विकासन्युज

निजी सवारीको आयु २५ वर्ष, सवारीधनीको माग बमोजिम रुट परमिट

गण्डकी । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली-२०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रुपमा अर्थ्याइएको छ । गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नियमावली गत बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।  एक सय तीन वटा नियम र १३ परिच्छेद रहेको सो नियमावलीमा ३२ अनुसूची रहेको मन्त्रालयका कानुन अधिकृत जीतबहादुर बस्यालले जानकारी दिए । प्रदेश सरकारले सार्वजनिक यातायात सञ्चालन र यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी आफ्नै नियम बनाएको उनको भनाइ छ । सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ र सङ्घबाट विभिन्न समयमा प्राप्त निर्देशन, परिपत्रलगायतलाई आधार मानेर नियमावली तयार पारिएको अधिकृत बस्यालले बताए । नियमावली बनेसँगै विसं २०७६ मा जारी भएको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सार्वजनिक यातायात सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन नियमावली महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । ‘राजस्वको स्रोत बढाउन, सेवा प्रवाहलाई चुस्त, छिटोछरितो र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नियमावली सहयोगी बन्नेमा प्रदेश सरकार र मन्त्रालय विश्वस्त छ’, उनले भने, ‘यो नियमावली गण्डकी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कोशेढुङ्गा सावित हुनेछ ।’ मार्ग इजाजत प्रदेशभर सार्वजनिक सवारीलाई सम्बन्धित सवारी धनी वा व्यवसायी कम्पनीको माग बमोजिम प्रदेशभित्रको मार्ग इजाजत (रुट परमिट) दिइने नियमावलीमा व्यवस्था गरिएको छ । विसं २०७४ यता गण्डकी प्रदेशमा सञ्चालन हुने जिप र ट्याक्सीलाई दुई जिल्लाको मात्र स्थायी मार्ग इजाजत दिइएको थियो । नियमावलीले गरेको व्यवस्था अनुसार अब प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित स्थानीय तह वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गर्न लागिएको हो । यातायात व्यवसायीलाई एकै ठाउँमा मात्र केन्द्रित हुन नदिन मापदण्ड बनाइने मन्त्रालयले जनाएको छ । नियमावलीमा रहेको सो व्यवस्थाले बागलुङस्थित यातायात व्यवस्था कार्यालयको सेवा लिनसमेत पटके काटेर जानुपर्ने म्याग्दीका ट्याक्सी चालकको बाध्यता पनि हट्ने भएको हो । ट्याक्सीलाई दुई जिल्ला मात्र चल्ने अनुमतिका कारण छिमेकी जिल्लाको सडक प्रयोग गर्दा पनि पटकैपिच्छे अस्थायी मार्ग इजाजत (रुट परमिट) लिनुपर्ने बाध्यता थियो । प्रदेश राजधानी पोखरा गुड्ने म्याग्दीका अधिकांश ट्याक्सीको स्थायी रुट इजाजत हाललाई पर्वतसम्म मात्र छ । म्याग्दी, गोरखा, बागलुङलगायत जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मार्ग स्थायी इजाजत दिने व्यवस्था हटाइ प्रदेशभरलाई इजाजत खुला गर्न माग गर्दै आएका थिए । म्याग्दीको बेनी यातायात प्रालिका अध्यक्ष कुमार थापाले सार्वजनिक सवारीसाधनको मार्ग इजाजतका सम्बन्धमा नियम खुकुलो पार्न लागिएका खुसी व्यक्त गरे । ‘ट्याक्सी व्यवसायीले पटकपटक उठाउँदै आएको माग हो यो, दुई जिल्ले रुट परमिटका कारण प्रदेश राजधानी पोखरा जानका लागि पनि पटके काट्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘प्रदेश सरकारले ल्याएको नियमावली कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार भएर लाग्नुपर्छ, यातायात क्षेत्रको सुधार र व्यवस्थापनमा व्यवसायी पनि सहयोगी बन्न चाहान्छौँ ।’ म्याग्दी सदरमुकाम बेनीदेखि पोखरासम्म चल्न पाउने गरी ट्याक्सी दर्ता गरेपनि मार्ग इजाजतलाई दुई जिल्लामा सीमित बनाउने नीतिका कारण ट्याक्सी चालककले अनावश्यक झण्झट बेहार्दै आएका थिए । म्याग्दीदेखि पोखरा चल्ने अधिकांश ट्याक्सीले आकस्मिक बिरामी र पर्यटकलाई सेवा पुर्याउँदै आएका छन् । बिदाका दिन र कार्यालय बाहेकको समयमा अस्थायी मार्ग इजाजतपत्र दिने कर्मचारी नहुुने, यात्रुु बोकेर कर्मचारी खोज्न र कार्यालय जाँदा ढिला भएर यात्रु समयमा गन्तब्यमा पुर्‍याउन नसक्ने जस्ता समस्या ट्याक्सी चालकले भोग्दै आएका थिए । सवारी धनी र व्यवसायी कम्पनीको माग बमोजिम अब मार्ग इजाजत दिइने भएपछि उक्त समस्या सँधैका लागि अन्त्य हुने भएको हो । मुख्य गरी पोखरा पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुुङ, मुुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुुङ जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मात्र स्थायी मार्ग इजाजत दिने व्यवस्था हटाउनुपर्ने माग गर्दै आएका थिए । निजी सवारीसाधनको आयु २५ वर्ष  नियमावलीमा नेपालमै पहिलोपटक निजी सवारीसाधनको पनि २५ वर्ष आयु तोकिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए । उनका अनुसार नेपालमा हालसम्म निजी सवारीसाधनको आयु तोकिएको थिएन । सार्वजनिक सवारी साधनको २० वर्षमै पत्रु कायम गरेर लगत कट्टा गर्नुपर्ने व्यवस्था राख्ने तर निजी सवारीसाधन जति वर्ष पनि चलाउन पाउने व्यवस्था असमान पनि देखिएकाले नेपालमै पहिलोपटक निजी सवारीसाधनको आयु तोकिएको मन्त्रालयले जनाएको छ । विद्युतीय सार्वजनिक सवारीसाधनको भने तीस वर्षमा पत्रु कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक तथा अन्य सवारीसाधनलाई विद्युत्मैत्री सवारीसाधनमा रुपान्तरण गर्न मन्त्रालयले आवश्यक मापदण्ड बनाइ जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । पत्रु कायम हुने ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्य रुपमा विद्युतीय हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनको २० वर्षमा पत्रु कायम हुने र अनिवार्य लगत कट्टा गर्नुपर्ने व्यवस्था सङ्घीय ऐनमा छ । गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनको हकमा २५ वर्षमा अनिवार्य लगतकट्टा गरेपछि मात्रै अर्को दर्ता हुने र बाहिर दर्ता भएकाको हकमा २५ वर्ष पुगेका सवारीसाधनलाई चल्न नदिने नीति अपनाइने प्रवक्ता पौडेलले बताए । ‘राइड सेयरिङ’लाई वैधानिकता निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले ‘राइड सेयरिङ’ एपमार्फत दिने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउन कानुनी बाटो नियमावलीले खुलाएको छ । नियमावलीको दफा १३ मा उल्लेख भएको निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङग्रे तथा दुईपाङग्रे सवारीसाधनले आवश्यक प्रक्रिया पूरा गरी तोकिएका भाडामा यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड बनाउने तयारी गरिएको प्रवत्ता पौडेलले बताए । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’ यात्रुमाझ लोकप्रिय बन्दै गएपनि नियमन गर्न र वैधानिक बनाउन कानुनको अभाव थियो । नेपालमा पठाओ, टुटल, इनड्राइभ, सहारा, सजिलो, ट्याक्सीमान्डू, क्याब ट्याक्सीलगायत ‘राइड सेयरिङ’ एप सञ्चालनमा छन् । सार्वजनिक सवारीसाधन दर्ताका लागि कम्पनी अनिवार्य नहुने गण्डकीमा कम्पनीमा नगइ पनि व्यक्तिले सार्वजनिक सवारीसाधन चलाउन पाउने भएका छन् । यातायात व्यवसायीले समितिको नाममा एकाधिकार जमाएको भन्दै सरकारले त्यही ऐनको दफालाई टेकेर कम्पनीमा जाने व्यवस्था गरेको थियो । समितिहरुले हाल कम्पनीमार्फत चक्रीय प्रणाली ९आलोपालो० कायमै राखेका छन् । व्यक्तिले मार्गको इजाजत लिन कम्पनीकै सिफारिस लिनुपर्ने व्यवस्थालाई नियमावलीबाट हटाइएको छ । कम्पनीमा जानैपर्ने व्यवस्थाका कारण चर्को मूल्य लिएर ‘रुट’ बिक्री र सिफारिस गर्ने गुनासो यातायात व्यवसायीहरुले गरेका थिए । “सवारी धनीले सार्वजनिक सवारी सञ्चालन गर्न कम्पनीमा आबद्ध नभइकन यातायात कार्यालयमा सवारीसाधन पञ्जिकृत गरी आएमा माग बमोजिमको मार्ग इजाजत जारी गर्न सकिनेछू, नियमावलीमा उल्लेख गरिएको छ । व्यक्तिले स्वतन्त्र रुपमा एक/दुई वटा सावारीसाधन किनेर सार्वजनिक यातायातका रुपमा सञ्चालन गर्न पाउने भएका हुन् । नवीकरणका क्रममा अनिवार्य राजस्व यातायात कार्यालयमा एकै आर्थिक वर्षमा कर तिर्न र नवीकरण गर्न दुई पटक धाउनुपर्ने व्यवस्थाका कारण सेवाग्राहीलाई भएको सास्ती नियमावलीले हटाएको छ । नवीकरण र राजश्व तिर्न दुई पटक आउने सेवाग्राहीलाई भएको झञ्झट र कार्यालयको भिड हटाउन सवारीसाधन नवीकरण गर्दा नै अनिवार्य रुपमा त्यो वर्षको राजश्व तिर्नुपर्ने व्यवस्था ल्याइएको छ । सवारीसाधनको नामसारी गर्दा अनिवार्य रुपमा नागरिकता नै चाहिने व्यवस्था भएकामा नियमावलीले अब राज्यका निकायबाट जारी भएका अन्य परिचयपत्रबाट पनि नामसारी हुने सुविधा दिइएको छ । सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र दिँदा अन्य प्राविधिक परीक्षणका अतिरिक्त अनिवार्य रुपमा प्रदुषण चेकजाँच पनि गर्नुपर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहमा विद्युतीय माध्यमको प्रयोग सङ्घीय सरकारको सरकारी कार्यालय तथा यातायात क्षेत्रका अभिलेखलाई विद्युतीय माध्यममा लैजाने नीतिअनुसार गण्डकी प्रदेशको यातायात कार्यालयका सेवालाई छिटो छरितो बनाउन विद्युतीय माध्यमको प्रयोग गर्न नियमावलीमा आवश्यक नीतिगत व्यवस्था गरिएको छ । यातायात कार्यालयमार्फत कागजातका आधारमा प्रवाह हुने सबै सेवाहरु क्रमशः कागजविहीन सेवाका रुपमा रुपान्तरण गर्दै डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने नियमावलीमा उल्लेख गरिएको छ । मिटरमा नचल्ने ट्याक्सीको जरिवाना बढाइयो मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई रु दुई हजारबाट बढाएर रु १० हजार पुर्‍याइएकामा ६ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था नियमावलीले गरेको प्रवक्ता पौडेलले बताए । हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएको थियो । अबदेखि जरिवानाको न्यूनतम दर रु १० हजार पुर्‍याउने र छ महिनासम्म मार्ग इजाजत रद्ध गर्ने नियम बनाइएको हो । पोखराका यातायात व्यवसायीसँग भएको छलफलपछि मन्त्रालयले गत गत भदौ १ गतेदेखि ट्याक्सी मिटर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो । ट्याक्सी व्यवसायीले मिटरमा उठे बराबरको भाडा लिएर यात्रु बोक्ने पटक–पटकको प्रतिबद्धता कार्यान्वयन नगरेपछि मन्त्रालयले नियम थप कसिलो बनाएको हो । हाल पोखरामा दुई हजार पाँच सयसहित गण्डकी प्रदेशभर करिब तीन हजार पाँच सय ट्याक्सी सञ्चालनमा छन् । रासस

फेसबुकको सेयर मूल्यमा उछाल, एकैदिन झन्डै २ खर्ब डलरले बढ्यो

एजेन्सी। शुक्रबार फेसबुकको मुख्य कम्पनी मेटाको सेयर बजार मूल्यमा उछाल आएकाे छ । शुक्रबार एकैदिन मेटाको सेयर बजार मूल्यमा १९६ अर्ब डलर अर्थात् २०‍.३ प्रतिशतले वृद्धि भएको हाे । यो सेयर उछालसँगै मेटा कम्पनीको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । यो अमेरिकी सेयर बजारको इतिहासमा कुनै पनि कम्पनीले गरेको सबैभन्दा ठूलो एकदिवसीय नाफा हो । योसँगै मेटा विश्वकै सातौं मूल्यवान कम्पनी बन्न पुगेको छ । मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यहरूको चौथो स्थानमा उक्लिएका छन् । शुक्रबार कारोबारका क्रममा प्रतिसेयर ४८५ डलरसम्म पुगेको मेटाको सेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलर रहेको थियो । ३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड–१९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यतिबेला मेटाको सेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो । आइतबारमात्रै फेसबुक स्थापनाको झन्डै २० वर्ष पुगेको छ । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरूमा बढ्दो सफल प्रयोग, एक्सलगायत प्रतिस्पर्धी कम्पनीहरूको विज्ञापन बजारमा थपिँदो समस्यालगायतका कारण मेटाको सफलता बढेको अनुमान गरिएको छ । वर्ष २०२२ मा झन्डै ६५ प्रतिशतले बजार मूल्यको मेटाले वर्ष २०२३ भरिमा आफ्नो मूल्य झन्डै १८५ प्रतिशतले बढाउन सफल भएको छ ।

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

नवलपरासी । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।  उनको पाखुरामा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ । रासस

होटलमा बोलाएर प्रहरी जवानले श्रीमती र छोराको गरे हत्या

घोराही । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । नेपालगञ्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मल्लले बताए । नेपालीको घर रुन्टिगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर खाएको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढीमा देखिन्छ क्यान्सर

काठमाडौं । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । २०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए । नेपालमा प्रत्येक वर्ष करिव २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको उनले जानकारी दिए । २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सहरु रहेका छन् । अहिले २० हजार नयाँ केसको डिटेक्शन भएको र १६ हजार मृत्यु भएको उनले बताए । पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरु बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ । अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । एक तिहाई कारक तत्वहरुमाध्ये सुर्तिजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ ।

पायोनियर कम्पनीका युवा सीईओ, ‘डिजिटल रुपान्तरण नै आइएमईको लक्ष्य’

  काठमाडौं । नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो आइएमई लिमिटेड । र, देश विदेशमा सबैभन्दा ठूलो नेटवर्क भएको, सबैभन्दा धेरै सेवाग्राही भएको, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको छ आइएमई । प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मेवारीमा यस कम्पनीको नेतृत्व गरिरहेका छन् खिलेन्द्र पौडेलले । उनले यो पद सम्हालेका २ वर्ष पुरा हुनै लाग्यो तर उनी यो कम्पनीमा आवद्ध भएको २ दशक नाघिसक्यो । दुई दशकदेखिको निरन्तरता खिलेन्द्र पौडेल भर्खरै ३९ वर्षका भए । उनी ३५ वर्षको उमेरमा कम्पनीको महाप्रबन्धक भएका थिए । सन् २००४ मा उनी आइएमई प्रवेश गरेका थिए । कम्पनीमा धेरै वर्ष वरिष्ठ प्रबन्धक, ४ वर्ष महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । यही क्रममा उनले स्मार्ट च्वाइस टेक्नोलोजी, आइएमई इन्डिया प्रा.लि., सनी सेक्युरिटीज, आइएमई डिजिटल जस्ता कम्पनीहरुमा बोर्ड अफ डाइरेक्टर भएर पनि काम गरिरहेका छन् । त्रिभुवन विश्व विद्यालयबाट फाइनान्समा स्नातकोत्तर गरेका पौडेलले हार्वर्ड केनेडी स्कूल, इन्डियन इस्टिच्यूट अफ म्यानेजमेन्ट अहमदावाद, ब्रिटिस काउन्सिल लगायत अब्बल शैक्षिक संस्थाहरुबाट प्रोफेशनल स्कील डेपलपमेन्ट ट्रेनिङहरु प्राप्त गरेका छन् । अध्ययन, तालिमसँगै उनी देश विदेश घुम्न औधी रुचाउँछन् । ‘नेपालका धेरै ठाउँमा पुगेको छु । २५ भन्दा बढी देशहरुमा कामकै सिलसिलामा बारम्बार पुग्ने र विदेशमै बसेर कामको अनुभव लिने मौका पाएको छु’ उनी भन्छन्- किताबी अध्ययन र समाजको अध्ययनले मान्छेलाई कुनै पनि विषयमा छिटो बुझ्न मद्दत गर्छ, साथै सिर्जनशील पनि बनाउँछ ।’ पायोनियर कम्पनी आइएमई नेपालको रेमिट्यान्स क्षेत्रको पायोनियर कम्पनी हो । शुरुवाती दिनदेखि नै आइएमई देशकै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी पनि बन्न सफल भएको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने औपचारिक माध्यमबाट नेपाल भित्रिने कूल रेमिट्यान्सको २२/२३ प्रतिशतको बजार हिस्सा आइएमईले ओगटेको छ । त्यतिमात्र हैन रेमिट्यान्स कम्पनीहरू मध्येबाट सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा पनि आइएमई लगातार सम्मानित हुँदै आएको छ । रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने आइएमईको लक्ष्य अनुसार नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्दै ७७ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखाहरु सहित ३५००० बढी एजेण्ट तथा सब-एजेण्टहरुका साथै २२५ भन्दा बढी आइएमई सेन्टरहरु मार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । दैनिक ७० हजारभन्दा धेरै नेपाली सेवाग्राहीहरुले आइएमईको सेवा लिइरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल बताउँछन् । अन्तर्राष्ट्रिय साझेदारहरुसँगको सहकार्य मार्फत परम्परागत रेमिटेन्स कोरिडोरहरू लगायत संसारभरका अधिकांश श्रम गन्तव्यहरुबाट आइएमईले सेवा दिइरहेको उनले बताए । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई सञ्चालनमा आएको २३ वर्ष भएको छ । कम्पनी पुरानो भए पनि प्रविधिको प्रयोगमा अगाडि नै रहेको छ । ‘प्रविधिको बढ्दो प्रयोगलाई हामीले पनि आत्मसात गर्दै अघि बढिरहेका छौं । डिजिटल रेमिटेन्सको प्रवर्द्धनलाई नै हामीले अबको कार्यदिशा बनाएका छौं’ प्रमुख कार्यकारी अधिकृत पौडेल भन्छन्- ‘सोही प्रयास स्वरुप हामीले आइएमई पे मोबाइल वालेटलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरिरहेका छौं । अब सेवाग्राहीले आफु बसेकै स्थानबाट रियल टाइममा रेमिटेन्स पठाउन र प्राप्त गर्न सक्नु हुनेछ । यसबाट रेमिटेन्स पठाउन तथा प्राप्त गर्न मात्र हैन, डिजिटल भुक्तानी सम्बन्धी अन्य कारोबार गर्न पनि सहज हुने हामीले विश्वास लिएका छौं ।’ नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो आइएमई लिमिटेड । र, देश विदेशमा सबैभन्दा ठूलो नेटवर्क भएको, सबैभन्दा धेरै सेवाग्राही भएको, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित यस कम्पनीको नेतृत्व गरिरहेका छन् ३९ वर्षिय खिलेन्द्र पौडेलले । आइएमईले रेमिट्यान्सको आप्रवाहलाई सहज बनाउन, नागरिकमा वित्तीय पहुँच विस्तार गर्न, आफ्ना सेवाहरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाँउदै सुरक्षित र सहज सेवा विस्तारमा निरन्तर काम गरिरहेको छ । केही समय यता रेमिट्यान्स क्षेत्रमा पनि नयाँ नयाँ प्रयोगहरु भइरहेका छन् । खासगरि डिजिटल रूपान्तरण र पहुँचमा धेरै विकास भइसकेको छ । यसले केही अवसर र केही चुनौतीहरु सिर्जना गरेको छ । ‘प्रविधिको प्रयोगले हाम्रो जीवनशैलीमा ठूलै परिवर्तन ल्याइरहेको छ । ग्राहकको रोजाई, आवश्यकता तथा बजारको डाइनामिक्स परिवर्तन भइरहेको छ । समग्रमा, रेमिट्यान्स सेवा नयाँ चरणको रूपान्तरणको अवस्थामा छ । त्यसैले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजानु आजको आवश्यकता नै हो’ पौडेल आफ्नो भूमिकामा स्पष्ट छन् र भन्छन्- ‘हामीले पनि सोही अनुरुपनै काम गरिरहेका छौं । डिजिटल रूपान्तरण र फिनटेकको विकास र प्रयोगले रेमिट्यान्स सेवालाई कम खर्चिलो, सुरक्षित एवम् रियल टाइम बनाएको छ जसका कारण रकम पठाउन र प्राप्त गर्न निकै नै सहज भएको छ । लागत न्यूनिकरण भइरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । प्रविधिको प्रयोगकै कारणले धेरैभन्दा धेरै मानिसहरुमा बैंकिङ प्रणालीको सहज पहुँच पुग्न सकेको हो भन्ने लाग्छ ।’ प्रविधिको प्रयोगमा अवसरहरु सँगसँगै प्रशस्त चुनौतीहरु पनि उनले केलाइरहेका छन् । काविल व्यवस्थापकको महत्वपूर्ण जिम्मेवारी हो चुनौतिहरुको पहिचान गर्नु र सामनाको लागि तयार हुनु । उनी भन्छन्- ‘सुरक्षा तथा डेटा प्राइभेसी, अनाधिकृत पहुँच आदि प्रमुख चुनौती हुन जस्तो लाग्छ । त्यसैगरी नयाँ तथा स्थान अनुसारका फरक फरक नियमहरूको पालना, विनिमय दरको उतारचढाव र वित्तीय समावेशीकरणको सुनिश्चितता आदि पनि चुनौतीपूर्ण रहेका छन् । यद्यपि नियमन र प्रतिस्पर्धी मूल्य निर्धारणलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिले उपलब्ध गराएका सुविधाहरूलाई प्रभावकारी रूपमा नेभिगेट गर्न सकियो भने रेमिट्यान्स कम्पनीहरूको लागि पर्याप्त अवसरहरु उपलब्ध हुन्छन् भन्ने लाग्छ ।’ पूर्ण सुरक्षित, पूर्व बैधानिक कारोबारमा जोड रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता भएको र सोही अनुसार सुरक्षामा आवश्यक सम्पुर्ण उपकरणहरुलाई सिस्टममा इन्टिग्रेट गरिएको उनले बताए । ‘हामी कम्प्लाइन्समा कहिल्यै पनि कम्प्रमाइज गर्दैनौं । केन्द्रीय बैङ्क र नेपाल सरकारको नीति बाहेक कुनै पनि काम गर्दैनौं’ उनी भन्छन्- ‘हामी विश्वमा आएका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं । हाम्रो आफ्नै आईटी टीम छ, आफ्नै सिस्टम छ । त्यस्तै, हामीले इन्टरनेशनल कम्प्लाइन्स सिस्टम चलाउँछौं जुन नेपालका बैङ्कहरुले पनि चलाउँछन् । दुरुस्त तथा अपडेटेड केवाईसी प्रक्रियाहरू, एएमएल नियमनको पूर्ण पालना, प्रतिबन्धहरू स्क्रिनिङ गर्ने, नियमितरुपमा कम्प्लायन्स अडिट, डाटा इन्क्रिप्सन र सुरक्षा प्रोटोकलहरू समावेश गरिएका छन् ।' रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता हो । हामी विश्वमा आएका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं । ग्राहकको डाटा सुरक्षामा अत्यन्तै सचेत छौं । र, केन्द्रीय बैङ्क र नेपाल सरकारको नीति बाहेक कुनै पनि काम गर्दैनौं । नियामक निकायले दिने निर्देशनहरूलाई सधैँ उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने, कर्मचारीहरूलाई निरन्तररुपमा तालिम उपलब्ध गराउने, सेवाग्राहीहरूलाई पनि नयाँ नयाँ आउने नियमहरुको बारेमा सुसूचित गराउने तथा चुस्त सेवा, निरन्तर अनुगमन र सुरक्षाप्रतिको प्रतिबद्धताले नै आइएमईलाई देशकै नम्बर वान कम्पनी बन्न र निरन्तर नम्बर वानको ताज जोगाई राख्न सफल भएको उनी बताउँछन् । डिजिटल रुपान्तरण रेमिट्यान्स सेवामा सेवाग्राहीको प्राथमिकतामा उल्लेखनीय परिवर्तन भइरहेको देखिन्छ । डिजिटल च्यानलहरू लोकप्रिय भइरहेका छन् । डिजिटल प्रविधिको विकास, प्रयोग तथा प्रतिस्पर्धाले लागतलाई अझ कम गरिरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । पारदर्शी तथा प्रतिस्पर्धी शुल्क निर्धारण हुने भएका कारण सेवाग्राहीहरूलाई कम लागतमै रेमिट्यान्स पठाउने तथा प्राप्त गर्ने अवस्था सृजना भएको छ । ‘डिजिटल रुपान्तरणकै कारण दुरदराजसम्म पनि वित्तीय पहुँच विस्तार भएको छ भने वित्तीय समावेशीकरणमा समेत उल्लेखनीय योगदान पुगेको हामी देख्न सक्छौं’ सीईओ पौडेलले भने । नयाँ रणनीति आइएमईको नेतृत्वले विगतको ट्रयाक रेकर्डलाई ध्यानमा राख्दै, उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलताका रणनीतिहरू बनाएको छ । उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलता यसका सेवाग्राहीहरूले प्राप्त गरेको सेवा र त्यसले दिएको सन्तुष्टिमा निर्भर रहँदै आएको छ । वित्तीय क्षेत्रमा उपलब्ध प्रविधिलाई सकेसम्म छिटो ग्रहण गर्ने तथा पहुँच विस्तार गर्न रणनीतिक साझेदारीमा ध्यान दिएको छ । प्रतिस्पर्धी मूल्य निर्धारण, विश्वव्यापी नेटवर्क र समय सापेक्ष हाम्रा सेवाहरूमा गरिने सुधार तथा अपडेटहरूले आइएमईलाई सधैँ विश्वासिलो र भरपर्दो रेमिट्यान्स कम्पनीको रुपमा स्थापित गरेको छ । ‘हामी प्रोफिट मोटिभ मात्र नभएर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आइरहेका छौं । अभिभावकबिहीन बालबालिकालाई शिक्षा, विभिन्न दैवी तथा प्राकृतिक प्रकोपका बेलामा उपलब्ध गराइने सहयोग लगायतका अन्य सामाजिक कार्यमा भएको संलग्नताले हामीलाई समस्त ग्राहकहरुको सामीप्यतामा ल्याएको छ र अरुभन्दा फरक पहिचान बनाउन मद्दत गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने । छिट्टै सेयर निष्काशन शुरुमा प्राइभेट लिमिटेड स्वरुपमा सञ्चालनमा आएको आइएमई कम्पनी ठूलो हुँदै गर्दा पब्लिक कम्पनीमा रुपान्तरित भयो । आइएमईले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्दै छ । ‘आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेका छौं । अब सेबोनबाट अनुमति प्राप्त गर्ने बित्तिकै सेयर निष्कासन गर्नेछौं,’ उनले भने ।   प्रविधि र शैलीमा परिवर्तन प्रविधिको विकाससँगै रेमिट्यान्स सेवामा पनि धेरै परिवर्तनहरु देखापरिरहेका छन् । वित्तीय कारोबारको परम्परागत शैली परिवर्तन भएका छन् । डिजिटाइजेसनको प्रभाव समग्र प्रणालीमा नै परेको छ । यसै सन्दर्भमा संसारभरमा विकास भएका अत्याधुनिक प्रविधिलाई एडप्ट गर्दै अनलाइन र मोबाइल प्लेटफर्महरूलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ । रेमिट्यान्स पठाउने र प्राप्त गर्ने सहज र सुरक्षित तरिका प्रदान गर्ने कार्यमा नेतृत्वदायी भूमिका आइएमईले खेल्नेछ । नियामक मापदण्डहरूको पालना गर्दै छिटो र कम लागतमा क्रस-बोर्डर मनि ट्रान्सफर सेवा प्रदान गर्न प्रतिबद्ध छौं । आगामी दिनमा वित्तीय पहुँच विस्तारमा स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै, सेवा नपुगेका र दुर्गम क्षेत्रहरूमा हाम्रा सेवाहरू अझ प्रभावकारी ढंगले विस्तार गर्ने लक्ष्य राखेका छौं । पछिल्लो समय युरोप अमेरिकालगायतका धेरै देशहरु नेपालीहरूको श्रम तथा बसोबासको गन्तव्य बनिरहेको छ । यस्ता श्रम स्वीकृति प्राप्त भएका नयाँ गन्तव्य मुलुकहरुमा पनि सहज सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौं । समग्रमा सुरक्षित तथा गुणस्तरीय सेवा, पारदर्शी लागत, रियलटाइम कारोबार तथा रेमिट्यान्स सेवाको डिजिटल रुपान्तरण नै आइएमईको आगामी लक्ष्य तथा कार्यदिशा हुनेछन् । (देशविकासबाट)  बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’  शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’ पैसा गौण, काम सर्वोपरि अग्रणी चिकित्सक, अब्बल व्यवस्थापक

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १९ गते शुक्रबार खरेन्द्रपुर शाखा, २० गते शनिवार मधुवन शाखा र २१ गते आइतबार औराही शाखामा कार्यक्रम सम्पन्न गरेको हो । व्यापार व्यवसायमा संलग्न व्यवसायीहरु र वचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधा तथा वित्तिय परामर्शको साथै फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्ने सम्वन्धी अन्तरक्रिया गर्दै व्यवसायीहरुसँँग अझ प्रगाढ सम्वन्ध बनाउन फाइनान्सले गर्नुपर्ने प्रयासलाई मुख्य विषय बनाइएको थियो । खरेन्द्रपुर शाखाबाट २० जना, मधुवन शाखाबाट १९ जना र औराही शाखाबाट २२ जना व्यवसायीहरुले आफ्नो सहभागीता जनाई संस्थाको निक्षेप, चल्ती र मुद्धती खाता, कर्जा वितरण तथा विद्युतीय बैकिंग सुविधाको जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तिय क्षेत्रमा आएका चुनौति, समस्या र समाधानका विषयमा छलफल भएको हो । साथै उक्त व्यवसायीहरुले व्यवसाय प्रवद्धर्नका लागि फाइनान्सको मुख्य भुमिका रहने बताए । समृद्धि फाइनान्स कम्पनीले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सनिबार कोहलपुरमा सम्पन्न भएको हो । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको थियो । सो कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । सभाध्यक्ष कार्यकारी निर्देशक डा.गोपाल दहित थिए । उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुख कर्मचारीहरु सहभागी थिए ।