विकासन्युज

ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप-समितिमा उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप-समितिले विष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ अन्तरगत रहेको महिला उप–समितिको सोमबार राजधानीमा सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनबाट विष्णुमाया उचहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । महिला उप-समितिको उपाध्यक्षमा देवी कार्की (रुपन्देही), सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं, कोषाध्यक्षमा सरिता प्रधान(मकवानपुर) चयन भएका हुन् । यसैगरी सदस्यहरुमा सम्झना सिलवाल (चितवन), सृजना भट्टराई(सुनसरी), प्रभा घिमिरे (पश्चिम नवलपरासी), तारा बुढाथोकी (पोखरा), गीता खम्चा (नवलपुर) सर्व सहमत रुपले निर्वाचित भएका हुन् । नवनिर्वाचित महिला उपसमिति अध्यक्ष विष्णुमाया उचहीले आफ्नो नेतृत्वमा ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध महिला सदस्यहरुको साझा समितिलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र ग्रीलजन्य व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा व्यक्त गरे । महिला उप–समितिको भेलाको उद्घाटन समारोहमा प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानामगरले महिलाहरु आर्थिक रुपमा सबल भएमात्रै देशको अर्थतन्त्र सबल हुने बताए । संघर्षसँग नडराउने व्यक्तिले नै संसार जित्न सक्ने भन्दै उहाँले संघर्षबाट नआत्तिन आग्रह गरे । महिलाहरु अगाडी बढेर जोखिमपुर्ण व्यवसायका रुपमा रहेको ग्रीलजन्य काममा लाग्ने महिला दिदीबहिनीहरुलाई निर्धक्क भएर अगाडी बढ्न आग्रह गरे । आम महिलाको बारेमा नीतिगत रुपमा राज्यले र व्यवहारीक रुपमा समाजले समान धारण बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उनको भनाई छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु घरेलु तथा साना उद्योग सञ्चालन र प्रवद्र्धनमा महिलाको उच्च भूमिका रहने भन्दै महिला उपसमितिका रुपमा संगठित हुँदै जानु खुशीको कुरा भएको बताए । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महिला अधिकारको अन्तराष्ट्रियदेखि राष्ट्रिय स्तरसम्ममा भएका प्रगतिहरुको बारेमा चर्चा गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल मातहतमा रहेका र कानुनी मर्यादा तथा व्यवसायीक स्वास्थ्य र सुरक्षा अपनाएर कार्य गर्ने व्यवसायीहरुलाई कुनै किसिमको दुःख र असुविधा आइपरेमा जस्तो अवस्थामा पनि आफु सहयोग गर्न तयार रहेको बताए । उद्घाटन समारोहमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष मोहन कटुवाल, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष केदार अधिकारी, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका सल्लाहाकार तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ, नेपाल ग्रील व्यवसायी संस्था २०५० का संस्थापक अध्यक्ष मधु बहादुर कार्की, कादम्बरी मेमोरीयल कलेजको संस्थापक प्रिन्सिपल तथा महिला शसक्तिकरण अभियानकी अभियन्ता प्रदिप्ता कादम्बरी, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठललगायतको उपस्थिती थियो ।

७ वटा नगरपालिका उत्कृष्ट घोषित

काठमाडौं । विभिन्न ७ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा घोषित भएका छन् । नगरपालिका संघको ३१औं स्थापना दिवसका अवसरमा विभिन्न ६ नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो संस्थागत विकास तथा सुशासनमा दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट बनेको छ । यस्तै, स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका, सामाजिक विकासमा गौर रौतहटको नगरपालिकापालिका उत्कृष्ट बनेको हो । वन वातावरणको क्षेत्रमा रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका उत्कृष्ट घोषित भए । यस्तै, सहरी योजना तथा विपद व्यवस्थापनमा गोदावरी नगरपालिका काठमाडौ र भिमदत्त नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।

बैंकर न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उच्च अदालत पाटनले पक्राउ परेका ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । सीआईबीले १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

घर कर्जा लिन चाहनुहुन्छ ? यी ५ बैंकबाट पाइन्छ सस्तोमा ऋण

काठमाडौं । सुस्ताएको घरजग्गा क्षेत्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाहरू धमाधम ब्याजदर घटाउन थालेका छन् । विगतमा बैंकहरूले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर उच्च पुर्याएका थिए । तर, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा प्रयाप्त तरलता भएपछि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर एकल अंकमा झार्न थालेका हुन् । घरजग्गा क्षेत्र चलायमान भएपछि समग्र अर्थतन्त्र नै चलायमान हुने अपेक्षा बैंकरहरूको छ । सोही बमोजिम यतिबेला घर कर्जा सस्तो र सरल बनाउँदै विभिन्न योजनाहरूमा बैंकहरूले ब्याजदर एकल अंकमा झार्न थालेका हुन् । एकल अंकमा घर कर्जा प्रवाह भएपछि घरजग्गा क्षेत्र चलायमान हुने देखिन्छ । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिइरहेको छ । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ८.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराइरहेको जनाएको छ । बैंकले फागुन महिनाका लागि ८.८६ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर न्यूनतम १०.१६ प्रतिशत र अधिकतम ११.६६ प्रतिशत ब्याजदर हुन आउँछ । तर, सो योजनाअन्तर्गत बैंकले ८.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेको बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ८.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो । यदि १०÷१५ वर्षसम्मका लागि कर्जा लियो भने फ्लटिङ रेटमा प्रिमियम परिवर्तन हुने बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) सुजित शाक्य बताउँछन् । उनका अनुसार एकल अंकको घर कर्जा प्रडक्टले बजारमा आर्थिक गतिविधि चलायमान गराउन खोजिएको हो । ‘ब्याजदर निरन्तर घटिरहेको छ । मार्केट लिक्वीडिटी फ्लस छ । बैंकको आधार दर पनि निरन्तर घटिरहेको छ । आधार दर घटिरहेका बेला एउटा क्षेत्रलाई तोक्यो भने त्यसले समग्र अर्थतन्त्रलाई चलायमान वा प्रभाव पार्ने प्रडक्ट आवासीय घर कर्जा हो,’ उनले भने, ‘घर बनाउन आवश्यक पर्ने स्टिल, सिमेन्ट लगायत क्षेत्र पनि चलायमान हुन्छ, मजदूरहरूले पनि काम पाउनु हुन्छ । त्यो क्षेत्र चलायमान होस् भनेर बैंकले सुलभ दरमा घर कर्जा प्रडक्ट ल्याएको हो ।’ राष्ट्रिय वाणिज्य बैंकले एकल अंकमा घर कर्जा प्रवाह उपलब्ध गराइरहेको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम ‘मेरो घर’ कर्जा योजनामा एक अंकको ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको हो । घर खरिद, घर निर्माण तथा जग्गा खरीद गर्न अधिकतम ५ करोड रुपैयाँसम्म दिईने ‘मेरो घर’ कर्जाको ब्याजदर आधार दरमा १.२० प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ । हाल बैंकको आधार दर ८.२५ प्रतिशत छ । जसमा यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध हुने बैंकको भनाइ छ । कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा (ईएमआई) भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ । नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले एनबिएल सुलभ आवास कर्जा अन्तर्गत ९.९५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार उक्त ब्याजदर ५ वर्षसम्म स्थिर रहने छ । घर निर्माण तथा खरिद गर्न, घर निर्माणका लागि १ सय प्रतिशतसम्म कर्जा र ५ दिनभित्र कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्ष स्थिर ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकका अनुसार ७ वर्षपछि भने औसत आधार दरभन्दा १ प्रतिशत बढी प्रिमियम दर लागू हुनेछ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्ने बैकको भनाइ छ । घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत स्थिर ब्याजदरमा १० वर्ष अवधिका लागि घर कर्जा प्रवाह गरिरहेको छ । विशेष घर कर्जा योजनामा बैंकले १२ करोड रुपैयाँसम्म रकम उपलब्ध गराउँदै आएको छ । सस्तो र सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिद गर्नेलाई लक्षित गरी घर कर्जा ल्याइएको बैंकले जनाएको छ । उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरूले सहज रुपमा कर्जा सार्न समेत सक्नेछन् । बैंकका अनुसार १० वर्षसम्म अवधिका लागि ९.९९ प्रतिशत ब्याजदर, १० देखि १५ वर्षसम्म अवधिका लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने छन् । बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरु पेश गरेको २ दिनभित्र कर्जा प्रवाह गर्नेछ । ग्राहकहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो योजना सिमित अवधिका लागि रहेको बैंकले जनाएको छ ।

६ महिनाको परिक्रमापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरूको क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गरेका थिए । उनीहरू गत अगस्टमा अन्तरिक्ष स्टेसनमा गएका थिए । उनीहरूलाई प्रतिस्थापन गर्नेहरू गत साता उनीहरूकै आफ्नो स्पेसएक्स क्याप्सुलमा आएका छन् । मोघबेलीले सोमबार परिक्रमा परिसरबाट प्रस्थान गरेपछि रेडियोमा भने, ‘हामीले तपाईंहरूका लागि बदामको केही बटर र टर्टिला छाडेका छौँ ।’ नासाका लोरल ओ’हाराले जवाफ दिए, ‘म तपाईंलाई पहिलादेखि नै सम्झन्छु र उदार उपहारका लागि धन्यवाद ।’ रुसी सोयुज क्याप्सुलमा सवार हुनुअघि ओ’हारासँग अन्तरिक्ष स्टेसनमा अझै केही साता छन् । अन्तरिक्ष स्टेसन छाड्नुअघि मोगेन्सनले सामाजिक सञ्जाल एक्समा भने, ‘रुखहरूमा चराहरूको गीत सुन्नका लागि प्रतीक्षा गर्न सक्तिनँ र कुरकुरे भोजन खाने पनि इच्छा छ ।’ रकेटमा गडबडीको अवस्थामा नासाले धेरै विकल्पलाई प्राथमिकता दिन्छ । बोइङले मेको प्रारम्भमा दुई–पाइलट परीक्षण उडानसहित अन्तरिक्ष यात्री ट्याक्सी प्रदान गर्न सुरु गर्नुपर्छ । रासस

हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले आफ्नो गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंमा स्थानान्तरण गरी बैंकिङ्क सेवा दिँदै आइरहेको छ । फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपस्थतिमा गरेका हुन् । त्यस्तै, बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुचारु गरेको छ । हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच साझेदारी

काठमाडौं । एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन साझेदारी भएको छ । बैंक तथा वित्तीय संस्थालाई ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ । समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराउनेछ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ । बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।  

एकनारायण अर्याललाई गृह मन्त्रालयमा सरुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एशियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमवार(फागुन २८ गते) बसेको बैठकले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एशियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिएको हो । बैठकले कालीगण्डकी रिडी १३२ के.भी. प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र कोरियामा आगामी चैत २८ मा हुने २२ औँ नेशनल एसेम्ली इलेक्शनको पर्यवेक्षणमा निर्वाचन आयोग, नेपालका निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति दिएको पनि बताइन् । उनले संयुक्त राष्ट्र संघका मानव अधिकार परिषद्को सन् २०२७–२०२९ र सामाजिक तथा आर्थिक परिषद्को सन् २०२९–२०३१ अवधिको लागि सदस्य पदमा नेपालको उम्मेदवारी पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिएको पनि बताइन् । मन्त्री शर्माले नेपाल सरकारको नाममा दर्ता रहेको हुम्ला जिल्लाको जग्गा नाम्खा गाउँपालिकाको १५ शैय्याको आधारभुत अस्पतालको भवन निर्माणको लागि र प्रशासकिय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय भएको पनि जानकारी दिइन् । त्यस्तै अप्पर मादी जिरो खोला जलविद्युत आयोजना(४३ मेगावाट) निर्माणको लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको मादी गाउँपालिकामा रहेको राष्ट्रिय वनको कुल जम्मा १६.९३ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय भएको पनि उनले उल्लेख गरिन् । मन्त्रिपरिषद्ले खानी खोला–१ जलविद्युत आयोजनाले प्रयोग गरेको सरकारी वनक्षेत्र बराबरको निजी जग्गा गौरीशंकर संरक्षण क्षेत्रको आसपासमा खरिद गरी विभागको नाममा रजिष्ट्रेशन पास गर्ने प्रयोजनको लागि सट्टा भर्ना गर्ने समयावधि ६ महिना थप गर्न स्वीकृति पनि दिएको छ । त्यस्तै हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको मन्त्री शर्माले बताइन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याललाई गृह मन्त्रालयको सचिव पदमा र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस समेत गरेको छ । बैठकले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदुरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकि प्रवक्ता शर्माले जानकारी दिइन् । त्यस्तै मन्त्रिपरिषद्का विभिन्न समितिहरु समेत बनाइएको छ । मन्त्री शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको बताइन् । त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई संयोजक तोकिएको पनि जानकारी दिइन् ।