विकासन्युज

ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो

काठमाडौं । ताइवानमा सम्पन्न ‘ताइवान इन्टरनेशनल साइन्स फेयर’ मा इन्जिनियरिङतर्फको विधामा नेपाल चौथो भएको छ । माघ १४ देखि १९ गतेसम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालले समेत सहभागिता जनाएको थियो । प्रतियोगितामा हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाको ‘कृषि–प्रविधिमा आधारित एग्रो–गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको हो । गणित, रसायनशास्त्र, इन्जिनियरिङ लगायतका फरक–फरक १३ वटा विधा समेटिएको उक्त मेलामा विश्वभरका २७ भन्दा बढी देशको सहभागिता थिए । मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजील्यान्ड, स्वीजरल्यान्ड लगायतको सहभागिता थियो । २० वर्षभन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरूको वैज्ञानिक अनुसन्धान, नव प्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने लक्ष्यसहित मेलाको आयोजना हुने गर्छ । ताइवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेसन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आइरहेको छ । विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरूलाई प्रदर्शन गराइने यस प्रदर्शनी मेलामा यस वर्ष ६३० जना विद्यार्थी अनुसन्धानकर्ताद्वारा ३५९ वटा विज्ञान, सूचना–प्रविधि, नवप्रवर्तन सम्बन्धी अनुसन्धानका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रिय प्रोजेक्टहरू समावेश गरिएका थिए ।

‘गोल्ड मेडलिष्ट’ उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको हिजोको इजलासले नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । इजलासले नेपाललाई एक वर्ष कैद सजाय र ६ लाख रुपैयाँ जरिबाना हुने फैसला सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् । बीबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो । बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभइ सापटी दिएको बयान दिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीको होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए ।

इराकद्वारा १०३ मिलियन ब्यारेल बढी कच्चा तेल निर्यात

एजेन्सी । इराकले जनवरीमा १०३ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । इराकले जनवरीमा १०३.५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । जसबाट ८.०२५ बिलियन अमेरिकी डलर राजस्व जम्मा भएको छ । जनवरीमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ७७.५३ डलर थियो । मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको प्रारम्भिक तथ्याङ्कलाई उदृत गर्दै बताएको छ । मध्य र दक्षिणी इराकका तेल क्षेत्रहरूबाट बसराको बन्दरगाहबाट करिव १० करोड ब्यारेल र उत्तरी प्रान्त निनेवेहको कय्यारा तेल क्षेत्रबाट करिव १० लाख ब्यारेल निर्यात गरिएको थियो भने यस महिनामा ४ लाख ६४ हजार ३०६ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको थियो । इराकको अर्थतन्त्र कच्चा तेलको निर्यातमा धेरै निर्भर छ । जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । पछिल्लोपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्राचार गरेको हो । राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेका अनुसार १५ दिनको समय दिएर पत्र पठाएको छ। तोकिएको अवधिमा कर नतिरे महानगरपालिकाको आर्थिक ऐनको दफा–२१ अनुसार कारबाही हुने महानगरले जनाएको छ । ऐनमा आपत्कालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन् । मनोरञ्जनस्थलमा प्रवेश गर्ने प्रतिटिकट पाँच प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था छ । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । क्लब, दोहोरी तथा बारहरू जेपी रोडको रिफ्रेस डान्स बार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनी वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लब, बेबो डान्स बार, टकिला डान्स बार, क्विनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भिआइपी क्लब, नसा डान्स बार, मिडनाइट डान्स बार, ज्याठाको चाहना डान्स बार र अमृत मार्गको ड्रागन डान्स बारलाई महानगरले कर तिर्न पत्राचार गरेको हो । यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फूलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, वियरवार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बारलाई पनि पत्राचार गरिएको महानगरले जनाएको छ । यस्तै गल्कोपाखाका गुन्यूचोली दोहोरी, अल्फाबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्षित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार र एच ट्वान्टी बार क्लब रहेका छन् ।

रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो । इजिप्टको कायरो विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गरेर नेपालका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले स्थापना गरेको एएनएमएस संस्था र नौकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य शिविरबाट ९० छात्रछात्रासहित कूल दुई सय ७० जनाले सेवा प्राप्त गरेका नौकुण्ड–१ का वडाध्यक्ष कान्छा तामाङले जानकारी दिए । शिविर सञ्चालन गर्न उत्तरगया गाउँपालिका–५ लहरेका बासिन्दा तथा हाल जिवजिवे ग्रामीण अस्पतालमा कार्यरत डा सरोज श्रेष्ठले अगुवाइ गरेका हुन् । स्वास्थ्य शिविरमा विभिन्न रोगको परीक्षण गर्नुका साथै औषधि समेत प्रदान गरिएको डा. निहारिका शर्मा गैरेले जानकारी दिइन् । चिकित्सक टोलीले छात्रछात्रालाई स्वास्थ्य परीक्षणका साथै विभिन्न पाठ्य सामग्रीसमेत वितरण गरेका छन् ।

नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

चितवन । चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन तथा सही चियाको सहीरूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि बिकास अधिकृत चन्द्र पुरीले जानकारी दिए । यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनी चितवनमा पहिलोपटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए । नेपालको चिया उत्पादन तथा बजारीकरण गर्न यसबाट मद्दत पुग्ने विश्वास गरिएको छ । प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घ सहआयोजक रहेको सो प्रदर्शनीको प्रवर्द्धक भरतपुर महानगरपालिका रहेको छ ।

उद्योगहरूबाट निर्माण सामग्रीको उत्पादन कटौती, घाटाको व्यापारमा व्यवसायी, यस्तो छ नयाँ मूल्य

काठमाडौं । सिजनमा समेत निर्माण सामग्रीको माग नभएपछि उद्योगले उत्पादनमा कटौती गर्न थालेका छन् । विगतका वर्षहरूको तुलनामा माग कम भएपछि उद्योगहरूले वस्तु उत्पादनमा पनि कटौती गर्न थालेका हुन् । उद्योगी व्यवसायीहरूका अनुसार विगतका वर्षहरूको तुलनामा निर्माण सामग्रीको व्यापारमा ५० प्रतिशतसम्म उत्पादन घटेको हो । बजारमा निर्माण सामग्रीको माग घटेपछि त्यसको प्रत्यक्ष प्रभाव उद्योगहरूसम्म पुगेको हो भने मूल्य पनि घट्न पुगेको हो । अहिले बजारमा अधिकांश निर्माण सामग्रीको मूल्य घट्दो अवस्थामा छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल छड, ग्रिल, स्टिल लगायत फलामजन्य निर्माण सामग्रीको मूल्य घटेको बताउँछन् । ‘देशमा विकास निर्माणको काम ठप्प छ, विकास निर्माणका नयाँ काम हुन सकेको छैन, काम नहुँदा सरकारको खर्च पनि हुँदैन, अर्थतन्त्रमा एक किसिमको सुस्सता छ, अर्थतन्त्र नै समस्यामा भएपछि मान्छेहरूले नयाँ व्यापार व्यवसाय गर्न सकेका छैनन्, त्यसैले पनि निर्माण सामग्रीको माग कम भएको हो, माग कम भएपनि मूल्य पनि घटेको हो,’ उनले भने । उनका अनुसार नयाँ घर बनाउने मानिसहरूको संख्या पनि न्यून छ । पहिले निर्माण सिजनमा अधिकांश मानिसहरूले घर बनाउने भए पनि अहिले त्यो संख्या घटेको छ । उनले अहिले डन्डीको मूल्य प्रतिकेजी एक सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको बताए । ‘डन्डीको मूल्य लामो समयदेखि एक सयको हाराहारीमा खरिदबिक्री भइरहेको छ, अहिले पेट्रोलको मूल्य बढेको छ, निर्माण सामग्रीको मूल्य पनि बढ्छ होला । तर, आजका दिनसम्म घटेको छ,’ उनले भने । घरजग्गाको कारोबार र विकास निर्माणको काम नबढेसम्म निर्माण सामग्रीको व्यापार पनि नफस्टाउने उनको तर्क छ । यस्तै, निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष दीपक श्रेष्ठले निर्माण सामग्री खरिदबिक्रीको अवस्था नाजुक रहेको सुनाए । उनका अनुसार निर्माण सामग्री व्यापार अहिले ठप्पजस्तै छ । ‘देशमा आर्थिक मन्दी छ, आर्थिक गतिविधिहरू बढ्न सकेका छैनन्,’ उनी भन्छन्, ‘देशमा निर्माणको काम भएन भने यो क्षेत्र ठप्प नै हुन्छ ।’ विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसपछि निर्माण सामग्रीको मूल्य घट्दै गइरहेको उनको भनाइ छ । विगतमा एक हजार रुपैयाँसम्म पर्ने प्रतिबोरा सिमेन्टको मूल्य अहिले ८ सयको हाराहारीमा रहेको उनको भनाइ छ । निर्माण सामग्रीको व्यापार गर्ने व्यवसायीले विगत डेढ वर्षदेखि घाटाको व्यापार गरिरहेको उनले बताए । वस्तुको माग नभएपछि निर्माण क्षेत्र नै संकटमा रहेको गुनासो उनले गरे । यस्तै, हुलास वायर इन्ड्रष्टीका बजार प्रबन्धक विशाल जानीले बजारमा निर्माण सामग्रीको मागमा कमी आएपछि उद्योगहरूले उत्पादन पनि घटाएको बताए । उनका अनुसार अहिले उत्पादन र मूल्य पनि घटेको छ । ‘हामीले उद्योगबाट १० देखि १६ एमएम छडको प्रतिकेजी (भ्याट वाहेक) ७८ रुपैयाँ, २० एमएमको प्रतिकेजी ७९ रुपैयाँ र २५ एमएमको ८२ रुपैयाँमा बिक्री गर्दै आएका छौं, विगतको तुलनामा यो ४ रुपैयाँसम्म कम हो,’ उनले भने । यो उद्योगको मूल्य भएपनि बजारमा भने डन्डीको मूल्य केही महँगो पर्न जान्छ । विगतको तुलनामा उत्पादन ५० प्रतिशतले घटेको उनको भनाइ छ । ‘निर्माण सामग्रीको बिक्री नभएपछि पूर्ण क्षमतामा उत्पादन भएको छैन, निर्माणका कार्यमा भएको सुस्ततासँगै ठूल्ठूला आयोजनाको कामले तीव्रता नपाउँदा समस्या भइरहेको छ, त्यसको प्रत्यक्ष असर उद्योगलाई नै परेको छ,’ उनले भने । इँटा उद्योग पनि संकटमा निर्माणमा आएको सिथिलता र बजारबाट मागको कमीले इँटा उद्योगको भविश्यमाथि पनि प्रश्न उठेको छ । इँटा बिक्री नभएपछि उद्योगीहरू समस्यामा पर्दै गएको गुनासो गरिरहेका छन् । नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्दले इँटाको माग घटेको बताए । उनका अनुसार बजारबाट मागको कमीले उत्पादनमा पनि गिरावट आएको छ । उनले प्रयाप्त वस्तु बिक्री नहुँदा बैंकको सावाँ ब्याज पनि तिर्न समस्या भइरहेको सुनाए । उनका अनुसार अहिले इँटाको बजार ६० प्रतिशतले घटेको छ । इँटाको बिक्री नभएपछि पछिल्लो समय एकपछि अर्को इँटा उद्योगहरू बन्द हुन थालेको उनको भनाइ छ । यसले इँटा उद्योगीहरूमा ठूलो चिन्ता र त्रास सिर्जना गरेको उनी बताउँछन् । ‘विगतमा प्रतिइँटा २० रुपैयाँमा खरिदबिक्री हुन्थ्यो, अहिले १५ रुपैयाँम खरिदबिक्री हुन्छ,’ उनले भने । सिमेन्टको व्यापार खुम्चियो अहिले सिमेन्टको व्यापारमा पनि ठूूलो गिरावट आएको छ । सिमेन्टका उद्योगीहरूले अहिले सिमेन्ट घाटा बेहोरेर खरिदबिक्री भइरहेको बताउँछन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा अहिले सिमेन्ट उद्योगहरू समस्यामा रहेको बताए । उनका अनुसार विगतको तुलनामा सिमेन्टको उद्योगको ३० प्रतिशतसम्म उत्पादन क्षमता घटेको छ । थापाका अनुसार सिमेन्टको मूल्य पनि केही स्थिर छ । उनले अहिले उद्योगीहरूले प्रतिबोरा सिमेन्टमा ७० रुपैयाँसम्म घाटा खाएर बिक्री गर्नु परेको छ । उनले सरकारले सहजीकरण गर्न सकेमा वार्षिकरूपमा डेढ खर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न सकिने बताए ।

पैसाको बार्गेनिङ गर्न अरुण चौधरीलाई पक्राउ गरियो : सांसद शर्मा

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानाहरुलाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको बताएका हुन् । उनले उद्योगीहरुलाई गिरफ्तार गर्ने र हतोत्साही बनाई ‘अण्डरटेबल’ पैसाको बार्गेनिङ गर्ने गरिएको भन्दै सोही डिजाइनमा उद्योगी चौधरीलाई गिरफ्तार गरिएको बताए । चौधरीमाथि कुनै कानूनी प्रश्न भए अदालतमा जान सकिने भन्दै उनले केवल व्यापारीहरुलाई आतंकित बनाउनका लागि मात्रै यस्तो गरिएको बताए । ‘अहिलेको प्रचण्ड नेतृत्वको सरकार मिनबहादुरको गिरफ्तारीदेखि लिएर अहिलेसम्म हेर्नुभयो भने देशमा ठूला-ठूला उद्योगपतिहरु, ठूला घरानाहरुलाई पुराना केसहरु, ठूला उद्योगपतिहरुलाई गिरफ्तार गर्ने, ह्यारास गर्ने र अण्डरटेबल पैसा डिल गर्ने यो प्रथा अहिलेको राज्यसत्तामा बसेको विशेषतः हामीसँग गठबन्धनमा रहेको माओवादीको प्रचण्डजी र अहिलेको गृहमन्त्रीको डिजाइन हो । यसमा कुनै कानूनी प्रश्न भएको भए त्यो फाइललाई लिएर, अनुसन्धान गरेर अदालतमा दर्ता गर्न सकिन्थ्यो । तर प्रक्रिया हेर्नुस् हिजो मिनबहादुरदेखि अहिलेसम्म आइपुग्दाखेरी यसरी व्यापारीहरुलाई गिरफ्तार गर्ने, अण्डरटेबल डिल गर्ने र व्यापारीहरुलाई आतंकित बनाउने प्रथा छ । यसको म सांसदको रुपमा घोर भत्र्सना गर्न चाहन्छु व्यक्तिगत रुपमा पनि र धेरै साथीहरुको मनशाय त्यही छ ।’ उनले भने । साथै, उनले चौधरीलाई सरकारले गिरफ्तार गरेकोप्रति भत्र्सना समेत गरे ।