५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
काठमाडौं । कुमारी बैंकले ५ लाख २५ हजार संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ र बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागिएको जनाएको छ । बिहीबार जारी सूचनामा सेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । लिलामीमार्फत सेयर खरिद गर्न चाहने लगानीकर्ता र बिक्रेताले तोकेबमोजिम मूल्य निर्धारण हुनेछ । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरूले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको सेयर रजिष्ट्रार नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेस गर्न बैंकले अनुरोध गरेको छ । उक्त समय अवधिमा सेयर खरिद गर्न निवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।
यस्तो रहनेछ दिनभरको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बिशीबार बिहान कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौं : पर्यटनमन्त्री तामाङ
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (इयू) ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा बुधबार पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए । उनले भने, ‘नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु । यो चाँडैनै हट्छ भन्ने विश्वास लिएको छु ।’ इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी) मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ । मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गरे । उनले संघीयताको मर्म र भावना अनुरूप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गरे । मन्त्री तामाङले पर्यटन व्यवसायी एवं विज्ञ सरोकारवालासँग छलफल गरेर पर्यटन क्षेत्रको विकास तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनेबारे योजनाबद्ध कार्यक्रम अगाडि बढाइने बताए । सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै मन्त्रालयसँग सम्बन्धित कामलाई प्रभावकारी बनाइने उनको भनाइ थियो । पर्यटनमन्त्रीको पहिलो निर्णय नवनियुक्त पर्यटनमन्त्री तामाङले मन्त्रालयमा पदबहाली लगत्तै हवाई नीति, २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गरे । अध्ययन समितिको प्रतिवेदनअनुरुप पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने मस्यौदा बनाउने र त्यसलाई सरकारले आवश्यक निर्णय गर्नेगरी मन्त्री तामाङले पहिलो निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले बताए । पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठिन उक्त समितिले संघीयताको भावना अनुरूप समय सापेक्ष हवाई नीतिको मस्यौदा तयार गर्नेछ । मुलुकको ४१औं पर्यटनमन्त्री तामाङ नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ मुलुकको ४१औं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । पर्यटन मन्त्रालयको विवरणमा २०३४ सालमा डा. हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४१ पर्यटनमन्त्री पाइसकेको छ । विसं २०२० मा नुवाकोटको पञ्चकन्यामा आमा श्रीमाया तामाङ र बुबा माइते तामाङको कोखबाट जन्मिएका तामाङ २०६६ सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए । उनी २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य सुदन किराँती मुलुकको ४०औं पर्यटनमन्त्री बनेका थिए । मध्यम निम्न वर्गीय किसान परिवारमा जन्मिएका मन्त्री तामाङले नुवाकोटकै अमर ज्योति उच्च मावि खरानीटारमा औपचारिक शिक्षा लिएका हुन् । उनी केही वर्ष अध्यापनमा सक्रिय भए । चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय तामाङ २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहे । विसं २०३९ मा अनेरास्ववियु छैटौँको नुवाकोट सचिव भए । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका (संसद् सदस्य) भएक। थिए । विसं २०७४ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५८ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेका थिए । रासस
सरकारी जग्गा हडपेकालाई निर्मम रूपमा कारवाही गर्ने रविको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त गृह मन्त्री रवि लामिछानेले सरकारी जग्गा हडपेकालाई निर्ममरूपमा कारवाही गर्ने निर्णय गरेका छन् । बुधबार राति मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले सरकारी जग्गालाई सरकारको नाममा ल्याएर जग्गा हडप्नेलाई तत्काल कारवाही गर्ने निर्णय गरेका हुन् । ‘सरकारी जग्गा हडप्नेलाई तत्काल कारवाही गरेर सरकारी जग्गा सरकारको नाममा ल्याउने मेरो पहिलो निर्णय हो, जनतामा धेरै अपेक्षा छ, तत्काल डेलिभरी गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
अर्थमन्त्री पुनले के गरे पहिलो निर्णय ?
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले जलवायु वित्तमार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् । नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा सरकारले जोड दिने पनि निर्णयमा उल्लेख छ । ‘जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुँच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुँच, छलफल तथा वार्ता, राष्ट्रिय स्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने,’ अर्थमन्त्री पुनको निर्णयमा उल्लेख छ ।
वर्षमान पुनले सम्हाले अर्थमन्त्रालयको कमाण्ड, ‘अर्थतन्त्रलाई सजिलै गति दिन सकिन्छ’
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न सुरु गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथपछि उनले बुधबार राति अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । नवनियुक्त अर्थमन्त्री पुनले जलवायु वित्तमार्फत् आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् । नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा सरकारले जोड दिने पनि निर्णयमा उल्लेख छ । ‘जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुँच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुँच, छलफल तथा वार्ता, राष्ट्रिय स्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने,’ अर्थमन्त्री पुनको निर्णयमा उल्लेख छ । नवनियुक्त अर्थमन्त्री पुनलाई सुस्ताएको अर्थतन्त्रलाई लयमा ल्याउनु पर्ने चुनौती छ । अहिले व्यवसायीलाई ऋण तिर्नका लागि ऋण लिनु पर्ने बाध्यता छ । व्यावसायिक वातावरण राम्रो छैन । देशमा आर्थिक गतिविधि बढ्न नसक्दा सरकार घाटामा सञ्चालन भइरहेको छ । राजस्व घट्दा सरकारको आम्दानीभन्दा दायित्व बढी हुन पुगेको छ । निर्माण क्षेत्रले गती लिन सकेको छैन । अब स्रोत जुटाउन र जुटेको स्रोत व्यवस्थित रुपमा खर्च गर्नुपर्ने जिम्मेवारी अर्थमन्त्री पुनसँग छ । अर्थतन्त्रमा देखिएका विभिन्न समस्या समाधानका लागि खट्नु पर्ने जिम्मेवारी पुनमाथि छ । अर्थतन्त्रलाई सजिलै गति दिन सकिन्छ उनले पदभार ग्रहण गर्दै अर्थतन्त्रलाई सजिलै गति दिन सकिने बताएका छन् । अहिले १० प्रतिशत रहेको राजस्व वृद्धिदरलाई २० प्रतिशत बनाउन सकिने पनि बताएका छन् । उनले आफू यसअघि अर्थमन्त्री बन्दा घरजग्गा र सहकारी क्षेत्रमा ठूलो समस्या रहेको बताउँदै अहिले पनि समस्या भएपनि खासै ठूलो नभएको धारणा राखे । उनले विगतमा सिर्जना भएका दायित्व राज्यले भुक्तानी गर्नु पर्ने पनि बताए । ‘विश्वमै अर्थतन्त्रको अवस्था राम्रो छैन, यो बिचमा हामीले काम गर्नु पर्नेछ, मैले अहिलेको अवस्थालाई सकारात्मक चुनौतीको रुपमा लिएको छु,’ उनले भने । भिडियो हेर्न यहाँ थिच्नु होला
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आज पद तथा गोपनीयतको शपथ लिएका हुन् । यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शपथ लिएका हुन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले शपथ लिएका छन् । पद तथा गोपनीयतको शपथ लिनेमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सहरी विकासमन्त्री धनबहादुर बुढा छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । पहिलो चरणमा विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका नेकपा (एमाले)का पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले यही फागुन २१ गते शपथ लिएका थिए । मन्त्रीमण्डल पुनर्गठनका क्रममा आज एमालेका गिरीलाई कानुन, न्याय तथा संसदीय व्यवस्था, माओवादी केन्द्रका तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वतन्त्र पार्टीका अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने छन् । यी हुन् नवनियुक्त मन्त्रीहरूः नेकपा एमाले रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री राजेन्द्रकुमार राई, खानेपानी मन्त्री पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हरि उप्रेती, रक्षा मन्त्री ज्वालाकुमारी साह, कृषि मन्त्री नेकपा (माओवादी केन्द्र) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री वर्षमान पुन, अर्थ मन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नेकपा एकीकृत समाजवादी भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री धनबहादुर बुढा, सहरी विकास मन्त्री
सम्भावना बोकेकी सुमना : बुढानिलकण्ठ र अमेरिकामा अध्ययनदेखि शिक्षा मन्त्रीसम्म
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको पुरानो गठबन्धनको सरकार भत्किएर बनेको नयाँ राजनीतिक समीकरणको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । नेपालदेखि अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक करिअर सुरु गरेकी श्रेष्ठले आफैंले सुधारको पैरवी गर्दै आएको शिक्षा क्षेत्रको जिम्मेवारी सम्हाल्नेगरी जिम्मेवारी पाएकी हुन् । प्रतिनिधिसभा सदस्य भएदेखि नेपालको विद्यालय र विश्वविद्यालय शिक्षाको सुधारका निम्ति उनले खासगरी शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिमा रहेर देखाएको सक्रियतालाई धेरैले प्रशंसा गर्ने गरेका छन् । सन् १९८४ अक्टोबर १ मा काठमाडौंमा जन्मिएकी श्रेष्ठ काठमाडौंको क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ हायर सेकेन्डरी स्कूलमा अध्ययन गरेकी थिइन् । त्यसपछि उनले बूढानीलकण्ठ स्कुलमा ए-लेभल इकोनोमिक्स, म्याथमेटिक्स र अहेड म्याथमेटिक्स अध्ययन गरिन् । हाईस्कूलबाट स्नातक गरेपछि श्रेष्ठले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् । श्रेष्ठ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । विसं. २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटीग्रुपमा समेत काम गरेकी थिइन् । जब विसं. २०७२ सालमा नेपालमा महाभूकम्प गयो, तब उनको जीवनको लेन बद्लियो । भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग काम गर्न बोस्टन कन्सल्टिङ ग्रुपले उनलाई नेपाल पठायो । त्यसपछि उनी अमेरिका फर्किएकी हुन् । सुमनाले नेपाललाई नै कार्यक्षेत्र बनाएर काम गर्न थालेपछिका वर्षहरूमा उनी नेपाल र नेपालीका लागि सञ्चालन भएका विभिन्न अभियान र कार्यक्रममा आधारभूत तहमै संलग्न भएकी छिन् । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेर होस् वा काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी उपसमितिलाई नेतृत्व गरेर अथवा रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेर, उनी तत्काल आवश्यक सहयोग, सहायता देखि पुनर्निर्माणसम्मका गतिविधिमा सक्रिय रूपमा सहभागी हुने गर्थिन् । श्रेष्ठले गणितमा स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्शदाताका रूपमा काम गरिसकेकी छिन् । यसका साथै उनले कोसी कोल्याबोरेटिभ व्यवस्थापन तथा प्राविधिक परामर्शदाता कम्पनी, नोवाला बायोटेक, स्वास्थ्य उपकरण सामग्री उत्पादन र बटुका क्रिमरी आइसक्रिम पार्लर लगायतका उद्यम स्थापना गरेकी छिन् । प्रविधि र अर्थशास्त्रमा विज्ञता भएकी सुमनाकाे राजनीतिज्ञको रूपमा सुरुवाती चरणमा मूलतः तीनवटा प्राथमिकता रहेको बताउने गरेकी छन् । पहिलो, रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), दोश्रो नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरूलाई संलग्न गराउने र तेस्रो राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो । नेपालको विश्वविद्यालय र विद्यालय शिक्षा क्षेत्रमा रहेका समस्याहरूको समाधानका लागि नवनियुक्त मन्त्री श्रेष्ठले नीतिगत तहमा रहेर सिर्जनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ । तर, विभिन्न ढंगले बनेको सरकारको गठबन्धनको आयु कति लामो हुनेछ र उनले आफूलाई उपलब्ध हुने समयको कति सदुपयोग गर्नेछिन् भन्ने विषय हेर्न भने प्रतिक्षा गर्नु पर्नेछ ।