विकासन्युज

९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिए । “ राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो”, उनले भने, “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ ।” सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा २ हजार ३ सय र २०२० मा २ हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए । सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन् । १० हजार ७३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताए । कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले ७ दिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति ३ हजार तोकिएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ । समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले राससलाई बताए ।

टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी

काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी रहेको तलब लिन आउन अनुरोध गरेको हो । रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले अनुसार करिब पाँच वर्षअगाडि कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिनका लागि दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र सोहीनुसार सूचना जारी गरिएको छ । दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै मोहमद अल मोजिल गु्रप कम्पनीमा काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारहरूलाई सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने भुक्तानी सहजीकरण गरिदिन दूतावासमा अनुरोध प्राप्त भएको जनाएको छ । दूतावासले प्रकाशित गरेको लिंक प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सम्बन्धित सबैमा दूतावासले अनुरोधसमेत गरेको छ । सूचीमा संग्लन भएका व्यक्तिहरूलाई चिनेको वा उनीहरूसँग सम्पर्क छ भने यो सूचना समयमै उनीहरूसम्म पु¥याई सहयोग गरिदिन पनि दूतावासले अनुरोध गरेको छ । यसअघि टाट पल्टिएपछि पारिश्रमिकलगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो । ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ । कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरूलाई बोलाएको दूतावासले जनाएको छ । पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीलाई कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला मोहमद अल मोजिल गु्रप कम्पनीले भने टाट पल्टिएपछि पनि तलब तथा अन्य सुविधा लिनका लागि सम्पर्कमा आउन यसअघि त्यस कम्पनीमा काम गरेका नेपालीलाई बोलाएको र अझै साउदीमा यस्ता इमानदार कम्पनी पनि रहेको पुष्टि गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

एक लघुवित्तसहित ४ कम्पनीको आज सेयर खरिद गरे लाभांश पाइने

काठमाडौं । मंगलबार विभिन्न ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल ), युनिभर्सल पावर कम्पनी, कालिका पावर कम्पनी र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरूले पुस १८ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । एचआइडीसीएलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको ५.२६ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ८७ लाख २६ हजार २८३ रुपैयाँ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न पुस २९ गते १२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । यूनिभर्सल पावर कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते काठमाडौंमा दिउँसो १२ः१५ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कालिका पावरले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.६२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस २८ दियालो फुडल्याण्ड चितवन भरतपुरमा वार्षिक साधारणसभा बिहान ११ बजे डाकेको छ । जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते केन्द्रिय कार्यालय कटहरी मोरङ्गमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।

उद्योगमन्त्री रमेश रिजालको यस्तो छ ९ महिनाको प्रगति

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला ९ महिनामा औद्योगिक क्षेत्रको प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्तामैत्री बजार स्थापित गरेको जनाएको छ । उद्योग मन्त्रीका रुपमा रमेश रिजालले कार्याभार सम्हाल्नुभए यता संस्थागत सुधार, बजेट कार्यान्वयन, कानुन निर्माणलगायत क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ । मन्त्री रिजालको नेतृत्वपछि नेपाल आयल निगमको सुधारसँगै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पोखरामा नयाँ इन्धन भण्डारण गृहको शिलान्यास र सिमरा बिमानस्थलमा हवाइ इन्धन भर्ने सुविधाको सुरुआत, पेट्रोलियम पदार्थको अटो बिलिङ्ग तथा ट्यान्कर लक सिस्टमजस्ता प्रमुख काम मन्त्री रिजालको आगमन पछि सम्पन्न भएको छ । त्यस्तै चीनसँगका प्रमुख दुई नाका तातोपानी नाका र रसुवागढी केरुङ सञ्चालन ल्याइनु, करिब ११ महिनादेखि बस्न नसकेको औद्योगिक तथा लगानी प्रवर्दन बोर्डको बैठक सञ्चालन गर्न सफल हुनु, निर्यात अनुदान पाउने उद्योगको सङ्ख्या बढाइ कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा वृद्धि गर्न सक्नुलगायत उपलब्धी मन्त्री रिजालको अग्रसरतामा सफल भएको जनाएको छ । यस्तै १५ वटा मझौला उद्योग, १४२ हजार घरेलु तथा साना उद्योग, १० हजार कम्पनीलगायत चालू आवको मङ्सिर मसान्तसम्म २२ वटा ठूला उद्योग दर्ता भएका छन् । आव २०८०/८१ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ८ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन भएको मन्त्रालयले जनाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न १७ वटा नीति तथा कानुन तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

बझाङ्गमा डोजर पल्टिँदा चालकको मृत्यु

काठमाडौं ।बझाङ्ग जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताउँदै “जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो,” उनले भने । मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

महसुल तिरेपछि हिमाल आइरनमा विद्युत् जोडियो, उद्योगीलाई बक्यौता तिर्न ६० किस्ताको सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत् खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए । हिमाल आइरनले महसुल तिर्यो, लाइन जोडियो बारा-पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेवापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । ८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार रातको सभा ९ बजे विद्युत् लाइन जोडिएको उल्लेख गरे । प्राधिकरणले उद्योगको लाइन शुक्रबार काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने प्रतिवद्धता जनाएको छ । २२ उद्योगमा विद्युत् अवरुद्ध बिगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सवस्टेसनबाट अर्को सवस्टेशन जोड्ने लाइन) बाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकरुलाई प्रिमियमसहितको विद्युत् महसुल भुक्तानीका लागि प्राधिकरणले पटक पटक ताकेता गरेको थियो । व्यवसायीहरुले महसुल बुझाउन अस्वीकार गरेको भन्दै विद्युत् प्राधिकरणल पुस ६ गतेबाट विद्युत् लाइन बिच्छेद गर्न सुरु गरेको थियो । आम सर्वसाधारण उपभोक्ताले बिगतमा दैनिक रुपमा १७/१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेकोबेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् । डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसीर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यसमध्ये ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ । बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमश : विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको छ ।

अदालतका दुईथरी आदेशप्रति गृहमन्त्री असन्तुष्ट

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा दुई जना युवाको ज्यान गएको विषयमा सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बृहत छलफल भएको छ । छलफलमा सांसदहरुले घट्नामा दोषीको विषयमा विभिन्न ढंगले आरोप लगाउने र कारबाहीको लागि आफ्ना धारणाहरु राख्ने काम गरेका छन् । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने आफ्नो धारणा राख्ने क्रममा अदालतले दिन सक्ने आदेश पनि नदिएको र इपीएसले पनि अदालती आदेशको सहि व्याख्या नगरेको बताए । उनले अदालत र न्यायधिशप्रति कुनै आक्षेप त लगाएनन् तर दुई थरी आदेशप्रति असन्तोष जनाए । ‘अदालतले १८ जना मात्रै होइन, सिपिङमा जाँच दिएका सबैले फारम भर्न पाउछन् भनेको भए हुन्थ्यो । तर, हामी त अदालतलाई त केही भन्न सक्दैनौं’, गृहमन्त्री श्रेष्ठले भने -‘इपिएसले अदालतको आदेशको लिबरल इन्टरप्रिटेसन गरेको भए घट्ना घट्ने थिएन ।’ प्रारम्भिक विश्लेषणमा नै समस्या देखिएकोले जिम्मेवार व्यक्तिहरुलाई निलम्बन गरेर छानबिनको लागि उपयुक्त वातावरण सिर्जना गर्न खोजिएको उनको भनाइ छ । बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अदालतको एउटा आदेशपछि अर्को आदेशका लागि इपिएस शाखाका कर्मचारीले नै अदालतमा मुद्दा हाल्न लगाएको आशंका व्यक्त गरे । तर, उनले अदालतको आदेशमा कमजोरी भए नभएको विषयमा भने कुनै टिप्पणी गरेनन् । ‘मुद्दा पर्यो, मुद्दाको कन्जरभेटिभ इन्टरप्रिटेसनको कुरा आयो, त्यसपछि गएर त्यही कार्यालयका मानिसहरुले नै फर्दर अर्को मुद्दा हाल्नुस भनेको देखिन्छ, किनकी यो मुद्दा आएपछि शुक्रबार फेरि अर्को मुद्दा आउँछ, किनकी १८ जनाको आयो । फेरी मुद्दा हाल्दा सबैको लागि खुला हुन्छ भनेको देखिन्छ’, महामन्त्री थापाले भने । उही मागका निवेदनमा अदालतका दुई आदेश इपिएस कोरिया शाखाले मंसिरको १९ गते म्यानुफ्याक्चरिङ क्षेत्र तर्फ जानको लागि कोरियन भाषा परीक्षा दिन सूचना प्रकाशित गरेको थियो । उक्त सूचनामा सन् २०२३ कै अन्य भाषा परीक्षामा फर्म भरेकाले नपाउने उल्लेख गरिएको थियो । इपिएस कोरिया शाखाको सोही सूचनाको विरुद्धमा सिप बिल्डिङ सेक्टरमा फर्म भरेका सुरज पाठक सहित १८ जनाले म्यानुफ्याक्चर क्षेत्रको भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै पाटन उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । त्यसैगरी तर्कबहादुर पलले कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका थिए । तर, अदालतले भने दुई निवेदनमा फरक-फरक भाषा प्रयोग गरी उत्प्रेषण आदेश दिने काम गर्यो । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले पुस ५ गते जारी गरेको उत्प्रेषण आदेशमा ‘निवेदकहरुले माग गरेका विषयमा प्रस्तुत निवेदनहरुको अन्तिम सुनुवाई हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत्काल यी निवेदकहरुलाई पर्न सक्ने अपुरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकहरुलाई आवेदन फारम नै भर्नबाट बञ्चित गर्न मनासिव नहुँदा निवेदकहरुका हकमा उल्लेखित मिति २०८०/०८/१९ को सूचना बमोजिम मिति २०८०/०९/०२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र निवेदकहरुलाई आवेदन फारम भर्न दिनु भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’, भनिएको थियाे । पाटन उच्च अदालतको पुस ५ गतेको उत्प्रेषण त्यस्तै, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि अधिकारीको इजलासले पुस १३ गते जारी गरेको उत्प्रेषणमा ‘निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने नै हुँदा निवेदकहरूलाई पर्न सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकहरूलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरूलगायत निवेदकसरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लिखित मिति मंसिर १९ को सूचनाबमोजिम मिति पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनू र परीक्षा आवेदन फाराम भर्न दिनू र दिलाउनू भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’, भनिएको छ । पाटन उच्च अदालतको पुस १३ गतेको उत्प्रेषण

फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक, ५७ लाखमै पाइने

काठमाडौं । नेपालमा फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक भएको छ । फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमबार एक कार्यक्रम आयोजना गर्दै उक्त ईभी भ्यान सार्वजनिक गरेको हो । गाडी सार्वजनिक गर्ने क्रममा एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले उक्त गाडी नेपाल सडकका लागि उपयुक्त भएको बताए । ‘यो गाडी लामाे र छाेटाे दुवै रुटका लागि उपयुक्त छ,’ उनले भने, ‘गाडी धेरैको रोजाइमा पर्ने हाम्राे आशा छ, हामीले गाडी बिक्रीलाई मात्र हाेइन गाडी बिक्रीपछिको सर्भिसलाई पनि उत्तिकै ध्यान दिएका छौं ।’ कम्पनीका अनुसार हाई रुफ ईभी भ्यान १४ र १५ सिटरको रहेका छन् । कम्पनीले उक्त ईभी भ्यान युरोपियन युनियन डब्लूभीटिए–प्रमाणित सवारीसाधन रहेको बताउँदै यसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्यान्डद्वारा गरिएको छ । कम्पनीले १५ सिटर ईभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकेको छ । गाडीको खरिदमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको पनि बताइएको छ । कम्पनीका अनुसार फोटोनले गाडीको स्थायित्वका लागि ३ लाख किलाेमिटर वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । ईभी भ्यानमा ८५ किलोवाटको पावर रहेको छ । उक्त भ्यानभित्र फराकिलो भाग र आरामदायी सवारीका लागि फुल एसी लगायतका सेवा सुविधा जडान गरी तयार गरिएको छ । आधुनिक प्रविधि प्रयोग भएको उक्त भ्यानमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ । फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ ईभी भ्यानले कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न सघाउने बताए । उनले भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको पनि बताए । कम्पनीले उक्त ईभी गाडी पेट्राेलबाट चल्ने गाडीहरूसँग एक्सचेन्ज गर्न सक्ने बताएको छ । कम्पनीका अनुसार  हाई रुफ ईभी भ्यानको बुकिङसमेत खुल्ला गरिएको छ ।