साउदी कम्पनी ‘अराम्को’ को नाफामा २४.७ प्रतिशतले गिरावट
रियाद । साउदी अरबको बहुराष्ट्रिय कम्पनी अराम्कोको नाफामा सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा २४.७ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्पादन तथा बिक्री गर्ने अराम्कोले साउदी स्टक मार्केटलाई दिएको जानकारीअनुसार सन् २०२३ मा कुल आम्दानी१२१.२५ अर्ब अमेरिकी डलर पुगेको छ भने सन् २०२२ मा यो १६१.०७ अर्ब डलर रहेको थियो । अरामकोले भनेको छ, ‘यो कमीले मुख्यतया कच्चा तेलको कम मूल्य र कम परिमाणमा बिक्रीको प्रभावलाई प्रतिबिम्बित गर्दछ ।’ फेब्रुअरी २०२२ मा युक्रेनमा रूसले गरेको आक्रमणका कारण तेलको मूल्य आकाशिएको थियो र त्यो वर्ष प्रति ब्यारेल १३० अमेरिकी डलरभन्दा बढी पुगेको थियो । अराम्कोले सन् २०२२ मा उच्च मुनाफा कमाएको र यसले राज्यलाई लगभग एक दशकमा पहिलो वार्षिक बजेट अधिशेष दिएको थियो । सन् २०२३ मा हामीले अहिलेसम्मकै दोस्रो उच्च आम्दानी हासिल गरेका छौं । अरामकोका कार्यकारी प्रमुख अमिन एच नासेरले भने, ‘विश्वव्यापी आर्थिक संकटको पृष्ठभूमिको बावजुद हाम्रो लचिलोपन र सक्रियताले स्वस्थ नगद प्रवाह र उच्च स्तरको मुनाफामा योगदान पुर्याएको छ ।’ ‘हामीले सन् २०२३ मा भुक्तानी गरेको कुल लाभांशमा वार्षिक ३० प्रतिशतले वृद्धि गर्दै आफ्ना शेयरधनीलाई पनि लाभांश वितरण गरेका छौं,’ उनले भने । गत वर्ष तेलको मूल्य घटेर प्रति ब्यारेल ८५ डलरमा झरेको थियो, जसका कारण पहिलो त्रैमासिकमा अराम्कोको नाफा १९.२५ प्रतिशत, दोस्रो त्रैमासिकमा ३८ प्रतिशत र तेस्रो त्रैमासिकमा २३ प्रतिशतले नाफा घटेको थियो । रियादस्थित कम्पनी जादवा इन्भेस्टमेन्टले अक्टोबरमा प्रकाशित एक रिपोर्टमा इजरायल–हमास युद्धका कारण विश्वव्यापी अनिश्चितताका कारण यस वर्ष कच्चा तेलको मूल्य प्रति ब्यारेल ८८ देखि ९० अमेरिकी डलर पुग्ने जनाएको छ ।
भारत र युरोपेली इएफटिएबीच १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर
काठमाडौं । भारत र नर्वे तथा स्विट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक इएफटिएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि आइतबार एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतका व्यापारमन्त्री पियुष गोयलले उक्त सम्झौताअन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइनसहित गैर–युरोपेली सङ्घ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले भारतमा १५ वर्षमा एक सय अर्ब डलरको लगानी गर्ने जानकारी दिए । ‘भारत–इएफटिए व्यापार र आर्थिक साझेदारी सम्झौता (टिइपिए) हाम्रो बढ्दो साझेदारीमा कोसेढुङ्गा हो’, दिल्लीमा हस्ताक्षर गरेपछि मन्त्री गोयलले भने । उनले सम्झौताले निर्यात र लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गरेर आपसी विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने बताए । १६ वर्षसम्म लामो वार्तापछि उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । हस्ताक्षर समारोहमा उल्लेख गरिएको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता ‘खुला, निष्पक्ष र समतामूलक व्यापारका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतीक भएको’ बताएका छन् । ‘सम्झौताले हामीलाई आफ्नो आर्थिक क्षमताको राम्रो उपयोग गर्न र भारत तथा इएफटिए दुवै राज्यका लागि थप अवसर सिर्जना गर्न अनुमति दिनेछ’, नयाँदिल्लीमा स्विस अर्थमन्त्री गाई पार्मेलिनले भने, ‘इएफटिए मुलुकहरूलाई एउटा प्रमुख विकास बजारसम्म अनुमति प्राप्त हुनेछ, बदलामा भारतले इएफटिएसँग अधिक विदेशी लगानी आकर्षित गर्नेछ जुन अन्ततः राम्रो रोजगारी वृद्धिमा परिणत हुनेछ ।’ इएफटिएको स्थापना आफ्ना सदस्यहरूबीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो । सन् २०२१ मा यो वस्तुको हिसाबले विश्वको १०औँ सबैभन्दा ठूलो र सेवाका हिसाबले आठौँ सबैभन्दा ठूलो व्यापारी थियो । हालैका वर्षहरूमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतसँग लामो समयदेखि छलफल भएको व्यापार सम्झौता पनि अन्तिम चरणमा पुगेको बताइएको छ । रासस
सोमबार सार्वजनिक विदा
काठमाडौं । सरकारले फागुन २८ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । शेर्पा संस्कृतिअनुसार ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्बो ल्होसार’ भनिएको हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।
बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए । ‘बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए । समग्र कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने बताए । ‘तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ । त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,’ प्रधानमन्त्रीले भने, ‘यो कार्यालय अनुगमन गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील हुन जरुरी छ ।’ आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालू आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालयले आफ्नो कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यमा कम्तीमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न निर्देशन गरे । रासस
नेप्सेमा १० अर्ब ५९ करोड रुपैयाँको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्जमा २०८० माघसम्म सूचीकृत ८ अर्ब २१ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब १३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा ६५ अर्ब ८६ करोड रुपैयाँको साधारण सेयर, १० अर्ब ५९ करोड रुपैयाँको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर र ३ करोड रुपैयाँ एफपीओ गरी कुल ८२ अर्ब ५७ करोड रुपैयाँको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब २ करोड रुपैयाँ डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँ म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आइतबार अर्थमन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे । नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो’, पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।’ पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताए । लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकारले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उनले उल्लेख गरे । राजदूत थम्प्सनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउने वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्को प्रसङ्गमा राजदूत थम्प्सनले सङ्क्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गरे । ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ’, राजदूत थम्प्सनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’ थम्प्सनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे । भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता जनाए । आजको भेटवार्ताका क्रममा राजदूत थम्प्सनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० को अनुदानअन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्नेमा पनि चासो राखेका छन् । त्यसको जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धताका लागि थम्प्सनलाई धन्यवाद ज्ञापन गरे । एमसिसीअन्तर्गतका परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि मन्त्री पुनले बताए । रासस
बैंकहरूले संकलन गरे ४ खर्ब निक्षेप, हायर पर्चेज कर्जा २०.३ प्रतिशत घट्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ७ महिनामा झण्डै ४ खर्ब रुपैयाँ बराबरको निक्षेप गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म बैंकहरूको निक्षेप ७ प्रतिशत बढेर ३ खर्ब ९७ अर्ब २० करोड संकलन गरेका हुन् । गत वर्षको सोही अवधिमा बैंकहरूले २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । वार्षिक बिन्दुगत आधारमा माघसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.२ प्रतिशत, बचतको अंश २७.४ प्रतिशत र मुद्दती निक्षेपको ५९.८ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चल्ती अंश ७.८ प्रतिशत, बचत अंश २५.८ प्रतिशत र मुद्दती निक्षेपको ६०.१ प्रतिशत रहेको थियो । साथै, कुल निक्षेपमा संस्थागत निक्षेपको अंश अघिल्लो वर्ष ३६.६ प्रतिशत रहेकोमा गत माघसम्म ३६.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा कर्जा प्रवाह ४.१ प्रतिशत बढाएर १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ गरेका छन् । गत वर्षको सोही अवधिमा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वार्षिक बिन्दुगत आधारमा माघसम्म मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ । माघ मसान्तसम्म ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो । ७ महिनाको अवधिमा कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशत, नगद प्रवाह कर्जा २६.० प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशत बढेको छ भने अधिविकर्ष कर्जा ४२.३ प्रतिशत (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.३ प्रतिशत घटेको छ ।
सूर्यज्योति लाइफद्वारा सिलाई कटाई मेशिन तथा सामग्री वितरण
काठमाडौं । सूर्यज्योति लाइफलले सिलाई कटाई मेशिन तथा सामाग्री वितरण गरेको छ । कम्पनीले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम सञ्चालन गर्ने उद्दश्यले १० थान सिलाई मेशिन तथा सोसँग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको हो । उक्त संस्थाले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगबाट वित्तिय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनिकरण, अनुकुलन सम्बन्ध गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरुसहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्नोमा विश्वस्त रहेको बताए । साथै फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्षमहतोले विपन्न तथा पिछडिएका महिलाहरुको सीपमा विकास गरी उनीहरुलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै तालिमको आयोजना गरिएको र यसमा कम्पनीले साथ दिएकोमा आभार व्यक्त गरेका थिए ।