महानगरविरुद्ध खनिए धर्नारत पीडित, भन्छन् : मेयर र नगर प्रहरीलाई कारबाही गर्नुपर्छ

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिका विरुद्ध आन्दोलित भएका छन् । शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । गत सोमबार काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् । बिहीबार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिका विरुद्ध आन्दोलित भएका छन् ।

शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । गत सोमबार काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् ।

बिहीबार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादती गरेको बताएका छन् । शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरुको भनाई छ । उनीहरुले शान्तिबाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन् ।

२३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरु हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाट पनि पीडित भएको बताए । उनले मेयर शाहले गरिबहरुमाथि दमन र अत्याचार गरेको बताए । शान्ति बाटिका मेयर शाह र काठमाडौं महानगरपालिकाको मात्रै सम्पत्ति नभएको भन्दै मेयरले तानासाही व्यवहार देखाएको बताए । उनले मेयर शाहलाई हिटलर नबन्न आग्रह समेत गरे ।

त्यस्तै, मिटरब्याज तथा ठगी बिरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमबार धर्नारत महिला तथा बालबालिकाहरुलाई नगर प्रहरीले जबर्जस्त शान्तिबाटिकाबाट निकालेर ज्यादती गरेको बताए । महिलामाथि ज्यादती गर्ने मेयर र नगर प्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने बताए । आफूहरुको आन्दोलन जारी रहेको भन्दै शान्तिबाटिका नछोड्ने स्पष्ट पारे । पीडितहरु महानगरको ज्यादतीपछि बिचल्लीमा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको उनले बताए ।

त्यसैगरी विगत २५ दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको बताइन् । उनले आफूमाथि राज्यले आतंक मच्चाएको पनि बताइन् । उनले प्रमाण हुँदाहुँदै पनि बलात्कारि न्यायाधीश भुवन गिरीलाई न्यायालयले संरक्षण गरिरहेको बताइन् ।

Share News