प्रेममा पनि आर्थिक मन्दी, ‘युवा विदेशिए, बुढापाकालाई के भ्यालेन्टाइन्स-के रोज डे’

<p>काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे नजिकिँदै छ । फेब्रुअरी १४ मा पर्ने प्रणय दिवस आउनुअघि विभिन्न दिवस (डे) मनाउने गरिन्छ । प्रेम दिवसको सुरुको दिन आज बुधबार (फेब्रुअरी ७ तारिख) प्रेमिप्रेमिकाले रोज डे मनाउँदैछन् । पश्चिमा संस्कृति भए पनि यस्ता दिवसले पूर्वीय संस्कृतिमा पनि राम्रै प्रभाव पारेको छ । आज रोज डेका दिन प्रेमी [&hellip;]</p>

काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे नजिकिँदै छ । फेब्रुअरी १४ मा पर्ने प्रणय दिवस आउनुअघि विभिन्न दिवस (डे) मनाउने गरिन्छ । प्रेम दिवसको सुरुको दिन आज बुधबार (फेब्रुअरी ७ तारिख) प्रेमिप्रेमिकाले रोज डे मनाउँदैछन् ।

पश्चिमा संस्कृति भए पनि यस्ता दिवसले पूर्वीय संस्कृतिमा पनि राम्रै प्रभाव पारेको छ । आज रोज डेका दिन प्रेमी प्रेमिकाले एकापसमा गुलाफको फूल साटासाट गरेर थप प्रेमिल अनुभूति गर्ने गर्छन् । तर, तिनै गुलाफ फूलहरूको खरिद/बिक्री गर्ने व्यवसायी भने यस पटकको प्रेम दिवसमा खासै चहलपहल नभएको भन्दै चिन्तामा छन् ।

काठमाडौं कमलादीस्थित एक फूल पसलको बाहिर पेटीमा एक अर्धबैंसे महिला एउटा बकेटभरि राता गुलाफका फूल लिएर उभिरहेकी छिन् ।

उनले त्यही पेटी भएर हिँडिरहेका एकजना युवा पैदल यात्रुलाई रोक्दै भनिन्, ‘तपाईंको प्रेमिकाका लागि एउटा गुलाफ लैजानुस् न !’

ती युवक मुस्कुराउँदै सरासर आफ्नो बाटो लागे ।

उनले फेरि भनिन्, ‘८० रुपैयाँमा दिँदा पनि अहिलेसम्म पाँच वटा गुलाफ बेच्न सकिएन, साँच्चिकै प्रेममा पनि मन्दी लाग्यो कि क्या हो !’

कमलादीमा २० वर्षदेखि ड्याफोडिल फ्लावर सप सञ्चालन गरिरहेका सुनिल तामाङ कोरोनापछि फूलको कारोबार राम्ररी अघि बढ्न नसकेको बताउँछन् ।

‘प्रेम दिवस सप्ताहको पहिलो दिन ‘रोज डे’ मा पनि गुलाफको फूल बिक्री राम्रो छैन, सामान्य मात्रै छ,’ उनी भन्छन्, ‘एउटा फूलको ८० देखि १ सय ५० रुपैयाँमा बेचेका छौं, ग्राहकले बुकेट कस्तो माग गर्नुहुन्छ त्यसैअनुसार मूल्य निर्धारण हुन्छ । धेरै महँगो भनेको ३ हजार रुपैयाँसम्मको बन्छ ।’

उनका अनुसार अघिल्ला वर्षहरूमा विशेषगरी फूल किन्ने ग्राहक कलेजका विद्यार्थी र युवापुस्ता हुन्थे । अहिले १२ पास गरेपछि युवाहरू देश बस्न छाडे । भएकालाई पनि आर्थिक मन्दी छ भनिरहेका छन् ।

‘देशमा आर्थिक मन्दी छ, त्यसकै प्रभाव पनि हो कि,’ उनी भन्छन्, ‘विगतका वर्षमा मध्याह्न १२ बजेसम्म २० देखि २५ हजार रुपैयाँको कारोबार हुन्थ्यो, आज त त्यस्तै ७ देखि ८ हजार रुपैयाँमात्रै भएको छ, साँझसम्म हेरौं कस्तो अवस्था रहन्छ ।’

त्यस्तै, अर्का व्यवसायी राजु तामाङ अहिले हरेक वस्तु धेरै अनलाइनबाटै बिक्री हुने भएकाले सटर व्यवसायमा खासै कारोबार नहुने बताउँछन् ।

‘बिहानैदेखि सटर खोलेको हो, फूल बिक्री भएको छैन,’ उनी भन्छन्, ‘बिहान व्यापार भएन भने साँझ हुन्छ भन्ने होइन, मान्छेसँग पैसा छैन भन्छन्, विलासी वस्तुमा खर्च कटौती गरेर फूल बिक्री नभएको हुनुपर्छ, पैसा हुनेलाई त केही समस्या छैन, मध्यम वर्गीयले पनि खर्चको सीमा तोक्न थाले ।’

त्यस्तै, कमलादीमै २५ वर्षदेखि फूल पसल सञ्चालन गरिरहेकी कलंकीकी सबनम श्रेष्ठ युवापुस्ता विदेशिएका कारण पनि ‘रोज डे’ मा पहिलाको तुलनामा बिक्री घटेको बताउँछिन् ।

‘युवापुस्ता विदेशिए, अब बुढापाकालाई के प्रेम दिवस, के रोज डे, बिक्री त घट्ने नै भयो,’ उनी भन्छिन्, ‘अब सांसद आरजु देउवाले त छोराको बिहेमा फूलमाला नल्याउनू भनेर उर्दी गर्नुभयाे, विवाह व्रतबन्धमा त फूलको प्रयोग कम हुन थाल्यो भनेपछि अरू बेला के होला र !’

नेपाली बजारमा ‘प्रपोज डे’ देखि ‘भ्यालेन्टाइन्स डे’ मा पनि गुलाफको फूलको अधिक माग हुन्छ ।

बजारमा व्यवसायीहरूले फूल बिक्री राम्रो नभएको बताए पनि फूल (पुष्प) व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले भने यो प्रेम दिवसमा करिब साढे ३ लाख स्टिम गुलाफको फूल खपत हुने जनाएको छ ।

गत वर्ष २ लाख ८० हजार गुलाफको फूल भारतबाट आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७० हजार फूलको माग बढी छ ।

साढे ३ लाख स्टिम गुलाफको फूल खपत हुने भए पनि अहिलेसम्म भारतबाट आयात रोकिएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

‘वैध हिसाबले फूल आयात भएको छैन, अवैध हिसाबले चाहिँ आयात भइरहेको छ,’ उनले भने, ‘कति आयात भयो भन्ने यकिन तथ्यांक नै छैन यसपालि हामीसँग ।’

तामाङका अनुसार भारतबाट आयात हुने गुलाफ १६ वटा रोग किरा फ्री हुनुपर्छ ।

‘प्लान्ट क्वारेन्टाइनले एउटा रिक्वायरमेन्ट बनाएको छ, त्यो रिक्वायरमेन्ट भारतले पूरा गर्न नसक्ने रहेछ,’ अध्यक्ष तामाङले भने, ‘त्यो प्रक्रिया पूरा नगरी वैधरूपमा आयात हुन सक्दैन । व्यापारीहरूले कसरी फूल ल्याइरहेका छन् त्यो थाहा छैन । तर, बजारमा फूल देखिएको छ ।’

तामाङका अनुसार नेपालको खुला सीमानाका कारण सजिलै फूल नेपाल भित्रिएको छ । तर, कति फूल भित्रिएको छ भन्ने यकिन तथ्यांक फ्यानसँग छैन ।

फूलको गुणस्तरअनुसार प्रतिस्टिम (डाँठसहित) ६० देखि १ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । एउटा गुलाफ १ सय रुपैयाँमा बिक्री गर्दा ३ लाख ५० हजार फूलको मूल्य ३ करोड ५० लाख रुपैयाँ हुन आउँछ ।

फ्यानका अनुसार आयातित गुलाफको फूलमध्ये ७० प्रतिशत काठमाडौं उपत्यकामा खपत हुने र बाँकी बाहिरी जिल्लामा खपत हुन्छ ।

यो वर्ष पनि ९० प्रतिशत गुलाफको फूल आयात हुने उनले बताए । यसपालि धेरै चिसो भएको र गुलाफ उत्पादनमा कमी भएकाले मागको १० प्रतिशत मात्रै देशको उत्पादनले धान्ने उनको भनाइ छ ।

‘अहिले माघमा एकदमै चिसो बढ्यो,’ उनले भने, ‘हाम्रो उत्पादन पनि कम छ, गत वर्षको हाराहारी नै कारोबार हुने अनुमान हाम्रो छ ।’

नेपालमा १० हजार हेक्टरमा गुलाफको फूल उत्पादन हुने एसोसिएसनले जनाएको छ । नेपालको उत्पादनले चैतदेखि मंसिरसम्म पुग्ने तामाङले बताए ।

नेपालमा केही क्षेत्रमा हाइटेक शैलीमा गुलाफकोफफूल खेती गरिए पनि अधिकांश क्षेत्रमा परम्परागत शैली कायमै रहेकाले उत्पादन नबढेको फ्यानका अध्यक्ष तामाङ बताउँछन् ।

यसपालि माघ महिनामा धेरै चिसो बढेको हुँदा गुलाफको फूल उत्पादन १० प्रतिशतमात्रै भएको उनको भनाइ छ ।

Share News