विकासन्युज

त्रिभुवन विश्वविद्यालयले ल्यायो बैंकजस्तै कलेज मर्जरको नीति, कम विद्यार्थी भएका कलेज खारेज हुने

काठमाडौं । त्रिभुवन विश्विद्यालयले कलेजहरू मर्जर तथा प्राप्तिको नीति सार्वजनिक गरेको छ । विश्वविद्यालयले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै त्रिविका आङ्गिक क्याम्पसहरूमा विगत दुई शैक्षिक सत्रदेखि न्यून विद्यार्थी संङ्ख्या भएका क्याम्पसका कार्यक्रमहरू आगामी शैक्षिक सत्रदेखि गाभिने प्रक्रिया अगाडि बढाइने बताएको हो ।  नीति तथा कार्यक्रम सार्वजनिक गर्दै त्रिविबाट सम्बन्धन लिएर सञ्चालन भएका सम्बन्धन प्राप्त सामुदायिक तथा निजी क्याम्पस/कलेजहरूमा शैक्षिक, भौतिक, प्रशासनिक कार्यसम्पादनको नियमित मूल्याङ्कन र अनुगमन गरी आवश्यकता अनुसार उल्लिखित क्याम्पस/कलेजलाई समायोजन वा खारेज गर्ने नीतिलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।  यस्तै, त्रिविको पुनर्संरचना गर्ने नीति कार्यान्वयन गर्नका लागि उच्चस्तरीय त्रिवि पुनर्संरचना आयोग गठन गरी पुनर्संरचनाको कार्य अगाडि बढाइने, त्रिविका आङ्गिक क्याम्पसहरू र सम्बन्धनप्राप्त क्याम्पस/कलेजहरूमा आवश्यकता अनुसार कार्यक्रम तथा विषय थपको प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस÷कलेज र निजी क्याम्पस/कलेज सञ्चालनार्थ सम्बन्धन नीतिमा संशोधन गर्नुका साथै नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार शिक्षक/कर्मचारीहरूको स्तर निर्धारणका लागि संयन्त्र बनाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  केन्द्रीय विभाग र अनुसन्धान केन्द्रहरूलाई अन्तर सम्बन्धित गराई शिक्षण र अनुसन्धान कार्यलाई जोड्ने नीति कार्यान्वयन गरिने, विश्वविद्यालयको शैक्षिक व्यवस्थापन एवं सूचना प्रणाली को स्तरोन्नति गरिने र त्रिविको आवश्यकता र प्राथमिकताका आधारमा विदेशी विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग एमओयू गरिने उल्लेख छ ।  त्रिविका विभिन्न निकायहरूबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूको विषय र पाठ्यक्रमहरूको पुनरावलोकन गरिने, स्नातक, स्नातकोत्तर, अधिस्नातक, दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको अध्ययन, अध्यापन र अनुसन्धान कार्यका लागि मौजुदा पाठ्यक्रमलाई विश्व बजार सुहाउँदो समयानुकूल, समसामयिक र प्रयोगमुखी बनाई पुनरावलोकन तथा परिमार्जन गरिने र त्रिविका आङ्गिक क्याम्पसहरू, केन्द्रीय विभागहरू र स्कूलहरूमा सञ्चालित स्ववित्तीय कार्यक्रमका लागि एकीकृत कार्यविधि बनाउने प्रक्रियामा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  विश्वविद्यालयले सुविधा सम्पन्न प्रादेशिक परीक्षा हल निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।   त्रिविका उपकुलपति प्राध्यापक दीपक अर्यालले त्रिविको अबको पाठ्यक्रमदेखि लिएर त्रिविले गर्ने गतिविधिमा सुस्तता नआउने दाबी गरे ।  त्रिवि अब पुरानै तरिकाले नभइ नयाँ ढंगले कसरी अघि बढ्ने भन्ने विषयमा त्रिविको भविष्य सुधार्ने रोडम्याप तयार भएको बताउँदै अब नयाँ तरिकाले अघि बढ्ने बताए । ‘त्रिविले केही काम समयमा गर्दैन भन्ने गुनासो बढ्दो छ, हामीले अब छिटो छिरितो र सहज तरिकाले सेवा दिने गरी नीति पारित गरेका छौं, यही नीतिअनुसार काम गर्न सकियो भनेपनि ठूलो परिवर्तन हुनेछ,’ उनले भने ।     नीति तथा कार्यक्रमकाे पूर्णपाठ  

सिटिजन्सको मोबाइल एपबाटै सेयर भर्न सकिने, यसरी लिन सकिन्छ सेवा

काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सेयरमा आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । जुन सेवा नेपालको बैंकिङ्गमा पहिलोपटक सिटिजन्स बैंकले ल्याएको हो । डिजिटल बैंकिङमा जोड दिइरहेको सिटिजन्स बैंकले मोबाइल बैंकिङ्ग एपबाटै सार्वजनिक निष्काशन (आईपीओ), थप सार्वजनिक निष्काशन (एफपीओ), हकप्रद सेयर लगायतमा आवेदन दिन सकिने सेवा ल्याएको हो ।  नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलोपटक सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सीआस्बा तथा सीआरएन नम्बर सेवा प्रदान गर्ने गरी माईआस्बा फिचर ल्याएको बैंककी डिम्याट तथा आश्वा हेड रोजीना तिवारीले जानकारी दिइन् । ग्राहकहरूलाई सहज होस् भन्ने उद्देश्यले मोबाइल बैंकिङ्ग एपबाट सेयरमा आवेदन दिन सकिने व्यवस्था मिलाएको उनको भनाइ छ ।  तिवारीका अनुसार माईआस्वा सेवा मोबाइल बैंकिङ्ग एपमा भएका फिचरहरूमध्ये ‘एडिस्नल’ फिचर हो । यस फिचरबाट आईपीओ, एफपीओ लगायत सेयरमा आवेदन दिन सकिनेछ । डिम्याट खाता भएका ग्राहकहरूले सोही डिम्याटका आधारमा सीआस्बा नम्बर र सीआरएन नम्बर पाउने उनको भनाइ छ । उक्त सेवा लिनका लागि ग्राहकले डिम्याट खाता खोलेको हुनुपर्छ । जुनसुकै निक्षेप सदस्यमा डिम्याट खाता भएपनि बैंक खाता र मोबाइल बैंकिङ्ग सुविधा भने सिटिजन्समा हुनुपर्छ । मोबाइल बैंकिङ्गमा माईआस्वा फिचर देखिन्छ । त्यसमा क्लिक गरेर डिम्याट खाता राख्नुपर्छ । सीआरएन नम्बर पहिला नै लिएको छ भने उक्त नम्बर ‘डिस्प्ले’ हुन्छ । यदि सीआरएन नम्बर लिएको छैन भने नयाँ सीआरएन नम्बर समेत तत्काल लिन सकिने तिवारीले बताइन् । सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमै उक्त सुविधा भएपछि ग्राहकहरूले अन्य एप तथा शाखा कार्यालयमा जानु पर्ने वाध्यताको अन्त्य भएको उनको भनाइ छ ।  ‘बैंकको सिस्टम अटोमेटिक भएकाले रियल टाइममा रकम होल्ड हुन्छ । सीआस्वा नम्बर पनि मोबाइल एपबाट लिन सकिन्छ । सेयर आवेदन दिएपछि बैंकको एपबाटै केही समयमै रिजेक्ट वा भेरिफाइड हेर्न सकिन्छ । साथै सेयर बाँडफाँट भएपछि नतिजा पनि एपबाटै हेर्न सकिन्छ,’ तिवारीले भनिन् ।  बैंकले उक्त सेवा ल्याएको छोटो समयमै औसत ८० हजार बढीले सिटिजन्स बैंकको मोबाइल एपबाटै आवेदन दिने गरेको उनको दाबी छ । साथै बैंकमा २ लाख भन्दा बढी डिम्याट खाता छन् ।

राष्ट्रिय सभागृहमा कांग्रेसको विशेष महाधिवेशन पक्षधर भेला सुरु

काठमाडौं । नेपाली कांग्रेस बिशेष महाधिवेशन पक्षधर समूहको विशेष भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ । पुषभित्रै बिशेष महाधिवेशन गर्न दवाव दिने उद्देश्यले भेला आयोजना गरिएको नेताहरू बताउँछन् । भेला आयोजकमध्येका नेता जगदीशस्वर नरसिंह केसीका अनुसार भेलामा विभिन्न जिल्लाका ११ सय महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको छ ।  पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्न नसकेपछि विशेष महाधिवेशन पक्षले दवावस्वरूप भेला आयोजना गरेको बताएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको भेलामा प्रतिमा गौतम, मधु आचार्य र अजय सिवाकोटीसहितका केन्द्रीय सदस्यहरू उपस्थित रहेका छन् ।  गण्डकी र लुम्विनी प्रदेशका सभापतिहरूसहित भेलामा १ हजार २ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको भेला आयोजक केसीले जानकारी दिए ।

एउटै हायर पर्चेज कम्पनीसँग ९ अर्ब ऋण, १० वटाले लिए साढे ३२ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर विभिन्न १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा रहेका छन् ।सामान्यतया गाडी, मोटरसाइकल, मेसिनरी, फर्निचर जस्ता महँगा सामान किन्दा ऋण उपलब्ध गराउने काम हायर पर्चेज कम्पनीले गर्ने गर्छन् । हायर पर्चेज कम्पनीहरूले ठूलो मात्रामा फाइनान्सिङको काम गर्दै आएका छन् ।  राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार ओम्नी, हुलास फिनसर्भ, सिप्रदी, एमएडब्लू, बतास, स्याकार, जगदम्बा, भेन्चर, मनोकामना र अग्नी हायर पर्चेज कम्पनी सञ्चालनमा रहेका छन् । यी कम्पनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट साढे ३२ अर्ब रुपैयाँ ऋण लिएर फाइनान्सिङको काम गरिरहेका छन् । ओम्नी हायर पर्चेज प्रालि ओम्नी ग्रुप अन्तर्गतको ओम्नी हायर पर्चेज प्रालिले एक वर्षमा करिब २८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २७ करोड ९० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको जनाएको छ ।  यस्तै, कम्पनीले सन् २०२४ मा २५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ३३ करोड १० लाख रुपैयाँ, सन् २०२० मा ३७ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ४४ करोड ४० लाख रुपैयाँको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । सन् १९९१ देखि हायर पर्चेज कर्जाको सेवा दिँदै आएको यस कम्पनीले सन् २०१७ मा राष्ट्र बैंकबाट अनुमति पाएको थियो । कम्पनीमा तीन जनाको सेयर स्वामित्व छ जसमा आत्मराम काब्राको ४५ प्रतिशत, नारायण काब्राको ४५ र सन्दिप कुमार महताको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६९ करोड रुपैयाँ दीर्घकालीन र ४ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी २ अर्ब ७३ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।  हुलास फिनसर्भ हायर पर्चेज गोल्छा ग्रुपको हुलास फिनसर्भ हायर पर्चेजले सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यस्तै, कम्पनीले सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ५२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६१ करोड ३० लाख सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीको नेटवर्थ सन् २०२५ मा १ अर्ब ४९ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै, सन् २०२४ मा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ७० लाख रुपैयाँ र सन् १ अर्ब ४ करोड ८० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । सुरुमा हुलास इन्भेस्टमेन्ट प्रालिको नाममा स्थापना भएको यस कम्पनीले सन् २०२१ मा नाम परिवर्तन गरेर हुलास फिनसर्भ हायर पर्चेज राखेको थियो । हाल आईपीओ निष्कासनको तयारीमा रहेको हुलास फिनसर्भमा हंसराज हुलासचन्द एण्ड कम्पनी र बजाज मोटरसाइकल बिक्रेताको ८२ प्रतिशत सेयर स्वामित्व रहको छ । बाँकी १८ प्रतिशत सेयर स्वामित्व अन्य सेयरधनीको नाममा छ । कम्पनीको प्रबन्ध निर्देशकमा भने शेखर गोल्छा रहेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्कअनुसार कम्पनीले पछिल्लो समय विभिन्न बैंकहरूबाट ८ अर्ब ५५ करोड रुपैयाँ ऋण लिएर फाइनान्सिङ सेवा दिइरहेको छ ।  सिप्रदी हायर पर्चेज प्रालि सिप्रदी हायर पर्चेज प्रालिले सन् २०२५ को ९ महिनामा ३९ करोड २० लाख रुपैयाँ बराबरको कुल आम्दानी गरेको जनाएको छ । कम्पनीले सन् २०२४ मा ५८ करोड रुपैयाँ, सन् २०२३ मा ५२ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ४९ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ६७ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।  कम्पनीको नेटवर्थ सन् २०२५ को ९ महिनामा १ अर्ब १२ करोड ३० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा १ अर्ब १४ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ९४ करोड रुपैयाँ, सन् २०२२ मा ९२ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ७८ करोड ४० लाख नेटवर्थ थियो ।  सन् २०१४ मा स्थापित यो कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालको लागि आधिकारित डिलर हो । सिद्धार्थ राणा अध्यक्ष रहेको यस कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब १० करोड रुपैयाँ ऋण लिएको तथ्याङ्क छ । एमएडब्लू हायर पर्चेज एमएडब्लू हायर पर्चेजले सन् २०२५ को पहिलो त्रैमासमा १० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने सन् २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सन् २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो। कम्पनीको नेटवर्थ भने सन् २०२५ को पहिलो त्रैमासमा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा ५७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड रुपैयाँ र सन् २०२२ मा ४९ करोड ४० लाख रुपैयाँ नेटवर्थ थियो । सन् २०११ मा स्थापित यस कम्पनीमा एमएडब्लू प्रालिको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको नेतृत्व भने अग्रवालले नै गरिरहेका छन् । साथै, कम्पनीले विभिन्न बैंकहरुबाट २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋण लिएको छ ।  बतास हायर पर्चेज बतास हायर पर्चेजले सन् २०२५ को पहिलो त्रैमासमा १० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा २७ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २१ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा २३ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा २१ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको थियो ।  सन् २०२५ को पहिलो त्रैमासमा कम्पनीको नेटवर्थ २३ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै, सन् २०२४ मा २७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ३५ करोड ३० लाख रुपैयाँ, सन् २०२१ मा ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा १७ करोड ९० लाख रुपैयाँ नेटवर्थ थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २४ करोड रुपैयाँ दीर्घकालिन र १ करोड ४० लाख रुपैयाँ अल्पकालीन गरी २ अर्ब २६ करोड रुपैयाँ ऋण लिएको छ । बतास समूहले सन् २००३ मा स्थापना गरेको बतास हायर पर्चेज प्रालिलाई मार्च २०२५ मा केडिया ग्रुपले खरिद गरेको हो । केडिया अर्गनाइजेसन नेपालको एक स्थापित व्यावसायिक घराना हो । कम्पनीको अध्यक्ष सानु काजी तमोट रहेको छ ।  स्याकार हायर पर्चेजन स्याकार हायर पर्चेजले सन् २०२५ को ८ महिनामा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा १० अर्ब ८४ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् १९७६ मा स्थापित स्याकार ट्रेडिङ कम्पनीको अध्यक्ष सौरभ ज्योति र सुहृद ज्योति उपाध्यक्ष छन् । स्याकारको कार्यालय ज्योति भवन, कान्तिपथ, काठमाडौंमा छ भने आफ्नै १६ वटा बिक्री शोरूमहरू र १०० डिलरहरूको डिलरशिप नेटवर्क छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ दीर्घकालिन र ४ अर्ब ६४ करोड ६० लाख रुपैयाँ अल्पकालीन गरी ६ अर्ब १४ करोड ६० लाख रुपैयाँ ऋण लिएको छ । जगदम्बा हायर पर्चेज शंकर ग्रुपको जगदम्बा हायर पर्चेजको सन् २०२४ जुलाइसम्मको तथ्याङ्कअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७६ करोड ४४ लाख रुपैयाँ बराबरको ऋण लिएको तथ्याङ्क छ । त्यसयता कम्पनीले कुनै पनि विवरण सार्वजनिक गरेको देखिँदैन । कम्पनीले आव २०८०/८१ मा ८ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको देखिन्छ । भेन्चर हायर पर्चेज प्रालि भेन्चर हायर पर्चेज प्रालिले सन् २०२४ मा २६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको तथ्याङ्क छ । त्यसपछिको कारोबारको विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीले सन् २०२३ मा १७ करोड रुपैयाँ, सन् २०२२ मा ६ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । साथै, कम्पनीको नेटवर्थ सन् २०२४ सम्ममा ४३ करोड ३० रुपैयाँ थियो । त्यसअघि सन् २०२३ मा ३८ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३४ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ३१ करोड ९० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको तथ्याङ्क छ । सन् २०१७ मा स्थापित भेन्चर हायर पर्चेज प्राइभेट लिमिटेडले सन् २०१९ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमति पत्र लिएको थियो । यस कम्पनीमा आइएमई ग्रुपको लगानी छ । सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् । मनोकामना हायर पर्चेज प्रालि मनोकामना हायर पर्चेज प्रालिको प्रालिको पनि सन् २०२४ सम्ममा ४१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । कम्पनीले सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३३ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  सन् २०२४ मा ३० करोड ५० लाख रुपैयाँ नेटवर्थ रहेको छ । यस्तै सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३८ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ३३ करोड ८० लाख रुपैयाँ नेटवर्थ रहेको थियो ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २७ करोड २९ लाख रुपैयाँ ऋण लिएको छ । एमभी दुगड ग्रुपको एक हिस्साको रुपमा रहेको मनोकामना हायर पर्चेजले सन् २०१९ मा राष्ट्र बैंकबाट अनुमति पाएसँगै फाइनान्सिङको काम गर्दै आएको छ । एमभी दुगड समूह नेपालमा एक शताब्दी भन्दा बढी समयदेखि व्यावसायिक क्षेत्रमा आबद्ध छ । कम्पनीमा विवेक दुगडको ९० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  अग्नि हायर पर्चेज प्रालि अग्नि हायर पर्चेजले सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा ६ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा १ करोड ५० लाख रुपैयाँ र सन् २ं०२० मा २ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  सन् २०२४ मा कम्पनीको नेटवर्थ ४१ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ३७ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३५ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा ३४ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ३३ करोड ३० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड ऋण लिएको छ । सन् २०१४ मा स्थापित अग्नि हायर पर्चेज कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन् । यस कम्पनीमा उनको ४५ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३३ प्रतिशत र अर्जुन प्रसाद शर्माको २२ प्रतिशत सेयर स्वामित्व छ । अध्यक्ष श्रेष्ठ अग्नि ग्रुपका प्रबन्ध निर्देशक पनि हुन्।

नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हो : स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताए । यसलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाई छ । उनकाअनुसार २०४८ सालको सरकारद्वारा शुरु गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको थियो । यदि त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिव १ सय अर्ब डलरको आकारमा पुग्ने उनको भनाई छ ।  तर हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको उनले बताए । पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको उनले जानकारी दिए । त्यसको प्रतिविम्ब भदौ २३–२४ का घटनाले पनि देखाएको उनको भनाई छ । जेनजी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उनले बताए । उनकाअनुसार यो संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्नसक्छ । तर असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने उनले बताए । यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले वहन गर्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘नेपालमा एक डेढ दशकदेखि उकुसमुकुस भइरहेको छ । यसको प्रतिविम्वको रुपमा भदौ २३ र २४ को विस्फोटमा पनि भयो र मुलुकको अर्थराजनितिक कोर्सलाई नै मोडिने गरेर र यसलाई समाल्न सक्यौँ भने हामी साँच्चिकै नयाँ ट्रयाज्क्टरीमा जानसक्छौँ भन्ने आशा पनि पलाएको छ ।’  उनले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

विद्यार्थी-कम्पनी एउटै छानामुनि : आइएसएमटी जब फेयरमा रोजगारीको अवसर

काठमाडौं । सिराहका युवराज भण्डारीलाई मंगलबार दिनभरि भ्याइनभ्याइ थियो । हातमा बायोडाटा बोक्दै विभिन्न आइटी कम्पनीका प्रतिनिधिसँग उनी अन्तरवार्ता दिइरहेका थिए । आवश्यक जनशक्ति खोज्न काठमाडौंको तीनकुनेमा रहेको आइएसएमटी कलेजमा पुगेका विभिन्न कम्पनीमा उनी आफ्नो लागि काम खोज्दै थिए। कलेजको वातावरण सामान्य दिनभन्दा फरक थियो । परिसरमा प्रवेश गर्नेबित्तिकै विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास मिसिएको पाइन्थ्यो । हातहातमा बायोडाटा, अनुहारमा अपेक्षाको चमक र मनमा भविष्यका थुप्रै कल्पनाहरू सबै एकै ठाउँमा भेटिन्थ्यो ।  युवराज भण्डारी ब्याचलर्स तेस्रो वर्षमा अध्ययनरत भण्डारी एक पछि अर्को गर्दै कम्पनी चहारिरहेका थिए । आइटीमा भविष्य बनाउने सपनासहित उनी कलेज आएका हुन् ।  ठूलो आइटी कम्पनीमा काम गरिरहेको देख्ने इच्छा भण्डारीको मनमै थियो । कलेजले उही चाहना पूरा गरिदिने अवसर जुराइदियो । तीनवटा कम्पनीमा अन्तरवार्ता दिइसकेपछि उनले भने, ‘रोजीरोजी कम्पनीसँग अन्तवार्ता दिँन पाइयो । जागिर पाइन्छ कि जस्तो पनि छ । धेरै कुरा सिक्न पनि पाइयो ।’  तीनमध्ये दुईवटा कम्पनीले भण्डारीलाई दोस्रो चरणका लागि कम्पनीमै बोलाएको छ।  दाङकी प्रियन्सा गिरीका लागि पनि विशेष दिन थियो । होटल रेस्टुरेन्टमा आवश्यक जनशक्ति खोज्दै मक्र्योर होटेल र गोकर्ण रिसोर्टका प्रतिनिधिहरूसँग उनले आफ्नो क्षमता योग्यता र आफूले गर्नसक्ने कामका विषयमा भनिरहेकी थिइन् ।   आवश्यक कर्मचारीका जनशक्तिका लागि आइएसएमटी पुगेका गोकर्ण रिसोर्ट, मक्र्योर होटेलका प्रतिनिधले उनको अन्तरवार्ता लिए । आइएसएमटी कलेजमा बीएचएममा अध्ययनरत उनी कलेजले यस्ता कार्यक्रम गरिदिँदा विद्यार्थीलाई सहज हुने बताउँछिन्।  काठमाडौंकी स्नेहा डंगोल आइएसएमटीमै बीबीए छैटौं समेस्टरमा अध्ययनरत छिन् । उनलाई बैंकिङ क्षेत्रमा काम गर्ने रुचि छ । कामको खोजी कसरी गर्ने होला भन्ने चिन्तामा थिइन् उनी । तर उनलाई लामो समयसम्म दोधारमा बस्न परेन । किनकि आइएसएमटीले कलेजमै बैंकिङ लगायतका विभिन्न कम्पनीसँग कामको लागि भेट्ने अवसर मिलाइदियो ।    स्नेहा डंगोल  डंगोलले नेपाल एसबीआई बैंक, फोनपे, फोनपे एफवान सौर्य ग्रुपमा गएर उनीहरूलाई आवश्यक कामदार र आफूले खोजेको कामबारे कुराकानी गर्ने अवसर पाइन् । कलेजले एकैचोटी धेरै कम्पनीसँग भेट्ने बुझने अवसर दिएको भन्दै खुसी व्यक्ति गरिन् । बुढानीलकण्ठका आभास कार्की बीएचएम पढ्दै छन् । उनलाई फरक मान्छेहरूसँग भेटेर कुरा गर्न मन पर्छ । धेरै व्यक्तिसँग भेटेर कुरा हुने क्षेत्र होटल लाग्यो अनि उनले यही विषय राजे । स्नातक तहको अन्तिम सेमेष्टरमा अध्यनरत उनलाई अब आफै काम गर्दै पढ्न मन छ । पढाइ सकिएपछि कामको खोजीमा कता पुग्नुपर्ने हो भन्ने चिन्ता उनलाई कहिल्यै लागेन । किनकि उनलाई यो अवसर कलेजले नै उपलब्ध गराउँदै आएको थाह थियो ।  अहिले यो अवसर पाउँदा उनी निकै खुसी छन् । ‘सके जागिर पाइएला नभए अनुभव लिन पाइन्छ कलेजले यस्तो अवसर दिलाई दिनु नै ठूलो कुरा हो,’ उनले भने ।  आभास कार्की कम्पनीसँग भेट्नु अघि कसरी तयार गर्छ ? आइएसएमटीले हरेक वर्ष विद्यार्थीका लागि जबफेयरका कार्यक्रम गर्दै आएको छ । एक पटक गर्ने जवफेयरमा २ सय २५ जना विद्यार्थीले कम्पनीको बारेमा बुझ्न, मान्छे चिन्ने अवसर पाउँछन् । त्यसमध्ये करिब २० प्रतिशित विद्यार्थीले रोजगारको अवसर पाउने गरेका छन् ।  कलेजले विद्यार्थीलाई कम्पनीसँग अन्तरवार्ताका लागि त्यत्तिकै पठाउँदैन । त्योभन्दा अगाडि विद्यार्थीलाई बोल्न सक्ने बनाउँछ । कसरी बोल्ने, कसरी बस्ने, उठ्ने, शारीरिक हाउभाउ कसरी गर्ने भन्नेदेखि आफ्नो बायोडाटा कसरी बनाउने भन्ने विषयमा सिकाउने गरेको कलेजले जनाएको छ ।  यति कुरा सिकाइसकेपछि बल्ल कलेजले कम्पनीसँग जोडिदिन्छ । विद्यार्थीको रुचि, सीप दक्षता अनुसार  कुन विद्यार्थी कस्तो संस्थमा फिट हुन्छ भन्ने कुरा कलेज र शिक्षकले तयार गरिदिन्छ ।  ब्याचलर्समा हरेक विद्यार्थी अलमलमा पर्छन् । कहाँ जाने के गर्ने, कसरी काम खोज्ने भन्ने पीर हरेक विद्यार्थीलाई हुन्छ । यस्तो बेला कलेज नै अभिभावकको रूपमा उभिनुपर्ने विद्यार्थीहरू बताउँछन् ।  ‘म पनि यही कुरामा अलमल थिएँ, तर सरले सहयोग गर्नुभयो, मलाई अहिले सहज भयो । यस्तै भविष्यको योजनाका लागि विद्यार्थीलाई कलेज शिक्षकको आवश्यकता हुन्छ, जुन कलेजले पुरा गर्नुपर्छ,’ स्नेहाले भनिन् । उनी अन्य कलेजहरूले पनि यसको सिको गर्नुपर्ने बताउँछिन् ।  भन्छिन्, ‘अहिलेको जेनजी पुस्ता हामी निकै दोधारमा छौं, तर हामीसँग आत्मविश्वास पनि छ, त्यो अनुसारको सीप, क्षमता छ । कतिपय साथीभाइहरूमा यस्तो आत्म विश्वास छैन, यो बेला अभिभावकिय भूमिकाकलेज हुनुपर्छ ।’  के भन्छन् कम्पनीहरू ? आइएसएमटी कलेजले आयोजना गरेको जवफेयर कार्यक्रममा नाम चलेका १८ वटा कम्पनी कलेज पुगेका थिए । उनीहरू आफ्नो कम्पनीलाई आवश्यक जनशक्ति कलेजमै खोज्ने अवसर पाए । यो कम्पनीलाई लागि पनि ठूलो अवसर रहेको उनीहरूको भनाइ छ ।  मर्क्योर होटेल जुन नेपालमा भर्खरैमात्र सुरु भएको छ । सुकेधारामा पाँचतारे होटेलका रूपमा सेवा दिइरहेको मक्र्योरलाई विभिन्न विधामा कर्मचारी आवश्यक परेको छ । कलेजले दिएको अवसरमा कम्पनीलाई आवश्यक विद्यार्थी छानेर लिने अवसर पाएको होटलले जनाएको छ ।  ‘हामीलाई इन्टर्नदेखि विभिन्न विभाग प्रमुखसम्मको कर्मचारी आवश्यक छ,’ मर्क्योरको मानव संसाधन विभागका प्रमुख संघर्ष खड्का भन्छन्, ‘यसरी कलेजमा आएर धेरै विद्यार्थीसँग कुरा गर्न पाउँदा कामदार छनोट गर्न सहज हुन्छ ।’  संघर्ष खड्का  कामदार खोज्न प्रत्यक्ष आफै आएर धेरैजनासँग कुराकानी गर्न पाउँदा निकै सहज भएको उनले बताए । शौरभ ग्रुपको कर्पोरेट इञ्चार्ज हेमन्त पाण्डे आफ्नो कम्पनीका लागि आवश्यक कर्मचारी आइएसएमटीमै भेटिने सम्भावना रहेको बताउँछन् । ग्रुपलाई सेल्स, एकाउन्ट, कस्टुमर सर्भेस डिपार्टमेन्ट लगायत विभिन्न विद्यामा कर्मचारी आवश्यक परेकाले धेरै विद्यार्थी सोचेभन्दा राम्रो पाएको बताए ।  हेमन्त पाण्डे उनी भन्छन्, ‘सबै विद्यार्थी उत्तिकै क्षमतावान छन्, कुनैमा केही कमी छैन, यस्ता व्यक्ति लिँदा विद्यार्थीलाई मात्र नभइ कम्पनीलाई पनि राम्रो भएको छ ।’ उनी सूचना जारी गरी कर्मचारी छनोट गर्ने प्रक्रिया लामो हुने भएकाले कलेजको विशेष जवफेयरले सजिलो भएको बताए ।  गोकर्ण रिसोर्टलाई सर्भिस सेवामा कामदार आवश्यक परेको छ । रिसोर्टकी पुष्पा कोजु आइएसएमटीमा आइन्  । उनले सोचेजस्तो विद्यार्थी पाइएको जानकारी दिइन् । एकै ठाउँमा कर्मचारी पाइने अवसर दिएकोमा उनले कलेजलाई धन्यवाद पनि दिइन्। पुष्पा कोजु कम्पनी र कामदारको दूरी घट्ने डिसहोमको ट्यालेन्ट एकुजेशन एण्ड डेभलपमेन्ट हेड मेघना श्रेष्ठ  यस्ता कार्यक्रमले रोजगादाता र रोजगार खोजिरहेको जमातबीच सम्बन्ध नजिक हुने बताउँछिन् ।  मेघना श्रेष्ठ  ‘नेपालमा काम पाइएन, बेरोजगारको संख्या बढी भयो भनिन्छ तर यहाँ बेरोजगार र अवसरको कमी भन्दा पनि सही व्यक्तिलाई सही ठाउँ पाउन ठूलो खाडल रहेको छ,’ उनी भन्छिन्,‘ कतिपय ठाउँमा यस्तै कार्यक्रम हुँदा यो खाडल पुर्ने प्रयास भइरहेको भएपनि सही मान्छे सही ठाउँ पाउन सकेका छैनन् ।’  नेपालमा धेरै कलेजले विद्यार्थीलाई पढाएर सर्टिफिकेट दिएर छोडिदिन्छ । शौरभ ग्रुपका कर्पोरेट इञ्चार्ज हेमन्त पाण्डे भन्छन्, ‘हामीले पढ्दा यस्तो सुविधा थिएन । बल्ल बल्ल आफै भौतारिएर खोजी गर्दा म कर्पोरट क्षेत्रमा आएको हुँ, तर यस्ता कार्यक्रम सबै कलेजले गरिदिनेहो भने हामीले जस्तो अहिलेका विद्यार्थीले दुःख गर्न पर्दैन ।’  उनी यस्ता गतिविधिले विद्यार्थीले तत्काल जागिर नपाएपनि नेटर्वक विकास हुने बताउँछन् । ‘नेपालमा केके कम्पनी छन्, कुन कम्पनीले के काम गछन्, त्यहाँ कस्ता कामदार आवश्यक पर्दा रहेछन् भन्ने विषयमा थाहा हुन्छ त्यसपछि बल्ल विद्यार्थीले जबमार्केट राम्रोसँग बुझ्न सक्छन्,’ उनले भने ।  जवफेयर गर्नुको तीन कारण आइसएमटीले हरेक वर्ष दुई पटक जवफेयर कार्यक्रम गर्दै आएको छ । आइएसएमटीका  एकेडेमिक कोर्डिनेटर गिरिश दाहाल कलेजले जवफेयर कार्यक्रम गर्नुको तीनवटा कारण रहेको बताउँछन् ।  गिरिश दाहाल  उनका अनुसार पहिलो विद्यार्थीको भविष्यका लागि सहजता, दोस्रो नेपालका कम्पनीलाई पनि दक्ष जनशक्तिको सुविधा र तेस्रो शैक्षिक उद्योग र अन्य उद्योगबीचको दुरी कम गर्न । उनी यस्ता कार्यक्रमले देशलाईं नै फाइदा हुने बताउँछन् । कलेजले अभिभावकको भूमिका निभाएको उनी दावी गर्छन् । उनी विद्यार्थीलाई यस्ता धेरै कार्यक्रम कलेजले सिकाइरहेको बताउँछन् । उनी कलेजले पढाउनेकाम मात्र नभइ पढाएर कुन ठाउँमा जागिर लगाइदिने जिम्मेवारी भएकाले सैद्धान्तिक र प्रयोगात्मक कार्यक्रम गर्दै आइरहेको पनि बताउँछन्।

कडा कानुनले वन छुन पाइँदैन, विदेशबाट ४ अर्बको काठका उत्पादन आयात गर्नुपर्छ : घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको बताएका छन् ।  राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले वन जंगलबारे बनाइएका कडा कानुनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताएका हुन् ।  उनका अनुसार वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा प्रयोग गर्न नदिँदा राज्यले ठूलो मात्रामा आयातमा निर्भरता बढाउनुपरेको छ ।  चीन र मलेसिया जस्ता देशबाट ४ खर्ब बराबरका काठका उत्पादनहरू नेपाल आयात गर्नुपरेको उनले बताए । तर आफ्नै वनमा रहेको कच्चा पदार्थ भने कुहाएर फाल्नुपरेको उनको भनाइ छ ।  वन व्यवस्थापनका वर्तमान कानून अत्यधिक प्रतिवन्धात्मक भएको भन्दै मन्त्री घिसिङले पाँच वर्षमा एउटा रुख काट्न समेत कठिन हुने बताए ।  वनको रुख एउटा काट्नु र मान्छे काट्नुमध्ये रुख काट्नु धेरै गाह्रो रहेको उनको टिप्पणी छ । यस्ता ऐन–कानूनका कारण देश विकास नहुने भन्दै उनले सबैकुरा परिवर्तन गर्न आवश्यक रहेको बताए  उनले आगामी दिनमा नयाँ नेतृत्वले यस्ता नीतिगत अवरोध हटाई स्रोत–साधनको दिगो उपयोगतर्फ ध्यान दिनुपर्ने पनि बताए । 

नेपालबाट १० चिकित्सक सहभागी भएको लिभर ट्रान्सप्लान्टेशन सोसाइटीको सम्मेलन सम्पन्न

काठमाडौं । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । यो सम्मेलन नोभेम्बर २० देखि २३ सम्म नयाँ दिल्लीको एअरसिटीस्थित होटल पुलम्यानमा आयोजना गरिएको थियो । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नवनिर्वाचित अध्यक्ष डा. अभिदिप चौधरीको विशेष निमन्त्रणामा नेपालसहित विभिन्न देशका विशेषज्ञहरू दिल्लीमा सहभागी भएका छन् । उक्त सम्मेलनमा नेपालबाट डा. दिलिप शर्मा, डा. एकानन्द सिंह, डा. सागर पौडेल, डा. रामबाबु साह, डा. सञ्जय यादव ,पुकार चन्द्र श्रेष्ठ, डा. पुकार थापा ,डा. कर्ण राजवंशी लगायतका सहभागी भएका थिए । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नव निर्वाचित अध्यक्ष डा. अभिदिप उनले भने, 'यहाँ प्रत्येक सफल प्रत्यारोपण कडा प्रोटोकल, पारदर्शी डोनर मूल्यांकन प्रणाली र बहुविषयक चिकित्सक टोलीको निरन्तर प्रतिबद्धताको परिणाम हो । भारतलाई विशेष बनाउने कुरा केवल प्रत्यारोपणको संख्या होइन, प्रक्रियालाई मार्गदर्शन गर्ने हाम्रो मूल्य र अनुशासन हो ।' उनले प्रत्यारोपण सेवा विस्तारमा नैतिकता र मानव–केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । डा. चौधरीका अनुसार भारतमा कलेजो प्रत्यारोपण सेवा तीव्र रूपमा विकसित हुँदै गएको छ । नियमित अनुसन्धान, उच्चस्तरीय तालिम, र चिकित्सकबीचको सहकार्यका कारण प्रत्यारोपणको सफलता दर विश्वकै उत्कृष्टमा गणना हुन्छ । उनले थपे, 'हामीले विकास गरेको संरचना केवल प्राविधिक उपलब्धिभन्दा धेरै माथि छ । दानकर्ताको सम्मान, पारदर्शिता, र उपचार प्रक्रियामा परिवारहरूको सक्रिय सहभागिता नै हाम्रो प्रणालीको बलियो आधार हो ।' अन्त्यमा डा. चौधरीले भारत दक्षिण एसियामा प्रत्यारोपण सेवाको नेतृत्व गर्दै आएको र नेपालजस्ता छिमेकी मुलुकहरूलाई प्राविधिक सहयोग, विशेषज्ञ तालिम र अनुभव साझेदारीमार्फत अझ सुदृढ बनाउन तत्पर रहेको बताए । उनका अनुसार क्षेत्रीय सहकार्यले कलेजो प्रत्यारोपण सेवालाई अझ सुरक्षित, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।