विकासन्युज

५ महिनामा बैंकहरूको नाफा साढे २८ अर्ब, बिग मर्जरबिनै ठूला बैंकसँग प्रतिस्पर्धा गर्दै प्राइम बैंक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा वाणिज्य बैंकहरूले साढे २८ अर्ब रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्म २० वटा वाणिज्य बैंकले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । ५ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड १ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख रुपैयाँ नाफा गरेका हुन् । यस्तै, एभरेष्ट बैंकले १ अर्ब ४० करोड ३२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख रुपैयाँ, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा गरेका हुन् । लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ र कृषि विकास बैंकले ४० करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा गरेका हुन् ।

नेपाल बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल बैंकको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो । त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित

विराटनगर । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित गरेको छ । आइतबार सम्पन्न पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस पारित गरेको हो । सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड  ५४ लाख ८४ लाख सात सय बराबरको बोनस सेयर वितरण गर्ने छ । बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिने छ । बोनस वितरण पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुग्ने छ ।

समृद्धि फाइनान्सद्वारा न्यानो कपडा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले गैर शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको कविलासी नगरपालिका-१,२,७, हरिपुर नगरपालिका-३ र चन्द्रनगर गाउँपालिका-१ को पिपरिया, सर्सीया, गैर, लगुवा र फरहदवाका विपन्न वर्गलाई व्याङ्केट वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरुको सूची मध्ये न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत २४ घरधुरीलाई व्याङ्केट वितरण कार्य सम्पन्न गरेको हो । संस्थाका शाखा प्रमुख रामहरि निरौलाको अध्यक्षता तथा कविलासी नगरपालिका मेयर ब्रम्हदेव रायको प्रमुख आतित्यथामा आयोजित कार्यक्रमा स्थानीय व्यापारि उपेन्द्र राय, पुरन महत्तो कोईरी, मनोज ठाकुरले आफ्नो मन्तव्य राख्दै यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई यस कठ्याग्रीयको जाडोमा ठूलो राहत पुगेकोले फाइनान्सलाई धन्यवाद दिँदै यस भेगमा फाइनान्स सवैका लागि एउटा आशा र भरोशाको रुपमा आएको विचार व्यक्त गरे । त्यसैगरि वडा अध्यक्ष रामपुकार मण्डलले यस फाइनान्सले दिने सम्पुर्ण सेवा सुविधा स्थानीय जनताले उपयोग गरी धेरै भन्दा धेरै वैकिङ्ग लाभ लिनसक्नु पर्ने बताए । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना छ । आज काठमाडौँको न्यूनतम तापक्रक ५ दशमलव २ र अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रीसेल्सियस रहेको छ ।

कुमारी बैंकले डाक्यो २३औं साधारण सभा, मुख्य एजेण्डा के-के छन् ?

काठमाडौं । कुमारी बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले २३औं वार्षिक साधारण सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७/८०को वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्नेछ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ८ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

नाफाभन्दा सेवा विस्तारलाई प्राथमिकतामा राख्न सञ्चार सचिवको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सञ्चार क्षेत्रमा तीव्र प्रतिष्पर्धा भइरहेको भन्दै अति विकट तथा दुर्गम क्षेत्रमा सेवाविस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणा कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सोह्रौँ वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन पेस गर्दै सञ्चालक समितिका अध्यक्ष समेत रहेका सचिव सुवेदीले विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रम परिलक्षित गरिरहेको बताए । साधारण सभाले आर्थिक वर्ष २०७९/८०को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीको उपस्थिति थियो । सभाले आव २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरुउपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०८०÷८१ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेशकुमार गुरागाईंलाई लेखापरीक्षक नियुक्त गर्नाका साथै पारिश्रमिक तोकेको छ । त्यसैगरी, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकका रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् । समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा सात दशमलव ८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको अध्यक्ष सुवेदीले बताए । “आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कूल ४४.४२ अर्ब आम्दानी गरी ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ”, उनले भने ।

प्रधानमन्त्रीको निर्देशनपछि निर्माण व्यवसायीको भुक्तानी प्रक्रिया अघि बढ्यो

काठमाडौं । निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आइतबार सम्पन्न छलफलपछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा.बैकुण्ठ अर्याल, अर्थसचिव डा.कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आइतबार नै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षकै भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको हो । प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आइतबार नै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । यो निर्णयसँगै विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।