मन्त्री खुसुक्क फेर्नुपर्छ, मिडियालाई थाहा दिनुहुँदैन : माधवकुमार नेपाल
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गर्नुभएको हो । बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाई थियो । उनले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलहरुबीच विवादको विषय नबन्ने जिकिर समेत गरे । अध्यक्ष नेपालले भने, ‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन । कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन । अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला । आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरु । सबभन्दा पहिले त दावी त आउनु पर्यो । दाबी नै नभई फलाना कि फलाना किन भन्नु ? जब सहमतीबाटै भइसकेपछि त विवाद गर्ने विषयनै बन्दैन । यो अहिलेको विषय भनेको अहिलेमा देशमा प्रधानमन्त्री हुुनुहुन्छ । उहाँले संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउनुपर्ने छ । यस्तो बेलामा को-को प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ? त्यसो हुनाले प्रधानमन्त्री वा मन्त्री सकैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन । मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ, ठयाक्कै फेरी हाल्ने हो । मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन ।’ साथै, न्यायको निम्ति, अधिकारको निम्ति लड्नेहरुलाई कसैले पनि प्रतिवन्ध लगाउन नमिल्ने अध्यक्ष नेपालले बताए ।
झ्यामोलोङ्गमा हाइड्रोले सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
काठमाडौं । ३२ मेगावाट क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने भएको छ । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अकिंत दरको ५१ लाख कित्ता साधारण सेयर (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको लागि कम्पनीको तर्फबाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको उक्त हाइड्रोको जारी पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । झ्यामोलोङ्गमा हाइड्रोपावरले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।
तीन दशकमा ६ कम्पनीमा सीईओ : छिर्दा सेयरधनी, निस्कँदा ह्याण्डसम् मनी
काठमाडौं । वित्तीय क्षेत्रमा सबैले चिनेको नाम हो रमेश कुमार भट्टराई । ४ दशक बढी समय वित्तीय क्षेत्रमा बिताएका भट्टराईले फागुन १ गतेदेखि अवकाश लिँदैछन् । वि.सं. २०३९ बैशाख २ गते नेपाल बैंकमा जागिर सुरु गरेका उनी ४१ वर्षपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट बाहिरिन लागेका हुन् । उनी करिब ४२ वर्ष वित्तीय क्षेत्रमा सक्रिय भए । सो अवधिमा करिब २९ वर्ष उनी विभिन्न कम्पनीको प्रमुख कार्यकारी अधिकृत भए । नेपाल बैंक छोडेपछि उनी क्रमशः महालक्ष्मी फाइनान्स, नेपाल लाइफ, एशियन लाईफ, महालक्ष्मी विकास बैंक, महालक्ष्मी लाइफ इन्स्योरेन्स र अन्तिममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भए । नेपाल बैंकमा हुँदा उनी विशुद्ध जागिरे थिए । त्यसपछि उनी लगातार लगानीसहितको प्रमुख कार्यकारी अधिकृत भए । जहाँ जहाँ उनी प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिए त्यहाँ त्यहाँ उनले नियमित तलब सुविधा मात्र लिएर छोडेनन्, स्वेच्छिक अवकासको रुपमा ह्याण्डसम मनि पनि लिएर निस्के । सेयरबाट राम्रो मुनाफा पनि लिएर छोडे । पछिल्लो समय उनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । तर सञ्चालक समितिसँग खटपट र असहमति बढ्दै गएपछि ७ महिनामा जागिर छोडे । तर उनले यस कम्पनीबाट २० महिनाको तलब सुविधा लिए । साथै, कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई सुविधा स्वरुप दिएको गाडी पनि सँगै लगे । ‘प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज गराउन उहाँले राम्रै भूमिका खेल्नु भएको हो । त्यसैले मर्जपछि उहाँलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका थियौं । पछि असहमति बढ्दै गएपछि ह्याण्डसम मनिसहित अवकाश दियौं’ कम्पनीका एक सञ्चालकले भने । भट्टराईले मासिक ७ लाख रुपैयाँ तलब बुझ्थे । ७ लाखका दरले २० महिनाको कुल १ करोड ४० लाख रुपैयाँ र करिब ७० लाख रुपैयाँ पर्ने एउटा गाडी दिएर बिदा गरिएको स्रोतले बतायो । सञ्चालक समितिसँग असहमति पछि धेरै कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले सोझै राजीनामा दिन्छन् । त्यो त सोझो बाटो भयो । तर रमेश कुमार भट्टराईले यो बाटो रोजेनन् । उनले पद छोड्दा ह्याण्डसम मनिसहितको भीआरएस सुविधा लिएर मात्र छोडेका छन् । उनले नेपाल बैंकमा १३ वर्ष काम गरी राजीनामा दिए । वि.सं. २०५२ मंसिर १५ गते प्रबन्धकबाट राजीनामा दिँदा उनले २ लाख रुपैयाँ बुझेका थिए । नेपाल बैंक छोडेपछि उनी महालक्ष्मी फाइनान्सको प्रबन्ध सञ्चालक-कार्यकारी प्रमुख भए । राजीनामा स्वीकृत भएकै दिन महालक्ष्मी फाइनान्स सञ्चालनमा आएको थियो । यस फाइनान्समा भट्टराईले सेयर लगानी पनि गरेका थिए । नेपाल बैंकबाट भीआरएसबाट लिएको पैसा महालक्ष्मी फाइनान्समा लगानी गरेको भट्टराईले बताए । ‘म पैसालाल मान्छे थिइन । मेरो बुबा सामान्य नगरपालिकामा मुखिया/वैधवार हुनुहुन्थ्यो । त्यो बेलामा मासिक ४/५ सय तलब आउँथ्यो । घर धान्नै गाह्रो थियो । नेपाल बैंकको जागिरले मलाई घर धन्नै गाह्रो थियो । १३ वर्ष काम गरेर राजीनामा दिएकोले नेपाल बैंकबाट निस्कँदा मेरो हातमा २ लाख रुपैयाँ परेको थियो । त्यहि रकम मैले महालक्ष्मी फाइनान्सको संस्थापक सेयरमा लगानी गरेको हुँ । मेरो पहिलो लगानी पनि त्यहि हो ।’ महालक्ष्मी फाइनान्समा १० वर्ष कार्यकारी प्रमुख भएपछि रमेश भट्टराईले राजीनामा दिए । नेपाल लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत हुने निश्चित भएपछि उनले महालक्ष्मी फाइनान्स छोडेका थिए । महालक्ष्मी फाइनान्स छोड्दा उपदान, संचयकोष सबै गरेर २० लाख रुपैयाँ बुझेको उनी बताउँछन् । ‘म १० वर्ष महालक्ष्मी फाइनान्सको एमडी हुँदा हरेक वर्ष सेयरधनीलाई २० देखि ३३ प्रतिशत लाभांश खुवाएँ । मैले छोड्दा पनि सेयर बाहेक २० लाख रुपैयाँ लिएर निस्केको थिएँ’ उनले भने । महालक्ष्मी फाइनान्समा कार्यकारी प्रमुख हुँदै गर्दा भट्टराई नेपाल लाइफ इन्स्योरेन्समा सञ्चालक समिति सदस्य भएका थिए । भट्टराईको कार्यसम्पादन राम्रो देखेर नै उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने प्रस्ताव नेपाल लाइफले गर्यो । नेपाल लाइफले उनलाई प्रमुख कार्यकारी अधिकृत मात्र बनाएको थिएन, सस्तो मूल्यमा संस्थापक सेयर पनि दिलाए । नेपाल लाइफमा कति कित्ता सेयर लिएर प्रवेश गरेको भन्ने कुरा भट्टराईले खुलाएनन् तर नेपाल लाइफको सेयरबाट आफू लखपतिबाट करोडपति बनेको सुनाए । २०७७ चैतमा विकासन्युजसँगको कुराकानी गर्दा आफूसँग करिब २५ करोड रुपैयाँ बराबरको सेयर भएको र त्यसमा सबैभन्दा ठूलो योगदान नेपाल लाइफको सेयरबाट भएको उनले बताएका थिए । नेपाल लाइफमा २ वर्ष काम गरेपछि उनले एशियन लाइफ इन्स्योरेन्स खोले । एशियन लाइफमा संस्थापक सेयरधनीसहित प्रमुख कार्यकारी अधिकृत भए । पछि बीमा प्राधिकरणसँग उनको लफडा भयो । प्राधिकरणले निर्देशन पालना नगरेको भन्दै एशियन लाइफमाथि कारबाही गर्ने भएपछि उनी एशियन लाइफ इन्स्योरेन्सबाट बाहिरिए । एशियन लाइफ खोल्दा प्रतिकित्ता १०० रुपैयाँमा किनेको सेयर कम्पनी छोड्दा प्रतिकित्ता ६०० रुपैयाँमा बेचेर निस्किएको उनले बताए । उक्त कम्पनीमा ३० लाख रुपैयाँ लगानी गरेका भट्टराईले कम्पनी छोड्दा १ करोड ५० लाख रुपैयाँ पुँजीगत लाभ लिन सफल भएका थिए । त्यसपछि उनी दोस्रो पटक महालक्ष्मी फाइनान्समा प्रमुख कार्यकारी अधिकृत भए । विभिन्न कम्पनीको मर्जर तथा एक्विजिशन गराएर महालक्ष्मी फाइनान्सलाई विकास बैंक बनाए । मर्जलगत्तै उनी महालक्ष्मी विकास बैंकमा ४ वर्षको लागि सीईओमा नियुक्त भए । त्यहाँ पनि सञ्चालक समितिमा उनको खटपट भयो । सञ्चालक समितिले भट्टराईलाई छोडाउन खोज्यो । उनले भीआरएस मागे । ‘उहाँ बाँठो मान्छे हो, भीआरएस लिएर जानु भएको हो, कति रकम लिए भनेर तथ्याङ्क याद भएन’ उक्त बैंकका एक सञ्चालकले भने- ‘मर्जपछि भीआरएस लिएर जाने उहाँ एक्लै हो ।’ विकास बैंक पनि छाडेर रमेश भट्टराईले महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापना गरे । कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भए । यतिबेला प्रमुख कार्यकारी अधिकृतले संस्थापक सेयर लिन नपाउने नियम बनिसकेको थियो । उनले छोरीको नामबाट ६५ लाख रुपैयाँ लगानी गरे र संस्थापक सेयरधनीको स्थान पनि सुरक्षित गरे । महालक्ष्मी लाइफ मर्जपछि प्रभु महालक्ष्मी लाइफ भयो । सञ्चालक समितिसँग खटपटपछि उनी भीआरएस लिएर बाहिरिए । तर कम्पनीमा उनको लगानी यथावत रहेको छ ।
सीएनआई र बीभीएमडब्ल्यूबीच द्विपक्षीय व्यावसायिक सम्बन्ध विस्तार गर्ने समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बीभीएमडब्ल्यू) बीच दुई द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्यका लागि समझदारी भएको छ । उक्त समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरेका हुन् । यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए । उनले नेपाल र जर्मन एसएमइज् बीचको सहकार्यले दुबै राष्ट्रको विकासमा टेवा पुयाउने र समृद्धितर्फ डोयाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले यस सहकार्यले व्यावसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताए । उनले दुबै देशका साना तथा मझौला उद्योगहरूबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्न समेत यसले उल्लेख्य योगदान गर्ने बताए । बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसरहरू खोज्ने रहेको बताए । सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपक राज जोशी, सीएनआई वमन लिडरसिप फोरम सदस्य रिता भण्डारीलगायत सहभागी थिए ।
उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्छु : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले उद्योगी व्यवसायीको समस्याप्रति आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि आफूले सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘तपाईंहरुले उठाउनुभएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले खेलेको भूमिका महत्वपूर्ण छ, तपाईंको समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्नेछु’, उनले भने । महासङ्घका अध्यक्ष कुमार कार्कीले कोरोनाका कारण थलिएको व्यवसायलाई पुनःउत्थान गर्नका लागि कर्जाको ब्याजदर एक अङ्कमा घटाउनका लागि पहल गर्न आग्रह गरेका थिए । उनले भन्सार दरबन्दी घटाउनुपर्ने, युवालाई स्थानीय तहमा सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने, युवालाई कृषिजन्य उत्पादनमा जोड्नका लागि विशेष योजना ल्याउन सरकारसँग पहल गर्न राष्ट्रपतिसमक्ष आग्रह गरे । महासङ्घले किसानले उत्पादन गरेको सामग्रीलाई बजारसम्म लैजाने क्रममा ठाउँठाउँमा अनावश्यक कर तिरेर पाइरहेको दुःखको अन्त्य गर्नुपर्ने, व्यापारिक केन्द्रलाई व्यवस्थित बनाउनुपर्ने, रसुवाबाट केरुङ सामान ढुवानी गर्न जाने ट्रक र सामान लोड गर्ने मालधनी वा प्रतिनिधिलाई केरुङ जान रोक लगाउँदा व्यवसायीले समस्या भोग्नुपरको भन्दै यसको सहजीकणका लागि माग गरेको छ । यसैगरी, वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने, उद्योग व्यवसाय क्षेत्र फस्टाउने वातावरण निर्माण गर्न साना तथा मझौला एवं महिला तथा युवा उद्यमीलाई सहुलियत कर्जा कम्तीमा रु २५ लाखको व्यवस्था गर्नुपर्ने, देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि रुग्ण रहेको स्वदेशी उद्योगलाई स्वदेशी लगानी र जनशक्तिको प्रयोग गरी यथाशीघ्र सञ्चालन गर्न आग्रह गरेको छ । निजी क्षेत्रको मुद्दाका विषयमा नीति निर्माण तहमा रहेका सीमित संस्थाको ‘सिन्डिकेट’को अन्त्य गरी सबै क्षेत्रका उद्योगी व्यवसायी समावेश गरी एक उच्चस्तरीय समिति गठन गर्न राष्ट्रपतिसमक्ष महासङ्घले आग्रह गरेको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गर्दै आएकोमा लिलाम अवधि कम्तीमा छ महिना बनाउन र बैंक तथा वित्तीय क्षेत्रले गर्ने लगानीको कम्तीमा ५० प्रतिशत साना तथा मझौला व्यवसायीमा गर्न माग गरेको हो । भेटमा महासङ्घका पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।
इप्पानले हिमालयन हाइड्रो एक्स्पो गर्दै, विदेशी लगानी भित्रिने अपेक्षा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ को आयोजना गर्ने भएको छ । एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुने उक्त एक्स्पो आगामी बैशाख १२ गतेदेखि सञ्चालन हुनेछ । भृकुटीमण्डपमा आयोजना हुने उक्त प्रदर्शनी बैशाख १४ गतेसम्म सञ्चालन हुने बताइएको छ । चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागेको हो । इप्पानका अनुसार यो एक्स्पो सन् २०१७, २०१८ र सन् २०२२ पछिको चौथौ हो । इप्पानका अध्यक्ष गणेश कार्कीले देश ऊर्जा मय हुँदै गएको बताए । उनका अनुसार ऊर्जाको विकास साथै नयाँ आयोजनाको लागि लगानी जुटाउने एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने छ । ‘१० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता भइसकेको छ, आगामी सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण गरिसकेको अवस्थामा यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अपेक्षा लिएका छौं,’ उनले भने । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ । सरकारले नीतिगत सहयोग गरे नेपालबाट ३० हजार मेगावाट विद्युत निर्यात गर्न सकिने पनि कार्कीको भनाइ छ । इप्पानका अनुसार हरित पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रेलिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरू सहभागी हुने बताएको छ । एक्स्पो अवधिभर ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा इप्पानको छ । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डी लगायतका २०० भन्दा बढी स्टल रहने छन् । ती मध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने इप्पानले जानकारी दिएको छ । इप्पानका अनुसार एक्स्पोमा सहभागिताको लागि आजैबाट स्टल बुकिङ खुला गरिएको छ । हाल २९ सय मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र स्वलारसहित १७१ आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट ऊर्जा उत्पादन भैसकेको इप्पानले बताएको छ । यसै गरी ३३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता (पीपीए)भएर वित्तीय व्यवस्थापनको चरणमा छन् । करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा रहको इप्पानले बताएको छ ।
गिरीबन्धु टी स्टेट्सको जग्गा सट्टाभर्ना गर्न दिने ओली सरकारको निर्णय बदर
काठमाडौं । गिरीबन्धु टी स्टेट्सको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन केपी शर्मा ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याल लगायतबाट दायर रिटको पक्षमा फैसला सुनाएको हो । ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग) लगायतका कानूनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारवाही समेत बदर हुने ठहर्छ’, सर्वोच्चको फैसलामा भनिएको छ ।
प्रेममा पनि आर्थिक मन्दी, ‘युवा विदेशिए, बुढापाकालाई के भ्यालेन्टाइन्स-के रोज डे’
काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे नजिकिँदै छ । फेब्रुअरी १४ मा पर्ने प्रणय दिवस आउनुअघि विभिन्न दिवस (डे) मनाउने गरिन्छ । प्रेम दिवसको सुरुको दिन आज बुधबार (फेब्रुअरी ७ तारिख) प्रेमिप्रेमिकाले रोज डे मनाउँदैछन् । पश्चिमा संस्कृति भए पनि यस्ता दिवसले पूर्वीय संस्कृतिमा पनि राम्रै प्रभाव पारेको छ । आज रोज डेका दिन प्रेमी प्रेमिकाले एकापसमा गुलाफको फूल साटासाट गरेर थप प्रेमिल अनुभूति गर्ने गर्छन् । तर, तिनै गुलाफ फूलहरूको खरिद/बिक्री गर्ने व्यवसायी भने यस पटकको प्रेम दिवसमा खासै चहलपहल नभएको भन्दै चिन्तामा छन् । काठमाडौं कमलादीस्थित एक फूल पसलको बाहिर पेटीमा एक अर्धबैंसे महिला एउटा बकेटभरि राता गुलाफका फूल लिएर उभिरहेकी छिन् । उनले त्यही पेटी भएर हिँडिरहेका एकजना युवा पैदल यात्रुलाई रोक्दै भनिन्, ‘तपाईंको प्रेमिकाका लागि एउटा गुलाफ लैजानुस् न !’ ती युवक मुस्कुराउँदै सरासर आफ्नो बाटो लागे । उनले फेरि भनिन्, ‘८० रुपैयाँमा दिँदा पनि अहिलेसम्म पाँच वटा गुलाफ बेच्न सकिएन, साँच्चिकै प्रेममा पनि मन्दी लाग्यो कि क्या हो !’ कमलादीमा २० वर्षदेखि ड्याफोडिल फ्लावर सप सञ्चालन गरिरहेका सुनिल तामाङ कोरोनापछि फूलको कारोबार राम्ररी अघि बढ्न नसकेको बताउँछन् । ‘प्रेम दिवस सप्ताहको पहिलो दिन ‘रोज डे’ मा पनि गुलाफको फूल बिक्री राम्रो छैन, सामान्य मात्रै छ,’ उनी भन्छन्, ‘एउटा फूलको ८० देखि १ सय ५० रुपैयाँमा बेचेका छौं, ग्राहकले बुकेट कस्तो माग गर्नुहुन्छ त्यसैअनुसार मूल्य निर्धारण हुन्छ । धेरै महँगो भनेको ३ हजार रुपैयाँसम्मको बन्छ ।’ उनका अनुसार अघिल्ला वर्षहरूमा विशेषगरी फूल किन्ने ग्राहक कलेजका विद्यार्थी र युवापुस्ता हुन्थे । अहिले १२ पास गरेपछि युवाहरू देश बस्न छाडे । भएकालाई पनि आर्थिक मन्दी छ भनिरहेका छन् । ‘देशमा आर्थिक मन्दी छ, त्यसकै प्रभाव पनि हो कि,’ उनी भन्छन्, ‘विगतका वर्षमा मध्याह्न १२ बजेसम्म २० देखि २५ हजार रुपैयाँको कारोबार हुन्थ्यो, आज त त्यस्तै ७ देखि ८ हजार रुपैयाँमात्रै भएको छ, साँझसम्म हेरौं कस्तो अवस्था रहन्छ ।’ त्यस्तै, अर्का व्यवसायी राजु तामाङ अहिले हरेक वस्तु धेरै अनलाइनबाटै बिक्री हुने भएकाले सटर व्यवसायमा खासै कारोबार नहुने बताउँछन् । ‘बिहानैदेखि सटर खोलेको हो, फूल बिक्री भएको छैन,’ उनी भन्छन्, ‘बिहान व्यापार भएन भने साँझ हुन्छ भन्ने होइन, मान्छेसँग पैसा छैन भन्छन्, विलासी वस्तुमा खर्च कटौती गरेर फूल बिक्री नभएको हुनुपर्छ, पैसा हुनेलाई त केही समस्या छैन, मध्यम वर्गीयले पनि खर्चको सीमा तोक्न थाले ।’ त्यस्तै, कमलादीमै २५ वर्षदेखि फूल पसल सञ्चालन गरिरहेकी कलंकीकी सबनम श्रेष्ठ युवापुस्ता विदेशिएका कारण पनि ‘रोज डे’ मा पहिलाको तुलनामा बिक्री घटेको बताउँछिन् । ‘युवापुस्ता विदेशिए, अब बुढापाकालाई के प्रेम दिवस, के रोज डे, बिक्री त घट्ने नै भयो,’ उनी भन्छिन्, ‘अब सांसद आरजु देउवाले त छोराको बिहेमा फूलमाला नल्याउनू भनेर उर्दी गर्नुभयाे, विवाह व्रतबन्धमा त फूलको प्रयोग कम हुन थाल्यो भनेपछि अरू बेला के होला र !’ नेपाली बजारमा ‘प्रपोज डे’ देखि ‘भ्यालेन्टाइन्स डे’ मा पनि गुलाफको फूलको अधिक माग हुन्छ । बजारमा व्यवसायीहरूले फूल बिक्री राम्रो नभएको बताए पनि फूल (पुष्प) व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले भने यो प्रेम दिवसमा करिब साढे ३ लाख स्टिम गुलाफको फूल खपत हुने जनाएको छ । गत वर्ष २ लाख ८० हजार गुलाफको फूल भारतबाट आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७० हजार फूलको माग बढी छ । साढे ३ लाख स्टिम गुलाफको फूल खपत हुने भए पनि अहिलेसम्म भारतबाट आयात रोकिएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । ‘वैध हिसाबले फूल आयात भएको छैन, अवैध हिसाबले चाहिँ आयात भइरहेको छ,’ उनले भने, ‘कति आयात भयो भन्ने यकिन तथ्यांक नै छैन यसपालि हामीसँग ।’ तामाङका अनुसार भारतबाट आयात हुने गुलाफ १६ वटा रोग किरा फ्री हुनुपर्छ । ‘प्लान्ट क्वारेन्टाइनले एउटा रिक्वायरमेन्ट बनाएको छ, त्यो रिक्वायरमेन्ट भारतले पूरा गर्न नसक्ने रहेछ,’ अध्यक्ष तामाङले भने, ‘त्यो प्रक्रिया पूरा नगरी वैधरूपमा आयात हुन सक्दैन । व्यापारीहरूले कसरी फूल ल्याइरहेका छन् त्यो थाहा छैन । तर, बजारमा फूल देखिएको छ ।’ तामाङका अनुसार नेपालको खुला सीमानाका कारण सजिलै फूल नेपाल भित्रिएको छ । तर, कति फूल भित्रिएको छ भन्ने यकिन तथ्यांक फ्यानसँग छैन । फूलको गुणस्तरअनुसार प्रतिस्टिम (डाँठसहित) ६० देखि १ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । एउटा गुलाफ १ सय रुपैयाँमा बिक्री गर्दा ३ लाख ५० हजार फूलको मूल्य ३ करोड ५० लाख रुपैयाँ हुन आउँछ । फ्यानका अनुसार आयातित गुलाफको फूलमध्ये ७० प्रतिशत काठमाडौं उपत्यकामा खपत हुने र बाँकी बाहिरी जिल्लामा खपत हुन्छ । यो वर्ष पनि ९० प्रतिशत गुलाफको फूल आयात हुने उनले बताए । यसपालि धेरै चिसो भएको र गुलाफ उत्पादनमा कमी भएकाले मागको १० प्रतिशत मात्रै देशको उत्पादनले धान्ने उनको भनाइ छ । ‘अहिले माघमा एकदमै चिसो बढ्यो,’ उनले भने, ‘हाम्रो उत्पादन पनि कम छ, गत वर्षको हाराहारी नै कारोबार हुने अनुमान हाम्रो छ ।’ नेपालमा १० हजार हेक्टरमा गुलाफको फूल उत्पादन हुने एसोसिएसनले जनाएको छ । नेपालको उत्पादनले चैतदेखि मंसिरसम्म पुग्ने तामाङले बताए । नेपालमा केही क्षेत्रमा हाइटेक शैलीमा गुलाफकोफफूल खेती गरिए पनि अधिकांश क्षेत्रमा परम्परागत शैली कायमै रहेकाले उत्पादन नबढेको फ्यानका अध्यक्ष तामाङ बताउँछन् । यसपालि माघ महिनामा धेरै चिसो बढेको हुँदा गुलाफको फूल उत्पादन १० प्रतिशतमात्रै भएको उनको भनाइ छ ।