो सेवा प्रदान गर्छ भन्ने हाम्रो आशा छ । काम गर्दै जाँदा कुनै किसिमको ढिलोपन अथवा समयमै सम्बोधन गर्न नसकेको किसिमको वातावरण सिर्जना भयो भने हामी त्यसलाई समयमै सम्बोधन गरेर त्यसलाई सुधार गर्छाैँ । यसको लागि पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ । पूर्वाधार तयार गर्ने सन्दर्भमा हामी लागि परेका छौँ । तर सबै पूरा भइसकेको छैन । त्यस निम्ति रातो पुस्तिकामै बजेटको व्यवस्थापन गरेर अगाडी बढिरहेका छौँ’, उनले भने । एलर्टमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै बिना स्वीकृति संरचना, लैंगिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवा क्षति, फुटपाथ, सडक बत्ति, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी, विपद्, सडक मानव, कालो बजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिलो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा अलर्ट गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्षम भयौँ : डा. भण्डारी
काठमाडौं । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् । अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख प्रा. डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ गते नेपाली चिकित्सकको टोलीले ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । त्यसपछि नेपालमै नेपाली चिकित्सकले कलेजोको प्रत्यारोपण गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ । ‘हामी नेपालमै कलेज प्रत्यारोपणमा सक्षम भएका छौँ । नेपालमै कलेजो प्रत्यारोपणका लागि यो ऐतिहासिक र कोसेढुङ्गा हो’, उनले भने, ‘यसअघि हामी विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गर्दै आइरहेका थियौँ ।’ उनका अनुसार यसअघि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न भारतीय चिकित्सकको सहयोग लिने गरिन्थ्यो । अस्पतालमा गरिएको यो कलेजो प्रत्यारोपण ११औँ सफल प्रयास हो । अस्पतालमा गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई ४० वर्षे श्रीमतीले कलेजो दान गरेका थिए । चिकित्सक डा भण्डारीले दुवैको स्वास्थ्य राम्रो रहेको बताए । उनका अनुसार कलेजोको सफल प्रत्यारोपण गरेका बिरामी अहिले स्वस्थ्य भई आजै बिहान डिस्चार्ज भएका छन् । उनकी श्रीमती भने १० दिनमा डिस्चार्ज भएकी थिइन् । वरिष्ठ कलेजो रोग विशेषज्ञ डा भण्डारीले ५० जना चिकित्सकसहितको टोलीले करिब १२ घण्टामा ती पुरुषमा कलेजो प्रत्यारोपण गरिएको बताए । अस्पतालमा कलेजो प्रत्यारोपणका लागि रु २५ देखि ३० लाख खर्च लाग्छ । विदेशमा भने कलेजो प्रत्यारोपण गर्न करिब एक करोड रुपैयाँ लाग्छ । नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो । रासस