बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प छैन : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन् ।

बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए ।

श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताए । अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे । वाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गरे ।

‘अर्थतन्त्र बिस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसैले मलाई लाग्छ । बजेटलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ । रड, डन्डी, सिमेन्ट पनि बिक्री भयो । तर बनिसकेपछि त्यसले दुध दिन छोड्यो । आवश्यकता भन्दा ठूला संरचनाहरु अनुत्पादक र गैरप्राथमिकताको क्षेत्रमा खर्च भयो । अनि धेरै बहुवर्षिय घोषणाहरु भए । त्यसकारण यस्तो बेथितिबाट हाम्रो बजेटरी सिस्टम गएको थियो, त्यसलाई अनुशासनमा ल्याउने काम शुरु भएको छ । वाह्य क्षेत्र अत्यन्त सकारात्मक छन्, हिजो श्रीलंका हुन्छ के हुन्छ भन्थे’, उनले भने ।

अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरुले ऋण तिर्नुपर्ने बताए ।

केही मानिसहरु राजनैतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको टिप्पणी गरे । अहिले सहकारीको रुप नै नरहेको जिकिर गरे । अनुगमन नभएकै मौका उठाएर केही सञ्चालकहरुले दुरुपयोग गरेको बताए ।

अर्थमन्त्री महतले बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने बताए । ठूलो कारोबार गर्ने सहकारीहरुलाई राष्ट्र बैंकको मातहतमा ल्याइने बताए । सहकारी मर्ज गर्ने हो भने राष्ट्र बैंकको वित्तीय संस्थाको रुपमा जानुपर्ने जानकारी दिए ।

अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि सेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।

Share News