विकासन्युज

काठमाडौंबाट पूर्व जाने बस एउटै व्यवस्थापनमा सञ्चालन हुने

काठमाडौं । काठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु भएका छन् । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् । पूर्वबाट काठमाडौं आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’ बाट सञ्चालन हुँदै आएका छन् ।  पूर्व यातायात व्यवस्थापन प्रालिका सल्लाहकार श्रेष्ठले पछिल्लो समय धराशायी बन्दै गएको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आजदेखि एउटै व्यवस्थापनको सुरुवात गरिएको जानकारी दिए । एउटै व्यवस्थापनमा सञ्चालन भएसँगै अब काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रंगेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतमा सम्बन्धित क्षेत्रका टिकट काउन्टरमार्फत सञ्चालन हुनेछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत देशभरका ३० भन्दा बढी प्रालिमार्फत छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ । हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, विराट, स्वयम्भू नेसनल, मेची एयर, अग्नि, रकेट, बिहानी, बुलेट, महालक्ष्मी, मेट्रो कोसी, रक्षक, सुप्रिमलगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन् । संयुक्त व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशन, राय तथा सुझाव प्रदान गर्नका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र अग्रज यातायात व्यवसायी श्रीप्रसाद मैनाली सम्मिलित पाँच सदस्यीय समिति बनाएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्नका लागि उक्त व्यवस्थापनले सहयोग पुग्ने बताए । उक्त व्यवस्थापनले व्यवसायीको लगानीलाई सुरक्षित गर्दै व्यवसायलाई संरक्षण  र सम्बर्द्धन गर्ने उल्लेख गरे । यसअघि काठमाडौं महानगरपालिकाले महानगरभित्र जथाभावी रूपमा सञ्चालनमा आएका टिकट काउन्टरलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउन उपत्यकाबाहिर सञ्चालित यात्रुवाहक बसले अनिवार्य रूपमा कामपामा दर्ता गराउनुपर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णयलाई बेवास्ता गरेर आफूखुसी टिकट बुकिङ कार्यालय तथा काउन्टर खोलेको पाइएमा हटाउने बताएपछि यातायात कम्पनीहरूले एउटै व्यवस्थापन बनाएर सञ्चालन सुरु गरेका हुन् । रासस

सेयर बजारलाई प्राथमिकतामा राखेर नीतिगत व्यवस्थामा सुधार गर्छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आइतबार नेपाल धितोपत्र ब्रोकर एसाेसियसनका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री पुनले नीतिगत व्यवस्थामा सुधार गरेर भए पनि पुँजीबजारको विकास र प्रवर्द्धन गर्ने बताएका हुन् । ‘सेयर बजार प्राथमिक विषय हो, बजारमा देखिएका समस्यालाई समाधान गर्छाैं, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट देखिएका समस्या समाधान गर्न गभर्नर र सेबोन अध्यक्षसँग बसेर समाधान गर्छु,’ एक ब्रोकर व्यवसायीले अर्थमन्त्रीलाई उदृत गर्दै विकासन्युजसँग भने, ‘६०/६२ लाख लगानीकर्ता प्राथमिक बजार र २० लाख लगानीकर्ता दोस्रो बजारमा सक्रिय छन्, बजारको आवश्यकता र लगानीकर्ताको मनोबल बढाउन सरकार सकारात्मक छ ।’ अर्थमन्त्री पुनले सेयर बजार अर्थतन्त्रको एक हिस्सा रहेको बताएका छन् । ब्रोकर व्यवसायीहरूले बजारको विकास र प्रवर्द्धनका लागि तत्काल र दीर्घकाल गर्नुपर्ने कामहरूलाई सुझावका रूपमा पेस गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत लगानीकर्ताका रूपमा दोस्रो बजारमा सहजरूपमा कारोबरा गर्न दिनुपर्ने माग ब्रोकर व्यवसायीहरूले गरेका छन् । हाल बैंक तथा वित्तीय संस्थाहरूले कोर क्यापिटलको १ प्रतिशतभन्दा बढी सेयर कारोबार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । संस्थागत लगानकर्तालाई बढी जोड दिएर बैंकका लागि पुरानै व्यवस्था कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै, कर्जामा जोखिम भार घटाउनुपर्ने, व्यक्तिगत र संस्थागत लगानीकर्ताका लागि तोकिएको १५/२० करोडको क्याप हटाउनुपर्ने लगायतका माग आफूहरूले राखेको ब्रोकर व्यवसायीहरूको भनाइ छ ।

कृषिबाटै करोडपति बनेका कृष्ण राई

धरान । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन् । कृषिबाटै नाम र दाम कमाएका उनी भन्छन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ’, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोड्नु भएको छ, भव्य घर बनाएका छन् । कृषिबाट उनी आफुले मात्र कमाएका छैनन्, अरुलाई पनि रोजगारी दिएका छन् । कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ विघा किनिसकेका छन् । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् । त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्छन् भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्छन् । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन् भने त्यससँगै माछा पनि पालेका छन् । उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उहाँले १६ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक १२ लाखको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन् । पचपन्न रुपैयाँबाट सुरु   अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनी भन्छन्, ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।’ सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देखे । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए । ‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ’, उनी सम्झ्छिन्, ‘त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।’ कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले । उनी भन्छन्, ‘कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।’ खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरुलाई पनि सिकाउँछन् । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन् । उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनी भन्छन्, ‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’ रासस

वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । तमोर नदी र त्यसका सहायक खोलानालाहरुमा निर्माण भएका-हुने जलविद्युत आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट ३ हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि १२७ वटा टावरहरु निर्माण गरिएका छन् । वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा ६ वटा बे विस्तार भइरहेको छ । त्यसमध्ये ३ वटा बेका उपकरणहरु जडान र परीक्षण कार्य भइरहेको छ । उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुख्य रुपमा सानिमा मिडिल तमोर हाइड्रोपावर लि.ले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए । ‘वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत् जोडिने छ, आयोजनाको हाल अन्तिम चरणका परीक्षणका कार्यहरु भइरहेको जानकारी पाएका छौं, आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा बे विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्यहरु भइरहेका छन्, मध्य तमोरले विद्युत् उत्पादन सुरु गर्ने वेलासम्ममा वसन्तपुर सबस्टेसनमा बे विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनु पर्ने अवस्था छ’ उनले भने ’ उनले भने ‘मध्य तमोरलगायतका जलविद्युत आयोजनाहरुको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’ कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–३अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइन र ढुङ्गेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्तरनेशनल, भारतसँग २०७४ माघमा २ करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुङ्गेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो । कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–४अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा बे विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । बे विस्तार कार्य जारी छ । यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लि.सँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ । कोशी करिडोर प्रसारण लाइन प्याकेज–१ अन्तर्गत सङ्खुवासभाको तुम्लिङ्टारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । प्याकेज–२अन्तर्गत सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार, बानेश्वर तथा वसन्तपुरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ । सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । कोशी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

आर्थिक एजेण्डामा एकमत हुन महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । नेपाल तयारी पोसाक उद्योग संघको वार्षिक साधारण सभामा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । अबको करिब एक महिनामा आयोजना हुने महासंघको ५८औ वार्षिक साधारसभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिए । उनले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको एैक्यवद्दता आवयशक रहेको उनले बताए । यसैगरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे। गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पूँजीगत खर्च बढाउनु पर्नेमा पनि उनले जोड दिए ।

लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको फागुन २४ गते बसेको बैठकले चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँको ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागीता भएर लाभांश प्राप्त गर्न सक्ने छन् ।

लगावले पुगेको गन्तव्य हाँक्दै क्याथे प्यासिफिककी नेपाल ‘लिडर’ जुनु

काठमाडौं । उनलाई बाल्यकालमा अभाव भन्ने थाहा भएन । त्यसमाथि घरकी कान्छी छोरी । परिवार सम्पन्न थियो । पढाइ औसतभन्दा माथि ।  राम्रो पढेर राम्रो ठाउँमा जागिर खाने सपना मनमा थियो । ललितपुर पुल्चोकमा जन्मिइन् । जावलाखेलस्थित सेन्ट मेरिज स्कुलबाट एसएलसी, मोडर्न इन्डियन स्कुलबाट १२, क्याम्पियन कलेजबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट एमबीए सकेपछि उनको जीवनले एउटा लय समात्यो । अहिले उनी जहाँ र जुन स्थानमा छिन्, सम्भवतः त्यस्तो पद पाउने नेपाली महिला औंलामा गन्न सकिनेमात्र छन् । ६ वर्ष भयो, उनले संसारका पुराना र ठूलामध्ये दरिएको हङकङको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजको नेपाल प्रमुख भएर आफ्नो करियरको उचाइ बढाएको । उनी हुन्– जुनु मलेकु । उमेरले चार दशकमा हिँडिरहेकी उनले यति ठूलो जिम्मेवारी सम्हाल्ने पदमा कुनै दिन पुग्छु भन्ने सोचेकी भने थिइनन् सायद । नेपालमा उडान गरिरहेका दुई दर्जनहाराहारी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रमुखमा नेपाली महिला नेतृत्व कम छ । अधिकांश कम्पनीको नेतृत्व पुरुष, अझ त्यसमाथि विदेशीले हाँकिरहेका छन् । यो मानेमा जुनु अपवाद बनेकी छिन् । करिब ७८ वर्षअघि स्थापना भएको क्याथे प्यासिफिक एयरवेजले जुनुको मिहिनेत, लगाव, आँट र ‘पोटेन्सियल’ देखेर नेपाली हवाई बजारको जिम्मेवारी दिएको हो । निरन्तर मिहिनेत र लगावले जुनुलाई यो ठाउँमा पुर्‍याइछाड्यो । अहिले विगततिर फर्किएर हेर्दा उनलाई लाग्छ– कुनै पनि मान्छेले सफलता प्राप्त गर्न निरन्तर मिहिनेत, लगाव र संघर्ष गर्नैपर्छ । अनि, ‘खुट्टा तान्नेको’ ख्याल नगरी दत्तचित्त भएर कर्ममा लागिरहनुपर्छ । ‘मलाई आफूलाई मन लागेको काम गर्न घरपरिवारबाट कहिल्यै रोकतोक भएन,’ जुनु बाल्यकाल स्मरण गर्छिन्, ‘मनले चाहेअनुसार गर्न पाइयो, तर मेरो धेरै फोकस पढ्ने नै हुन्थ्यो ।’ स्कुले जीवनमा उनी एकदमै पढैया विद्यार्थी भने थिइनन् । उनी औसतभन्दा माथि चाहिँ थिइन् । ‘बच्चामा त्यति धेरै चकचक पनि नगर्ने मान्छे हो म, मलाई धेरै मुभी हेर्न मन लाग्थ्यो,’ उनी सम्झिन्छिन्, ‘गीत सुन्न र साथीहरूसँग घुम्न बढी मन पथ्र्यो, हाम्रो लागि पार्टी भनेको परिवार नै थियो, धेरै समय परिवारसँगै बिताइन्थ्यो ।’ किताबमै रुचि सानै छँदा पनि जुनु स्कुलको किताबबाहेक साहित्य, मिस्ट्री र अटोबायोग्राफी पढ्न रुचाउँथिन् । हुन त अहिले पनि पढ्ने बानी गएको छैन उनको । फुर्सदको समय वा यात्रा गर्दा किताब बोकेरै हिँड्छिन् । बालककालमा कसैले पनि भविष्यमा यो वा त्यो बन्छु भन्ने योजना बनाएको हुँदैन, सोच्ने बाहेक । परिवारका सदस्यले जे काम गरिरहेका छन् त्यही नै गर्छु भन्ने लाग्छ । जुनुलाई स्कुलमा पढ्दा र शिक्षक–शिक्षिकाले पढाएको देख्दा ‘म पनि शिक्षिका बन्छु’ भन्ने लाग्थ्यो । ‘म टिचरहरूसँग एकदमै नजिक थिएँ, मलाई लाग्छ सबै बच्चाहरूको रोल मोडल टिचर नै हुन्छन्,’ उनी सुनाउँछिन्, ‘मलाई पनि टिचर बन्न मनपथ्र्यो,’ जुनु हाँस्दै भन्छिन्, ‘तर, बुझ्ने हुँदै जाँदा मेरो बुबा बैंकर हुनुहुन्थ्यो, उहाँलाई हेरेर फेरि म पनि एकदिन बैंकमा काम गर्छु भन्ने लाग्न थाल्यो । त्यसैले मैले कमर्स पढेँ ।’ तर, जुनुले न बाल्यकालमा साचेको भयो, न अलि बुझ्ने भएपछि सोचेको भयो । उनी विल्कुलै नसोचेको र परिवारमा कोही पनि नलागेको क्षेत्रमा अब्बल दरिइन् । मतलब, न उनी बैंकर बनिन्, न शिक्षक । उनको यात्रा मोडियो पर्यटन (टुरिज्म) क्षेत्रतिर । ‘टुरिज्ममा काम गर्नेबारे मैले कहिल्यै सोचेकी पनि थिइनँ, बाई डिफल्ट म यो क्षेत्रमा प्रवेश गरेँ,’ उनलाई अचम्म लाग्छ, ‘मेरो परिवारबाट यो क्षेत्रमा काम गर्ने म एकजना मात्रै हुँ ।’ कथा लगावको पर्यटन क्षेत्रमा करियर बन्छ भनेर नसोचेकी जुनुको यो क्षेत्रप्रति लगाव हुनुको पनि आफ्नै कथा छ । जुनुको दाईको साथीका बुबा थाई एयरवेजको नेपाल कार्यालयमा सेल्स म्यानेजर (बिक्री प्रबन्धक) थिए । ‘उहाँले थाई एयरवेजको सानो–सानो गिभ अवेज ल्याइरहनुहुन्थ्यो,’ जुनु सम्झिन्छिन्, ‘त्यो देख्दा म एकदमै रमाउँथेँ, अनि एयरपोर्टमा क्याबिन क्रुुहरू देख्दा वाउ भन्ने लाग्थ्यो ।’ पढाइ सकेर मात्रै जागिर गर्नुपर्छ भन्ने मान्यता जुनुका बुबाको थियो । जहिले पनि पढाइ सकेपछि मात्रै काम गर्ने अनुमति दिन्छु भन्थे उनी । ‘बुबाले पढ्दापढ्दै काम गर कहिल्यै भन्नुभएन,’ उनी बुबाको कुरा सम्झिन्छिन्, ‘बुबाले पढाइमा फोकस गर भन्ने भएकाले मास्टर्स पढ्दासम्म पनि मैले काम गरेको थिइनँ ।’ करियर टर्निङ प्वाइन्ट सन् २००५ मा जुनु पर्यटन क्षेत्रमा जोडिन पुगिन् । यसको अर्थ उनले यो क्षेत्रमा १९ वसन्त पार गरिसकिन् । पर्यटनमा उनी सामान्य जागिरे (जब होल्डर) का रूपमा प्रवेश गरेकी थिइन् । सुरुमा उनले कतारको राष्ट्रिय ध्वजावाहक वायुसेवा कतार एयरवेजको नेपालस्थित ‘जनरल सेल्स एजेन्ट’ (जीएसए) कार्यालय जेनिथ ट्राभल्सका सञ्चालक जोय देवानको ‘असिस्टेन्ट’ का रूपमा काम गरिन् । जुनुले त्यहाँ काम थालेकोे ६ महिनामै कतार एयरवेजको सेल्स (बिक्री) विभागको जिम्मेवारी पाइन् । त्यतिबेला नेपालमा गल्फ एयर, थाई एयरवेज, पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) लगायत विदेशी वायुसेवाले उडान गरिरहेका थिए । तर, कतारले भने नेपाली बजारमा एकलौटी व्यापार गरिरहेको थियो । उनले त्यहाँ काम गर्दा विभिन्न दूतावास, अन्तर्राष्ट्रिय दातृ निकाय र ट्राभल एजेन्सीमा जानुपथ्र्यो । उनले तिनका सञ्चालक वा प्रमुखसँग हवाई टिकट व्यापारका लागि ‘डिल’ गर्ने काम गरिन् । त्यहाँ काम गर्दै जाने क्रममा उनले धेरै ठाउँमा यात्रा गर्नुपर्ने हुन्थ्यो । अनेक मान्छेहरूसँग भेटघाट र कामको डिल पनि गर्नुपर्ने हुन्थ्यो । काम सिक्दै जाने क्रममा उनेले धेरै तितामिठा अनुभव सँगालिन् । ‘तिनै अनुभवबाट खारिँदै–खारिँदै अघि बढिरहेँ,’ जुनु थप्छिन् । कतारपछि उनले यूनाइटेड अरब इमिरेट्स (यूएई) को इतिहाद एयरवेजमा पनि काम गरिन् । त्यसपछि उनी २०६७ सालमा हङकङको क्याथे प्यासिफिक एयरवेजमा ‘असिस्टेन्ट सेल्स म्यानेजर’ का रूपमा प्रवेश गरिन् । त्यतिबेला क्याथे प्यासिफिकले ‘ड्रागन एयर’ का नाममा नेपाल उडान गथ्र्यो । क्याथे प्यासिफिक यात्रा जुनुले यो क्षेत्रमा लगातार १९ वर्षसम्म काम गर्न सकिएला भन्ने कल्पनै गरेकी थिइनन् । तर, उनी क्याथेमा छिरेको एक वर्षमै बढुवा भएर सेल्स म्यानेजर (बिक्री प्रबन्धक) बनिन् । २०६८ देखि ६ वर्ष नेपालको सेल्स म्यानेजर पद सम्हालेकी उनी २०७४ देखि क्याथेको नेपाल प्रमुख (कन्ट्री हेड) को जिम्मेवारीमा छिन् । १९ वर्ष छाटो समय होइन । करिब दुई दशकको पर्यटन तथा उड्डयन यात्रामा उनले अनगिन्ती अनुभव सँगालेकी छिन् । ‘मैले यो क्षेत्रमा सानो लेभल (तह) बाट काम गर्दै, सिक्दै आफूलाई ग्रोथ गर्दै अगाडि बढेँ,’ जुनु भन्छिन्, ‘मैले काम सुरु गर्दा काम गर्ने वातावरण पनि धेरै फरक थियो, अहिले त धेरै सहज पनि भइसकेको छ ।’ त्यतिबेला काम सिक्ने क्रमका पनि उनीसँग दुःखद् र सुखद् दुवै अनुभूति छन् । ‘त्यहाँ पनि नयाँ मान्छेलाई काम सिकाउँदा हामीभन्दा धेरै जान्ने पो हुन्छे कि भनेर नसिकाइदिने पनि थिए,’ जुनु त्यो बेलाको अनुभूति बाँड्छिन्, ‘सिकाइदियो भने हामीभन्दा धेरै अगाडि पो जाली कि भनेर पुल ब्याक (खुट्टा तान्ने) गर्ने पनि थिए । कोही एकदमै सहयोगी पनि थिए । नजानेको काम सहजै सिकाइदिन्थे ।’ त्यस्ता कुरालाई उनले चुनौती नभई अवसरका रूपमा लिइन् । उनी सकेसम्म कसरी धेरै काम गर्ने भन्ने मात्रै सोच्थिन् । ‘मलाई काम सिकाइदिनुस् न भनेर भन्दा कसैले सिकाइदिँदैनथे, बरु म आफैं तपाईंहरूलाई काम बढी भएको छ भने म गरिदिन्छु भनेर भन्थेँ,’ जुनु अहिले सम्झिन्छिन्, ‘म आफैं उनीहरूको काम गरिदिन्छु भनेपछि उनीहरूलाई सिकाउन कर लाग्थ्यो, त्यसरी नै काम सिक्दै गएँ ।’ सुरुवाती चरणमा काम गर्दा उनलाई आफ्नै अफिसमा पनि मन नपराउने धेरै थिए । ‘अफिसमा एकजना सिनियर म्यानेजर हुनुहुन्थ्यो, उहाँले मलाई एकदमै मन नपराउने,’ विगत सम्झिएर हाँस्दै भन्छिन्, ‘उहाँको बानी फेभोरेटिज्म (काखापाखा) गर्ने थियो, एउटै काम गर्दा पनि कसैलाई केही एक्सन नलिने तर मलाई टाइट्ली मनिटर गर्नुहुन्थ्यो, दुई–चार मिनेट अफिस ढिला आए पनि हाजिरमा रातो लगाइदिनुहुन्थ्यो ।’ त्यस्ता व्यवहारबाट पनि जुनु कहिल्यै निरुत्साहित र हतोत्साहित भइनन् । झन् उनलाई लाग्यो– ‘मैले अझै राम्रो काम गर्नुपर्छ, योभन्दा राम्रो पोजिसनमा पुग्नुपर्छ’ । अनि, उनी मिहिनेत गर्नतिर मात्रै अग्रसर भइरहिन् । पछि तिनै म्यानेजरले उनको मिहिनेत देखेर राम्रो कर्मचारी भनेर प्रशंसा पनि गरे । उनको त्यही मिहिनेत र दृढ प्रतिज्ञाले नै उनलाई आज यो स्थान हासिल गर्न सहयोग गरेको हो । उनका कडा मिहिनेतकै कारण क्याथे प्यासिफिकले उनलाई धेरै जिम्मेवारी पनि दियो । उनलाई खुट्टा तान्ने, विश्वास नगर्ने पनि एकदमै धेरै थिए । ‘मैले आफ्नो हार्डवर्क, डिटर्मिनेसन, अप्टिमिज्म, पर्सिस्टेन्सीले गर्दा सबैको पसेप्सन चेन्ज गर्न सकेँ,’ उनी गर्वसाथ सुनाउँछिन् । जुनुले क्याथेको नेपाल प्रमुख भएर नेतृत्व हाँकेको ६ वर्ष पुगिसक्यो । उनलाई काम गर्न एकदमै रमाइलो लाग्छ । उनको टिम पनि एकदमै सहयोगी छ । उनले आफ्नो टिमबाट भरपूर सहयोग पाइरहेकी छिन् । ‘मेरो टिम सर्पोटिभ नभएको भए मैले यति लामो समयसम्म काम गर्न सक्दिनथेँ होला,’ उनी थप्छिन् । क्याथेको नेपाल कार्यालयमा पहिले कन्ट्री म्यानेजरका रूपमा जहिले पनि विदेशी हुन्थे । तर, त्यतिबेला ६ महिना यो पद खाली भयो । उनी सेल्स म्यानेजर भएर काम गरिरहेकै बेला उक्त पद खाली भयो । त्यतिबेला जुनुलाई पनि थाहा थिएन कि उनलाई उनको कम्पनीले ‘जुनुले कस्तो काम गर्न सक्छिन्’ भनेर त्यो पद खाली राखेको । ‘एउटा लिडरको अनुपस्थितिमा गर्नुपर्ने सबै काम मैले गरेँ,’ उनी भन्छिन्, ‘मलाई कसैले गर भनेको पनि थिएन, मैले आफ्नै स्वविवेकले गरेँ, त्यही देखेर नै म्यानेजमेन्टले मलाई यो पदमा नियुक्त गरेको थियो ।’ जुनुलाई एउटा लिडर हुन ‘रोल मोडल’ भएर देखाउनुपर्छ भन्ने लाग्छ । लिडर भइसकेपछि आफू काम नगर्ने, तर अरूले मात्रै काम गर्नुपर्छ भनेर आशा राख्न नहुने उनको बुझाइ छ । ‘एउटा लिडरले गरेको मिहिनेत देखेर नै अरूले फलो गर्ने हुन्,’ उनी भन्छिन्, ‘अर्को कुरा के भने हामीले जुन अथोरिटी र रेस्पोन्सिबिलिटी भन्छौं, त्यसलाई हस्तान्तरण गर्दै जानुपर्छ, त्यो भएन भने प्रतिफल आउने काम हुन सक्दैन ।’ जुनुलाई प्रत्येक दिन सिकाइ हो भन्ने लाग्छ । उनी ‘मलाई यो कुरा आउँदैन सिकाइदिनुस् न’ भन्न कत्ति पनि लजाउँदिनन् । ‘कुनै पनि लिडरलाई सबै कुरा आउँछ भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘उसले सबैलाई बाटो देखाइदिने हो, मेरो टिममा सबै कुरा खुला छ, हाम्रो काम गर्ने तरिका पनि ट्रान्सप्यारेन्ट छ, त्यही हुनाले पनि हाम्रो काम गराइ धेरै राम्रो छ भन्ने मलाई लाग्छ ।’ एभिएसन बिजेनसका कुरा उड्डयन व्यापार (एभिएसन बिजनेस) को कुरा गर्ने हो भने नेपाल धेरै अवसर भएको गन्तव्य हो । ‘यहाँ धेरै कुरा एक्सप्लोर गर्न सकिन्छ,’ जुनु भन्छिन्, ‘हामीले अझै यसको सही सदुपयोग गर्न सकेका छैनौं ।’ जुनुका अनुसार क्याथे प्यासिफिकको हाल आफ्नै ७४ गन्तव्य छन् । कोड सेयरिङ र इन्टरलाइन पार्टनर गरेर १ सय ९३ गन्तव्यमा क्याथेले उडान गरिरहेको छ । यसमा एकदमै सिमलेस कनेक्सन छ । हङकङ एउटा ट्रान्जिट र डेस्टिनेसन हब भएकाले पनि टुरिस्ट प्रमोट गर्न खोजिरहेको उनी बताउँछिन् । क्याथेका प्रमुख गन्तव्य अस्ट्रेलिया, कोरिया, जापान, अमेरिका र क्यानडा हुन् । क्याथेले हाल नेपालका लागि सातामा चार उडान गरिरहेको छ । यो वर्ष अप्रिलबाट भने पाँच उडान गर्ने उनी बताउँछिन् । क्याथेले नेपालमा ३ सय १७ सिट क्षमताको ‘वाइड बडी’ जहाजबाट सेवा दिइरहेको छ । नेपालको उड्डयन बजार सानो भए पनि क्याथेले सकारात्मक रूपमा हेरेको छ । ‘नेपाल एकदमै अपरचुनिटी भएको डेस्टिनेसनमा पर्छ, आउटबाउन्ड मात्रै नभई, इनबाउन्ड पनि त्यत्तिकै स्ट्रङ छ हाम्रो,’ उनी भन्छिन् । क्याथे कार्गो चार्टर उडानतर्फ पनि मोडिएको छ । क्याथेको प्रतिउडान सामान बोक्ने क्षमता १९ टन छ । प्यासेन्जरको ब्यागेजले गर्दा १२ टनभन्दा बढी बोक्न सकेको छैन । अहिले बजारमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच प्रतिस्पर्धा चलिरहेको छ । प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ भन्ने जुनुलाई लाग्छ । ‘एउटा सर्भिस लेभल मेन्टेन गर्नका लागि प्रतिस्पर्धा हुन एकदमै जरुरी छ,’ उनी भन्छिन्, ‘त्यसले गर्दा सबै एयरलाइन्सहरूको सर्भिस लेभलदेखि लिएर धेरै कुरा अपटुडेट मार्क हुन्छ ।’ हङकङको क्याथेले नेपालमा उडान भर्न थालेको १७ वर्ष भयो । पहिला यसले क्याथे ड्रागनका नामले हङकङ–काठमाडौं–हङकङ उडान गथ्र्यो । अहिले क्याथे प्यासिफिकका नामले नेपालसँग जोडिएको छ । क्याथेले चीन, जापान, अस्ट्रेलिया लगायत पूर्वी एसियाली देश जाने नेपाली विद्यार्थी र व्यापारीलाई लक्षित गरेको छ भने नेपाल आउँदा पर्यटक ल्याउने गर्छ । नेपाल आउने विदेशी हवाई सेवा कम्पनीमध्ये क्याथे धेरै कार्गो बोक्नेमा पर्छ । हङकङबाट मेडिकल र विद्युतीय सामान ल्याउने, यताबाट छुर्पी, गलैंचा, जडीबुटी ओसार्ने काममा क्याथेले अनुमति पाएको छ । कलेज मेटसँगै जीवन यात्रा सन् २००८ मा जुनुले कलेज पढ्दाकै सहपाठी विपेन्द्र महर्जनसँग प्रेम विवाह गरिन् । उनका श्रीमान् राष्ट्रिय बास्केट बल टिमका क्याप्टेन थिए । उनका श्रीमान्, श्रीमान्भन्दा पनि साथी धेरै लाग्छ उनलाई, किनकि उनको धेरै साथसहयोग रहेको छ । जुनुका १३ वर्षकी छोरी जारा र ११ वर्षीय छोरा जेए छन् । श्रीमान् र परिवार सहयोगी भएकाले नै जुनुले विदेशी वायुसेवालाई समय दिन पाएकी छिन् । ‘घर र अफिस दुवै सम्हाल्नु एउटा डिफिकल्ट टास्क नै हो,’ उनी भन्छिन्, ‘तर, परिवारको साथ र सहयोग मिल्यो भने असम्भव भन्ने केही नहुने रहेछ । मेरो काम नै सयौंपटक विभिन्न ठाउँमा यात्रा गर्ने हो, परिवारको साथ र सहयोग नभएको भए मेरा लागि यो जागिर सम्भव हुँदैनथ्यो ।’ उनको अफिसको काम पनि यति नै समय गर्ने भनेर निश्चित छैन । उनले पूरा गर्नुपर्ने जिम्मेवारी पनि धेरै छन् । चौबिसै घण्टा ‘स्ट्यान्ड–बाई’ अवस्थामा रहनैपर्ने उनी बताउँछिन् । बिदा हो, राति भयो भनेर मोबाइल बन्द गरेर बस्न पाइँदैन । तर, उनलाई अहिले भने परिवारलाई पनि समय दिन पाउने सुविधा मिलेको छ । तर, परिवारसँगै कार्यालयको कामलाई प्राथमिकतामा राख्नुपर्ने उनको दैनिकी हो । काम भएका बेला दसैं, तिहार, परिवार भनेर बस्न नपाएका अनुभव पनि उनीसँग थुप्रै छन् । नेपालबाट हुने निर्यात तथा यात्रु सेवाको व्यापारमा अन्य नेपाली तथा विदेशी गरी दर्जन हाराहारी वायुसेवासँग प्रतिस्पर्धा गर्न उनी तत्पर रहिरहन्छिन् । जुनु भन्छिन्, ‘जीवन एकदमै सुन्दर छ । जीवनमा आउने उतारचढावले यसलाई झनै निखार्दै लैजाने रहेछ । त्यो उतारचढावलाई हेरेर खुसी हुने कि दुःखी हुने भन्ने आफैंमा भर पर्छ ।’ विदेश जाने लाखौं नेपालीका लागि टिकट बनाएकी जुनुलाई यहाँका दाजुभाइ दिदीबहिनी स्टुडेन्टमा होस् या लेबरका लागि विदेश जाँदा असाध्यै मन दुख्छ । ‘एयरलाइन्सलाई व्यापारिक हिसाबले हेर्ने हो भने नाफाजनक हो तर नेपाली भएर सोच्ने हो भने एयरपोर्टमा गएर हेर्दा धेरै दुःख लाग्छ,’ जुनु भन्छिन्, ‘यात्रा गर्नुपर्छ, विदेश पनि हेर्नुपर्छ तर विदेशमा सिकेको कामलाई नेपाल फर्केर उपयोग गर्नु राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।’ जुनुलाई आफ्नो ‘करियर जर्नी’ एकदमै ‘इन्ट्रेस्टिङ’ लाग्छ । उनलाई पर्यटन क्षेत्रमा यति लामो समय काम गर्न पाउनु भाग्य नै हो जस्तो पनि लाग्छ । ‘यो क्षेत्र ग्ल्यामरस पनि छ, इन्ट्रेस्टिङ पनि छ,’ उनी भन्छिन्, ‘नयाँ मान्छेसँग भेट्न पाइन्छ, नयाँ–नयाँ ठाउँ घुम्न पाइन्छ, नयाँ कुरा सिक्न पाइन्छ, यो नै रमाइलो हो मेरा लागि ।’ उनलाई हरेक दिन नयाँ लाग्छ । हरेक दिन सिकाइको दिन लाग्छ । किनभने, हरेक दिन नयाँ विषयमा सिकाइ हुन्छ । नयाँ अवसर, नयाँ समस्याहरू आउँछन् । तिनीहरूलाई नयाँ तरिकाले समाधान गर्न पाइन्छ ।

सिटिजन लाइफका सञ्चालक कार्कीले दिए राजीनामा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका सञ्चालक श्रीमान कार्कीले राजीनामा दिएका छन् । सञ्चालक कार्कीले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । कार्कीले फागुन १३ गते सञ्चालकबाट राजीनमा दिएका हुन् । उनको राजीनामा फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।