विकासन्युज

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभिकर्ता बिच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धकसोन बहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रिकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभव सुनाए । एजेन्सी विभाग प्रमुख  प्रभात शिवाकोटीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । यस्तै उपत्यकाबाट कार्यक्रममा उपस्थित भएका एमडिआरटि २०२४ मा छनोट भएका अभिकर्ताहरुलाई केक काटी विशेष सम्मान गरिएको थियो । अभिकर्ता स्कीम अन्तर्गत लक्की ड्र मार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवन कुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।

भारतको पर्यटन मेलामा नेपालको सहभागिता

काठमाडौं । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागिता जनाएको छ । यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यस वर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो । तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले बताए । महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे) मा पनि टानले सहभागिता जनाउन लागेको बताए । नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

सात महिनामा साइबर अपराधका १३ हजार तीन सय ३० उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई पक्राउ गरिएको छ । नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने सरकारी तथा अन्य सङ्घसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्नेजस्ता प्रवृत्ति साइबर अपराधमा पाइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको बताएका छन् । सात महिनाको अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेन्जरको दुरूपयोगका नौ हजार तीन सय ५० वटा, भाइबरका १६ वटा, इमोका छ वटा, युट्यबका ३९ वटा, ट्वीटरका छ वटा, इन्स्ट्राग्रामका चार सय ३२ वटा, वेबसाइट ह्याकिङका छ वटा, टिकटकका छ सय ६७ वटा, इमेलका ८० वटा, ई–सेवाका एक सय ९० वटा र अन्य साइबर अवराधतर्फ एक सय १८ वटा रहेका छन् । यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध सामाजिक सञ्जाल ह्याकका चार सय तीन वटा, उपहार र पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, लट्री परेको प्रलोभन देखाइ ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर कोठा खोजी दिनेतर्फ ३५ वटा, बैंक तथा वालेट अफिसबाट बोलेको भनेर एकाउन्ट ह्याकका एक सय ५२ वटा, मास्टर कार्डरमनी एक्सचेञ्जसमेत ६१ वटा, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन सपिङका चार सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडि ६७ वटा र अन्य साइबर अपराधमा दुई सय ६२ वटा उजरी परेका छन् ।

वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा अगाडि चितवन

भरतपुर । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए । ‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका यूरोपका देशमा जानेको सङ्ख्या बढी छ’, उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो’, उनका अनुसार ‘भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।’ आर्थिक वर्ष २०७९/२०८० मा नेपालबाट सात लाख ७१ हजार तीन सय २७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्कमा रहेको छ । यसमध्ये बागमती प्रदेशबाट मात्रै एक लाख १६ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार आठ सय २३ जना छन् । धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले जानकारी दिए । यहाँबाट अघिल्लो आवमा एक हजार एक सय ६१ जनाले राहदानी बनाएका थिए । चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका छ हजार पाँच सय ६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै माडी नगरपालिकाबाट दुई हजार एक सय २७, इच्छाकामना गाउँपालिकाबाट एक हजार आठ, रत्ननगर नगरपालिकाबाट एक हजार चार सय ७१, कालिका नगरपालिकाबाट एक हजार छ सय ७९, खैरहनी नगरपालिकाबाट एक हजार छ सय आठ र राप्ती नगरपालिकाबाट एक हजार दुई सय ९१ जनाले श्रम स्वीकृत लिएका छन् । वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगिनेसमस्या रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आवमा एक सय ३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको विचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्नका भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए । ‘अवैधरुपमा विदेश जानेको सङ्ख्या पनि कमी छैन । भारतमा जानेको सङ्ख्या उत्तिकै छ’, उनले भने, ‘हामी जनप्रतिनिधि यहाँ भएको साधन स्रोत, जल, जमिन, जङ्गललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ । यसका लागि हामी प्रयासरत छौँ ।’ वैदेशिक रोजगार देशव्यापी समस्या रहेको उनले बताए ।

शान्ति सेनामा नेपाल पहिलो

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो । शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्‍याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । नेपाल सरकारले शान्ति सेनामा हाल १० हजार पुर्‍याउने लक्ष्य राखेको छ । सन् १९५८ मा राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेबनानमा पाँच जना नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । शान्ति सेनामा खटाएको ६५ वर्षमा नेपालले विभिन्न ४३ वटा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि एक हजार ८४७ महिला सैनिकसहित एक लाख ४० हजार ३५४ सैनिक पठाइसकेको छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार माली मिसन बन्द भएर अन्य मुलुकका शान्ति सैनिकको कटौतीपछि नेपाल पहिलो राष्ट्र बनेको हो । नेपाली शान्ति सैनिकको पूर्वतयारी तालिम उत्कृष्ट रहेका कारण र जुनसुकै बेला खटिन सक्ने भएकाले पनि युएनको रोजाइमा नेपाली शान्ति सैनिक परेका छन् । समाचार आजको गोरखापत्रमा छ ।

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः सञ्चालनमा ल्याएको हो । यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको कर सहित रु. १५० मा ५ जीबी डेटा वा रु. २०० मा ८ जीबी डेटा लिन सक्छन् । त्यसैगरी रु. ८८८ मा २८ दिन समयावधी रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् । यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्दछ । डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गर्न सक्छन् । साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत यो प्याक किन्न सकिन्छ । थप परिष्कृत गर्दै पुनः संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ । प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन् । ७ दिन भ्यालिडिटी भएका रु. १५० र रु. २०० का डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ । त्यसैगरी रु. ८८८ को प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ । यसैबीच एनसेलले कर सहित रु. २२० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन् ।

एफएनसीसीआई र बीभीएमडब्ल्यूबीच समझदारी, महिलाद्वारा सञ्चालित उद्योगलाई सहयोग पुग्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले जर्मन कम्पनीहरूले नेपालमा लगानी गर्ने वा नेपाली व्यवसायसँग सहकार्य गर्ने सम्भावना खोज्न बीभीएमडब्ल्यू जर्मनीसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फेब्रुअरी ७ मा भएको उक्त समझदारी पत्रमा एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीभीएमडब्लुका कार्यकारी अध्यक्ष क्रिस्टोफ अहलहसले हस्ताक्षर गरेका हुन् । एमओयू हस्ताक्षर समारोह नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जको उपस्थितिमा काठमाडौंस्थित जर्मनीको राजदूतावासमा भएको थियो । अध्यक्ष ढकालले नेपालले युरोपमा निर्यातमा भन्सारमुक्त पहुँच गुमाउने भएकाले नेपाल विकासोन्मुख मुलुकमा परिणत भएपछि सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा पर्ने बताए । उनले विशेषगरी महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले साना तथा मझौला उद्योगको प्रवर्द्धन र विकासका लागि एफएनसीसीआई र बीभीएमडब्ल्यूले सहकार्य गर्नुपर्ने बताए । एमओयूको प्रमुख उद्देश्य एफएनसीसीआई र बीभीएमडब्ल्यूबीचको सहकार्य अभिवृद्धि गर्नु र लगानी प्रवर्द्धनमा सहकार्य गर्न व्यावहारिक रूपरेखा स्थापना गर्नु हो। एमओयूले आपसी सहयोग मार्फत संस्थागत सम्बन्ध सुदृढ गर्ने र क्षमता अभिवृद्धि गर्ने बारे पनि कुरा गर्छ । एमओयू अनुसार एफएनसीसीआई र बीभीएमडब्ल्यू दुबैले लगानी नीति, नियम, विनियम, कार्यविधि, प्रोत्साहन र अवसरका बारेमा जानकारीको नियमित आदानप्रदान गर्नेछन् । नेपाल र जर्मनीसँग सम्बन्धित तथ्याङ्क र तथ्याङ्कहरू दुवै संस्थाको पहुँचमा पुग्ने गरी सामान्य अपडेटको आदानप्रदान पनि हुनेछ । एमओयू अनुसार दुवै संस्थाले व्यापार प्रतिनिधिमण्डल वा लगानी मिशनको आदानप्रदानका लागि प्रोत्साहन र सहयोग उपलब्ध गराउन पहल गर्नेछन् । एफएनसीसीआई र बीभीएमडब्ल्यू ले लगानी र उद्यमशीलता सम्बन्धी संयुक्त कार्यक्रम आयोजना गर्न एक अर्कालाई सहयोग गर्न पनि सहमति जनाएका छन् ।

बुढानिलकण्ठ हेरिटेजले पनि आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ । जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा बुढानिलकण्ठ हेरिटेजको तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्की र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । वि.सं. २०७५ सालमा प्रा.लि.को रुपमा दर्ता भई वि.संं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं. १, काठमाण्डौंमा रहेको छ । संस्थापकहरुको ८५ करोड रुपैयाँ लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । अन्र्तराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ । आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्सलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् । लेमन ट्री होटल्स एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरिय, अपर-मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ । यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ । लेमन ट्री होटल्सले नेपालमा पहिलो होटलको रुपमा “लेमन ट्री प्रिमियर बुढानिलकण्ठ” काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातीप्राप्त व्यक्तिहरुको लगानी रहेको छ ।