कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन प्राडा. अर्जुनकुमार श्रेष्ठकाअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ । सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गर्ने उनले बताए । डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश कृषि पठनपाठन हुने विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने गरेको छ । धरानको पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा मात्रै यो विषयको पढाइ हुँदै आएको छ । यस विषयको अध्ययनसँगै कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वविद्यालयका उपकुलपति प्राडा. पुण्यप्रसाद रेग्मीले बताए । उनले भने, ‘देशको मेरुदण्डका रुपमा रहेको कृषिको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन यो विषय महत्वपूर्ण हुनेछ ।’ कृषि, वन, पशु विज्ञान र मत्स्य स्नातक पढाइ हुँदै आएको यस विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ थप हुने भएको हो । सम्बन्धित विषयको एकीकृतरूपले अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गराइ मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको रहेको उनले बताए । हालै सम्पन्न विश्वविद्यालय सभाको १२औं साधारण बैठकले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विमानस्थका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले दिए राजीनामा
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रबार डीआईजी चन्दले प्रहरी मुख्यालय नक्सालमा राजीनामा बुझाएका हुन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारीबीच भएको कुटाकुट छानबिन समितिले प्रहरीलाई मात्रै दोष दिएपछि उनले असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।
सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनले भने, ‘आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतबारका लागि विषेश गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।’ यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौंको वायुको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको तथा पारदर्शिता चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री सेल्सियस रहेको तथा आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीचमा रहने मौसमविद् अधिकारीले बताए । आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रही कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरुण चौधरीसँग बयान सुरु, नियमविपरीत भए जग्गा फिर्ता गर्ने
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत नै बयान लिन थालिएको राससलाई जानकारी दिए । उनले चार दिन म्याद थप भएकाले त्यही म्याद भित्र रहेर अनुसन्धान भइरहेको पनि बताए । बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा काठमाडौं महानगरपालिका २६ का तत्कालीन च्याम्पियन फुटवयेर लिमिटेड (पछि प्रालि बनाइएको) का सेयर धनी तथा सञ्चालक ६० वर्षका अरुणकुमार चौधरीसहित काठमाडौं महानगरपालिका ९ बस्ने तत्कालीन बाँसवारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षका अजितनारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको छ । उनीहरुलाई अनुसन्धान अधिकृतले क्रमैसँग बयान लिने छन् । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले भने, ‘पछिल्लो अवस्थामा प्रहरीले अनुसन्धान नगरिकन व्यावसायिक घरानालाई पक्राउ गरियो भन्ने कुराहरू आएको छ, यो लामो समयको अनुसन्धानपछि नै पक्राउ गरिएको हो ।’
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा वर्तमान सरकार केन्द्रित भएको बताएका छन् । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रूपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ । वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए । ‘सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ,’ उनले भने, ‘जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।’ प्रधानमन्त्रीका रूपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उहाँले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको बताए । मुलुकको अर्थतन्त्रलाई सही स्थानमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्लो समय अर्थतन्त्र सही अवस्थामा फर्किएको स्पष्ट पारे । ‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन वृद्धि भएको छ,’ उनले भने, ‘यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्दत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।’ प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यकपर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उनले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताए । गरिब, दलित, उत्पीडित जनताको हकहित संरक्षणबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले तल्लोतहका जनताको हकहित रक्षामा लाग्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रण्को विकल्प सुदृढ र समुन्नत गणतन्त्र नै भएको त्यसको अर्को विकल्प हुनै सक्दैन भने । कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले नगर अस्पतालको विकासमा प्रदेश सरकारकोतर्फबाट उचित सहयोग रहने बताए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले १५ शय्याको दुधौली नगर अस्पतालको समुद्घाटन गरेका थिए । करिब १८ करोड रुपैयाँ लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।
अरुका लागि साइकलमा दूध बोक्ने शिवचरण बने डेरी मालिक
कञ्चनपुर । दशकअघि साइकल गुडाउँदै अरुका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताएका थिएनन् । अरुको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचत गर्दै गए । बचत रकमले डेरी व्यवसाय सञ्चालन गर्न सक्षम बनेको उनको भनाइ थियो । ‘दुध बोक्ने काम गर्दा आउने केही रकम बचत गरेको थिएँ,’ उनले भने, ‘केही रकम कर्जाका रूपमा लिएर डेरी व्यवसाय सञ्चालन गर्दै आएको छु ।’ ६ वर्षअघिदेखि रानाले ४५ लाख रुपैयाँ लगानी गरी डेरी सञ्चालन गरेका हुन् । गाउँगाउँबाट दूध संकलन गरेर रानाले दुग्ध विकास संस्थानको धनगढी वितरण आयोजनालाई आपूर्ति गर्दै आएका छन् । दूध संकलनका लागि उनले संस्थानसँग सम्झौता गरेका छन् । दूध बोक्नका लागि रानाले ६ जना कामदार राखेका छन् । ‘सबै जनाका लागि मोटरसाइकल खरिद गरेको छु । दैनिक एक हजार चार सय लिटर दूध मोटरसाइकलमा क्यान राखेर कामदारले गाउँगाउँ पुगेर संकलन गर्दै आएका छन्,’ रानाले भने । दूध बढी संकलन भएका बेला डेरीसम्म ल्याउनका लागि पिकअप भ्यानको प्रयोग गर्दै आएको उनले बताए । भ्यान आफ्नै स्वामित्वको हो । मोटरसाइकल, भ्यान लगायतका साधन दूध डेरीबाट आएको आम्दानीले खरिद गरेको रानाले जानकारी दिए। बेरोजगार हुँदा डेढ दशकअघि साइकलमा भारतबाट सामानको ज्याला लिएर झलारी बजारका व्यापारीलाई बिक्री गर्ने गरेको रानाले बताए । ‘भारतबाट सामान ल्याउँदा हुने सास्ती बिर्सि नसक्नु थियो,’ उनले भने, ‘सीमा क्षेत्रमा भारतीय र नेपाली प्रहरीले भन्सार काटे÷नकाटेकोदेखि अन्य धेरै हैरानी दिन्थे । पछि त्यो काम छोडेर दूध बोक्ने काम थालेको थिएँ ।’ आफन्तले दूध बोक्ने काम गर्न भनेपछि त्यही काम थालेको भन्दै पहिलोपटक चार लिटरबाट सुरु गरेको कामले अहिले व्यावसायी बनाएको रानाले बताए । ‘विस्तारै दूध बढी संकलन हुन थाल्यो । महिनामा २५ हजार जति कमाइ हुन थाल्यो,’ उहाँले भने, ‘त्यसपछि मोटरसाइकल किनेँ, दूध डेरीमा आपूर्ति गर्न थालेँ ।’ ‘दूध संकलन गर्ने, भण्डारण गर्ने, अन्य क्षेत्रमा आपूर्ति गर्ने कुरा डेरी सञ्चालकबाटै सिकेँ,’ रानाले भने, ‘त्यसपछि केही रकम आफूसँगै थियो, केही कर्जा गरेर शान्ति दुग्ध सङ्कलन केन्द्र हुँदै डेरी खोलेँ ।’ उनका अनुसार अहिले डेरीमा दैनिक एक हजार चार सय लिटरसम्म दूध संकलन हुने गरेको छ । महिनामा २७ लाख रुपैयाँबराबरको दूधको कारोबार हुने गरेको रानाले जानकारी दिए । ‘संकलन भएको दूधमध्ये आठ सय लिटर दूध संस्थानले खरिद गर्ने गरेको छ । अरु दूध गाउँमै खपत हुन्छ,’ उनले भने । रानाले गाउँबाट दूध प्रतिलिटर ६६ रुपैयाँमा खरिद गरी संस्थानलाई त्यतिकै मूल्यमा बिक्री गर्छन् । संस्थानले ट्रान्सफर खर्च (टिएस) बापत प्रतिलिटर रानालाई तीनका दरले भुक्तानी गर्दछ । स्थानीयलाई भने रानाले संकलन भएको दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री गर्छन् । महिनामा खर्च कटाएर रानाको ५० हजार रुपैयाँ बढी आम्दानी हुने गरेको छ । कामदारलाई मासिक रूपमा ज्यालाबापत एक लाख २५ हजार रुपैयाँ खर्च हुने गरेको रानाको भनाइ थियो । दूधकै कारोबार गरेर रानाले गाउँमै पाँच कोठाको पक्की घर बनाएका छन् । डेरीका लागि तीन वटा डि फ्रिज, एक हजार र पाँच सय लिटर क्षमताका गरी दुई चिलिमभ्याट मेसिन खरिद गगरेको उनले बताए । दूधबाट क्रिम निकाल्ने मिल्क सेप्रेटिङ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो । ‘पूरै परिवारको खर्च दूधको बारोबारबाट धानिएको छ,’ रानाले भने, ‘अहिले छोराले व्यवसायमा सहयोग गर्न थालेपछि कमाइ बढ्दै गएको छ ।’ दूधको व्यवसायबाट सन्तुष्ट भएको भन्दै उनले डेरीमा दूध संकलन गरी बेच्ने काम मात्रै हुँदै आएकामा भविष्यमा डेरी प्रोडक्ट उत्पादन गरी बजार विस्तार गर्ने सोच रहेको बताए । ‘अरुका लागि साइकलमा दूध बोक्ने मैले डेरी सञ्चालन गरी प्रशस्त आम्दानी गर्छु भन्ने सोचेकै थिइनँ,’ रानाले भने, ‘काम गर्दै गए सफलता आफैँ हात चुम्न आइपुग्यो । अहिले दूधको व्यवसायी भनेर नगरपालिका क्षेत्रमा सबैले चिन्छन्, सम्मान गर्छन् ।’
विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रद्वारा ५ करोड बढी राजस्व संकलन
महोत्तरी । नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले ६ महिनामा ५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा उक्त केन्द्रले ५ करोड २३ लाख २२ हजार ७ सय ६८ रुपैयाँ राजस्व संकलन गरेको हो । उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो । ६ महिनामा दुई सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट २७ लाख ८४ हजार एक सय ७७ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए । सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनःजोडिदा तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ रुपैयाँ राजस्व संकलन भएको छ । सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा एक करोड १४ लाख २५ हजार ७ १५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन् । गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन् । पछिल्ला केही वर्षयता विद्युत् चोरी (चुहावट) का घटना बढेपछि अभियानकै रूपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताए । यस अभियानमा विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ ।
गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड
बागलुङ । एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो । टाढाटाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै भएका छन् । स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । बागलुङको ढोरपाटनका स्थानीयले अहिले पनि खच्चडको प्रयोग गर्दै आएका छन् । भौगोलिक कठिनाइका कारण ढोरपाटन क्षेत्रको धेरै गाउँमा सडक पुग्न सकेको छैन । सडक नपुगेका ठाउँमा घोडा खच्चडबाटै समान ढुवानी गरिन्छ । सडक पुगेका ठाउँका स्थानीय मल र घाँस खच्चडमा ओसारपसार गर्छन् । ढोरपाटनसहित बोबाङ, निसेलढोरमा पनि खच्चडमा घाँस र मल बोकाउने प्रचलन बढेको छ । ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको स्थानीय वीरबहादुर सुनारले बताए । आफ्नो घर सडकभन्दा धेरैमाथि हुँदा घोडामै यात्रा गर्ने उनको भनाइ छ । सबैभन्दा बढी जङ्गलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पुर्याउन खच्चड प्रयोग हुने गरेको सुनारले बताए । गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक ४० हजार रुपैयाँ बढी कमाउने गरेको उनले सुनाए । ‘हाम्रो पालामा मोटर गाडी चल्दैनथे, बाटो पनि गतिलो थिएन, अहिले जहाँ पनि गाडी चल्छन्, त्यहीँ भएर बजारतिर जानै छाडियो, भएका घोडा बेच्न खोजे पनि कसैले किन्दैनन्, त्यही भएर केही काम त लगाउनुपर्यो भनेर मल र घाँस बोकाउने गरेको छु,’ उनले भने, ‘गाउँमा मेरोमात्रै होइन अरु धेरैका घोडा खच्चड छन्, पहिले त घोडा खच्चड हुने मान्छे धनीमानी मानिन्थे, अहिले केही महत्व छैन ।’ गाउँका टोलटोलमै सडक पुगेपछि घोडा, खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताए । अहिले पाँच घोडा पाल्दै आएको विकले बाउबाजेको पालादेखि नै घरमा घोडा खच्चड पाल्दै आएको हुँदा आफूले पनि त्यसलाई निरन्तरता दिएको जनाउँदै अहिले घाँस र दाना पुर्याउनै गाह्रो पर्ने बताए । पहिले सामान ढुवानी गर्ने काम पाउँदा दाना किनेर खुवाउने गरे पनि अहिले घाँससमेत खुवाउन नसक्ने स्थिति आएको विक बताउँछन् । उनले भने, ‘घाँस खुवाएर पाल्नै गाह्रो छ, उत्पादन केही छैन, त्यही भएर भारी बोक्ने काममा खच्चड लगाउने गरेको छु, टाढा जानुपर्यो भने एउटा घोडा पनि छ, त्यहीमा चढेर जान्छु, हाम्रो बाउबाजेले घोडा पालेर परिवार चलाउथे, अहिले हामीहरुलाई घोडा पाल्न गाह्रो छ ।