६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी
काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । केही महिना पहिले हङकङबाट काठमाडौं ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्छन् । उनले भने, ‘नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो ।’ अमला तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धान निष्कर्ष छ । काठमाडौंको ठमेलस्थित होटेल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ । रासस
प्रतिनिधिसभाद्वारा सम्पत्ति शुद्धीकरण विधेयक पारित
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथि कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित छलफल भएको थियो । छलफलका क्रममा १८ जना सांसदले विधेयकमाथि विभिन्न सुझाव दिएका थिए। छलफलपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा विधेयकलाई निर्णयार्थ पेश गरेका थिए । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत् निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० मा संशोधन गरिएको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४, पारस्पारिक कानुनी सहायता ऐन २०७०, सङ्गठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९ मा संशोधन गर्न लागिएको छ । मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा पनि विधेयकमार्फत संशोधन गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक २०८० फागुन ६ गते बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने पनि सभामुख घिमिरेले बुधबारको बैठकमार्फत जानकारी गराए।
खाद्य व्यवस्था कार्यालयले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने
अछाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ । आज समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले कार्यालयबाट प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने जिल्ला खाद्य व्यवस्थापन समितिले निर्णय गरेको हो । हालसम्म प्रतिव्यक्ति २५ केजी बिक्री वितरण हुँदै आएकामा कम्पनीको प्रधान कार्यालय काठमाडौँबाट प्रतिव्यक्ति १० केजी मात्रै वितरण गर्ने भन्ने निर्देशन आएको प्रजिअ पोखरेलले बताए । ‘प्रतिव्यक्ति १० केजी मात्रै वितरण गर्दा समुदायको न्यूनतम आवश्यकता परिपूर्ति नहुने भएकाले यसअघि दिँदै आइएको प्रतिव्यक्ति २५ किलो वितरण गर्ने निर्णय गरेका छौँ’, उनले भने । प्रजिअ पोखरेलले अहिले प्रादेशिक कार्यालयबाट दुई सय क्विन्टल मोटा चामल प्राप्त भएको जानकारी दिए । कम्पनीको शाखा कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को लागि प्रादेशिक कार्यालय धनगढीदेखि शाखा कार्यालय अछामसम्म स्वीकृत भएको कोटा दुई हजार क्विन्टल भएको जनाउँदै हालसम्म एक हजार पाँच सय क्विन्टल मात्र प्राप्त भएको उनले बताए । ‘चालु आवमा मुख्य शाखा कार्यालय राजापुर बर्दियाबाट यस कार्यालयका लागि स्वीकृत कोटा एक हजार क्विन्टल रहेको छ । हालसम्म उक्त चामल प्राप्त नभएकाले उल्लेखित कोटा अनुसारको खाद्यान्न आपूर्तिका लागि सम्बन्धित कार्यालयमा माग गर्ने, तीन हजार क्विन्टल खाद्यान्नको कोटा थप गरी ढुवानीको व्यवस्थाका लागि कम्पनीको प्रधान कार्यालयमा अनुरोध गर्ने निर्णयसमेत गरेका छौँ’, प्रजिअ पोखरेलले भने । रासस
घरघरमा अण्डा पुर्याउन ठाउँठाउँमा डिपो, उपभोक्ताले सस्तोमा पाउने
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले उपभोक्ताको घरघरमा अण्डा पुर्याउन विभिन्न ठाउँमा डिपो सञ्चालनमा ल्याएको छ । आफ्नो उत्पादन र कृषकको फार्मबाट अण्डा सङ्कलन गरेर देशका विभिन्न सहरमा डिपोमार्फत अण्डा बिक्री गर्दै आएको हो । उद्योगले आजदेखि दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औँ डिपो हो । खोरबाट भान्सासम्म पुग्दा विभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई महँगो पर्ने हुँदा कम्पनीले सोझै उपभोक्तासम्म पुर्याउने अभियान सञ्चालन गरेको कम्पनीका प्रबन्ध निर्देशक विनोद पोखरेलले बताए । उनका अनुसार यसरी उपभोक्तासम्म पुर्याउँदा अण्डा ताजा र सस्तोमा उपभोग गर्न पाउछन् । आफ्नो उत्पादन र सङ्कलन भएको अण्डा डिपोमार्फत छिटो, छरितो र सर्वसुलभ रुपमा उपभोक्तामाझ पुर्याउन विभिन्न सहरमा डिपो सञ्चालनमा ल्याइएको पोखरेलले जानकारी दिए । उत्पादक र उपभोक्ताबीच प्रत्यक्षरुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरिएको उनको भनाइ थियो । देशभर कम्तीमा ३० डिपो पुर्याउने लक्ष्य रहेको पोखरेलले बताए । उनका अनुसार डिपो नभएका सहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पुर्याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि अण्डा केही सस्तो र ताजा हुने उद्योगले जनाएको छ । सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार पेटी (दुई लाख दश हजार गोटा) अण्डा उत्पादन हुँदै आएको छ । कम्पनीले पाँच सय पेटी (एक लाख पाँच हजार गोटा) अण्डा किसानबाट दैनिक सङ्कलन गर्ने गरेको छ । उद्योगका निर्देशक विपीन पोखरेलका अनुसार देशका प्रमुख सहरमा डिपो सञ्चालनमा ल्याइसकिएको छ भने अन्य सहरमा विस्तारको क्रम जारी छ । डिपो सञ्चालन नभएका ठाउँमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको छ । यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेरीनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ । चरिकोट डिपोको उद्योगका कार्यकारी निर्देशक पोखरेलले आज विधिपूर्वक पूजा गरेर उद्घाटन गरेका छन् । सो अवसरमा भीमेश्वर नगरपालिका–३ का अध्यक्ष हरिशरण सिवाकोटी, दोलखा वितरक सप्लायर्स सङ्घका अध्यक्ष राजकुमार खड्कालगायतको उपस्थिति थियो । रासस
उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली
लिस्बन । पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन् । गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजो पिँगो दोस भन्ने स्थानमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई तीव्रगतिमा आएको कारले एक्कासी ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उहाँको दाहिने हात र देब्रे हिप भाँचिएको छ । दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ । कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको अनुहारमा समेत चोट लागेको छ । हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ । सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ । दुर्घटनापश्चात् प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पुर्याइएको थियो भने कार चालक फरार भएका थिए । उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित मोक्तानलेसँग दुःखेसो पोखिन् । खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी घरमै आराम गर्नु भनी अस्पतालले जबर्जस्ती डिस्चार्ज गरेको उनले बताइन् । रोजगारदाता मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि विक्षिप्त बनेकी मोक्तानले उपचारका लागि सहयोगको याचनासमेत गरेकी छन् । ‘उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु । न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु । विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन । उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ’, पीडा सुनाउँदै मोक्तानले भनिन् । दुर्घटनामा परी बाँचेपनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन् । दुर्घटनाका कारण विक्षिप्त बनेकी उनी आफ्नो औषधोपचारका लागि सबैसँग हारगुहार गरिरहेकी छिन् । मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत थिए । भाँचिएको खुट्टाको उपचार नै नगरी जबर्जस्ती डिस्चार्ज गरी घर पठाउँदा उनको अवस्था झन् नाजुक बन्दै गएको उनीसँगै बस्ने साथी प्रतिज्ञा बानियाँले बताइन् । ‘सुस्मिताको उठ्न, चल्न सक्ने अवस्था छैन । ओछ्यानमा थला परेकी छिन्, रेखदेख गर्ने कोही छैन । उनको त बिजोग नै भएको छ’, सहयोगको आशा राख्दै बानियाँले भनिन् । मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको छ । मोक्तानको उपचारका लागि विभिन्न माध्यममार्फत पहल भइरहेको यहाँ कार्यरत नेपाली पत्रकार प्रबल भट्टराईले बताए । पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताए । उनको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग सङ्कलन अभियानसमेत सञ्चालन गरिएको उनले सुनाए । अस्पतालले डिस्चार्ज गरेपछि उनी कम्पनीले कामदार राख्दै आएको एक आवासगृहमा साथीहरूसँग बस्दै आएकी छिन् । नेपाल नगएको चार वर्ष भएको बताएकी मोक्तानको आठ वर्षीय छोरा र श्रीमान् नेपालमा रहेको जनाइएको छ । मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उनको उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए । पीडित मोक्तानलाई गत जनवरी ३० मा अस्पतालले डिस्चार्ज गरी घर पठाएको थियोे । रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आएकी उनी दुई वर्षअघि पोर्चुगल आएको जनाइएको छ । साइप्रसमा रोजगारीका लागि आएका नेपालीको यकिन तथ्याङ्क नभए पनि करिब ७० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि आएको महावाणिज्य दूतावासले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि पोर्चुगल आकर्षक गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । यससँगै त्यहाँ नेपाली पीडित पनि हुन थालेका छन् । रासस
मुग्लिन-पोखरा सडक विस्तारका लागि बजारका घर भत्काउन आग्रह
दमौली । तनहुँको व्यास नगरपालिकाले मुग्लिन-पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह गरेको हो । नगर कार्यपालिकाको बैठकले बजार क्षेत्रका संरचना भत्काएर राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेको प्रवक्ता जीवन गुरुङले बताए । मुख्यबजार क्षेत्रका संरचना नहटाइदिँदा काममा ढिला भएको उल्लेख गर्दै उनले भने, ‘डुम्रे, छिर्कनेलगायत ठाउँमा संरचना भत्काएर काम अगाडि बढिसकेको छ, तर दमौलीमा संरचना हटाउन ढिलाइ भएकाले नगरवासीलाई पुनः एकपटक संरचना हटाएर बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेका हौँ ।’ मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायत ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको छ । बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ तर व्यास नगरपालिका खण्डमा भने कामले गति लिन सकिरहेको छैन । दमौली बजारका ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेका छन् । घर भत्काइसकेपछि दोस्रो किस्ताबापतको रकम भुक्तानी गरिने उक्त सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार क्षेत्रको घर भत्काउँदा करिब छ करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गरिनेछ । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्मे सडक हुँदा यात्रामा असहज हुने गरेकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहज हुने भएको छ । पूर्वी खण्डअन्तर्गत दमौलीको मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको कामसमेत सुरु भएको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि सो पुल बनाउन लागिएको हो । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । रासस
एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई बाँडफाँड
काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँड भएको छ । आवेदन दिएका ३९ हजार २७१ जना आवेदकहरुलाई माग बमोजिम नै सेयर बाँडफाँड गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार उक्त इकाईको बाँडफाँड बुधबार काठमाडौंको लाजिम्पाटस्थित रहेको क्यापिटलको केन्द्रिय कार्यालयमा भएकाे हाे । क्यापिटलले बीज पुँजी सहित कुल १० करोड इकाईहरु माग २ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो । यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुला गरेको थियो । साथै, ३९ हजार २७१ जना सर्वसाधारण आवेदकहरुले मागभन्दा बढी आवेदन दिएपछि योजनाको आकार बढाएर मागअनुसार बाँडफाँट गरिएको एनआइबिएलले जनाएको छ । सर्वसाधारणले ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि आवेदन दिएका थिए । यससँगै, योजनाको आकार १ अर्ब १३ करोड रुपैयाँ अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको छ ।
अब व्यवसाय गर्न घरजग्गा धितो राख्न नपर्ने, राष्ट्रिय वाणिज्य बैंकले बिनाधितो २५ लाख ऋण दिने
काठमाडौं । अहिलेसम्म तपाईं हामीले सुन्दै आएको शब्द ‘धितो’ भनेको कुनै निश्चित वस्तुलाई उचित मूल्यांकनसहित बैंक तथा वित्तीय संस्थामा राख्नु हो । सो वस्तुलाई बैंकमा राखेर ऋणीले ऋण लिन्छ र ऋण तिर्न नसकेमा ऋणदाताले सो वस्तुलाई लिलाम गरेर ऋण असुल्छ । त्यो वस्तु सुन होस्, घरजग्गा होस्, सेयर होस् वा कुनै अन्य वस्तु नै । हामी यिनै वस्तुलाई धितोका रुपमा बैंकमा राखेर कर्जा लिन्छौं । तर, अब तपाईं हामीमा भएको ‘आइडिया’लाई पनि धितोमा राख्न पाइने भएको छ । यदि तपाईंसँग कुनै नयाँ आइडिया छ भने त्यो आइडियालाई बैंकमा धितोका रुपमा राखेर बैंकबाट २५ लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ । त्यो सुविधा पाइनेछ राष्ट्रिय वाणिज्य बैंकबाट । राष्ट्रिय वाणिज्य बैंकले अब ‘स्टार्टअप’ कर्जा दिने अन्तगर्त २५ लाख रुपैयाँ ऋण दिलने भएको हो । अबदेखि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्ट अप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको हो । बुधबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना÷व्यवसाय विस्तार र दीगो सञ्चालन गर्नका लागि स्टार्टअप कर्जा दिइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार बैंकिङ प्रक्रियामार्फत स्टार्टअप उद्यम कर्जा दिने समझदारीमा उल्लेख छ । कर्जा लगानीको लागि वित्तीय स्रोतअन्तर्गत कर्जाको लागि वित्तीय स्रोत समझदारीपत्र अनुसारको स्टार्टअप उद्यम कर्जा प्रदान गर्न र निक्षेप तथा कर्जा सुरक्षणका लागि प्रतिष्ठानले बैंकलाई कर्जा सुरक्षणका लागि हाललाई २४ करोड २५ लाख रकम उपलब्ध गराउने उल्लेख छ । कर्जाको सेवा शुल्क र ब्याजदर सेवा शुल्क र कार्यविधबमोजिम हुनेछ । कार्यविधिअनुसार तीन प्रतिशत ब्याज तोकिन सक्ने व्यवस्था छ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोका रूपमा राख्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बिमा उद्यमी आफैंले गर्नु पर्नेछ । कुनै उद्यमीले किस्ता अवधिअगावै कर्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क लाग्ने छैन । तोकिएको भाखाभित्र कर्जाको साँवा र ब्याज भुक्तान नगरेमा बैंकले खराब कर्जामा गणना गरी चुक्ता गर्न बाँकी रकम असुल उपर गर्नेछ । समझदारी पत्रका अनुसार बैंकले कृषि तथा पशुपन्छीसँग सम्बन्धित, वन पैदावारसँग सम्बन्धित, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित, मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित, अटोमोबाइल सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित,खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिन सकिनेछ । चालु आवको बजेटमा सुरुवाती चरणमा देशभर रहेका १०० स्टार्टअपलाई समेट्ने गरी बजेट विनियोजन गरिएको थियो ।