काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गर्नुभएको हो ।
बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाई थियो । उनले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलहरुबीच विवादको विषय नबन्ने जिकिर समेत गरे ।
अध्यक्ष नेपालले भने, ‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन । कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन । अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला । आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरु । सबभन्दा पहिले त दावी त आउनु पर्यो । दाबी नै नभई फलाना कि फलाना किन भन्नु ? जब सहमतीबाटै भइसकेपछि त विवाद गर्ने विषयनै बन्दैन । यो अहिलेको विषय भनेको अहिलेमा देशमा प्रधानमन्त्री हुुनुहुन्छ । उहाँले संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउनुपर्ने छ । यस्तो बेलामा को-को प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ? त्यसो हुनाले प्रधानमन्त्री वा मन्त्री सकैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन । मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ, ठयाक्कै फेरी हाल्ने हो । मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन ।’
साथै, न्यायको निम्ति, अधिकारको निम्ति लड्नेहरुलाई कसैले पनि प्रतिवन्ध लगाउन नमिल्ने अध्यक्ष नेपालले बताए ।