विकासन्युज

साढे १८ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, १५ महिनाको आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार मुलुकमा विदेशी मुद्राको सञ्चिति गत आवको असार मसान्तको तुलनामा १९.९ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा १८४४ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको तथ्यांकले देखाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६२३ अर्ब ९२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २२१ अर्ब २ करोड कायम भएको छ । २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

वैदेशिक व्यापारमा गिरावट, आयात निर्यात दुवै घट्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको वैदेशिक व्यापार अन्तर्गत आायत तथा निर्यात दुवैतर्फ गिरावट आएको देखिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, चालु आवको सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई ८९७ अर्ब ९४ करोड कायम भएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ ।

सहकारी र सहकार्यबाट सबल बन्दै महिला

गलेश्वर । म्याग्दीका ग्रामीण भेगका महिला सहकारी र सहकार्यको माध्यमबाट सबल तथा सक्षम बन्दै गएका छन् । सहकारी संस्थामा आवद्ध भएपछि महिलाले बचत गर्ने बानीको विकास मात्र गरेका छैनन् उनीहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुँदैगएको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित दोभान कृषि सहकारी संस्थामा आवद्ध बेनी नगरपालिका–५ पुलाचौरकी सरिता किसान, मञ्जु पौडेल, शारदा विक लगायतले सहकारीमा बचत गर्ने र सहकारीबाटै ऋण लिएर कृषि उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकी छिन् । त्यसैगरी बेनी–२ खबराको राधाकृष्ण सहकारी संस्थाको सहयोगमा त्यस क्षेत्रका महिला तरकारी र फलफूलखेती, पशुपालन लगायतका उद्यमशील काममा आवद्ध भएर आर्थिक रुपमा स्वावलम्बी बन्दै गएका स्थानीय पार्वती कार्कीले बताइन्। घरायसी काममा सीमित रहने यहाँका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन  अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्संस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय छन् । गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला परिवारको खर्च आफैँ जुटाउन सफल भएका छन् । बेनी–१० की अंशु रोकाले सहकारीमार्फत ऋण काढेर  सुरु गरेको तरकारीखेतीबाट आफू आर्थिक रुपमा बलियो बन्दै गएको अनुभव सुनाइन् । दुई रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरेकी उनले परम्परागत रुपमा गर्दै आएको खेतीलाई व्यावसायिक बनाउँदै गोलभेडा, आलु, काउली, बन्दा, खुर्सानी, काँक्रोलगायत तरकारीखेती विस्तार गरेकी छिन् । यसबाट मनग्य आम्दानी गर्न सफल भएको उनको भनाइ छ । रोकाले भनिन्– ‘आठ वर्ष अगाडि सहकारीबाट रु १० हजार ऋण लगेर व्यावसायिक खेती सुरु गरेँ । दोस्रो वर्ष तरकारी बेचेर ऋण तिरेँ । अहिले तरकारी बिक्रीबाट भएको आम्दानी सहकारीमा बचत गर्न थालेकी छु ।’ विसं २०६९ मा पात्लेखेतमा सिद्ध महिला बचत तथा ऋण सहकारी स्थापना भएपछि रोकामात्रै होइन, घरायसी काममा मात्रै सीमित यहाँका धेरै महिला अहिले आत्मनिर्भर बनेका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरि गाउँपालिका तथा उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका महिला पनि सहकारी संस्थामार्फत सक्षम बन्दै गएका छन् । महिलालाई आर्थिकरुपमा सम्पन्न तथा सामाजिकरुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम बनेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाको क्षमता अभिवृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । महिलालाई सङ्गठित गरी क्षमता विकाससँगै आयआर्जन गर्न, बचत गर्न तथा सामाजिक रुपमा सक्षम बनाउन सहकारी प्रभावकारी र भरपर्दो माध्यम भएको उनको भनाइ छ । जिल्लामा एक सयभन्दा बढी सहकारी संस्थाले महिलालाई आर्थिक रुपमा बलियो बनाउनुका साथै उनीहरुको क्षमता विकास, नेतृत्वदायी भूमिका र व्यक्तित्व विकासका लागि समेत भूमिका खेलेको जिल्ला सहकारी सङ्घका पूर्वअध्यक्ष दीपक कार्कीले बताए । रासस

राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते, सोमबार मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि फागुन २९ गते चुनाव हुने भएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मंगलबार चुनाव तोकिएको आइतबारको राष्ट्रियसभा बैठकमा सुनाएकी छन् । राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिएकी छन्। यसअघि नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दल नेता कृष्णप्रसाद सिटौलाले केही दिन चुनाव सार्न आग्रह गरेका थिए । आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रियसभा अध्यक्षको चुनाव सार्न आग्रह गरेकाे थियाे । तर,  कांग्रेसकाे कांग्रेसको आग्रह अस्वीकृत गर्दै  फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो । राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ । कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक९एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ । सोमबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

ग्लोबल आइएमई बैंकद्वारा २०८१ सालको क्यालेण्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । आईतबार काठमाडौंमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेका हुन् । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेण्डर सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए । विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र सस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’ उनले नयाँ वर्ष २०८१ सालको सु–अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवम् प्रत्यक्ष÷अप्रत्यक्षरुपमा जोडिनुभएका सबैमा नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गरे । उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

उपप्रधानमन्त्री यादवद्वारा पदबहाली

काठमाडौं । नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनियताको सपथपछि मन्त्रालय पुगी पदबहाली गरेका छन् । उनले पदबहाली गर्दै सङ्घीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरे । उनले स्वास्थ्य उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने सास्ती कम गराउन डिजिटल प्रविधिलाई अझ बढी प्रभावकारी बनाउने समेत निर्णय गरे । ‘बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । यसलाई सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने छौ’, उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्नेछौ ।’ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी विस २०७५ मा पनि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएका थिए । विस २०३२ सालमा वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गरेका यादव नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँदै राजनीतिमा सक्रिय भएका ह्न् । उनी विस २०४८ सालदेखि नेकपा (एमाले) मा आवद्ध भयो । विस २०६३ सालदेखि मधेसी जनअधिकार फोरम, नेपालको गठन गरी अध्यक्षको भूमिका निर्वाह गरे । उनी हाल जसपा नेपालको अध्यक्ष हुन् । विस २०६४ को संविधानसभा निर्वाचनमामा सुनसरी–५ र मोरङ–५ बाट र विस २०७० मा सुनसरी–५ बाट निर्वाचित भएका थिए । उनी विस २०७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए ।

विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि पूर्वएआईजी ठाकुर मोहनमाथि कुटपिट

काठमाडौं । राप्रपाका नेता विक्रम पाण्डेका समर्थकले पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठ माथि हातपात गरेका छन् । नेता पाण्डेलाई भ्रष्टाचारी भनेपछि श्रेष्ठमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो । आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्वएआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेका थिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो । लगत्तै पाण्डे बाहिर निस्केर आफ्ना समर्थकहरूलाई बैठकमा भएको घटनाबारे बताएका थिए । केही समयपछि श्रेष्ठ पनि बाहिरिने क्रममा पाण्डेका कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन् । कुटपिट भएकाे भिडियाेसमेत बाहिरिएकाे छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् । उनले पाण्डेलाई लक्षित गरी धारणा राखेकाे नेताहरूकाे भनाइ छ । श्रेष्ठमाथि आक्रमण भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन् । पाण्डे पूर्वमन्त्रीसमेत हुन् । उनी सहरी विकास मन्त्री थिए ।

नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले आजै पदबहाली गरेका हुन् । सो अवसरमा मन्त्रालयलका सचिव डा दीपकुमार खराललगायत मन्त्रालयल र मातहतका विभाग तथा निकायका उच्चपदस्थ कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए । पदबहालीपछि कुरा गर्दै मन्त्री सुडीले मन्त्रालयल तथा निकायका सबै कर्मचारीसँग सरसल्लाह तथा विचार विमर्श गरेर मन्त्रालयलका काम अघि बढाउने बताए । मन्त्री सुडीले भने, ‘वनको विकास र वनबाट मुलुकको समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला सबैसँग राय सुझाव सल्लाह लिएर मन्त्रालयका काम अघि बढाउने छौं ।’ मुलुकको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रबाट स्थानीय जनताका जीविकोपार्जनको आवश्यकता पूरा गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा आफने ध्यान केन्द्रित हुने उनले विश्वास दिलाए । मन्त्री सुडीले पदबहालीपछि सङ्घीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । उक्त निर्णयानुसार सङ्घीय वन मन्त्रालयका सहसचिवहरु बद्रीराज ढुंगानालाई (कोशी प्रदेश), नवराज पुडासैनीलाई (मधेश प्रदेश), राजेन्द्र केसीलाई (बागमती प्रदेश), डा महेश्वर ढकाललाई (गण्डकी प्रदेश), डा बुद्धिसागर पौडेललाई (लुम्बिनी प्रदेश), मोहनदेव जोशीलाई (कर्णाली प्रदेश) र शिवकुमार वाग्लेलाई (सुदूरपश्चिम प्रदेश) समन्वय अधिकृत तोकिएको सचिव डा खरालले जानकारी दिए । मन्त्री सुडी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सालमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।