विकासन्युज

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आज एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ । इकाइले नमूना घोषणा गरिएका जिल्लामा दूरसञ्चार सेवाको विकासमा सहजीकरण गर्ने टेलिकमका प्रबन्धक डा बिमल आचार्यले जानकारी दिए । टेलिकमले पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहत, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेतm, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पालाई नमूना जिल्ला घोषणा गरी सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने तयारी गरेको छ । नमूना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधि तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधारको पहुँच विस्तार गरिने टेलिकमले जनाएको छ । ती जिल्लाका अधिकांश मानवबस्तीमा गुणस्तरीय मोबाइलका साथै इन्टरनेट (एनटी फाइबर) सेवा उपलब्ध गराइने छ ।

नेपाल एयरलाइन्सले तिर्याे ५३ करोडभन्दा बढी ऋण

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदवापतको ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो । निगमले पछिल्लो १८ महिनमा किस्ताबापत ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ । मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।

बैंकहरूले घटाएको ब्याजदर आजदेखि लागू, १८ बैंकले घटाउँदा कुनको कति ?

काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर आज माघ १ गतेदेखि लागू भएको छ । माघ महिनाका लागि बैंकहरूले पुस मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । पुसको तुलनामा माघमा सबै बैंकहरूले ब्याजदर घटाएका छन् । माघमा १८ बैंकले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाउँदा एभरेष्ट बैंक र एनएमबि बैंकले भने स्थिर राखेका छन् । एभरेष्ट बैंकले माघमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेको छ । लक्ष्मी सनराइज बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत, कृषि विकास बैंकले संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत, प्रभु बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र नेपाल बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यस्तै, कुमारी बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत, एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत, प्राइम बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेका छन् । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत, कनेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन । हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.१५ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण, प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने

काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए । प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो । बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो । कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ ।

नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ताइवान चीनकै अभिन्न अङ्ग भएको बताउँदै उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारे । उनले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए । उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेकोे समेत जनाए । ‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिवद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’ उनले भने । प्रधानमन्त्री दाहालले चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे । दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए ।

६ महिनामा महानगरले उठायो ५ अर्ब राजस्व, घर वहालबाटै सवा अर्ब संकलन

काठमाडौं  । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा करिब ५ अर्ब राजस्व संकलन गरेकाे छ ।  महानगरपालिकाले चालु आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । महानगरले विभिन्न शिर्षकमा संकलन गरेको राजश्व सार्वजनिक गरेको छ । महानगरले सम्पत्ति कर अन्तर्गत ६७ कराेड १७ लाख, ८३ लाख भूमी तथा मालपाेत कर, १ अर्ब १८ कराेड १५ लाख घर वहाल कर र ४ कराेड ५२ लाख रूपैयाँ पर्यटन शुल्क बापत कर संकलन गरेकाे छ ।  

धौलागिरी लघुवित्तका सेयरधनीको पुर्पुरोमा हात, सेयर मूल्य ७५ प्रतिशत बढेपछि लाभांश गायब

काठमाडौं । गत कात्तिक २३ गते धौलागिरी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश प्रस्ताव गर्याे । संस्थाले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । संस्थाले नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेपछि साधारण सभाबाट लाभांश पारित गर्ने सूचनामार्फत् जानकारी गराएको थियो । तर, लाभांश घोषणा गरेको २ महिनापछि लघुवित्तले वितरण नगर्ने जानकारी गर्याे । लघुवित्त संस्थाको संचालक समितिको पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश बहादुर बमले बताए । ‘गत वर्षको सञ्चित नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव सहितको प्रारम्भिक वित्तीय प्रतिवेदन राष्ट्र बैंकमा पठाएका थियाैं, धौलागिरी लघुवित्तको संचालक समितिको पुस २५ गते बसेको बैठकबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ,’ सीईओ बमले भने । संस्थाले लाभांश वितरण नगर्ने विषय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पनि जानकारी गराइसकेकाे छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव मीनप्रसाद जोशीका अनुसार लघुवित्तले लाभांश घोषणा नगरी प्रस्ताव मात्रै गरेको थियो । तर, लाभांश प्रस्तावसहित प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा पठाइएकोमा प्रोभिजन बढी गर्नु पर्ने भएपछि वितरण नगर्ने निर्णय गरिएको हाे । ‘लाभांश घोषणा नभई प्रस्ताव गरेर प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा पठाइएको जानकारी नेप्सेलाई गरेका छाैं । तर, राष्ट्र बैंकले प्रोभिजनिङ बढी गरायो, अहिलेको अवस्थामा बाँड्न मिल्ने वा नमिल्ने स्पष्ट धारणा केही पनि आएन,’ उनले विकासन्युजसँग भने, ‘अहिले पनि लघुवित्तप्रति नकारात्मक धारणा छ, बोनस खुवाएको भनेर चारैतिरबाट पर्ने दबाबलाई मध्येनजर गरी र घाटामा रहेकाले लाभांश नबाँड्ने निर्णय गरिएको हो ।’ यसअघि लघुवित्तले प्रस्ताव गरेको लाभांश ढिला गरी जानकारी गराएको भन्दै नेप्सेले गत कात्तिक २४ गते लघुवित्तको ३ दिन कारोबार स्थगन गरी स्पष्टिकरण सोधेको थियो । सर्भरमा समस्या आएका कारण ढिला भएको र आगामी दिनमा यस्ता समस्या नदोहोर्याउने प्रतिबद्धता जनाएसँगै कारोबार फुकुवा भएकाे थियाे । सेयरधनीलाई लाभांशको आश देखाएर अहिले आएर लघुवित्तले लाभांश नदिने घोषणा गर्दा सेयरधनीहरू पनि संस्थाप्रति असन्तुष्ट बनेका छन् । लाभांश प्रस्ताव गरेको दिन अर्थात् कात्तिक २५ गते यस लघुवित्तको सेयर मूल्य ५९० रुपैयाँ थियो । त्यसपछि निरन्तर बढेको सेयर मूल्य पुस २३ गतेका दिन सेयर मूल्य १ हजार ३५ रुपैयाँसम्म पुगेको थियो । तर, कम्पनीले पुस २५ गते लाभांश वितरण नगर्ने बताएपछि आइतबार पुस २९ गते सो लघुवित्तको सेयर मूल्य ८७२ रुपैयाँमा झरेको छ । यो अवधिमा लघुवित्तको सेयर मूल्य ४४५ रुपैयाँ अर्थात् ७५.४२ प्रतिशतले बढेको छ । यो बिचमा सेयरधनीले लाभांश पाउने आशमा सेयर खरिद गरेको देखिन्छ । तर, अन्ततः संस्थाले लाभांश वितरण नगर्ने बताएपछि सेयरधनी पुर्पुरोमा हात लगाएर बस्न विवश बनेका छन् । यस विषयमा नियामक भने मौन देखिएका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेर अन्ततः वितरण नगर्ने फ्रड काम गरेको संस्थाप्रति पुँजी बजारको नियामक नेपाल धितो बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मौन छन् । लाभांशको लोभ देखाएर सेयरधनीलाई सेयर खरिद गर्न उत्साहित बनाएको धौलागिरी लघुवित्तप्रति नियामक पनि उदार देखिएका छन् । नेप्सेका एक कर्मचारी संस्थाहरूले राष्ट्र बैंकको नीतिको लुपहोलको प्रयोग गर्दै सेयर मूल्यमा खेलिरहेको बताउँछन् । उनका अनुसार लाभांश प्रस्ताव गरेपछि राष्ट्र बैंकले रोक्न चाहेमा रोकिने र स्वीकृति दिएमा घोषणा गर्ने अभ्यासले सेयरधनीलाई मर्का भइरहेको छ । यसका लागि राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भइसकेपछि मात्रै लाभांश प्रस्ताव गर्नु पर्ने नीति बनाउनु पर्ने उनको भनाइ छ । अहिलेको अभ्यासले बढ्दो बजारमा सेयरधनी ठूलो नोक्सानमा पर्न सक्ने खतरा हुने उनको भनाइ छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनय देव आचार्यले यस विषयमा सेबोनले एक्सन लिने बताए । ‘यो कसरी भयो, हामी अध्ययन गर्छौं, गलत भएको छ भने कारवाही गर्छौं, सुरुमा लाभांश प्रस्ताव गरेर पछि वितरण गर्दिनँ भन्न मिल्दैन, राष्ट्र बैंकले पनि के कति कारणले नदिएको हो, त्यो विषय पनि खुलाउनुपर्छ, त्यो विषय नखुलाएर वितरण गर्दैनौं भन्न मिल्दैन,’ उनले भने । युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब युनिक नेपाल लघुवित्तविरुद्ध अदालत जाने लगानीकर्ताको चेतावनी, अध्यक्ष हमाल भन्छन् : कारबाही गर्छौं