विकासन्युज

छिमेक लघुवित्तको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको २२औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हालसम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख १९ हजार बढी महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । प्रस्तावित लाभांश पारितसँगै संस्थाको चुक्ता पुँजी बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

लक्ष्मी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पुस २९ गते आइतबार सम्पन्न भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद श्रेष्ठले वर्तमान अवस्थामा लघुवित्तमा देखिएका समस्या र चुनौतिहरुको समिक्षा गर्दै आगामी दिनमा थप सबल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीको २०८० आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी ४४ करोड १६ लाख रुपैयाँ छ । आर्थिक मन्दी तथा लघुवित्त संस्थाविरुद्ध सञ्चालित कारोबारलाई प्रभाव पार्ने विभिन्न गतिविधिहरुको कारण आर्थिक वर्ष २०७९/८० मा संस्थाको वित्तीय अवस्थामा प्रतिकुल प्रभाव पर्न गै नोक्सान व्यहोर्नु परेको कारण कायम नाफालाई सञ्चित गरी लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण पारित गरेको छ । सभाबाट अन्य ईजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकबाट २०६८ फागुन २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोबार शुरु गरेको थियो । हाल आएर देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ८ हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । विभिन्न प्रदेशमा ५ वटा प्रादेशिक कार्यालयहरु समेत स्थापना गरिएको छ । त्यसैगरी संस्थाले २०८० मंसिर मसान्तसम्म ७ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब १९ करोड रुपैयाँ बचत संकलन गरेको छ ।

ज्योति विकास बैंकको १६औं साधारण सभा सम्पन्न, सञ्चालकमा महर्जन निर्विरोध

काठमाडौं । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते आइतबार काठमाडौंको नक्सालमा सम्पन्न भएको उक्त सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् । सभाले बैंकको सर्वसाधारण सेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । समीक्षा अवधिमा यस बैंकले नेपाल सरकारलाई राजश्वमा जम्मा ६२ करोड ७५ लाख रुपैयाँको उल्लेखनीय योगदान पुर्याएको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको बताइएको छ । हाल विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २६ औं बार्षिक साधारणसभा आईतबार कम्पनीका अध्यक्ष जीवन राज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्स सम्पन्न साधारण सभाले आ.ब. २०७९/८० को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ। यस कम्पनीले कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको ३.० मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो। यस आयोजनले विक्रम सम्वत् २०६० साल आश्विन १ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरुलाई लोडसेडिङ्ग मुक्त बनाउन ठुलो योगदान गरि रहेको छ। त्यसै गरि यस कम्पनीले ताप्लेजुङ्ग, पाँचथर सिमाना भएर बहने काबेली खोलामा ९.९४ मेगोवाट क्षमता भएको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७८ साल चैत्र १२ गते देखि व्यवसायिक उत्पादन सुरु गरेको छ । जलविद्युत आयोजनाहरुको विकास र निर्माण गर्दै जाने कम्पनीको उद्धेश्य रहेको र हाल कम्पनीसँग निर्माण आयोजना नरहेकोले कम्पनीले साहायक कम्पनी मार्फत आयोजना निर्माण गर्ने निर्णय गरि पिके हाइड्रोपावरमा ५१ प्रतिशत संस्थापक सेयरमा लगानी गरि ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मे.वा. क्षमताको लिखु खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई हकप्रद निष्काशनका लागि अघि बढेको छ। बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । अरुण भ्यालीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ।

युनियन हाइड्रोले होङ्गु र तमोर जलविद्युत आयोजनाको काम अगाडि बढाउने 

काठमाडौं । युनियन हाइड्रोपावर पब्लिक लिमिटेडले २८ मेगावाट होङ्गु खोला र ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ । पुस २९ गते सम्पन्न हाइड्रोपावरको १७ औं वार्षिक साधारण सभाले उक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने निर्णय गरेको हो । यससँगै, सबै प्रक्रिया सकिएपछि कम्पनीले उक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ । साथै, उक्त सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गरेको छ ।

सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिमा ४ जना निर्विरोध

काठमाडौं । सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । सिटिजन्स बैंकको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारण सभा शनिबार सिबिआईएल सेक्युरिटिजको कार्यालय परिसर कुपण्डोलमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको सञ्चालक समितिमा चार जना सञ्चालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिजले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कर्मचारीलाई पेसागत दक्षता अभिवृद्धि प्रशिक्षण कार्यक्रम

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवलमा पुस २७ र २८ गते आयोजना गरेको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीको उपस्थिति थियो । कम्पनीले नेपाम बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने काम नियमित रुपम गरिरहेको छ । नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पूर्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्रान्डिङ, लेखा र ग्राहक सेवालगायतका विषयमा अन्तर्क्रियात्मक प्रस्तुतीकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धकद्वय कविराज पौडेल तथा सुभाष दीक्षित तथा अन्य विभागीय प्रमुखद्वारा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । उक्त प्रस्तुतीकरणमा प्रस्तुत तथा विवेचना गरिएकाका विषयले कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जरपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बजार विस्तार र ग्राहक सेवालाई पहिलो प्राथमिकता दिएको छ । बजार विस्तारलगायत ग्राहक सेवामा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुन्छ। यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीहरुलाई मात्रै नभई प्रदेशस्तरका कर्मचारीलाई समेत उतिकै दक्ष बनाउने रणनीति बनाएको छ । बीमा कम्पनीहरु काठमाण्डौ तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहँदै आएकोमा मर्जरपश्चात कम्पनीले आफ्नो व्यावसायिक क्षमतालाई अधिकतम उपयोग गर्दै ग्रामीण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । कम्पनीको यो कार्य सरहानीय रहेको सहभागीहरुले बताएका छन् ।