हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २५ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको उक्त लाभांशलाई पारित गरेको हो । यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराइएको थियो ।
समृद्धि फाइनान्सका ग्राहकलाई प्राउड नेपाल आईटीमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीका ग्राहकले काठमाडौंको पुतलीसडकमा रहेको प्राउड नेपाल आईटी सप्लायर्समा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धमा दुई संस्थाबीच माघ २५ गते समझदारी भएको हो । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र प्राउड नेपाल आईटीका तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले २०८० माघ २६ गतेदेखि २०८१ माघ २५ गतेसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्यूआर प्रयोग गरि उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मतसंम्भार गर्दा छुट पाउने छन् । कम्पनीका अनुसार फाइनान्सका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्समा मर्मतसंम्भारमा १५ प्रतिशत र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गदा १ प्रतिशत छुट पाउनेछन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा लिटिल एन्जल्स विजयी
काठमाडाैं । नेपाल एपीएफ स्कुल कीर्तिपुरले माघ २२ गतेबाट संचालन गरेको प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता – २०८० अन्तर्गत बिहीबार ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर र लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर बीच भएको लिग चरणको खेलमा ०-११ गोलले लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर विजयी भएको छ। जसमा लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुरका खेलाडी कृयुष डंगोल २ गोल, प्रसुन तुलाधर ३ गोल, ओस्कर लामा २ गोल, अनमोल सुब्बा १ गोल, निश्चल नेपाली १ गोल, शिलभम मगर १ गोल गरेका थिए भने १ गोल आत्मघाती समेत भएको थियो । त्यसैगरी बिहीबार नै भएको दोश्रो खेलमा नेपाल पुलीस स्कुल, सागाँले काव्या स्कुल, बुद्धनगर काठमाण्डौलाई ६-१ गोल अन्तरले पराजित गरेको छ । नेपाल पुलीस स्कुल, सागाँको तर्फबाट प्रशान्त मोक्तान, किस्मत राज गिरी, प्रज्वल हुमागाई, नसिव हेनजन, राज दर्जीले १/१ गोल गरेका थियो । आजको भएको खेलमा लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुरका उत्कृष्ट खेलाडी प्रशुन तुलाधरलाई म्यान अफ द म्याच घोषित गरी विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले ट्रफी प्रदान गरेका थिए भने दोस्रो खेलमा नेपाल पुलीस स्कुल, सागाँका प्रशान्त मोक्तान म्यान अफ द म्याच घोषित भई सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनले ट्रफी प्रदान गरेका थिए । शुक्रबार निम्न खेलहरू हुने आयोजकले जनाएकाे छ : १. हारती शिक्षा मन्दिर सितापाईला, विरुद्ध राई स्कुल, नक्साल २. ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ, काठमाण्डौ विरुद्ध नेपालय हाईयर सेकेण्डरी स्कुल, कलंकी ३. मनकामना सेकेण्डरी स्कुल, जोरपाटी, विरुद्ध नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क)
महानगरविरुद्ध खनिए धर्नारत पीडित, भन्छन् : मेयर र नगर प्रहरीलाई कारबाही गर्नुपर्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिका विरुद्ध आन्दोलित भएका छन् । शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । गत सोमबार काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् । बिहीबार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादती गरेको बताएका छन् । शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरुको भनाई छ । उनीहरुले शान्तिबाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन् । २३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरु हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाट पनि पीडित भएको बताए । उनले मेयर शाहले गरिबहरुमाथि दमन र अत्याचार गरेको बताए । शान्ति बाटिका मेयर शाह र काठमाडौं महानगरपालिकाको मात्रै सम्पत्ति नभएको भन्दै मेयरले तानासाही व्यवहार देखाएको बताए । उनले मेयर शाहलाई हिटलर नबन्न आग्रह समेत गरे । त्यस्तै, मिटरब्याज तथा ठगी बिरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमबार धर्नारत महिला तथा बालबालिकाहरुलाई नगर प्रहरीले जबर्जस्त शान्तिबाटिकाबाट निकालेर ज्यादती गरेको बताए । महिलामाथि ज्यादती गर्ने मेयर र नगर प्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने बताए । आफूहरुको आन्दोलन जारी रहेको भन्दै शान्तिबाटिका नछोड्ने स्पष्ट पारे । पीडितहरु महानगरको ज्यादतीपछि बिचल्लीमा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको उनले बताए । त्यसैगरी विगत २५ दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको बताइन् । उनले आफूमाथि राज्यले आतंक मच्चाएको पनि बताइन् । उनले प्रमाण हुँदाहुँदै पनि बलात्कारि न्यायाधीश भुवन गिरीलाई न्यायालयले संरक्षण गरिरहेको बताइन् ।
देशभरि सडक बनाउने विभागकै अगाडि धुलाम्य बाटो, अर्बौंको भवन फोहोरिँदै
काठमाडौं । सरकारको प्रशासनिक केन्द सिंहदरबारको बाहिरी परिसरमा ऐतिहासिक मोडेलको एउटा सुन्दर र भव्य संरचना मध्ये पर्छ सडक विभागको भवन । ठूलो क्षेत्रफलमा फैलिएको विभागको विशाल सुन्दर भवन आँफैमा मान्छेलाई चकित पार्ने प्रकारको मोडेलमा बनेको छ । सयौं कोठाहरु भएको यो सुन्दर भवन राणाकालीन समयमा निर्माण भएको हो । ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि विभागले सो भवन छाडेर ललितपुर पुल्चोकबाट आफ्नो काम गर्दै आएको थियो । पुनर्निमाणको काम सकिएपछि ०८० भदौबाट विभाग फर्किएर सोही भवनबाट कार्यसञ्चालन गर्दै आएको छ । तर, दुःख लाग्दो विषय के छ भने विभागले मालको मूल्य बुझेन वा बुझ्न चाहेन पुनर्निमाण गरेर सुन्दर बनाइएको भवन धुलाम्य बनाउन शुरु भएको छ । सिंहदरबारको दक्षिणी गेटबाट बबरमहलतर्फ जाँदा र बबरमहलबाट सिंहदरबातर्फ छोटो बाटो प्रयोग गरेर जाने सवारी साधन वा पैदल यात्री जो सुकैले देख्न सक्ने यो चित्रले जोसुकैको मनलाई पक्कै पनि कटक्क बनाउँछ । पुनर्निमाण सम्पन्न भएर सेतो रंगले पोतिएको भवनको मुख्य प्रवेशद्वार देखि पश्चिम तर्फको मोहडा आफ्नै प्राङ्गणबाट उडेको धुलोले मैलो हुँदै गएको छ । प्राङ्गणकै धुलो भित्र छिरेर भवनको भित्री भागका गल्लीहरु पनि धुलोमय भएका छन् । एतिहासिक महत्व बोकेको पुरानो संरचना त्यसमाथि पनि अरबौं खर्च गरेर पुनर्निमाण गरिएको विभागको भवनको सही व्यवस्थापन विभागको नेतृत्वले गर्न नचाहेको देख्दा जो सुकैलाई पनि उदेक लाग्छ । विभागको प्राङ्गण फोहोर हुँदा सुन्दर भवन मात्रै मैलिएको छैन प्राङ्गणको बाटो भएर सिंहदरबार र बबरमहल क्षेत्र वारपार गर्ने पैदल यात्रु र सवारी साधन चालकलाई समेत सास्तीको अवस्था सिर्जना भएको देख्न सकिन्छ । देशैभरी हजारौं किलोमिटर सडक निर्मााणको जिम्मेवारी लिएको विभागले आफ्नै प्राङ्गण अगाडिको १५/२० मिटर क्षेत्रलाई किन ढलान वा प्लस्टर गरेन ? के विभागसँग यसकै लागि पैसा भएन वा नेतृत्वको इच्छा भएन ? के नेतृत्वले आफ्नो निजी सम्पत्तिको अवस्था पनि यस्तै राख्छन् ? विभाग परिसरको अवस्था देख्ने जो सुकैले पनि यो प्रश्न गर्छ । विभागका सहप्रवक्ता तथा सिनियर इन्जिनियर अमितकुमार शर्माले विभाग भवन बनिसकेपछि हतारमा सरेको कारण अगाडिको सडक निर्माणको काम सम्पन्न भइनसकेको बताए । उनले चालु आर्थिक वर्षभित्र विभागको प्राङ्गणको काम सम्पन्न हुनेगरी काठमाडौं सडक डिभिजन कार्यालयको तर्फबाट ठेक्का आह्वान गरेर अगाडि बढेको उनले बताए ।
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ
बारा । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एकजनालाई नक्कली नोटसहित पक्राउ गरेपछि निजको वयानका आधारमा जिल्लाको विभिन्न ठाउँ र अन्य ठाउँबाट गरी चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । पक्राउ परेका व्यक्तिबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्डसहित सात थान मोबाइलसमेत बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताए । पाँच तहमा नक्कली नोटको कारोबार भइरहेको जानकारी भएपछि प्रथम, दोस्रो, तेस्रो र चौथो तहसम्मका व्यक्तिलाई यो नक्कली नोट प्रकरणमा पक्राउ गर्न सफल भएको र चाँडै नै पाँचौँ तहका व्यक्तिलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । तीन लाख नक्कली नेपाली नोट लिनका लागि एक लाख सक्कली नेपाली नोट दिनुपर्ने पक्राउ परेका व्यक्तिको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । नक्कली नोट कारोबार गरेबापतमा पाँच प्रतिशतसम्मको कमिसन दिने गरेको अनुसन्धानबाट खुल्न आएको उनले सुनाए । नक्कली नोटको कारोबार गर्ने व्यक्ति खासगरी भीडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली पैसा प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए । भारतमा नक्कली रुपैयाँ छापेर नेपालको विभिन्न ठाउँमा कारोबार गर्ने गरेको हुँदा भारतीय प्रहरीहरूसँग पनि समन्वय, सहकार्य गरेर पैसा छाप्ने सञ्जालसम्म पुग्ने उपरीक्षक काफ्लेले दाबी गरे । वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव नक्कली नेपाली नोटलाई नेपालमा साटासाट गर्ने गराउने नाइकेको रूपमा काम गर्दै आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । रासस
सरस्वती पूजा नजिकिएसँगै मूर्ति बनाउन भ्याइनभ्याई
महेन्द्रनगर । सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ । आगामी फागुन २ गते हुने सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको प्रतिमा बनाउन थालिएको मूर्तिकार रामकुमार मण्डल बताउँछन् । धनुषाका करिब ४० ठाउँमा मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् । धनुषाको तिनकौरीया चोक, यदुकोहा बजार, सबैला बजार, भठियन, वीरेन्द्रबजार, गोदार, ढल्केवर, महेन्द्रनगर, सपही चोक, लक्ष्मीनिया बजार, तरापट्टी बजार, धनुषाधाम, धरापानी, कुर्था बजार, जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, बिन्दही, महुवालगायतका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त देखिएका छान् । मूर्तिकार मण्डलले यस वर्षका लागि २७ वटा मूर्ति बनाइसकेका छन् । उनीसँग प्रतिगोटा तीन हजार रुपैयाँदेखि १५ हजारसम्मका मूर्ति छन् । अर्का मूर्तिकार रामनारायण पण्डितले ३५ वर्षदेखि मूर्ति बनाउँदै आएको बताए । ‘आवश्यकताअनुसार ठाउँठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेको छु’, उनले भने । पण्डितको मुख्य पेशा नै मूर्ति बनाउने हो । सरस्वती पूजाका लागि पाँच हजारदेखि ३० हजार रुपैयाँ सम्मका मूर्ति बनाएर बिक्री गरिरहेको उनले बताए । सरस्वतीको एउटा मूर्ति तयार गर्न करिब चार जनालाई पाँचदेखि १० दिनसम्म लाग्ने उनीहरुको भनाई छ । कतिपय मूर्तिकारले स्थानीयलाई रोजगारी पनि दिएका छन् । माटो, काठ, रङ कपडा तथा परालबाट मूर्ति बनाइन्छ । विशेषगरी सरस्वती पूजाका लागि बनाइएका मूर्ति त्यस दिन विद्यालय तथा घरमा लगी विद्यार्थी एवं साधकहरुले पूजा गर्ने गर्दछन् । रासस
वीरगञ्ज महानगरले जरिवानाबाट उठायो साढे २४ लाख राजस्व
वीरगञ्ज । जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ । वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए । ‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने स्थानीयहरुको प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । सफा, सुन्दर वीरगञ्जको योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेको पनि उनले बताए । विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरकारुपमा परिचित वीरगञ्ज महानगर क्षेत्रलाई मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । बजेट अभावका कारण देखाउँदै सरसफाइका कर्मचारी हटाएपछि भने फेरि पुरानै अवस्थामा त फर्किने होइन भन्ने चिन्ता बढेको सरसफाइ प्रमुख मियाँको कथन छ । ‘सरसफाइका कर्मचारीले दैनिक सडक र नाला सफा गर्दा सडक चिटिक्क बनेको छ’, प्रमुख मियाँले भने, ‘’तर केही दिनयता सरसफाइका कर्मचारी घट्दै गएका छन्, जसका कारण अपेक्षाकृतरुपमा सरसफाइको काम हुन सकेको छैन ।’ स्थायी प्रकृतिका सरसफाइ कर्मचारीले अवकाश पाएका र ज्यालादारीका रुपमा राखिएकालाई बजेट अभावका कारण हटाउनुपरेको उनको भनाइ छ । रासस