विकासन्युज

प्रधानमन्त्रीले गृहमन्त्रीलाई भने : कसैको दबाबमा नपरेर सुन प्रकरणमा संलग्नलाई कारवाही गर्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्न निर्देशन दिएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन बुझाउन शुक्रबार बालुवाटार पुगेका गृहमन्त्री लामिछानेलाई उनले यस्तो निर्देशन दिएका हुन् । उनले कसैको दबाब र प्रभावमा नपरी अघि बढ्न निर्देशन दिएका हुन् । ‘सुन तस्करी नियन्त्रण गर्न र तस्करीमा संलग्नलाई कारबाही गर्न तपाईं अघि बढ्नुस्, , तस्करीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय परिचालन गर्नुस्, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन थाल्नुस्,’ प्रचण्डले रविलाई भनेका छन् ।

सिटिजन्स बैंकद्वारा दीर्घ सेवा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । बिहीबार (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले सत्रौँ वर्ष पुरा गरी अठारौँ वर्षमा प्रवेश गर्न थालेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जना गरि जम्मा ६० जना कर्मचारीलाई क्रमश : १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका छन् । बैंकमा हाल करिव १७ सय ८० कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सतप्रतिशत योगदान दिन आग्रह गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

नवलपरासी पूर्वमा सुन्तला खेती क्षेत्र दोब्बरले वृद्धि

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ  । परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको  हो । पाँच वर्ष अगाडि  तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि आठ सय १८ हेक्टरमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए । परियोजनाले  बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैँडाकोट गाउँपालिकाको १८ नम्बर वडासहित १७  वडामा   सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालन गरेको छ । सुन्तला जातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच वर्षपछि उत्साहजनक प्रतिफल आउने कृषि उनले बताए । ‘किसानलाई परियोजनाले उत्पादन वृद्धि, लागत न्यूनीकरण, मूल्य शृङ्खला अभिवृद्धिका क्षेत्रमा सहयोग गर्दै आएको छ’, उनले भने, ‘जिल्लालाई बिरुवामा आत्मनिर्भर बनाएका छौँ यस वर्ष तीन वटा नर्सरीबाट ९० हजार बिरुवा उत्पादन हुन्छ ।’ पहाडी क्षेत्रमा सुन्तला र कागतीको उत्पादन बढ्दा बाँझो जमिन हराभरा हुनुका साथै राजगारीको क्षेत्र बढेको बुलिङटार गाउँपालिकाका किसान खेम गेलाङले बताए । उनले सुन्तला जातका बिरुवा उत्पादन गर्ने  नर्सरी सञ्चालनमा ल्याए । ‘राज्यका तर्फबाट किसानलाई दीर्घकालीन बाटो देखाउँदा उत्पादन बढाउन सकिने देखिन्छ’, उनले भने ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नौ सय ९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् । त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ कावासोती नगरपालिकाको ४, ९, १०, १२, १५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १, २, ३, ६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागू भएको छ । आब २०७५–०७६ मा सुन्तला जात र २०७६–०७७ मा तरकारी जोन कार्यक्रम सुरु भएको हो । ‘पाँच सय १२ हेक्टरमा भएको तरकारी खेती परियोजना सुरु भएपछि सात सय ८० हेक्टरमा विस्तार भएको छ”, उनले भने, ‘सुन्तला जातमा भन्दा तरकारी जोनमा किसानले प्रतिफल लिन थालेका छन् ।’ वार्षिकरुपमा छ समूहले रु एक करोडभन्दा माथि तरकारीको कारोबार गरेका छन् । आठ समूहले रु ५० लाखमाथि, आठ वटा समूहले रु २० लाखमाथि, आठ वटा समूहले रु १० लाखमाथिको कारोबार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए । साथै परियोजनाले १६ कृषक समूहका सदस्यतर्फ १६ जना, पाँच वटा निजी फार्म र एक वटा समूहलाई उत्कृष्ट किसान घोषणा गरी पुरस्कृत गरिएको प्रमुख सिंहले जानकारी दिए । पुरस्कृत हुनेमा निजी फार्मतर्फ आरजु कृषि फार्म कावासोती–१७, रुद्रपुर कृषि तथा पशुपालन प्रालि, बौदीकाली–५, टीकारत्न टुल्की कृषि फार्म गैँडाकोट–१८, प्रेक्षा एग्रो फार्म बुलिङटार–३ र भुसाल कृषि फार्म बुलिङटार–४ रहेका छन् । समूह सदस्यतर्फ युकबहादुर सारु, प्रेमप्रकाश पोख्रेल, धमलाल सिंजाली, नरविर मश्राङ्गी, भुवनसिंह सोमै मगर, चन्द्रबहादुर बाचेमगर, नरसिंह सुनारी, पीताम्बर सारु, धनबहादुर थापा, दलबहादुर रानामगर, दानबहादुर गाहा, ओमबहादुर अस्लामी मगर, गुञ्जबहादुर चितौरे, मिलन सारुमगर, देवबहादुर राना र ओमबहादुर झेंडी छन् । उनीहरुलाई जनही रु तीन हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । समूहतर्फ मध्यविन्दु कागती फलफूल तरकारी उत्पादन कृषक समूह रानीटार पुरस्कृत भएको थियो ।  रासस

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड, कतिले पाए ? 

काठमाडौं । सिंगटी हाईड्रो इनर्जीले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो । कम्पनीले गत पुस २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ७६ हजार २०० सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीले जनाएको छ । यस हिसाबले कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर अवितरित रहेको छ । उक्त हकप्रद सेयर निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धकसहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरेको कम्पनीले जनाएको छ ।

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । विसं २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो । बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोङ्गादोभान सिङ्गो तमानखोलाको प्रवेशद्वार नै हो । बुर्तिबाङ बजारदेखि तमानखोला–३ तमान गाउँ र वडा नम्बर ४ लाम्मेला ढोरपाटन नगरपालिकाको खुङ्गा हुँदै पुग्न सकिने भए पनि अन्य वडामा बोङ्गा दोभानबाटै पुग्नुपर्छ । दुर्गम पालिकालाई पक्की सडकले जोड्ने गरी गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ करोड २६ लाख २९ हजारको स्रोत सुनिश्चित गरेको छ । बहुवर्षे ठेक्का प्रक्रियामार्फत बुर्तिबाङ–बोङ्गादोभान सडक कालोपत्रे गरिने भएको छ । ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् । भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको छ । अग्ला–अग्ला पहाड र खोँच छिचोल्दै बस्ती पुगिने हुँदा सडक पनि साह्रै साँघुरा र अप्ठ्यारा छन् । साँघुरा सडकका कारण समय–समयमा दुर्घटना हुँदा नागरिकले अकालमा ज्यानसमेत गुमाउने गरेका छन् । बागलुङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउने बताए । सडकसँगै अन्य विकासमा तमानखोला पछाडि परेको भन्दै अब भने यहाँका जनताले दुर्गममा भएको अनुभूति गर्न नपर्ने उनको भनाइ छ । प्रदेशसभा सदस्य कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न सकेको बताए । पालिकाको बजेटले नभ्याउने, केन्द्र र प्रदेशबाट बजेट नपर्दा अहिलेसम्म विकासमा पछि परेको उनी बताउँछन् । प्रदेश सरकारमा आफूले ठूलो कसरत गरेपछि मात्रा बजेट व्यवस्थापन गर्न सफल भएको उनको भनाइ छ । तीन वर्षमा सक्ने गरी ठेक्का अगाडि बढ्ने भन्दै यस वर्ष पाँच करोडको काम हुने उनले बताए । उनले भने, ‘अहिलेसम्म तमानखोलामा कतै पनि कालोपत्रे सडक छैन, अब तमान खोलावासीले पनि कालोपत्रे सडक देख्न र यात्रा गर्न पाउने छन्, यो बहुवर्षे योजना हो, एकै वर्षमा सकिँदैन, तीन वर्षसम्म सक्नुपर्नेछ, यस वर्ष पाँच करोड विनियोजन भएको, बजेट पनि निरन्तर आउने आउने काम पनि हुँदै जानेछ, योसँगै बोङ्गा दोभान–खुङ्खानी नर्जाखानी, थास्पुरी तमान जोड्ने २२ किलोमिटर सहरी सडक पनि स्तरोन्नतिका लागि डिपिआर गरेका छौँ भने घट्टबोट र धोमइघाटमा मोटरेबल पुल निर्माणका लागि पनि डिपीआर भएको छ ।’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाको सीमित स्रोत साधनले सडक कालोपत्रे गर्न नसकिएको बताए । पुल निर्माण र सडक कालोपत्रेका लागि ठूलो बजेट चाहिने तर पालिकाको बजेटले नपुग्ने हुँदा वर्षौंदेखि यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको उनको भनाइ छ । बुर्तिबाङ बजारदेखि बोङ्गा दोभानसम्म जोड्ने सडकमा दुई वटा पुल बनेका छन् । ढोरपाटन –३ को हुँद्रा फेदी खोला र तमान खोलाको बालिबाङ खोलामा पुल नबन्दा बर्खामा यातायात ठप्प हुने स्थिति थियो । तीन वर्ष अगाडि हुँदा फेदी र दुई वर्ष अगाडि बालिबाङ खोलामा पक्की पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको अध्यक्ष बुढा मगरले बताउनुभयो । अप्ठ्यारो सडकका कारण यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने भन्दै छोटो दूरीमा पनि धेरै भाडा तिर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ । ‘सडक कालेपत्रे गर्न त हामीले चाहेर पनि सकिदो रहेनछ, एक किलोमिटर सडक कालोपत्रे गर्न लाखौँ रकम चाहिँदो रैछ, यति लामो सडक कालोपत्रे गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दो रहेनछ’, उनले भने, ‘विगतमा माथिल्लो सरकारबाट निकै कम बजेट आयो, त्यसले कामनै गर्न सकिएन, यस वर्ष गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेर काम अगाडि बढाउन थालेको छ, यसले यहाँका नागरिकलाई सहज बनाउने छ ।’ सडक कालोपत्रेको काम पूर्वाधार विकास कार्यालयमार्फत हुनेछ । गण्डकी प्रदेश अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेपछि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर दिपेश रिगलले जानकारी दिए । अब तत्काल कार्यालयले सडकको काम अगाडि बढाउने भन्दै ठेक्का प्रक्रियामा गएर काम गर्ने उनको भनाइ छ । रासस

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने योजना समेटिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । ‘गुरुयोजनामा समेटिएका पूर्वाधारलाई गाउँपालिका, प्रदेश र सङ्घीय सरकार तथा पर्यटन बोर्डलगायतका निकायसँग साझेदारी र सहकार्य गरेर निर्माण गर्ने योजना बनाएका छौँ, यस वर्ष होटल निर्माण भएपछि आधार शिविरमा खाना बस्नको सुविधा पुग्छ’, उनल भने । गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरीस हर्जोगको सालिक स्थापना गर्ने, शौचालय र खानेपानीको सुविधा पु¥याउने, आरोहीको सुविधाका लागि गोदाम घर बनाउने योजनासमेत अध्ययन गरिएको छ । त्यसैगरी पदमार्गअन्तर्गत सुनखोलामा आश्रयस्थल थप गर्ने, गुफाफाँट र साँधिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरी खानेपानी, शौचालयलगायतका पूर्वाधार थप गर्ने, सबै आश्रयस्थलमा सोलार सुविधा पुर्याउने योजना बनाइएको छ । गुरुयोजनामा पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने, झरनाको पानी बगेर जाने खोलामा आर्क प्रविधिको पुल बनाउने, झरना परिसरमा रक गार्डेन बनाउने र कफी सप सञ्चालनको लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गुरुयोजनामा नारच्याङमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशद्वारलाई पर्यटक प्रवेशद्वारको रुपमा व्यवस्थित गर्ने योजनालाई समेत समावेश गरिएको छ भने हुमखोला, साँधिखर्क र भुस्केटमेलाको झोलुङ्गे पुललाई व्यवस्थित गर्ने, सुनखोला र नजिकैको खहरेमा समेत पूर्वाधार निर्माण गर्ने, आकासे गुफाको पहिरो रोकथाम र नियन्त्रण गर्ने योजनालाई समेत समावेश गरिएको छ । गाउँपालिकालाई पर्यटन बोर्डले समेत रु तीन करोड बराबरको पर्यटन पूर्वाधारका योजना माग गरेकाले यसै पदमार्गका पर्यटन पूर्वाधारका योजनालाई नै सिफारिस गर्ने गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्ग र आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको गउाँपालिकाले नारच्याङमा घरबास र पर्यटक पथ प्रदर्शक तालिम सञ्चालन गर्ने तयारी गरेको छ । एकीकृत गुरुयोजना निर्माण गर्न गाउँपालिकाले यस वर्ष रु १५ लाख बजेट विनियोजन गरेको थियो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालमा छ । सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’ को पहिचान गरिएको थियो । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ । हुमखोलादेखि आधार शिविरसम्मको १६ किलोमिटर दूरीमा आठ किलोमिटर व्यवस्थित पदमार्ग निर्माण भएको छ भने पाँच किलोमिटर पदमार्ग मर्मत र तीन किलोमिटर पदमार्ग नयाँ निर्माण गर्नुपर्ने छ । सडक र पदमार्गका पूर्वाधार बनेर यात्राअवधि छोटिएको भए पनि पर्यटकको सुविधाको लागि होटल, लज, खानेपानी, शौचालयलगायतको सुविधा नभएपछि गाउँपालिकाले एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । रासस

स्वास्थ्य बीमा बोर्डले माग्यो करार कर्मचारी (सूचनासहित)

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डले करारमा १ सय ४३ कर्मचारी माग गरेको हो । बोर्डले शुक्रबार सूचना जारी गरेर विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आह्वान गरेको हो । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि दर्ता अधिकारी पदमा कर्मचारी माग गरिएको छ । सूचनाअनुसार आगमी चैत १६ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।  

सानिमा जिआईसीले बोलायो साधारण सभा, २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा चैत २९ गते बस्ने भएको छ । सभा काठमाडौं कालिकास्थानमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न इन्स्योरेन्सले छैठौँ वार्षिक साधारण सभा बोलाएको हो । यस वर्ष कम्पनीले लाभांश नदिने भएको छ । सभाले हकप्रद सेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।