विकासन्युज

भारतले पहिलो पटक हेलिकोप्टर आकस्मिक चिकित्सा सेवा सुरु गर्ने

काठमाडौं । भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकोप्टर आपतकालीन चिकित्सा सेवा सुरु गर्ने घोषणा गरेको छ । संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिएका छन् । ‘म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु– यस किसिमको आकस्मिक सेवा यही राज्यबाट सुरु हुनेछ र त्यसका लागि हेलिकोप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ,’ मन्त्री ज्योतिरादित्य सिन्धियाले उल्लेख गरे । सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकोप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ । यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकोप्टरहरू प्रयोग गर्ने सरकारको पहलको रूपमा सहयोग गर्ने छ । यस सेवाको उद्देश्य आकस्मिक दुर्घटना पीडित र पहाडी भूभागका बिरामीहरूलाई समयमै उपचारका निम्ति यातायात उपलब्ध गराउने उद्देश्य रहेको उनले उल्लेख गरेका छन् । एजेन्सी

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति १३ मिलियन अमेरिकी डलरले बढ्यो

इस्लामावाद । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति १ करोड ३० लाख अमेरिकी डलरले बढेको जनाएको छ। फेब्रुअरी ९ मा समाप्त भएको सातामा बैंकको कुल विदेशी मुद्रा सञ्चिति करिब ८ अर्ब डलर पुगेको एसबीपीले बिहीबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब १ करोड डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार देशमा कुल तरल विदेशी मुद्रा करिब १३.१ अर्ब डलर रहेको छ । एजेन्सी

गण्डकी प्रदेशमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जनाएको छ । तराइका थोरै स्थानहरूमा हुस्सु लागेको छ। शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

३५ किलो चरेससहित दुई भारतीय पक्राउ

बारा । लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । अभिव्युक्तहरुको साथबाट लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो । अभियुक्तहरूलाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर दुई/दुई रुपैयाँले बढाएको जानकारी दिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले शुक्रबार बिहान १ बजेबाट लागू हुने गरी नेपाल पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेल प्रतिलिटर १ सय ६० रुपैयाँ कायम भएको छ ।  

ललिता निवास जग्गा प्रकरण : को-को भए दोषी ठहर ? यस्तो छ पूर्णपाठ

काठमाडौं । विशेष अदालतले ललितानिवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार विभिन्न व्यक्तिाई दोषी ठहर गरेको छ भने केहीलाई सफाइ दिएको छ । अदालतले विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको हो । अदालतले पूर्व तीन मन्त्रीलाई सफाइ दिएको छ भने सचिव, मालपोत अधिकृतलाई दोषी ठहर गरेको छ । यस प्रकरणमा विशेष अदालतले तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, मालपोत अधिकृतहरू कलाधर देउजा, सुरेन्द्रमान कपाली तथा बिचौलियाहरू रामकुमार सुवेदी, शोभाकान्त ढकाललगायतलाई भने दोषी ठहर गरेको हो । [pdf id=464288]

बीमा क्षेत्रका अग्रज केबी बस्न्यातको निधन, छ दशक बिताएका थिए बीमा क्षेत्रमा

काठमाडौं । बीमा क्षेत्रका अग्रज कृष्ण बहादुर (केबी) बस्न्यातको निधन भएको छ । बिहीबार साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले बतायो । ८४ वर्षिया बस्न्यात पेटसँग सम्बन्धित रोगको उपचाररत थिए । उपचारकै क्रममा मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । उनका २ छोरा र १ छोरी छन् । ५८ वर्षसम्म बीमा क्षेत्रमा काम गरेका बस्न्यातले पछिल्लो समय साविकको सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए । त्यसअघि उनी यूनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । कलेजको अध्ययनपछि भारतको दी ओरियन्टल इन्स्योरेन्स कम्पनीबाट काम थालेका बस्न्यातले उक्त कम्पनीको शाखा नेपालमा खुलाउँदै नेपालमा बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका थिए । बीमा क्षेत्रको समग्र विषयमा गहिरो ज्ञान र नेतृत्व क्षमता भएकाले केबी बस्न्यातको नाम बीमा क्षेत्रमा सबैले सम्मानपूर्वक लिने गरेका थिए । २०४५ देखि २०७५ सम्मको करिब तीन दशकसम्म विदेशीहरुले समेत नेपालको निर्जीवन बीमाबारे जान्न केबी बस्त्यातलाई भेट्ने गरेको जानकारहरु बताउँछन् । वृद्ध अवस्थामा पनि उनको स्मरणशक्ति धेरै राम्राे थियाे ।

मन्त्रीहरूलाई सफाई, कर्मचारीलाई जेल

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन दुई मन्त्रीहरूले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसलाले तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको हो । यस्तै, अदालतले सचिव र मालपोत अधिकृतहरूलाई भने दोषी ठहर गरेको छ । भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवहरू दीप बस्न्यात र र छविराज पन्तलाई दोषी ठहर गरेको छ । दोषी ठहर हुनेमा जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाल, तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा र सुरेन्द्रमान कपालीसहित १२ जनालाई दोषी ठहर गरेको हो ।